रिद्धिसिद्धि उद्योगमा रोटवटबाट सिमेन्ट उत्पादन हुने, कारखाना सञ्चालनको तयारीमा
हेटौँंडा । पहिलो पटक हेटौडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादनको तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख राजेश पिलाइ बताउछन्। उनकाअनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा तीनसय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालमा पहिलो भएको योजना उनको भनाइ छ । उद्योगबाट धुलो बाहिर जान नदिन अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइको भनाई छ। रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने उद्योगका आयोजना प्रमुख पिलाइ बताउछन्। यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेगावाट विद्युत् खपत हुनेछ । अम्बे र शंकरग्रुपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ । नेपालमा सिमेन्टको बजार प्रशस्त रहेको र गुणस्तरीय उत्पादनको खोजीमा रहेका उपभोक्ताको मागलाई सम्बोधन गर्ने अपेक्षा छ । नेपालमा सिमेन्टको माग बर्सेनि १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेकाले लगानीकर्ताले सिमेन्ट उद्योगमा लगानी गरेको उद्योगका निर्देशक राजेश खरेल बताउछन् । उनकाअनुसार स्वदेशी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगमध्ये नेपालको हालसम्मको ठूलो उद्योग यो एउटा हो । उद्योगको भौतिक निर्माणकार्य अन्तिम चरणमा पुगेकाले तीन महिनाभित्र उत्पादन थाल्ने निर्देशक खरेलले बताए। आफ्नै क्लिङकर उत्पादन गर्ने प्लान्ट जडानका लागि भने एक वर्षको समय लाग्ने भएकाले क्लिङकर उपकरण जडान नभएसम्म खरिद गरेर उत्पादन गर्ने उद्योगको योजना रहेको उनको भनाइ छ । ओपिसी र पिएससी दुई प्रकारका सिमेन्ट उत्पादन गर्ने उद्योगका निर्देशक खरेल बताउछन् । सिमेन्ट उद्योगमा जर्मनी र डेनमार्कको अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको उद्योगले जनाएको छ । ४० बिगाहा क्षेत्रफलमा निर्माणाधीन उद्योगमा पूर्णतया स्वचालित उपकरण जडान भइरहेको छ । रासस
गुणस्तर, मूल्य र बजार नेटवर्क महिन्द्रा कमर्सियल भेइकलका अस्त्र हुन्- सञ्जय जादव
महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका उपाध्यक्ष तथा दक्षिण एसिया अपरेशन प्रमुख सञ्जय जादव पेशाले इञ्जिनियर हुन् । २० वर्षदेखि महिन्द्रा ग्रुपसँग आवद्ध रहेका जादवले ६० वटा भन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । हाल महिन्द्रा एण्ड महिन्द्रा ग्रपका १० वटा उत्पादनहरुको बजारीकरण हेरिरहेका जादव हाल नेपाल भ्रमणमा छन् । प्रस्तुत छ महिन्द्राका कमर्सियल भेहिकलकाबारेमा सञ्जय जादवसँग विकासन्यूजले गरेको कुराकानी । सञ्जय जादव, भाईस प्रेसिडेन्ट, अन्तराष्ट्रिय अपरेशन प्रमुख (दक्षिण एसिया), महिन्द्रा एण्ड महिन्द्रा नेपालमा महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल(भेहिकल) गाडी बिक्रीको इतिहास कस्तो छ ? नेपालमा महिन्द्रा एण्ड महिन्द्राको यात्रा २६ वर्षअघि नै सुरु भएको हो । महिन्द्रा ग्रुपले नेपालमा कमर्सियल, हेभि, प्यासेञ्जर सेगमेन्टका सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ । हामीले कमर्सियल सवारी भने १९९२ मा नेपालमा शुरु गरेका हौं । कमर्सियल सवारीको नेपाली यात्रामा हामी साह्रै सुखद सफलता पाईरहेका छौं । उपभोक्ताहरुले राम्रो प्रतिक्रिया दिईरहेका छन् । हामीले पनि राम्रो प्रडक्ट र राम्रो सर्भिस दिईरहेका छौं । पछिल्लो २६ वर्षदेखि हामी नेपाली बजारका लिडर नै हौं । दुगड ग्रुपसँगको सहकार्यले हामीलाई ठूलो सफलता दिईरहेको छ । लोडकिङ सेगमेन्टमा पनि हामी बजारको लिडर नै हौं । साना कमर्सियसल सवारीको सेगमेन्टमा पनि हामी सफल छौं । ३ वर्षअघि हामीले हेभि कमर्सियसल सवारीमा नेपालमा ल्याएका छौं । त्यसमा पनि हामीले बजारमा राम्रो पहुँच विस्तार गरेका छौं । एमभी दुगड ग्रुपसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ? महिन्द्रा ग्रुपको सिद्धान्त भनेकै दीर्घकालिन आत्मिय सहकार्य नै हो । हामीले यहि सिद्धान्तका आधारमा पछिल्लो २६ वर्षदेखि मोतिलाल जी र विवेकसँग सहकार्य गरिरहेका छौं । यो सहकार्य राम्रो गतिमा अघि बढिरहेको छ । हामीसँगै अघि बढिरहेका छौं र दुगडसँगको सहकार्यलाई हामीलाई नेपाली बजारमा पुरस्कृत गरिहेको अनुभव गरिहेका छौं । यो सम्बन्धले हामीलाई अझै लामो यात्राका लागि प्रेरित गरिरहेको छ । कमर्सियल सवारीका सवालमा नेपाली बजारको कुनै अध्ययन गर्नु भएको छ ? हामी नेपाली बजारका बारेमा राम्रो जानकार छौं । दुगड ग्रुप आफैंले पनि नेपाली बजारको अध्ययन गरिरहेको छ । यहि इफोर्टले नै हामी नेपाली बजारमा लिडर ब्राण्डका रुपमा दुई दशकदेखि सशक्त रुपमा उपस्थित हुन सफल भएका छौं । व्यवसायिक कम्पनीका लागि बजारको अध्ययन अनिवार्य सर्त नै हुन् । दुगडको देशभर शाखाहरु छन् । सब डिलर र डिलरहरु छन् । हामी त्यतिकै बजारको लिडर ब्राण्ड भएका होइनौं । हामी सिधै उपभोक्तासँग जोडिएका छौं । हामी आफ्ना उत्पादनहरु नै बजारको अनुसन्धानका आधारमा तयार पार्छाै । नेपालले अख्तियारले गरेको विकासको गतिमा तपाईको बजार बढाउने योजना के छन् ? आगामी दिनमा महिन्द्राको कमर्सियल सवारीको बजार कस्तो होला ? नेपाल यतिबेला पूर्वाधार विकासको गतिमा तिब्र रुपले अघि बढिरहेको छ । ठूला पूर्वाधारहरुको निर्माणले गति लिएसँगै हाम्रा उत्पादनहरुको बजार पनि बढ्ने हो र त्यो बढिरहेकै छ । हाम्रा कमर्सियल सवारीहरुको बजार अझै बढ्दै जाने अपेक्षा छ । कुनै पनि उत्पादनको बजार भनेको उपभोक्तासम्म पुग्ने नेटवर्क नै हो । बजार विस्तारको नेटवर्क बिना कुनै पनि उत्पादनले उपभोक्ताको मन जित्न सक्दैन् । हामी बिक्रीपछिको सेवाका बारेमा पनि साह्रै सचेत छौं । दुगडले आफ्ना शाखा, सब डिलर र डिलर मार्फत कमिर्सयसल सवारीहरुको बिक्री गर्छ र बिक्रीपछिको सर्भिस पनि दिन्छौं । स्पेयर पार्टस्हरुको सहज उपलब्धता र बिग्रिएका सवारीहरुको निर्माण पनि हाम्रो उच्च प्राथमिकतामा रहने गरेको छ । हामीले बजार नेटवर्क विस्तारलाई सधै उच्च प्राथमिकतामा राख्दै आएका छौं । दुगडलाई देशभर उपयुक्त डिलर छान्न सहयोग गर्दै आएका छौं । उपकरण खरिद गरिसकेपछि स्पेयर पार्टस् र मर्मत सर्भिसमा पनि उपभोक्तालाई सहजता प्रदान गरेका छौं । अहिले देशभर १६ वटा डिलर्स छन् । जहाँबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् उपलब्ध गराउँछौं । त्यसबाहेक थप २५ वटा स्पेयर्स पार्ट्सका बिक्रेता छन् । उपभोक्ताहरुले महिन्द्रा कम्पनीका कमर्सियल सवारी नै किन रोज्ने ? पक्कै पनि, अहिले संसारभरका राम्रा भनिएका कम्पनीहरुका कमर्सियल सवारी नेपालमा उपलब्ध छन् । त्यस अर्थमा नेपालीहरु साह्रै भाग्यमानी पनि छन् । अमेरिका, युरोप, जापान र कोरियाका उत्पादनहरु नेपालमा सर्वत्र उपलब्ध छन् । नेपालीहरुका माझ कमर्सियल सवारी साधनमा छनौटको राम्रो सुबिधा छ । तर पनि उनीहरुले महिन्द्रालाई नै पहिलो रोजाई बनाउँदै आएका छन् । बजारमा उपलब्ध अन्य कमर्सियल सवारी भन्दा महिन्द्राका सवारी दिगो हुन्छन् । लामो समयसम्म सेवा दिन सक्छन् । किनकी हामी सवारी बेच्ने काम मात्रै गर्दनौं । त्यसको मूल्य अभिवृद्धि( भ्याल्यु एडिसन) पनि गराउँछौं । उपयोगिता पनि बढाउँछौं । अर्थात महिन्द्राका कमर्सियल सवारी साधन अरु कम्पनीका भन्दा बढि उपयोगी र लामो समय टिक्छन् । त्यसका अलवा हामीले बिक्रीपछिको सर्भिस र स्पेयर पार्टस्मा पनि राम्रो ख्याल गर्दै आएका छौं । हाम्रा सवारी खरिद गरेपछि पार्टपुर्जा नपाउने, मर्मतमा कठिनाई हुने समस्या आउँदैनन् । हामीले उपभोक्तासँग क्रेता र बिक्रेताको रुपमा होइन, दुई वटा कम्पनीबीचको व्यवसायिक सम्झौताका रुपमा व्यवहार गरिरहेका छौं । हाम्रा कमर्सियल सवारी साधन खरिद गर्नेहरु आफैं व्यवसायी हुन र हामी उनीहरुसँग व्यवसायिक सम्बन्धका आधारमा व्यवहार गर्छाै । हाम्रा उत्पादनहरुमा न्युन इन्धन खपत हुन्छन् । हामीसँग आधुनिक तालिम प्राप्त मर्मतकर्ताहरु छन् । त्यसकारण, गुणस्तर, मूल्य, बजार नेटवर्क, उपयोगिता, मर्मत सम्भारको सुबिधा लगायतका कारणहरुले महिन्द्राका कमर्सियल सवारी साधन नै उपयुक्त हुनेछन् भन्ने हाम्रो मान्यता हो । नेपालमा बजारीकरणका लागि उत्पादक कम्पनीका रुपमा कुनै योजना बनाउनु भएको छ ? हामी आफैंले नेपालका लागि व्यवसायिक योजना बनाउनु पर्छ भन्ने मान्यता राख्दैनौं । हामी उत्पादन गर्छाै । गुणस्तर कायम गराउँछौं । नेपालमा व्यवसाय विस्तार गर्ने, उपभोक्तामा जानकारी पुर्याउने काम दुगड ग्रुपको हो । जुन काम उहाँहरुले लामो समयदेखि सफल ढंगले गर्दै आउनु भएको छ । हामीले भारतसहित संसारका अन्य मुलुकहरुमा व्यवसाय विस्तारका क्रममा प्राप्त गरेको अनुभवलाई साट्ने गरेका छौं । त्यसका आधारमा दुगड ग्रुपले नेपालमा व्यवसाय विस्तारको लागि काम गर्दै आएको छ । कमर्सियल सवारी साधनको सेगमेन्टमा अब चाँडै नेपालमा कस्तो प्रडक्ट आउँदैछ ? नेपाल तिब्र गतिमा विकासको चरणमा हिडिरहेको छ । यो हाम्रा लागि राम्रो बजार पनि हो । अहिलेसम्म हामीले ठूला कमर्सियल सवारी र साना कमर्सियल सवारी मात्रै नेपालमा उपलब्ध गराउँदै आएका थियौं । अब भने हामी मध्यम खाल(इन्टरमेडियट) कमर्सियल सवारी पनि नेपालमा भित्र्याउने सोँच बनाएका छौं । आइसीबी सेगमेन्टमा पनि हामीले आफ्ना उत्पादन नेपाली बजारमा चाँडै पठाएर सबै खाले कमर्सियल सावरी उपलब्ध गराउने योजना बनाएका छौं । आइसीबीको उपलब्धता हाम्रा लागि र नेपाली बजारका लागि पनि नयाँ अध्याय हुनेछ । कति मूल्य देखि कतिसम्मका कमर्सियल सवारी नेपाली बजारमा उपलब्ध छन् ? हामीले करिब ८ लाख मूल्यका कमर्सियल उत्पादन देखि ६३ लाख मूल्यसम्मका कमर्सियल उत्पादन नेपाली बजारमा उपलब्ध गराएका छौँ । जितो, टिपर, ट्याक्टर टेलर्स, माक्सीमो, लोडकिङ, बस लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् । नेपाली उपभोक्ताका लागि कुनै बिशेष योजना छन् कि ? उपभोक्ताका लागि कस्तो योजना ल्याउँदा फाइदा हुन्छ भनेर दुगड ग्रुपले हेरिरहेको हुन्छ । मूल्यमा छुट दिने, स्पयेर्स पार्टस्, मर्मत सम्भारका सुबिधाहरुलाई आवश्यकता अनुसार ल्याउने गरेका छौं । मुलतः हाम्रा उत्पादनहरुले उपभोक्तालाई अधिकतम लाभ दिनुपर्छ भन्ने मान्यता छ । महिन्द्राको विश्व व्यापार सञ्जाल र हिस्सा कस्तो छ ? महिन्द्रा ग्रुप १९४५ मा स्थापना भएको हो । यो विविधिकरण भएको औद्योगिक समूह हो । ११५ भन्दा बढि देशमा हाम्रो व्यवसाय विस्तार भएको छ । महिन्द्रा ग्रुपको मुल व्यवसाय भनेको अटोमोबाइल्स नै हो । ट्रक, बस, टिपर, ट्याक्टर, टु ह्विलर, थ्री ह्विलर, कमर्सियल सवारी, एसयुभी लगायतका सबै खाले सवारी साधन उत्पादन गर्छाै । हामी ट्याक्टरमा विश्वकै एक नम्बर कम्पनी हौं । हामीसँग टेक महिन्द्रा नामको आइटी कम्पनी पनि छ । सोलार, जलविद्युत उत्पादक कम्पनी पनि छन् । पूर्वाधार निर्माण कम्पनी लगायतका कम्पनी पनि छन् । हामी अटोबोमाइल मात्रै ६० वटा देशमा निर्यात गर्छाै । युरोप, अमेरिकामा अटोमोबाइल निर्यात गरिरहेका छौं । अमेरिकामा भर्खरै मात्रै एसेम्बल प्लान्ट राखेका छौं । महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्षको नाताले नेपाली उपभोक्तालाई सन्देश के छ ? नेपालका उपभोक्ताहरु ग्लोबल ब्राण्ड छान्ने सुबिधामा छन् । तर उनीहरुले महिन्द्रा एण्ड महिन्द्रालाई आफ्नो रोजाईमा पारेका छन् । यो हाम्रो ब्राण्डप्रति नेपालीहरुको विश्वास हो । हामी यो विश्वासलाई अझै मजबुत बनाउन चाहान्छौं । महिन्द्राका उत्पादनहरु प्रयोग गरेर नेपालीहरुले आफ्नो व्यवसायलाई बढाउन सक्छन् । महिन्द्रालाई नेपालीहरुले गरेको मायाले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । हामी गुणस्तर, मूल्य, उपयोगीता जस्ता कुरामा थप जिम्मेवार भएर अघि बढ्नेछौं । नेपालीहरुको यो माया अझै निरन्तर रहोस् ।
एपेक्स बैंकका सञ्चालक छविरमण अधिकारी पक्राउ
काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक छविरमण अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका तत्कालीन संचालक अधिकारीलाई पक्राउ गरेको हो । संचालक अधिकारी शनिवार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ परेका व्यूरोका डिएसपी श्याम ओलियाले बताएका छन् । साथै, व्युरोले गत शुक्रबार बैंकको १ अर्ब ५० करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो ।
जेठाजुले मिर्गौला दिएर बुहारीलाई बचाए
काँकडभिट्टा । झापामा जेठाजुले मृर्गौला दिएर बुहारीलाई बचाएका छन् । पत्रकार समेत रहेकी माया पकुवाललाई उनकै जेठाजु सौरभले मिर्गौला दिएका हुन् । पकुवाललाई सौरभले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन। उपचारका क्रममा चिकित्सकले उनको दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो । सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताए। उनको अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिएकी थिइन् । रासस
धरहरा बनाउन स्थानीयको दबाबमुलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै
काठमाडौं । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् । स्थानीयले ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौ’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका छन् । साथै उनीहरुले ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ५१ हजार १ सय १ रुपैंया पनि जम्मा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज शम्सेर जवरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति नै बनाएर उक्त अभियान अगाडि बढाईएको छ । ‘यो सांकेतिक शुरुवात हो, हामी लाखौंको हस्ताक्षर संकलन गरेर धरहरा बनाउने अभियानमा लागेका छौं । धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ ।’ स्थानीय वेदप्रकाश गौतमले भने, ‘धरहरा बनाउन हामी आफैं श्रमदान गर्न पनि तयार छौं ।’ उनले प्रदेश प्रमुखसहित महानगर लगायत सबैको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अगाडि बढाईएको जानकारी दिए । यस्तै खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा ढलेपछि भूकम्पको त्रास बढेको र त्यसलाई मेटाउन पनि धरहरा तत्काल बन्नुपर्ने बताए । उनले भने, ‘यसलाई व्यापारिक प्रयोजनमा लैजानुहुँदैन । सरकारले संरक्षणका लागि यसको ठेक्का दिएको हो । पर्यटकीय हिसाबले यसको संरक्षण गर्दै ढलेको धरहरा तत्काल बन्नुपर्छ ।’ पर्यटकका लागि आवश्यक सुबिधा र त्यहाँका स्थानीयहरुको सुबिधालाई मध्यनजर गर्दै राष्ट्रिय धरोहर धरहरा बन्नुपर्नेमा जोड दिदैं उनले भने, ‘धरहरमा आँच आउनेगरी गगनचुम्बी भवनहरु बन्नुभएन । हाम्रो भनाई तत्काल धरहरा बन्नुपर्छ ।’ उनले धरहरा बनाउन सम्बन्धीत निकायलाई सहयोग गर्न क्लब र त्यहाँ रहेका अन्य संघसंस्थाहरुलाई ऐक्यबद्ध गराउन आफूहरु तयार रहेको र सरकारले तत्काल धरहरा बनाउने पहलकदमी लिनुपर्ने बताए । स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् । यसअघि धरहराको दक्षिणतर्फ रहेको जग्गामा भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन बनाउन लागेकोमा स्थानीयले विरोध गर्दै महानगरबाट नै त्यस कार्यलाई रोकेका थिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सम्पन्न, असारसम्ममा पीच हुने
काठमाडौं । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ । विमानस्थलको भवन निर्माण र रनवेको निर्माण गरी समग्रमा ४० प्रतिशत काम सकिएको हो । विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ, निर्माणाधिन भवनमा अहिले छाना राख्न लागिएको छ, रनवे अगामी वर्षको असारसम्ममा पीच भैसक्नेछ’, शर्माले विकासन्युजसँग भने । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिन २ महिना लााग्नेछ । त्यसपछि अन्तिम चरणको बिटामिन लेयरको काम शुरु हुनेछ । बिटामिन लेयरको काम सकिन करिब ४ महिना लाग्नेछ । विमानस्थलको धावनमार्ग पिच भैसकेपछि सन् २०१९ को अन्त्यसम्ममा सबै काम सकिने आयोजना प्रमुख शर्माले बताए । चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरिरहेको यस विमानस्थलमा २ सय जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कामदारले काम गरिहेका छन् । सरकारले राष्ट्रिय गौरवको रुपमा अघि बढाएको सो आयोजना सन् २०१७ मै सकिने लक्ष्य लिइएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीले तोकिएको समय भन्दा बढी समय लाग्न गएको अायोजनाका अधिकारीहरुले बताएका छन् । विमानस्थल निर्माण सम्पन्न भएपछि ६ वटा अन्तर्राष्ट्रिय जहाज र ४ वटा स्वदेशी जहाज पार्किङ गर्न सकिनेछ । अहिले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ४ सयसम्म दैनिक उडान भरिरहेको छ । कतिपय विमानहरुले अवतरण गर्नको लागि आकाशमै कुर्नु परेको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । आयोजनाको लागि नेपाल सरकार, एसियाली विकास बैंक र ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोगले लगानी गरेका छन् । आयोजना ६ अर्ब रुपैंया लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
शारीरिक र मानसिक रुपमा अशक्त कर्मचारीले मात्र स्वैच्छिक अवकाश पाउने, ३० अर्ब जाेगाउँदै मन्त्री लालबाबु पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शारीरिक रुपमा अशक्त र मानसिक रुपमा अस्वस्थ्य कर्मचारीलार्इ मात्र स्वैच्छिक अवकाशको सुविधा प्रदान गरिने बताएका छन् । यसअघिको सरकारले ल्याएको निजामति कर्मचारी स्वैच्छिक अवकाश योजना जस्ताको तस्तै लागू हुन नसक्ने उनको भनाई छ । एकातिर राज्यलाई ३० अर्ब रुपैयाँ भार पर्ने र अर्कोतिर सरकारी सेवा प्रदान गर्न दक्ष र सक्षम कर्मचारीको अभाव हुने भएकोले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको स्वैच्छिक अवकाश योजना लागू हुन नसक्ने उनले बताएका छन् । आईतबार बीबीसीसँगको अन्तरवार्तामा मन्त्री पण्डितले भनेका छन्– स्वैच्छिक अवकास योजना दुई वटा कारणले लागू गर्न सकिदैन । पहिलो, कसैको अवकाश हुन हप्ता/दश दिन मात्र बाँकी छ, कसैको १५/२० दिन मात्र बाँकी छ । तर उहाँहरुले राज्यबाट बढी सुविधा लिनको लागि स्वैच्छिक अवकास पाउँ भनेर निवेदन गर्नु भएको छ । यो नितान्त गलत कुरा हो । दोस्रो, जो सक्षम, दक्ष र राज्यको लागि आवश्यक छन्, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा उनीहरुको आवश्यकता छ, उनीहरुलाई विदा गर्ने र नयाँ कर्मचारी ल्याएर, प्रशिक्षित गरेर राख्न कठिन छ । यस्तो गर्ने हो भने जनतालाई सरकारको तर्फबाट सेवा दिन कठिनाई हुन्छ । त्यसैले उहाँहरुलाई हामीले विदा दिन सक्दैनौ ।’ उनले भनेका छन्–मानसिक रुपमा जागिर छोड्ने र काम गर्दिन भन्नेहरुले राजीनामा गर्दा हुन्छ, जागिर छोडेर जाँदा हुन्छ । तर म राजीनामा दिन्न, राज्यले मलाई बढी लगानी गरेर विदा गरोस् भन्ने हो भने त्यो असम्भव छ । असम्भव बाटोमा सरकार जान सक्दैन ।’ पूर्ववर्ति सरकारले ल्याएको स्वैच्छिक अवकास योजनामा सम्शोधन हुने उनको बताई छ । ‘नियमित रुपमा अवकाश हुन लागेका, थोरै समय मात्र बाँकी रहेकाले स्वेच्छिक अवकास पाउन सक्दैनन् । तर शारिरिक रुपमा अशक्त रहेका, मानसिक रुपमा अस्वस्थ्यहरुलाई मात्र स्वैच्छिक अवकाश दिन सकिन्छ । त्यहि भावमा पुरानो व्यवस्था संशोधन हुन्छ ।’ हाल ४ सचिवसहित करिब १० हजार कर्मचारीद्वारा स्वैच्छिक अवकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी ४ सचिवसहित ९ हजार ६५६ कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका मन्त्रालयको स्वैच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले जानकारी दिए । सरकारले निजामतिसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वैच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको रोकायले जानकारी दिए । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वैच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।
सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।