१अर्ब ११ करोडको आलु उत्पादन
नुवाकोट । नुवाकोटमा यस वर्ष १ अर्ब ११ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” वरिष्ठ कृषि विकास अधिकृत गैरेले भने– “किसानले व्यावसायिक रुपमा शुरु गरेको खेती प्रणाली सही रुपमा अवलम्बन हुँदा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।” आलुको उत्पादनमा वृद्धि र मूल्यसमेत राम्रो पाएपछि आलु खेती गर्दै आएका किसानसमेत उत्साहित बनेका छन् । स्थानीय बजारमा अहिले आलु १५ भन्दा माथि कारोबार हुदा किसानले प्रतिकिलोग्राम ५ रुपैयाँसम्म नाफा गर्न सकेका छन् । नगदे बालीका रुपमा आलु लगाएर राम्रो उत्पादन गर्दै आएका किसानले शीत भण्डारण (कोल्ड स्टोरेज) को अभावमा हकदाबी मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि विकास कार्यालयको अनुसार आलु उत्पादन तथा बिक्री र कारोबारको तथ्याँकमा घरेलु प्रयोजनका लागि लगाउने नभई व्यावसायिक रुपमा खेती गर्ने किसानको उत्पादन मात्र समावेश गरिएको छ । दुई याममा गरी व्यावसायिक रुपमा ४ हजार २४८ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । प्रतिहेक्टर १७.४७ मेट्रिक टन उत्पादन भई जिल्लाभर कूल ७४ हजार २०४ मेट्रिक ट्रन आलु उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याँक छ । मलखादको सहज आपूर्ति र सुहाउँदो हावापानीले पनि उत्पादनमा वृद्धि भएको हो । यहाँ गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलुको जोन कार्यालय सञ्चालनमा आएसँगै आलुखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि र लगाउने क्षेत्रफलसमेत बढ्न थालेको छ । यहाँको सबै स्थानमा आलुखेतीका लागि उपयुक्त हावापानी छ । रासस
यूएस बांगला एयरलाइसन्सले क्षतिपूर्ति दिन मृतकका परिवारसंग माग्यो दावी विवरण
काठमाडौं । यूएस बंगला एयरलाइन्स लिमिटेडले दुर्घटनामा परी निधन भएका यात्रुको दावी भुक्तानीका लागि विवरण संकलन सुरु गरेको छ । एयरलाइन्सले नेपालको प्रधान, घिमिरे एन्ड एसोसियट्सलाई कानून व्यवसायी नियुक्त गरी दावी विवरण संकलनको काम सुरु गरेको छ । ३५ दिनभित्र परिवार वा कानूनी हकदारलाई सम्पर्क गर्न नियुक्त कानून व्यवसायीले अनुरोध समेत गरेको छ । दुर्घटनामा परेका यात्रुको दावीहरु यकिन गरी एयरलाइन्सको तर्फबाट निप्टार गर्न कानून व्यवसायीले नजिकको हकदारबाट मृत्यु भएका यात्रुको विवरण र दावी संकलनको काम थालेको छ । फागुन २८ गते मध्यान्न २ बजेर २० मिनेटमा बंगलादेशबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुदा ४९ जनाको निधन भएको थियो । यता सरकारले पनि विमान दुर्घटनाको अध्ययन गरी यर्थाथ विवरण बाहिर ल्याउन जाँचबुझ समिति गठन गरेको छ ।
देउवा सरकारले सुरु गरेको नियुक्ति धमाधम रद्ध, बीमा संस्थाको प्रशासक प्रक्रिया खारेज
काठमाडौं । शेरबहादुर देउवा सरकारको पालमा सुरु गरिएको नियुक्ति प्रक्रिया केपी ओली नेतृत्वको सरकारले धमाधम रद्ध गर्न थालेको छ । ओली सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासक नियुक्ति प्रक्रियालाई पनि रोकेको छ । देउवा सरकारको पालामा गठित प्रशासक नियुत्ति छनौट तथा शिफारिश समितिको निर्णयलाई ओली सरकारले उल्टाएको छ । समितिको गत शुक्रबार बसेको बैठकले प्राप्त दरखास्त तथा हाल भएको सबै प्रक्रिया रद्धको निर्णय गरेको हो । छनौट तथा शिफारिश समितिले माग गर्दा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापाले दरखास्त दिएका थिए । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ता पनि लिएको थियो । समितिले एकाएक नियुक्तिको सबै प्रक्रिया रद्ध भएको जानकारी गराउदै पदपूर्तिमा सहभागी सबै आवेदकलाई दस्तुर वापत बुझाएको सबै रकम फिर्ता लिन अर्थ मन्त्रालयको आर्थिक प्रशासन महाशाखामा सम्पर्क गर्न भनिएको छ ।
सरकारले स्वैच्छिक अवकास रोक्यो, कर्मचारीले अब काममा फर्किनु पर्ने
काठमाडौं । ३० अर्ब रुपैयाँ बढी आर्थिक भार पर्ने भन्दै सरकारले स्वैच्छिक अवकास योजनालाई रोकेको छ । सरकारले मानसिक र शारिरिक रुपमा अस्वस्थ कर्मचारीलाई मात्र स्वेच्छिक अवकास दिने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अवकास योजना रोकेको जानकारी दिए । उनले कर्मचारी समायोजन ऐन संशोधन नहुदासम्म अवकास प्रक्रिय रोकिने स्पष्टपारे । अघिल्लो सरकारले प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीका लागि अवकास योजना ल्याएको थियो । स्वेच्छिक अवकास योजनालाई रोज्दै ४ जना सचिवसहित साढे ९ हजार कर्मचारीले अवकास लिनका लागि मन्त्रालयमा निवेदन दिएका थिए । अवकासमा जाने कर्मचारीले ७ वर्षको एकमुष्ठ पेन्सन पाउने योजना थियो । सरकारले ठुलो आर्थिक भार पर्ने भन्दै यसलाई तत्काल रोकेको मन्त्री पण्डितले जानकारी दिए । उनले स्वेच्छिक अवकास रोजेका कर्मचारीलाई काममा पठाउने बताए । अहिले कर्मचारीको आवश्यकता भएकाले सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने मन्त्री पण्डितको भनाई छ । स्वेच्छिक अवकासमा जाने सचिवस्तरका कर्मचारीले एकमुष्ठ ३५ लाख रुपैयाँसम्म पाउने थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा स्वेच्छिक अवकास र पेन्सनमा गरी ६२ अर्ब ४० करोड रुपैयाँ खर्च हुने बताएका थिए । अवकास योजना रद्ध भएपछि नियमित अवकास र पेन्सनमा ४५ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । स्रोतः नयाँपत्रिका
सुर्खेत, कैलाली र दाङमा नबिल बैंकको नयाँ शाखा
काठमाडौं । नबिल बैंकले बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङ मा गरि तीन वटा नयाँ शाखाहरु उद्घाटन गरेको छ । ती मध्ये बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका हुन् । कैलाली र दाङ शाखाहरुको उद्घाटन समेत बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् । बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नबिल बैंकले सो प्रदेशमा शाखा खोलेकोमा स्वागत गरेका थिए । उनले बैंकले दिने सेवा सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान मिल्ने विश्वास गरेका छन् । सोही समारोहमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउन अझै धेरै शाखा विस्तार गर्ने योजना रहेको सुनाए । उनले बैंकमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता व्यक्त गरे । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त खुलेका नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्ने जानकारी दिए । उनका अनुसार नबिल बैंकले ६२ वटा शाखाहरुको सञ्जाल, १०९ वटा एटिएमहरुको संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ मुलुकभर विभिन्न एजेन्टहरुमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने छ ।
यसरी बनाउन सकिन्छ विराटनगर-धनकुटा-भेडेटार मोनोरेल-डा होमनाथ चालिसे
प्रदेश नं १ तुलनात्मक रुपमा पर्यटन व्यवसायको लागि धेरै राम्रो गन्तव्य हो । यो प्रदेशको तराइ भूभाग एवं पहाडी भूभाग सबै हराभरा र रमाइलो छ । तराईदेखि पहाडसम्मनै यातायातको सञ्जाल राम्रै बिस्तार भएको छ । तेस्तै धार्मिक पर्यटनको लागि त झनै प्रशिद्ध छ । यो प्रदेश पूर्वतर्फ दार्जलिङ्ग र दक्षिणमा बङ्गाल, र बिहारसंग जोडिएको छ । स्थलमार्ग भएर पूर्वबाट नेपाल प्रवेश चाहने तेस्रो मुलुकका पर्यटकका लागि काकडभित्ता प्रवेशद्वार हो । यो प्रदेश जलस्रोतमा पनि धनी छ । यहाको नदी नालाबाट ठूलो मात्रामा बिजुली निकाल्न सकिने सम्भाबना छ र यो दिशामा काम पनि अगाडी बढी रहेको देखिन्छ । यो प्रदेश नगदे बाली को लागि पनि प्रशिद्ध छ । चिया, अलैची, अदुवा, अम्रिशोको लागि यहाको पहाडी धरातलीय भूभाग उपयुक्त छ । भेडेटार भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । उच्च पहाडमा रहेको बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् । भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चाल्र्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो । चाल्र्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पोसम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ । भेडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । छिनछिनमा मौसम परिवर्तन हुने विषेशता रहेको भेडेटारमा पाँचवटा ठूला सेमिनर हल सहितका ३५ वटा सुविधा सम्पन्न होटल खुलेका छन । त्यसैगरी निकट भविष्यमा सञ्चालनमा आउने तयारीमा १० वटा तारे होटल निर्माणधीन अवस्थामा छन । भेडेटारमा दैनिक दुई हजारदेखि २५ सयको संख्यामा पर्यटन घुम्न आउने गरेका छन । घुम्न आउने कुल पर्यटकको संख्याको ४० प्रतिशत भारतीय हुने गरेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी घुम्न रुचाउने पर्यटकीय गन्तव्यका रुपमा भेडेटारलाई लिन थालिएको छ । भारतबाट नजिकै भेडेटार भारतीय नाका बिहारको जोगबनीबाट झन्डै ६७ किमीको दुरीमा रहेको छ । बिहारको जनसंख्या झन्डै १० करोड छ जुन नेपालको भन्दा साढे तीन गुणा बढी हो । नेपाल को भू–बनोटको कारणले नेपालको अन्य भागबाट भेडेटार पुग्नु भन्दा बिहारको विभिन्न भागबाट छिटो एवं सस्तो किसिमले भेडेटार पुग्न सकिन्छ । उत्तरी बिहारमा बस्नेहरुले बास्तबमै भेडेटारको सौन्दर्यबाट लाभान्वित हुने मौका उठाउने सम्भाबना बढी छ । यसको लागि नेपालको पर्यटन बोर्ड, १ नं प्रदेश एवं स्थानीय निकायहरु, पर्यटन व्यवसायीहरुले त्यही किसिमले यो क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकाशमा जोड दिनुपर्नेछ । सबै कुरा अनुकुल भएको अबस्थामा वार्षिक लाखौ बिहारीहरूले भेडेटार तथा नेपालको हिमालयको दृष्याबलोकन गरी आनन्द लिन सक्ने छन । कसरी लाखौ पर्यटन भारतबाट आउन सम्भब छ त ? भेडेटार भारतको उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालबाट नजिकै पर्दछ । अहिले उत्तरप्रदेशको जनसंख्या २० करोड, बिहारको १० करोड र पश्चिम बंगालको जनसंख्या ९ करोड छ । बिहारबाट एक दिनको समयमै पनि भेडेटार १–२ घण्टा घुमेर मज्जाले फर्किन सकिन्छ । यस्तो अवस्थामा यी छिमेकी मुलुकका सीमाबर्ती जिल्लाबाट गर्मीको समयमा दिनहुँ हजारौ पर्यटक भेडेटार आएर यहाको छिनछिनमा बदलिने मौसमको आनन्द लिन सक्ने देखिन्छ । जोगबनी हुदै भेडेटार पुग्ने क्रममा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान नगरपालिका पार गरेपछि मात्रै भेडेटार पुगिन्छ । तसर्थ भारतबाट वार्षिक लाखौ पर्यटक भित्र्याउने कार्यको लागि यी तिनवटै नगरपालिकाले भेडेटारसंग समन्वय गरेर कार्य गर्नु आवश्यक छ । विराटनगरबाट सिधै भेडेटारसम्म पुग्नको लागि यातायातको राम्रो व्यबस्था गरिनु आवष्यक छ । यसको लागि नया पूर्वाधार निर्माणमा पनि केन्द्र सरकार र स्थानीय सरकार मिलेर काम गर्नु आबश्यक छ । विराटनगर–भेडेटार मोनोरेल मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बीमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेल वातावरणमैत्री मानिन्छ । वायु र ध्वनी प्रदुषण कम हुन्छ । नागरिकको स्वास्थ्यमै सुधार आउँछ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् । मोनोरेलको निर्माण गर्न केहि महँगो पर्नसक्छ । एउटा अध्ययनले एक किमी मोनोरेलको निर्माण गर्न झन्डै २ देखि ३ अरब रुपैयाँ लाग्ने देखाएको छ । यो हिसाबले विराटनगरदेखि धरानसम्म समथर जमिन भएको ४६ किमीमा प्रति किमी २ अरब ले हिसाब गर्दा झन्डै एक खरब रुपैयाँ लाग्ने देखिन्छ । धरानदेखि भेडेटारसम्मको उकालो र घुमाउरो १६ किमी बाटोमा झन्डै आधा खरब गरी मोटामोटी झन्डै एक खरब पचास अरब रुपैयाँ लाग्ने देखिन्छ । धरानदेखि भेडेटारको घुमाउरो बाटोमा सिधै ठाडो किसिमले मोनोरेल चलाउन सकेमा यो दूरी अझ कम भई झन कम लागतमा बनाउन सकिने सम्भावना पनि छ । यो मोटामोटी अनुमान मात्र हो, कति खर्च लाग्ला भन्ने कुरा त बिस्तृत अध्यन प्रतिबेदन तयार गरेपछि मात्र थाहा हुन्छ । के यो सम्भब छ त ? यस्तो किसिमको पूर्वाधार विकासमा राज्यले दीर्घकालिन सोच राखेर कार्य गर्नुपर्छ । भेडेटार पुगेका व्यक्तिको एक दिन बसाइ लम्ब्याउन हिले, तीनजुरे मिल्के र जल्जलेमा समेत पुर्याउने सोच राख्नुपर्छ । यहि किसिमले भेडेटारदेखि धनकुटा, हिले र त्यो भन्दा उत्तरतिरको बाटोको विकास हुनु जरुरी छ । यो करिडोर विकाश दीर्घकालिन रणनीतिक उद्देश्यले ध्यान दिनुपर्ने र यसका प्रमुख साझेदार बिराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान नगरपालिका र भेडेटार हुन् । यसका अतिरिक्त धनकुटा नगरपालिकालाई पनि सहभागी बनाउन सकिन्छ । यिनीहरुले नै नमुनाको रुपमा यो करिडोर र पर्यटकिय विकासको लागि बिशेष पहल गर्नु आबश्यक छ । यसको लागि यी माथि उल्लेखित स्थानीय निकायहरुको सहभागितामा एउटा पब्लिक कम्पनी खोल्न सकिन्छ । तीन वर्षको लागि सबैले बजेट छुट्टाउने अथवा सफ्टलोनको लागि दातृनिकायसंग, नेपाल सरकारलाई अनुरोध गर्ने, निजी क्षेत्रलाई पनि सहभागी बनाउने, नेपाल सरकारले अगाडी सारेको पब्लिक प्राइभेट पार्टनरशिप मोडालिटी र सर्बसाधारणलाई सेयर निस्कासन गर्न सकिन्छ । सर्बसाधारणलाई सेयर निष्काशन गर्दा राज्यले दिने रकम अनुदानमा परिणत हुने गरी नाफामा जाने प्रत्याभूति गरिनुपर्छ । यदि यो मोडालिटीमा यस परियोजना बनाउने सकेमा विकास निर्माणमा नेपालमा यो एउटा नयाँ प्रयोग गर्नसक्छ । मोनोरेलको विकासले बिहारदेखि भेडेटारसम्म जाने भारतीय पर्यटकलाई सहज मात्र बनाउने होइन, यसले दिन प्रतिदिन तेहा घुम्न आउने पर्यटकको संख्यामा पनि धेरै वृद्धि हुन्छ । यो सँगै भेडेटारको सुन्दरतामा कमि नआवोस भन्नको लागि अहिले देखि नै गुरु योजना बनाई जथाभाबी घर बनाउने कार्यलाई निरुत्साहित गर्ने, खुल्ला जमिनलाई बचाएर राख्ने र रात बिताउन चाहने पाहुनाहरुका लागि स्तरीय होटलमा लगानी बढाउनु आबस्यक छ । यसका अतिरिक्त त्यस क्षेत्रमा बस्ने जात जातीहरुको सास्कृतिक पक्षलाई पनि संरक्षण र सम्वद्र्धन गर्नु आवस्यक छ । (डा चालिसे जीवन विकास समाजको अनुसन्धान संयोजक तथा नेपाल जनसंख्या संघको उपाध्यक्ष छन्)
कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान
काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ । सोही उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको जानकारी दिएको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैकिङ सेवा उपलब्ध गराईरहेको छ ।
सनराइज बैंकले शाखकर्मीलाई स्वास्थ्य बीमा अन्तर्गत २२ हजार भुक्तानी
काठमाडौं ।सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रू १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ । सोही क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक राजेन्द्रकुमार शाखकर्मीलाई एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रू २२ हजार ६१ बराबरको रकम बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले प्रदान गरेका छन् । बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘सामुहिक दुर्घटना बीमा सुविधा’ समेत प्रदान गर्दै आइरहेको जनाएको छ । उक्त सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिने व्यवस्था गरेको जानकारी गराएको छ । बैंकका अनुसार ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै ती दुवै बीमा सुविधाहरु प्राप्त गर्न सकिनेछ