विकासन्युज

नेपाली बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने, एनएमबी र एनआईसी एसियालाई बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपाली बैंकलाई विदेशबाट ऋण लिन पाउने निर्णय गरेको हो । ऋण लिन पाउने नीति केही दिनभित्र सार्वजनिक हुनेछ । सञ्चालक समितिले पास गरेको तर माइन्युट साइन भएर बाहिर नआएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । माइन्युटमा सही भएर आएपछि यसको खाका बनाएर कार्यन्वयनमा ल्याउने उनले जानकारी दिए । एनएमबी बैंक र एनआईसी एसिया बैंकले ऋण लिन स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले जानकारी दिए । “बैंकले विदेशी वित्तीय संस्थाबाट ल्याउन पाउने ऋणको सीमा, ब्याजदर, हेजिङफण्ड, र लगानीको क्षेत्र र कर्जाको अवधि तोकिने गरी अर्को निर्णय आउने छ” पौडेलले भने । लगानीयोग्य पुँजी बढाउन विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ । एनएमबी बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ल्याउन लागेको १ अर्ब ५० करोड रुपैयाँ ऋण ल्याउन बाटो खुलेको छ ।अघिल्लो साता आइतबार एनएमबीले आईएफसीसंग ऋण लिने सम्झौता गरेको थियो । आईएफसीबाट ऋण लिनका लागि प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले ऋण लिन अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिने जानकारी गराए । यस्तै एनआईसी एसिया बैंकले पनि विदेशबाट ऋण लिने तयारी गरेको छ । गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन पाउने छन् । यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म ल्याउन सक्ने देखिएको पौडेल बताउछन् ।

भूकम्प पीडितको दोस्रो किस्ताको म्याद ३ महिना थपियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असारसम्म थपेको छ । चैत अन्त्यसम्म रहेको दोस्रो किस्ताको म्याद असारसम्म थपिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेकोे प्रधिकरणका आयुक्त यामलाल भुषालले जानकारी दिए । प्रधिकरणका अनुसार भूकम्प पीडितका १ लाख १५ हजार घर निर्माण भैसकेका छन् भने ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । आगामी वर्षको असारसम्म ४ लाख ४९ हजार घर निर्माण गर्ने प्रधिकरणले लक्ष्य लिएको छ । यसैगरी प्रधानमन्त्रीले केपी शर्मा ओलीले दिएको निर्देशन अनुसार कार्यविधि संशोधन गर्ने विषयमा पनि लफल भएको भुषालले जानकारी दिए ।  

राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंककाे बम्पर उपहार, डेपुटी गभर्नरले भने–‘हामी उचित निर्णय लिन्छाैं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित नविल बैंकले नयाँ बम्बर उपहार योजना ल्याएको छ । नविलले आफ्ना ग्राहकलाई १५०० रुपैयाँको किनमेल गर्दा १०० रुपैयाँ फिर्ता दिने र सबैंभन्दा बढी कारोबार गर्नेलाई २७ लाख रुपैयाँकाे कार उपहार पनि दिने गरि बम्पर उपहार योजना ल्याएको हाे । चैत २० गतेदेखि लागू हुने गरी बैंकले ल्याएको यो योजना गलत भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । ‘मैले आजै पत्रिकामा नविल बैंकको बम्बर उपहार योजनासहितको विज्ञापन पढेँ, मेरो बुझाइमा त्यो गलत छ, यस विषयमा राष्ट्र बैंकमा छलफल हुन्छ’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले विकासन्युजसँग भने । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि नविल बैंकको उपहार योजना राष्ट्र बैंकको एकिकृत निर्देशनको बुँदा १३ को भाव विपरित भएको बताए । ‘नविल बैंकले राष्ट्र बैंकको निर्देशनको शब्द शब्द केलाउँदै निर्देशनको भावना विपरित काम गरेको छ । यस विषयमा राष्ट्र बैंकले उचित निर्णय लिन्छ’ उनले भने । नेपाल बैंकर्स संघको अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि नविल बैंकको उपहार योजना गलत भएको बताए । ‘मलाई लाग्छ, कुनै पनि बैंक तथा वित्तीय संस्थाले उपहार योजना सञ्चालन गर्न पाईनैन । राष्ट्र बैंकको नियम त्यहि हो, सबैलाई त्यो लागू हुनुपर्ने हो’ उनले विकासन्युजसँग भने । नबिल बैंक डेविट/क्रेडिट/प्रिपेड जस्ता भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘कार्डबाट कार’ योजना ल्याएको छ । यस योजनामा दुई वटा योजना छन् । पहिलोमा ग्राहकहरुले नेपाल भित्रका पीओएस तथा ई–कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात १०० नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तिमा ५०० वा सो भन्दा बढीको हुुनु पर्ने बैंकले जनाएको छ । बम्पर उपहार योजना अन्तरगर्त यस योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाई ग्राण्ड आई १० कार प्रदान गरिने बैंकले जनाएको छ । यस कारको बजार मूल्य २६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो योजना २० गतेदेखि प्रारम्भ भई ३ महिनासम्म अर्थात आगामी असार १९ गतेसम्म रहने नविल बैंकले जनाएको छ । यस विषयमा नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न प्रयास गर्दा कुरा गर्न मानेन् । कर्पोरेट कम्यूनिकेशन युनिट आस्था शाहले भने राष्ट्र बैंकबाट स्वीकृत लिएर यो उपहार योजना ल्याएको बताइन । एक दशकअघि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न सुनको सिक्का, हिराको हार, कार, घर उपाहार दिन थालेका थिए । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा गराएको, एक दुई जना ग्राहकलाई ठूलो लाभ र लाखौ ग्राहकलाई नोक्सान हुने काम गरेको भन्दै राष्ट्र बैंकले सबैं प्रकारका उपहार योजन बन्द गराउने निर्णय गरेको थियो । ‘त्यतिबेला निक्षेपकर्तालाई प्रलोभनमा पार्ने धेरै होडबाजी थियो । कुमारी बैंकले घर उपहार दिने योजना ल्यायो’ राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने–‘लाखौ निक्षेपकर्तालाई २ प्रतिशत मात्र व्याज दिने, एक जनालाई ७० लाख रुपैयाँको घर उपहार दिने योजनाले लाखौ निक्षेपकर्तालाई मर्का परेको देखियो र हामीले सबै प्रकारका उपहार योजनालाई बन्द गराएका थियौ । राष्ट्र बैंकले बेलैमा सहि निर्णय नगर्ने हो भने एक दशक पहिले जस्तै फेरी नेपाली बैंकिङ क्षेत्रमा बम्पर उपहार योजनाको बहार आउने देखिएको छ ।

नगरपालिकाको बजेट आफुखुशि खर्च गर्ने अधिकृत नवीनकुमार श्रेष्ठ प्रहरी हिरासतमा

काठमाडौं । नगरपालिकाको रकम आफुखुशि खर्च गर्ने नगरपालिका कार्यालय धनकुटाका अधिकृत नवीनकुमार श्रेष्ठलाई अख्तियारले हिरासतमा लिएको छ । श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटाले हिरासतमा लिएको हो । उनले नगरको रकम बैंकमा दाखिला नगरी व्ष्क्तिगत प्रयोगमा ल्याएको भन्ने जनगुनासो बढ्न थालेपछि अख्तियारले कारवाहि प्रक्रिया अघि बढाएको थियो । अख्तियारको अनुसार उ नीमाथीअनधिकृत रुपमा रकम समेत झिकी अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मुआब्जाको लागि सबैले पहल गर्ने भएपछि साँफे मार्तडी सडक सुचारु

काठमाडौं । मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए । तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । स्थानीयले तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ । सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपछि अहिलेसम्म भुक्तानी भएको छैन । पटकपटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउने गरेको छ । उनीहरुले बिहानै पर्खाल र तारबारसहित बन्द गरेका थिए । सडक अवरुद्ध गरिएपछि करिब छ घण्टा दर्जनौँ सवारी साधनका यात्रु तिपाडामा अलपत्र परेका थिए । जिल्ला बाहिर जान र आउन लागेका दुवैतिरका यात्रु सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् । आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्यांकनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । रासस

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६० लाख कित्ता नेप्सेमा सुचिकृत, हेर्नुस कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेप्सेमा मंगलबार १ करोड ५९ लाख ७९ हजार ३२४ कित्ता सेयर सुचिकृत भएको हो । जसअनुसार नेपाल बंगलादेश बैंकको ८ लाख ७० हजार ६१, ज्योति विकास बैंकको २३ लाख २ हजार ८७२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यस्तै स्वावलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ४१ हजार ४७७, सिटिजन्स बैंकको १ करोड ११ लाख १५ हजार ४६७ र सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता सुचिकृत भएको हो । ५ वटै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयर वितरण गरेका छन् ।

१५०० सयको सामान किन्दा १०० रुपैयाँ फिर्ता, साथमा नविल बैंकले २७ लाखको कार उपहार दिने

काठमाडौं । नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) प्रयोग गर्नुहुन्छ ? खुशीको खवर छ । नविल बैंकले आफ्ना ग्राहकलाई १५०० रुपैयाँको किनमेल गर्दा १०० रुपैयाँ फिर्ता दिने भएको छ । साथै २७ लाख रुपैयाँ मूल्यको कार उपाहार पनि दिने भएको छ । बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘कार्डबाट कार लगातार” नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको शुरुवात गरेकोछ । यस अभियानमा दुई वटा योजना छन् । पहिलोमा ग्राहकहरुले नेपाल भित्रका पीओएस तथा ई–कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात १०० नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तिमा ५०० वा सो भन्दा बढीको हुुनु पर्ने बैंकले जनाएको छ । बम्पर उपहार योजनाको अन्त्यमा योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाई ग्राण्ड आई१० (माज्दा) कार प्रदान गरिने बैंकले जनाएको छ । यस कारको बजार मूल्य २६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो योजना २० गतेदेखि प्रारम्भ भई तीन महिनासम्म अर्थात आगामी असार १९ गतेसम्म रहने नविल बैंकले जनाएको छ । “यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहाँहरुलाई पीओएस तथा ईकमर्शको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलोसँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ । साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु” नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भनेका छन् । नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै एटीएम, पोइन्ट अफ सेल्स र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएको छ ।

वाणिज्य बैंकको सेयर १०० रुपैयाँ नजिक, सबैभन्दा कम सिभिल र बढी नविलको, हेर्नुस कसको कति ?

काठमाडौं । सेयर बजार घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारण (आईपीओ) हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा सेयर बजारमा गिरवाट आएपछि बैंकको सेयर मूल्य घट्दै गएको छ । बैंकको सेयर मूल्य आईपीओको हारहारीमा आइपुग्ने देखिएको छ । केही दिन घट्दै गयो भने सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंकको सेयर मूल्य १ सय भन्दा तल पुग्ने देखिएको छ । सेयर मूल्य धेरै घटेकाले बैंकको किन्ने बेला आएको लगानीकर्ताको भनाई छ । ८ अर्ब रुपैयाँ पुँजी भएका बैंकको सेयर मूल्य धेरै कम छ । करोडमा पुँजी भएका लघुवित्तीय संस्था, बीमा कम्पनीको सेयर मूल्य बढी छ । सबैभन्दा सस्तो सेयर सिभिल बैंकको छ । सोमबारसम्म सिभिलको सेयर प्रतिकित्ता १४५, जनताको १५४ र सेन्चुरीको १६८ रुपैयाँ छ । बढी सेयर मूल्य नविल बैंकको छ । नविलको सोमबार ९४५ रुपैयाँमा कारोबार भएको छ । २ हजार भन्दा बढी सेयर मूल्य भएको स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ८२० रुपैयाँमा झरेको छ । ५ सयदेखि १ हजार नजिक सेयर मूल्य भएकामा नविल, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंक रहेका छन् । अधिकाँश बैंकको सेयर मूल्य ५ सय भन्दा कम छ । ५०० रुपैयाँ भन्द कम सेयर मूल्य भएकामा नेपाल बैंकको ३०२, कृषि विकास बैंकको ३१४, बैंक अफ काठमाण्डुको ३१३, सिटिजन्स बैंकको २५५, ग्लोबल आइएमई बैंकको ३००, कुमारी बैंकको २३५, लक्ष्मी बैंकको २३०, माछापुच्छ्रे बैंकको २१७, मेगा बैंकको ४४९ मा छ । यस्तै नेपाल बंगलादेश बैंकको २२१, नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २३०, एनआईसी एसियाको ३०८, एनएमबी बैंकको ४१३, प्रभु बैंकको २०८, प्राइम कमर्शियल बैंकको २७८, सानिमा बैंकको ३४४, सिद्धार्थ बैंकको २९९ र सनराइज बैंकको २३१ रुपैयाँ रहेको छ । सेयर बजार घट्दै गए बैंकको सेयर मूल्य अझै सस्तिने देखिएको छ ।  बोनस सेयर र हकप्रदले गर्दा अधिकाँश बैंकको सेयर मूल्य समायोजन भएका छन् ।