विकासन्युज

वार्षिक एउटा उद्योग थप्ने भनेको, यसै वर्ष पाँच वटा थपियो–प्रबलजंग पाण्डे

प्रबलजंग पाण्डे काठमाडौं । १५ महिनाअघि उद्यमी प्रबलजंग पाण्डेले विकासन्युजसँग भनेको थिए–‘हरेक वर्ष एउटा उद्योग खोल्ने उदेश्य लिएको छौं ।’ उनको भनाईलाई पछ्याउँदै हामीले सोध्यौ–‘यसपाली के उद्योग खोल्नु भयो ।’ पाण्डे खुलेर हाँसे । र, भने–‘एउटा भनेको ४/५ वटा उद्योग खोलिसक्यौ ।’ ‘मैले मात्र होइन, हामी टिममा छौं । सबै कुरा भन्न पनि मिल्दैन’ उनले व्यवसायिक गोपनीयता जोगाउने प्रयास गरे । उनी पनि अरु जस्तै मान्छे त हुन् । कुरा गर्दै जाँदा भावनामा बग्न थाले र धेरै कुरा खुलस्त भने । ‘जीवन भनेको निरन्तर यात्रा हो । यो रोकिनु हुदैन, जसरी जीवन रोकिनु हुदैन त्यसरी नै उद्योग व्यवसाय पनि रोकिनु हुदैन भन्ने हाम्रो मान्यता हो’ उनी खुल्दै गए ‘विगतमा मेरो बुबा महासंघको नेतृत्वमा रहेर काम गर्दा र त्यसपछिका भएका विभिन्न घटना क्रममा पनि हामीले कुनै पनि व्यवसायीहरुलाई आँच आउन दिएनौं, झन् विस्तार गर्यौ । हामीले लगानी मात्र थपेका छैनाैं, लगानीको क्षेत्रमा पनि विविधिकरण गरेका छौं ।’ ‘बुबा (प्रदीपजंग पाण्डे)ले शुरु गर्नु भएका उद्योगहरुको उत्पादन क्षमता बढाईरहेको छौं । लोमस फर्मास्यूटिकल्स उद्योगले नयाँ–नयाँ औषधि उत्पादनलाई निरन्तरता दिएको छ । यस वर्ष आइ ड्रप, एयर ड्रप औषधी उत्पादन थपेका छौं’ पाण्डेले थपे– ‘यसै वर्षदेखि जनकपुरमा सिमेन्ट क्लीङ्कर फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । यस उद्योगले दैनिक ५ सय टन क्लीङकर प्रतिदिन उत्पादन गर्छ ।’ उनको अनुसार उक्त उद्योगको उत्पादन क्षमता वृद्धि गरी दैनिक १२ सय टन क्लीङकर उत्पादन तयारी भईरहेको छ । यस उद्योगमा ३ देखि ४ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना रहेको छ । लोमस समूहले विराटनगरमा कसमस ब्राण्डको सिमेन्ट उत्पदन गर्दै आएको छ । हाल कम्पनीले दैनिक ४ सय टन सिमेन्ट उत्पादन आईरहेको छ । दुई वर्षभित्र यस उद्योगको क्षमता विस्तार गरी दैनिक ८ सय टन बनाउने लक्ष्य रहेको उनले बताए । औषधि, सिमेन्ट, क्लिङकर उद्योग स्थापनामा प्रदिपजंग पाण्डेको अग्रणी भूमिका रहेको छ । बुबाको थालेको उद्योगलाई अझ राम्रो बनाउने प्रयाससँगै छोराहरुले आ–आफ्नो रुचीमा नयाँ क्षेत्रमा लगानी थालेको उनले बताए । ‘हामी पारिवारिक व्यवसायलाई पनि अगाडि लैजान्छौं । पब्लिक लिमिटेट कम्पनीहरुमा पनि लगानी विस्तार गरिरहेको छौं । साथै, मन मिल्ने साथीसँग साझेदारीमा पनि विजनेश थालेका छौं’ उनले भने । लाइक माइन्डेड र मन मिल्ने साथीसँगको सहकार्यमा ५ वटा व्यवसाय यसै वर्ष शुरु भएको उनले बताए । ‘म, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघकै कार्यकारिणी सदस्य तथा युवा उद्यमी भरत आचार्यसँगको साझेदारीमा एकै पटक चार वटा व्यवसाय थालेका छौं’ उनले भने । उनका माइलो भाई प्रतावजंग पाण्डेले आफ्ना साथीहरुसँग मिलेर कैलास हेलिकोप्टर सञ्चालनमा ल्याएका छन् । कान्छा भाइ प्रज्जलजंग पाण्डेले स्कुल पनि खोलेका छन्–सेम्रक । यो चेन प्रि स्कूल हो । दायाँबाट क्रमशः प्रतावजंग, प्रबलजंग, प्रदिपजंग र प्रज्वलजंग पाण्डे पारिवारिक विजनेशमा औषधि उद्योग प्रदिपले हेर्छन । उनलाई कान्छो छोराले सहयोग गर्छन । सिमेन्ट उद्योग प्रबलले हेर्छन । वित्तीय क्षेत्र वित्तीय क्षेत्रको लगानी प्रतापजंग पाण्डेले हेरिरहेका छन् । ‘पारिवारिक व्यवसायमा हामी एक भएर काम गरिरहेका छौं । सँगै, साथीसँगको साझेदारीका उद्योग व्यवसाय आफ्नै तरिकाले गर्न स्वतन्त्र पनि छौं’ पारिवारिक हिसावकिताव बारे उनले भने ‘आफ्ना साथीहरु मिलेर खोलेको उद्योग तथा व्यवसायले पारिवारिक व्यवसायलाई कुनै असर पनि गर्दैन । पारिवारिक र साझेदारी विजनेशबीच कुनै सम्बन्ध पनि हुँदैन ।’ पाण्डे परिवारले २ वटा वाणिज्य बैंक र तीन वटा बीमा कम्पनीमा पनि ठूलो लगानी गरेको छ । सिटिजन्स इन्टरनेनल बैंक, सिभिल बैंक, शिखर इन्स्योरेन्स, आईजीआई इन्स्योरेस पुरानो लगानीका कम्पनी हुन् भने यसै वर्ष सञ्चालनमा आएको ‘सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा यस समूह मुख्य प्रवद्र्धक छ। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष प्रदिपजंग पाण्डे छन् । गएको दुई वर्षमा वित्तीय क्षेत्रमा ठूलो पुँजी लगानी गरिएको उनले बताए । आफूहरुले संस्थापक सेयर लिएको कम्पनीहरुप्रति विश्वास भएको र सबैमा हकप्रद सेयर लिएको उनले बताए । ‘सिटिजन्स र सिभिल दुबै बैंकको पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ भयो । हामीले हाम्रो सेयर हिस्सा घट्न दिएका छैनौं । आईएमई जनरल इन्स्योरेन्समा सेयर हिस्सा बढाउँदै लगेका छौं’ उनले भने । पाण्डे परिवारले माउन्टेन इनर्जी हाइड्रोमा पनि लगानी गरेको छ । यस कम्पनीले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला हाइड्रोपावर बनाईरहेको छ । त्यस्तै डाटा हब कम्पनी पनि चलाईरहेको छन् । ‘माओवादीको जनयुद्धकाल होस् वा तराई आन्दोलनको काल होस् । राज्यमा राजनीतिक संक्रमणकाल होस्, हरेक समयमा हाम्रो यात्रा रोकिएको छैन’ संकटमा पनि काम उर्जा थपिएको उल्लेख गर्दै उनले भने ‘पछिल्लो दुई वर्षमा हामीले आफ्नो व्यवसाय वृद्धि सन्तोषजनक रुपमा गरिरहेका छौं । र, हामी निकै उत्साहित पनि भएको छौं ।’ पाण्डे, राणा र आचार्यका चार व्यवसाय प्रबलजंग पाण्डे, भवानी राणा र भरत आचार्यको संयुक्त लगानीमा चार कम्पनी खुलेका छन् । त्यसमा दुई ओटा उत्पादन मुलक र दुई व्यापार मुलक व्यवसाय छन् । पाण्डेले भने–एउटा ट्रेडिङ हाउस फर्चुना अटोमोबाइल छ । त्यसमार्फत भारतको प्रित ब्राण्डका ट्याक्टर, धान काट्ने मेसिन लगायतका कृषिमा आधारित सामाग्रीको व्यापार थालेका छौं । यो व्यापार थालेको ६ महिना भयो । यस अवधिमा नेपालभरी नै अटोमोबाइलको नेटवर्क बनाउन र उल्लेख्य सख्यामा ट्याक्टर तथा मेसिन बिक्री गर्न सफल भएको उनले बताए । त्यस्तै, सोही समूहले वकिनवा ब्राण्डको विद्युत्तिय स्कूटर नेपाल भित्र्याउने तयारी गरेको छ । ‘जापानिज कोल्याबोरेशनमा भारतमा बनेको इलेक्ट्रीक स्कूटर नेपालभर बिक्री वितरण गर्ने गरी सम्झौता गरिसकेको छौं ।’ पाण्डे, आचार्य र राणाको समूहले दुई ओटा हेल्थ केयर प्रोडक्टसन गर्दैछ । ‘एउटा फ्याक्ट्रीको डेढ महिनामा प्रोडक्सन आउँछ । अर्को फ्याक्ट्रीको ६ महिनामा आउछ । पाटनमा एउटा फ्याक्ट्री अलमोस्ट तयारीमा छ । अर्को फ्याक्ट्री पनि अबको ६ महिनामा उत्पादन आउँछ’ पाण्डेले विकासन्युजसँग भने । दुई उद्योग मध्ये एउटा उद्योगले औषधि उद्योगहरुका लागि आवश्यक प्याकेजिङ सामाग्री उत्पादन गर्ने र अर्कोले मानिसहरुले प्रयोग गर्ने हेल्थ केयर सम्बन्धी सामाग्री भएको उनले बताए । पछिल्लो समय भारतले नाकाबन्दी गर्दा नेपालका औषधि उद्योगहरु नेपालमा कच्चा पदार्थ हुँदा हुँदै पनि प्याकेजिङ मेटेरियल्स नभएको कारणाले औषधि उत्पादन हुन नसकेको घट्नाबाट प्रभावित भएर प्याकेजिङ इन्डस्ट्रिज लगाउने निर्णयमा पुगेको उनले बताए । उत्पादन प्रक्रियामा रहेको हेल्थ केयार प्रोडक्टबारे उनले खुलेर बताउँन चाहेनन् । ‘यसको वार्षिक करिब २५/३० करोड रुपैयाँको कारोबार हुने विश्वास गरेका छौं । हाम्रो उत्पादनले आयात रोक्ने अपेक्षा गरेका छौं’ उनले यति मात्र भने । प्याकेजिङ इन्डस्ट्रिजमा ६०/७० जनाले रोजगार पाउछन् भने हेल्थ केयर इन्डस्ट्रिजमा सय डेढ सय जनाले जागिर पाउछन् । प्याकेजिङ र हेल्थ केयरमा ३०/३० गरि ६० करोड रूपैयाँ लगानी भएको छ ।

एनसीसी बैंकले भन्यो थप मजवुत भयौ, वित्तीय अवस्था बलियो भएकाले निक्षेपकर्ता र सेयरधनी डराउनु पर्दैन

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय अवस्था सुध्रिढ रहेको भन्दै निश्चिन्त रहन अनुरोध गरेको छ । बैंकले एक प्रेस विज्ञप्ति प्रकाशित गरी बैंकमा कुनै समस्या नरहेको र वित्तीय रुपमा बैंक सबल भएको निक्षेपकर्ता र सेयरधनीलाई जानकारी गराएको छ । एपेक्स डेभलपमेन्ट बैंक मर्जर गर्दा खराब कर्जा हुन पुगेको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ नेपाल राष्ट बैंकको एकिकृत निर्देशनअनुसार जोखिम बहन गर्ने कोषमा छुटटइसकेको भन्दै यसले बैंकको वित्तीय विवरणमा कुनै प्रतिकुल असर नपार्ने स्पष्ट पारेको छ । नेपाल राष्ट बैंकले समेत वित्तीय अवस्था सुध्रिढ भएको जानकारी दिएको एनसीसीले जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानब्युरो (सीआईबी) बैंकमा घोटला गर्ने तत्कालिन एपेक्स डेभलपमेन्टका अध्ययक्ष विष्णुप्रसाद धिताललगायत सञ्चालक र कर्मचारी गरी १३ जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको बैंकले स्पष्टपारेको छ । एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको थियो । एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्व समेत एनसीसी बैंकमा सरेको थियो । खराब कर्जाका लागि एनसीसीले डेढ अर्ब रुपैंयाँ प्रोभिजन गरेको थियो । डेढ अर्ब प्रोभिजनका बावजुद एनसीसीको नाफा ४०० प्रतिशत बढेको छ । कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम बैंकको आम्दानीमै गणना हुनेछ । यसपछि बैंकको नाफा बढ्छ, खराब कर्जाको अनुपात घट्छ र स्थिर कोष पुन तरल अवस्थामा आउनेछ । प्रोभिजनका बावजुद ४०० प्रतिशत आम्दानी बढाएको बैंकले डेढ अर्ब समेत कोषमा आउँदा कम्पनी थप मजबुत हुनेछ । डेढ अर्ब खराब कर्जा र त्यसका लागि गरिएको प्रोभिजनबाट मात्रै अब बैंक मुक्त भएको छैन, एउटा ल्याक होलबाट पनि सफल अवतरण गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको हो । नाफा ४ गुणा बढेकाले सो ऋण नउठे पनि बैंकलाई असर नगर्ने देखिएको हो । अघिल्लो वर्ष २०७३ पुस मसान्तमा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले चालु आवको पुस मसान्तमा २८ करोडले वृद्धि गरेर खुदनाफा ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड ६९ लाख रुपैयाँ राइट ब्याकको हिस्सा छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । एनसीसीले ४।८४ प्रतिशत रहेको खराब कर्जालाई ४।०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६२।२९ रुपैंयाँ रहेको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । यसरी कर्जाको दुरुपयोग भयो २०७२ मंसिर २१ गते एनसीसीसंग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि एपेक्सका अध्यक्ष तथा हाल एनसीसीका सञ्चालक विष्णुप्रसाद धितालले सोको फाइदा उठाउदै दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने काम गरेको सीआईबीको अध्ययनले देखाएको छ । कुल २ अर्ब रुपैयाँ दुरुपयोग भएकोमा करिव ४८ करोड रुपैयाँ असुली गरिएकोको छ । कमसल धितो राखिएको र बढी मूल्याँकन गरिएको, नक्कली ऋणी खडा गरी उनीहरुको बढी आम्दानी देखाइएको, मोटरबाटो नपुगेको भीर र पाखो भएको जग्गामा बाटो देखाइएको, नभएको गरेर कर्जाको दुरुपयोग भएको सीआईबीको ठहर छ । जग्गाको निरीक्षणलगायत सबै काम एकै दिन पुरा गरेर सोही दिन कर्जा लिएको जस्ता १२ अभियोग लगाइएका छन् ।

मिक्स डिजाइनमा घर बनाउनुहाेस्, खर्च पनि कम र गुणस्तर पनि राम्रो

२०७२ सालको दोस्रो ठूलो भूकम्प आउँदा म त्रिपुरेश्वरस्थित सीई गु्रपको कार्यालयमा थिएँ । ८ तलाको भवनमा बस्दा पनि म बाहिर गइन् । मैले अफिसको कर्मचारीलाई पनि वाहिर नजान भनँे किनभने मलाई विश्वास छ कि यो भवन लड्दैन । यो भवन ढल्यो भने नेपालमा कुनै पनि भवन रहँदैन । सीई गु्रपको अफिस एउटा उदाहरण मात्र हो, नेपालमा पछिल्लो समयमा बनेका घर, व्यवसायिक कम्प्लेक्स, पुल, जलविद्युत लगायत पूर्वाधार निर्माणको काम गुणस्तरीय छ । वर्तमान अवस्थामा नेपाली निर्माण व्यवसायीले अन्तराष्ट्रिय स्तरको गुणस्तरी निर्माण कार्य गरिरहेका छन् । विदेशी निर्माण व्यवसायीलाई दिने जति पैसा नेपाली व्यवसायीलाई दिने हो भने नेपालीले विदेशीको भन्दा राम्रो र गुणस्तरीय निर्माण कार्य गर्न सक्छन् । निर्माण क्षेत्रमा काम गर्दा तीन विषयलाई निकै प्राथमिकतामा राखिन्छ । पहिलो, परियोजना निर्माण गुणस्तरीय हुनुपर्यो । दोस्रो, तोकिएको समयमा निर्माण सम्पन्न हुनु पर्यो र तेस्रो परियोजनाको लागत सस्तो हुनु पर्यो । मैले निर्माण क्षेत्रमा ३५ वर्षभन्दा बढी काम गरे । मेरो बुझाईमा नेपाली निर्माण व्यवसायीहरु उल्लेखित तीन वटै क्षेत्रमा राम्रो गरिरहेका छन् । भूकम्पपछि निर्माणको गुणस्तर उल्लेख्य वृद्धि भएको छ । सरकारी निकायबाट नियमन र सुपरिवेक्षण पनि प्रभावकारी भएको छ । आवास निर्माण कम्पनीहरुले निर्माण गरेका संयुक्त आवास र सामूदायिक आवासको हिस्सा सहरी क्षेत्रमा ज्यादै कम छ । वर्षमा काठमाडौं उपत्यकामा १० हजार नक्सा पास भएको छ भने आवास निर्माण कम्पनीले करिव २०० घर निर्माण सम्पन्न प्रमाणपत्र पाएको हुन्छ । कम्पनीहरुले गरेको निर्माण मात्र होइन, जनस्तरबाट भएको निर्माणको गुणस्तरमा पनि धेरै सुधार भएको छ । पहिला जियोटेक्नीकल इन्भेटिगेशन गर्ने त्यति चलन थिएन । पहिला ५ फीट मुनीसम्मको माटो जाँच हुन्थ्यो भने अहिले १२ मिटर तलसम्मको माटो जाँच हुन्छ । पहिला सिभिल इन्जिनियर्सले नक्सा बनाएपछि हुन्थ्यो, अहिले ठूला भवन निर्माण गर्दा स्टचरल इन्जिनियर्सबाट डिजाईन गाईन्छ । पहिला एम १५ ग्रेडको कंक्रिट प्रयोग हुनेमा अहिले कम्तिमा एम२० ग्रेडको कंक्रिट प्रयोग हुन थालेको छ । पिलरको साइजहरु पनि बढेर आयो । व्याचिङ प्लान्ट, कंक्रिट पम्पको भाइब्रेटर लगायतको उपकरण प्रयोग हुन थाल्यो । नयाँ प्रविधिको प्रयोगसहित बनेको औद्योगिक प्रडक्टहरुको गुणस्तर राम्रो हुन्छ । नेपालमा बन्ने निर्माण सामाग्रीको गुणस्तर पनि राम्रो भएको छ । एक दशकअघि हामीले विदेशबाट आयात गर्दा जुन गुणस्तरको सिमेन्ट किन्न प्रतिबोरा ९०० रुपैयाँ तिर्यौ, त्यही गुणस्तरको सिमेन्ट नेपाली सिमेन्ट ८५० रुपैयाँमा पनि किन्न सकिन्छ । तर छोटो विधि अपनाउने र छिटो कमाउने विधिबाट निर्माण गरिएका निर्माण सामाग्री कमजोर हुन्छ । मेसिनले कस्नु पर्ने पेच हम्मरले ठोकेर कस्ने काम भयो भने त्यसमा गुणस्तर हुँदैन । पूर्वाधार निर्माणतर्फमा पनि धेरै परिवर्तन भएको छ । ढेड दशकअघिसम्म नेपाली निर्माण व्यवसायीले जलविद्युत परियोजना निर्माण गर्ने भनेको सोचभन्दा वाहिरको विषय थियो । अहिले सीई कन्स्ट्रक्सन आफैले २३ मेघावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस्ता परियोजना अहिले नेपालीहरुले दर्जनभन्दा बढी निर्माण गरिरहेका छन् । ठूला सडक, पूल, सुरुङ, बाँढ, नहर बनाउन सफल अनुभवी नेपालीहरुको संख्या बढ्दै गएको छ । इक्विपमेन्टको प्रयोग निर्माण क्षेत्रमा इक्विप्टमेन्टहरुको प्रयोग उल्लेख्य मात्रामा बढिईरहेको छ । पहिला विदेशी ठेकदारले यहाँ परियोजना निर्माण गर्न ल्याएको हेभी इक्विप्टमेन्ट उनीहरुले योजना सम्पन्न गरेर छोडेर जानेबेलामा नेपाली निर्माण व्यवसायीले किन्थ्यौ । नयाँ मेसिन किन्ने नेपालीको सामाथ्र्य थिएन । केही वर्षअघिसम्म नेपाली निर्माण व्यवसायीसँग स्काभेटर, डोजर, लोडर, कंक्रिट बेचिङ प्लान्ट लगायत हेभि इक्वीप्टमेन्ट कम थियो । अहिले निर्माण व्यवसायीसँग धेरै मात्रामा मेसिनरी सामानहरु छन् । नयाँ इक्विप्टमेन्टहरुको बढ्दो आयातले पनि यसलाई पुष्टि गर्छ । लागत निर्माणको लागत हरेक वर्ष बढ्दो छ । निर्माण सामाग्रीको मूल्य बढेको छ । यस सिजनमा मात्र डण्डीको मूल्य प्रतिकिलो १० देखि १६ रुपैया बढेको छ । सिमेन्टको मूल्य बोरामा ८० रुपैयाँ बढेको छ । नेपाली सिमेन्टको उत्पादन नबढेको भए अहिले सिमेन्टको मूल्य झनै बढी हुने थियो । ईँटा, गिठ्ठी, बालुवा, काठ, लगायत निर्माण सामाग्रीको मूल्य पनि हरेक वर्ष बढ्दै गएको छ । निर्माण सामाग्रीको मूल्य बेलाबखत स्थीर देखिन्छ, नत्र हरेक वर्ष बढेकै हुन्छ । विदेशबाट आयात भएको सामाग्रीको प्रयोग पनि बढ्दो छ । नेपाली काठ प्रतिक्युविकको ६ हजार पर्छ भने मलेसियाबाट आउने काठ प्रतिक्यूविकको ४ हजार रुपैयाँ पर्छ । श्रमिकको मूल्य पनि बढेको छ । मैले ३५ वर्षको अनुभवमा श्रमिकको ज्याला घटेको छैन । पछिल्लो समय दक्ष जनशक्तिको कमी पनि छ, उनीहरुको भाऊ पनि निकै बढेको छ । नेपालमा ३५ हजार कमाउने इन्जिनियर विदेश गएपछि एक लाख भन्दा बढी कमाउने अवस्थाले नेपालीहरु विदेश जाने गरेको देखिन्छ । निर्माण क्षेत्रमा काम गर्ने वर्करले अरु क्षेत्रमा भन्दा बढी कमाउँछ तरपनि विदेशमा निर्माण क्षेत्रमा काम गर्नेले भन्दा नेपालको निर्माण क्षेत्रमा काम गर्नेले कम नै कमाउँछन् । बढ्दो मेसिनको प्रयोगले जनशक्तिको मागलाई केही मत्थर गरेको छ । पहिला माटो खन्ने काम मान्छेले गर्दथ्यो भने अहिले मेसिनले माटो खन्छ । डण्डी काट्न मान्छेले ह्याक्सो प्रयोग गरेर लामो समय खर्चनु पर्दथ्यो । अहिले मेसिनले डण्डी काटिन्छ । फर्मा करौतीले काटिन्थ्यो, अहिले मेसिन लगायर काटिन्छ । ढलान मसला बनाउन मेसिनको प्रयोग हुन्छ । ढलान मसला खाद्ने काम पहिला हातले गरिन्थ्यो भने अहिले भाइवेटर प्रयोग हुन्छ । काठमा प्वाल पार्ने, पेच कस्ने काम मेसिनबाटै हुन्छ । तर ती सबै मेसिन चलाउन मान्छे नै चाहिन्छ । यस्तो काम गर्ने मानिसको कमी नै छ । खर्च कटौति पछिल्लो समय ढलानमा हुने कंक्रिट मिक्स डिजाइनको प्रयोग गरेर खर्च कटौति गर्ने अभ्यास बढ्दो छ । ईटाको सट्टा होलो ब्लक, कंक्रिट प्यानलको प्रयोग हुन थालेको छ । जीआई पाइपको सट्टा सीपीभीसी वा पीपीआर प्रयोग हुन थाल्यो । काठको झ्याल ढोकाको साटो एल्मुनियम तथा यूपीभीसीका झ्याल ढोका प्रयोगमा आउन थाल्यो । हलुका निर्माण सामाग्रीको प्रयोग बढ्दो छ । निर्माण कार्य पनि छिटो र बलियो बन्दै गएको छ । मिक्स डिजाइनमा जाँदा खर्च पनि कम र गुणस्तर पनि राम्रो भएकोले यसतर्फ मानिसहरुको आकर्षण बढ्दो छ । विदेशमा काम गरेर फर्केका नेपालीहरुले विदेशमा प्रयोग भएको प्रविधिको प्रयोग पनि बढ्दो छ । ग्रिन टेक्नोलोजिको प्रयोग बढ्दो छ । निर्माण समाग्री र श्रमको मूल्य निरन्तर वृद्धि हुँदा पनि प्रविधि र मेसिनको प्रयोगले समग्रमा निर्माण लागत नियन्त्रण गर्न सहयोग पुगेको छ । (सीई ग्रुपका प्रबन्ध निर्देशक राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित)

७० प्रतिशत लाभांशले नेपाल लाइफ इन्स्योरेन्समा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी कारोबार

काठमाडौ । सेयर बजारमा गत साता १ अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता सेयर १ अर्ब ७९ करोड ४७ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४.२७ अंकले बढेर अन्तिम दिन १ हजार२८८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३२ अंकले बढेर २७४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको ८ करोड २० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा जनता बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १ लाख ६७ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । रासस

राष्ट्रिय गौरवका आयोजनामामा सरकारले हदैसम्म जोडबल लगाउने

काठमाडौ । सरकारले निर्माणाधीन जलविद्युत् तथा सिँचाइ आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्न हदैसम्मको जोडबल गर्ने भएको छ । नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवको आयोजनालाई पहिलो प्राथमिकतामा राखी तदारुकता दिने भएको हो । विगतमा राजनीतिक अस्थिरताका कारण वर्षौंपिच्छे बदलिने मन्त्री, कर्मचारी प्रशासन तथा आयोजना प्रमुखका कारण आयोजनाको लागत र समयसमेत बढ्दै गएको निष्कर्ष निकाल्दै आगामी दिनमा विगतको अनुभवबाट पाठ सिकेर अगाडि बढ्ने लागेको हो । ऊर्जा मन्त्रालयको सचिवको रुपमा कार्यरत अनुपकुमार उपाध्यायले सीमित साधन र स्रोत भए पनि नागरिकको महत्वकांक्षासमेत वृद्धि भएकाले राष्ट्रिय गौरव र महत्वका आयोजनालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्ने दायित्व आफूसँग रहेको बताए। मन्त्रालय मातहत माथिल्लो तामाकोसी जलविद्युत् आयोजना रहेको छ । सो आयोजना आगामी वर्षको मंसिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सञ्चालनमा आएपछि भारतबाट आयात हुने विद्युत्को मात्रामा समेत कमी आउने छ । हाल सो आयोजनाको ९४ प्रतिशत निर्माण सम्पन्न भएको छ । यस्तै राष्ट्रिय गौरवकै आयोजना भए पनि लगानी बोर्डले संयोजन गरिरहेको पश्चिम सेती जलविद्युत् आयोजनामा थप समन्वय गर्ने दायित्वसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको काँधमा छ । चिनियाँ प्रवद्र्धक थ्री गर्जेजले जिम्मा लिएको सो आयोजना विगत सात वर्षदेखि गति लिन सकेको छैन । सचिव उपाध्यायले भने “हामी हाम्रा मातहत रहेका सबै आयोजनालाई युद्धस्तरमा अगाडि बढाएर नेपाली जनतामा रहेको विकासको भोकलाई सम्बोधन गर्न चाहन्छौँ, सीमित साधन तथा स्रोत छन् तर असम्भव भने केही छैन ।” सिँचाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टाजस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पारे । विगतमा छुट्टाछुट्टै मन्त्रालयका रुपमा कार्यरत ऊर्जा, सिँचाइलाई वर्तमान सरकारले एकीकृत बनाएको छ । विगतमा सिँचाइ मन्त्रालयले हेर्दै आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रानी जमरा, कुलरिया, सिक्टा, बबई र भेरी बबई डाइभर्सन परियोजना रहेका छन् । नेपालको कृषिलाई आत्मनिर्भर बनाउने योजनाका साथ सरकारले महत्वपूर्ण सिँचाइ आयोजना अगाडि बढाएको हो । ती आयोजनाको समय र लागत समेत बढ्दै गएको छ । पटक पटक म्याद थपिएका छन् । तर कहिले सम्पन्न हुन्छन् भन्ने कुनै टुंगो नभएको अवस्थामा अब भने विगतको अवस्थाबाट पार लाग्नै पर्ने बाध्यतामा सरकार छ । चालू आवमा सबैभन्दा बढी प्रगति गरेको आयोजनाको रुपमा भेरी बबई डाइभर्सन रहेको छ । सो आयोजनाको वित्तीय र भौतिक प्रगतिसमेत शतप्रतिशत छ । चिनियाँ ठेकेदार कम्पनीले आयात गरेको टनेल बोरिङ मेशिनले सुरुङ खन्न थालेको तीन महिनामा २ हजार ५०० मिटर सुरुङ खनिसकेको छ । सरकारले छुट्टयाएको बजेट अपुग भएपछि थप रकम माग गरेको आयोजना प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए । मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा ऊर्जा तथा सिँचाइलाई लिने गरिन्छ । गत वर्षदेखि अन्त्य भएको विद्युत्भार कटौतीले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक क्षमता नौ प्रतिशतले बढेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ए जस्ता आयोजना सधैँ समस्याको घेरामा परेको छ । ती आयोजनामा अब ढिलाइ नहुने र नगरिने तथा विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्ने सचिव उपाध्यायको भनाइ छ । विगतमा अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । विद्युत्भार कटौतीको अन्त्य गरेर चर्चामा आएका जनार्दन शर्माको विरासत सम्हाल्ने जिम्मा नेता पुनको काँधमा आइपरेको छ । विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने, राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने उनको प्रतिबद्धता छ । मन्त्री पुनले भने“विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यान्वयन हुन सकेनन्, अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ ।” ऊर्जामन्त्री पुनले भने “अब पनि काम भएन भन्ने गुनासो गर्ने ठाउँ छैन, आर्थिक समृद्धिको आधार भनेकै ऊर्जा हो, यही मान्यताका आधारमा काम गर्नु जरुरी छ ।” उनले दोहोरो अंकको आर्थिक वृद्धिका लागि महत्वपूर्ण आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर लागू गर्ने समेत मन्त्री पुनले बताए । रासस

अर्थमन्त्री खतिवडाले भने- सेयर बजार वृद्धिको पक्षमा छु

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफु सेयर बजारको पक्षमा रहेको बताएका छन् ।उनले सेयर बजार सुधारको पक्षमा रहेको भन्दै गलत प्रचार नगर्न अनुरोध गरेका छन् । अर्थमन्त्री डा.  खतिवडाले जानकारी बिना नै सेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका हुन् । कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्न अर्थमन्त्रीले सुझाएका छन् । अबस्थामा लगानीकर्ता जानकार भए बित्तिय जोखिम कम हु्ने उनको भनाई छ । नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनले शनिबार राजधानीमा आयोजना गरेको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले कम्पनीको आर्थिक अबस्था बुझेर मात्र सेयरमा लगानी गर्न सुझाव दिएका थिए । केहि दिन अघि सेयर बजारप्रति आफुले गरेको टिप्पणी नकारात्मक रुपमा प्रचार भएको भन्दै उनले आफु सधै पुँजी बजार वृद्धि हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । सेयर बजार उत्पादनमुलक क्षेत्र नभएको अर्थमन्त्रीको अभिव्यत आएपछि सेयर मूल्यमा व्यापक गिरावट आएको थियो । पछिल्लो समय बजार बढ्न सकेको छ्रैन् । हकप्रद, साधारण र थप निष्कासनले आपूर्ति बढाएको र लगानीयोग्य पुँजीको अभावले बैंक ब्याजदर बढेपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाई छ ।

बजेट खर्च गर्न स्थानीय तह असफल, विनियोजित बजेट पुरै खर्च नहुने

काठमाडौं । केन्द्रले आन्तरिक ऋण उठाएर निकासा गरेको अर्बौँ रुपैयाँ बजेट स्थानीय तहले खर्च गर्न असफल भएको छ । थप स्रोत नभएपछि केन्द्र सरकारले १ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएर ७५३ स्थानीय तहमा पैसा पठाएको छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले ३ किस्ता गरेर २ खर्ब २५ अर्ब रुपैयाँ स्थानीयत तहलाई निकासा गरिसकेको छ । अर्थ मन्त्रालयले यो आर्थिक वर्षको अन्तिम किस्ता चैत १ गते नै निकासा गरेको छ । कानून अभाव र निर्वाचन आचारसंहिताको असरका कारण पनि बजेट खर्च हुन नसकेको स्थानीय तहका अधिकारीको भनाइ छ। केन्द्रले आन्तरिक ऋणको ठूलो हिस्सा स्थानीय सरकारलाई निकासा गरेको छ। देशभरका महानगरपालिका तथा नगरपालिका र गाउँपालिकाहरूलाई केन्द्र सरकाले ३ किस्तामा बजेट पठाउने व्यवस्था गरेको छ। तर यसरी पठाएको बजेटमध्ये थोरैमा खर्च हुन नसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। बीबीसीसंग कुरा गर्दै उनले भने, नयाँ संरचनामा गएको सरकारले धेरै वित्तीय स्रोत जुटाउनुपर्ने अवस्था थियो। त्यो क्रममा सरकारले हालसम्म ११९ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरिसकेको छ। स्थानीय तहले हालसम्म पाएको पाएको १ खर्ब ५० अर्ब रुपैयाँ मध्ये राष्ट्र बैंकसंग ७३ अर्ब रुपैयाँ मौज्दात छ। पहिलो पटक सञ्चालनमा आएका स्थानीय सरकारले प्रथम चौमासिकमा कुल बजेटको जम्मा १५ प्रतिशतमात्र खर्च गरेका थिए। दोस्रो चौमासिकको अन्तिमसम्म आउँदा स्थानीय तहले पाएको करिब १ खर्ब ५० अर्बमध्ये करिब ७७ अर्ब रुपैयाँ मात्र खर्च गरेका छन्। स्थानीय तहका अधिकारीहरू भने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव र जनशक्तिको अभावका कारण पनि बजेट खर्च गर्न नसकेको बताएका छन्।् वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले भने, प्रायः सबै स्थानीय तहको नगरसभा गर्न ढिलो भएको छ। नगरसभा नहुँदासम्म बजेट खर्च गर्ने अधिकार हुँदैन। चुनावको आचारसंहिताले गर्दा पनि हामीलाई खर्च गर्न गाह्रो भएको थियो। त्यसो त केन्द्र सरकारले पनि हालसम्म करिब २८ प्रतिशत मात्र विकास खर्च गर्न सकेको छ। जसका कारण विकासका लागि भनी छुट्टयाइएको पैसा सरकारी ढुकुटीमा थन्किएको छ। स्रोत बीबीसी  

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो पटक निर्वाचित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उम्मेदवारी दिएन् । उनी निर्वाचित भएको अाैपचारिक घाेषणा आइतबार मात्र हुनेछ । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती र राजेन्द्रप्रसाद गौतम छन् । ३ वर्षअघि उनी उपराष्ट्रपति भएका थिए । वाम गठवन्धनका तर्फबाट नन्दबहादुर पुनः उपराष्ट्रपति हुने अवसर पाएका हुन् ।