बीरगञ्ज, बुटवल र बिराटनगरमा एनआईबिएलएस क्यापिटलको नयाँ शाखा
काठमाडौं । एनआईबिएलएस क्यापिटल लिमिटेडले एकै साथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको उक्त सहायक कम्पनीले आफुलाई अग्रणी रुपमा स्थापित गर्दै मर्चेन्ट बैंकिङ अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरुबाट सर्वसाधारणहरुलाई सेवा प्रदान गर्दै आएको बताइएको छ । हाल विस्तार गरिएको नयाँ शाखाहरुबाट शेयर निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरुलाई थप व्यवस्थित गर्ने कम्पनीको भनाइ छ । कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गरिरहेको बताएको छ । साथै बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ । आफ्नाग्राहकहरुको विश्वास र व्यापकतालाई मध्यनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा समेत शाखा विस्तार गर्दै जाने योजना गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङगा पोखरा लगायत स्थानहरुबाट विभिन्न सेवाहरु उपब्ध भइरहेको कम्पनीको भनाइ छ ।
नविल बैंकलाई बम्पर उपहार योजना चलाउन राष्ट्र बैंकले स्वीकृत दिएको छ– अनिल शाह
काठमाडौं । नबिल बैंकलाई बम्पर उपहार योजना चलाउन नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् । राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंकले बम्पर उपहार योजना सञ्चालन गरेको बारेमा विकासन्युजमा समाचार प्रकाशित भएपछि शाहले ‘राष्ट्र बैंकको सहमति र स्वीकृतिमा’ बम्पर उपहार योजना सञ्चालन गरेको जनाएका छन् । ‘हामीले बम्पर उपहार योजनाबारे विस्तृत जानकारी राष्ट्र बैंकलाई दिएका छौं र नियामक राष्ट्र बैंकको तर्फबाट लिनु पर्ने सबै प्रकारको सहमति र स्वीकृति लिएका छौं’ शाहले विकासन्युजलाई लिखित पठाउँदै लेखेका छन्–‘सबै प्रकारको स्वीकृति लिनुपर्दा यो योजना सार्वजनिक हुन ढिला भएको थियो ।’ नगद फिर्ता गर्ने यस्तो योजना अरु बैंकहरुले यसअघि नै ल्याएको उनले स्मरण गराएका छन् । यसअघि अरु बैंकहरुले भिसाकार्डबाट सपिङ गर्दा सबै ग्राहकलाई समान रुपमा नगद फिर्ता योजना सार्वजनिक गरेका थिए । तर नविल बैंकले भिसाकार्डबाट खरिद गर्नेमध्ये सबैभन्दा बढी कारोबार गर्ने एक जनालाई २६ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने कार बम्पर उपहार दिने घोषणा गरेको छ । उक्त योजना राष्ट्र बैंकको नीति र निर्देशन विपरित भएको राष्ट्र बैंकका अधिकारीहरुले नै बताएका छन् ।
नेपाल सेवा लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति, ४ करोड २० लाखको आउने
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ । धितोपत्र बोर्डले मंगलबार नेपाल सेवा लघुवित्तलाई ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहेको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको एक्सटेन्सन काउन्टर पुल्चोकमा
काठमाडौं । मंगलबार प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर म.न.पा वडा नं. २०, पुलचोकस्थित ललितपुर महानगरपालिकाको हाताभित्र बैंकिङ सेवा प्रदान गर्न केन्द्रिय कार्यालय मात हत रहने गरि एक्सटेन्सन काउन्टर शुरु गरेको छ । कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा संयुक्त रुपमा कार्यक्रमबीच विधिवत उक्त काउन्टरको उद्घाटन गरिएको फाइनान्सको भनाइ छ । कार्यक्रममा फाईनान्स का अध्यक्ष किशोर महर्जनले उक्त वित्तीय संस्था तथा काउन्टर कार्यालयको आवश्यकताका बारेमा जानकारी गराएका थिए । उनका अनुसार काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत/निक्षेप जम्मा तथा भुक्तानी लागयत सम्बन्धि सेवा प्रदान गरिनेछ । हाल फाईनन्सले केन्द्रिय कार्यालय, शाखा कार्यालय तथा काउन्टर कार्यालय गरि ५ स्थानबाट आफ्नो सेवा प्रदान गरिरहेको बताएको छ ।
वाणिज्य बैंकले साढे ५ अर्बसम्म विदेशबाट ऋण लिन पाउने, सबैभन्दा बढी कृषि विकासको, हेर्नुस कुन बैंकले कति पाउँछन्
काठमाडौं । वाणिज्य बैंकले विदेशी बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् । ८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । उनकाअनुसार २८ वटै वाणिज्य बैंकले ६३ अर्ब रुपैयाँ विदेशबाट ऋणलिन पाउने छन् । सबैभन्दा बढी ऋण लिन कृषि विकास बैंकले पाउने भएको छ ।कृषि विकासको प्राथमिक पुँजी २२ अर्ब रुपैयाँ रहेको छ । १२ अर्ब रुपैयाँ प्राथमिक पुँजी भएको बैंकले ३ अर्ब रुपैयाँसम्म विदेशी बैंकबाट ऋण लिन पाउने छन् । ७ वटा बैंकको प्राथमिक पुँजी १२ अर्ब रुपैयाँ भन्दा बढी छ । यी बैंकले न्युनत्म ३ देखि बढीमा साढे ५ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । धेरै ऋण लिन पाउनेमा स्ट्यान्डर्ड चाटर्ड बैंक, नविल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक रहेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्राथमिक पुँजी साढे ११ अर्ब रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको १९, स्ट्याण्डर्ड चाटर्डको १८, नविल बैंकको १५, हिमालयन बैंकको १४ र नेपाल बैंकको १२ अर्ब रुपैयाँ प्राथमिक पुँजी रहेको छ । बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सेयर बजार, हाउजिङ, जग्गा विकास र रियलस्टेट जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले विदेशबाट लिने ऋण जलविद्युत, प्रसारणलाइन, केवलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुल निर्माण जस्ता राज्यको प्राथमिकता प्राप्त उत्पादनमुलक क्षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । ऋण रकम विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघुवित्त क्षेत्रमा पनि कर्जा प्रवाह गर्न पाउने छन् । अन्तर बैंक कारोबारमा सो पुँजीको प्रयोग गर्न नपाइने नीतिमा उल्लेख छ । विदेशी वित्तीय संस्थाबाट लिएको ऋण भुत्तानी अवधि न्युनतम १ देखि ५ वर्षसम्म हुने छ । केन्द्रीय बैंकले स्वीकृति दिएमा नविकरण गर्न पाइनेछ । यसैगरी ऋणको ब्याज तथा ऋणदाताले लिने शुल्क ६ महिनाको लिवरेज थप ३ प्रतिशतसम्म हुनेछ । ब्याज बाहेक अन्य कमशिन शुल्क बुझाउन नपाइने राष्ट्र बैंकले जनाएको छ । विदेशी बैंकबाट ऋण लिदा नेपाली बैंकले धितो र जमानत राख्न नपाईने व्यवस्था गरिएको छ । विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन् । एनएमबीले डेढ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति मागेको छ । उसले विश्व बैंकअन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण सम्झौता गरेको छ । गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो ।
हिन्दु धर्मको सबैभन्दा ठूलो तीर्थस्थल पशुपति क्षेत्र ‘माग्नेमुक्त’ घोषित
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र माग्ने मुक्त क्षेत्र घोषणा भएको छ । मंगलबार पशुपति परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सो क्षेत्रलाई माग्नेमुक्त क्षेत्र घोषणा गरेका हुन् । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको सहयोगमा मानव सेवा आश्रमले पशुपति परिसरमा रहेका ८१ जना वेसहारालाई उद्धार गरेर उनीहरुको वुढानिलकण्ठ, सामाखुशी, चितवन र हेटौंडा लगिएपछि पशुपति मगन्ते मुक्त क्षेत्र बनेको हो । कार्याक्रममा बोल्दै मन्त्री अधिकारीले उद्धार गरेर लगिएका व्यक्तिलाई आध्यात्मिक वा सम्भव भए अन्य उत्पादनमुलक क्षेत्रमा लगाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा काठमाडौंलाई मगन्तेमुक्त क्षेत्र बनाउने बताए । माग्ने बसेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको हो । पशुपति क्षेत्रलाई योग, ध्यान र साधना स्थलका रुपमा विकसित गर्ने अभियानअन्तर्गत लागुपदार्थ र मगन्तरहित क्षेत्र बनाउन लागिएको हो । कोषले पहिलो चरणमा सूर्यघाट क्षेत्रबाट योग, ध्यानलगायत साधनाका कार्यक्रम शुरु गर्ने तयारी गरिएको जनाएको छ ।
एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकासुरेन्स सम्झौता गरेको छ । मंगलबार बैंक र उक्त इन्स्योरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात सगरमाथ इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्ने जानकारी दिइएको छ । त्यस्तै बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न समेत सरल हुनका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न गर्न सकिने बताइएको छ । कम्पनीले चालू आवको दोस्रो चौमासिकसम्मका ५२ करोड ८७ लाख रुपैयाँ बरावर दावी भूक्तानी विभिन्न शिर्षक अन्तर्गत गरिसकेको जनाएको छ ।
पाँचतारा साकोसको आयोजनामा रक्तदान
काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । व्लड डोनर्स एशोसिएसन केन्द्रिय समितिका सचिव सूर्यलाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ब्लोदान पूर्वी भेगिय कार्यसमिति सहयोगी संस्थाको रुपमा रहेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमित रुपमा रक्तदानकार्यक्रम गर्दै आएको जनाएको छ ।