असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताए। प्रधानमन्त्री ओलीले भने, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रष्ट पारेको उनले उल्लेख गरे । नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो । “भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा नेपालको सार्वभौमसत्ता एक स्वतन्त्र राष्ट्र अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट भएको छ,”–उनले भने। प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा २१ औँ शताब्दी अनुकूल आजको आवश्यकता नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा अघि बढ्छ भन्ने आधार भ्रमणले स्पष्ट गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जनताले दिएको अभिमत, फैसलाका आधारमा बनेको संविधान र त्यसको कार्यान्वयन स्वरुप निर्वाचित सरकारप्रति जनसमर्थनको आदरभाव ‘जुन भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको छ’ भने। भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताए। रासस
अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर
अन्तरवार्ता गर्दै गर्दा राज्यलक्ष्मी बैदारको कुर्सी फिलिलि घुम्यो, झण्डै लडेकी । बढो आत्मविश्वासका साथ आफूले सञ्चालन गरेको सौगात मन्टेश्वरी स्कूल, यसको पठनशैली, विद्यार्थी, शिक्षक, अभिभावकबाट पाएको फिड्व्याक सुनाउँदै थिइन् उनी । ‘तपाईसँग एकदमै धेरै आत्मविश्वास देखियो, कसरी ?’ राज्य लक्ष्मी बैदार, संस्थापक तथा प्रिन्सिपल, सौगात मन्टेश्वरी यो प्रश्नले उनलाई कक्षा सातमा पढ्दै गर्दा काठमाडौंको पद्मोदय माविमा वक्तित्वकला प्रतियोगितामा भाग लिँदाको क्षण स्मरण गरायो । ‘वक्तित्वकलामा भाग लिन्छु भनेँ । टिचरले मलाई पद्मोदयमा लैजानु भयो । बोल्न मञ्चमा गएँ । सम्बोधन पछि केही पनि बोल्न आएन । करिव दुई मिनेट त्यत्तिकै उभिएँ । त्यतिबेलाको दृष्यहरु अहिले पनि म सम्झन्छु’ – उनले भनिन् – ‘नानी केही भनिनौ । निर्णायक मण्डलका एक जनाले मलाई भने । त्यसपछि म रुँदै फर्किएँ ।’ त्यतिबेलाको शिक्षणशैली प्रति असन्तुष्टि जनाउँदै उनले भनिन् – ‘के बोल्नुपर्छ केही सिकाएकै होइन । अभ्यास गराएकै होइन । के बोल्ने ? कसरी बोल्ने ? टिचरले केही सिकाउनु पर्दैन ? मलाई दुःख लाग्यो । त्यसपछि कलेज पढ्दासम्म उनी कहिल्यै पनि स्टेजमा गइनन् । आत्मबल कमजोर हुँदाको पीडा सम्बन्धि दोस्रो घट्ना पनि सुनाईन् उनले । घोकेर बल्ल बल्ल एसएलसी पास गरेको । म अंग्रेजीमा कमजोर थिएँ । भाईवहिनी एलआरआईमा पढ्थे । अंग्रेजी बोल्न सिक्ने, अभ्यास गर्ने चाहाना थियो । एलआरआईको फाउण्डर शिवराज पन्तले ‘आउन त, साना कक्षामा पढाऊ, अभ्यास पनि हुन्छ’ भन्नुभयो । ‘म गएँ । एक शिक्षिकाले मलाई चार कक्षाको सोसल पढाउन लैजानुभयो, अबजर्भेशन क्लासको लागि । अगाडि उभिएर किताव पढ्न पनि धेरै गाह्रो भयो । किताव समाउँदा हात थरथर काम्यो । उहाँले ‘यस्तो नजान्ने मान्छे कसले ल्याएको’ भन्दै समाएर बाहिर निकाल्नुभयो । डरले म बेहोस् भएँ । त्यसपछि चार दिनसम्म अस्पतालमा बसेर उपचार गरेँ ।’ ‘पन्त सरले मलाई भोलेन्टेयरको रुपमा राख्नु भएको थियो । पहिलाे क्लासमा लैजाने टिचरले पेइड टिचर नै ठानेर त्यस्तो व्यवहार गर्नुभयो’ घट्नाबारे स्मरण गर्दै उनले भनिन् – ‘त्यो घट्नाले पन्त सरलाई दुःखी बनायो । फेरी मलाई बोलाएर पढाउने अभ्यास गराउनु भयो ।’ चार महिनाको अभ्यासपछि २०४९ सालदेखि २०५९ सालसम्म उनले सोही स्कूलमा पढाइन् । एलआरआई स्कूलमा १० वर्ष पढाएपछि उनीमा गर्व थियो कि ‘मैले १० वर्ष पढाएँ, मैले धेरै जानेको छु, लामो अनुभव हासिल गरेकी छु ।’ अाफूले एलअारअार्इ स्कूलबाट धेरै कुरा सिकेकाे र संस्थापक शिवराज पन्तले करिअर विकासमा ठूलाे याेगदान गरेकाे स्मरण गरिन् । जब उनी मन्टेश्वरीको तालिम लिन गइन् तब उनलाई थाहा भयो कि ‘अहिलेसम्म मैले किताव मात्र पढाएँछु, घोकाएँछु र लेखाएँछु । विद्यार्थीलाई सिकाउनु पर्ने धेरै कुरा सिकाउन जानेको नै रहेनछु ।’ प्रिन्सिपल बैदारले २००३ मा एनएमटीसी (नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर) बाट तालिम लिइन् । उनले मन्टेश्वरीकाे थप तालिम जर्मनीबाट लिइन् । मन्टेश्वरी शिक्षण विधिबारे उनले नर्बे, स्वीडेन, डेनमार्क र फ्रान्समा अध्ययन भ्रमण गरिन् । ‘तालिम लिनुअघि किताव पढाउनुपर्छ भन्ने मात्र ज्ञान थियो । कसरी पढाउने भन्ने ज्ञान पनि थिएन । हामीले विद्यार्थीको मानसिकता बुझेका रहेनछौं, वालवालिकाको मर्म बुझेका रहेनछौं’ बैदार भन्छिन् – ‘सिपमुलक, व्यवहारिक, सिर्जनात्मक शिक्षा दिन सकेका रहेनछौं ।’ आफै स्कूल खोल्ने निर्णय सन् २००८ मा उनी रातो बंगलामा ट्रेनिङमा गइन् । ‘त्यहाँको पढाईशैली मलाई धेरै मन पर्यो । सोही स्कूलमा मेरो छोरी पढाउने इच्छा भयो । तर शुल्क महँगो भएकोले मैले पढाउन सकिनँ’ धेरै मान्छेको चाहना र वाध्यता जस्तै समस्या उनलाई भएको रहेछ । मध्यम वर्गका परिवारले आफ्ना छोराछोरीलाई रातो बंगलामा जस्तो शिक्षा दिन सके हुन्थ्यो भन्ने सोच उनको मस्तिष्कमा पलायो । उनी थप अध्ययनसँगै नयाँ स्कूल खोल्ने तयारीमा जुटिन् । ‘१६ वर्ष पढाएपछि, करिव ५ वर्षको तयारीपछि मैले स्कूल खोलेको हुँ’ उनले भनिन् ‘मन्टेश्वरी खोल्नुपूर्व मैले काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश स्कूल भ्रमण गरेँ । त्यहाँको पढाउने तरिका, शिक्षकहरुले पाएको तालिमको अवस्था, पूर्वाधार, वातावरण सबै अध्ययन गरेपछि मैले आफूले यो स्कूल खोलेको हुँ ।’ सौगात खोल्दा जम्मा ५ जना विद्यार्थी थिए । एक वर्षमा ७० जना विद्यार्थी भर्ना भए । अहिले करिव १७० जना विद्यार्थी छन् ।’ शिक्षण विधि ‘पहिला हामी कक्षामा प्रवेश गर्दा अनिवार्य लौरो लिएर जानु पर्थ्याे । प्रिन्सिपलले एसेम्लीमा परैबाट लौरोले झटारो हानेकाे हामीले देख्याैं ’ शिक्षण पेशा शुरू गर्दाकाे दिन सम्झदै उनले भनिन् । यस्तो पृष्ठभूमिबाट शिक्षण पेशामा आएकी बैदारले आफूले चलाएको स्कूलमा टिचरले विद्यार्थी गाली गर्न पनि अनुमति दिएकी छैनन् । ‘हामी विद्यार्थीलाई ‘हजुर’, ‘तपार्इं’, ‘भनिस्यो’ भन्न सिकाउँछौ । सौगात मन्टेश्वरी स्कूलले ‘हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम’ आयोजना गर्ने गरेको, ‘म र मेरो परिवार’, ‘म र मेरो समाज’का बारेमा स्थलगत अध्ययन गराउने, आफू, परिवार र समाजबारे जिम्मेवार बन्न सिकाउने गरेको छ । ‘सबै टिचर ट्रेन हुनैपर्छ । मन्टेश्वरीको लेबल वानको तालिम हुनैपर्छ । काम थालेपछि पनि तालिम बारम्बार दिन पठाउँछौं’ उनले भनिन् । तर टिचर नपाएर धेरै समस्या भएको उनको दुःखेसो छ । तालिम प्राप्त टिचर पनि दीगो हुँदैनन् । ट्यालेन्ट टिचर छोडिहाल्छन् । उनीहरुले छोड्नुको तीन कारण हुन्छन् । धेरै जसो विदेश जाने भनेर छोड्छन् । विदेश जाने लहर नै स्कूल टिचर अभाव हुनुको मुख्य कारण हो । ‘अरुको कुरा के गर्नु, मेरो छोरी पनि विदेश गइन्’ उनले आफ्नै घरको उदाहरण दिईन् । महिला टिचरहरु विवाह गरेर वा सुत्केरी भएर स्कूल छोड्छन् । केही टिचरहरु आफैं स्कूल खोल्छु भनेर छोड्छन् । ‘दुई वर्षको सम्झौता गरेर टिचर राख्दा पनि बीचमै छोडेर हिँड्छन्’ उनले समस्या सुनाईन् । ‘आफ्नो छोरा छोरीलाई शिक्षक/शिक्षिका बन भनेर कुनै पनि बुबा आमाले भन्दैनन् । हाम्रो समाजको ठूलो दुर्भाग्य हो । टिचर पाउनै मुस्किल छ । तालिम प्राप्त टिचर पाउन त झनै कठिन छ’ उनले भनिन् – ‘स्कूल चलाउन सबैभन्दा गाह्रो कर्मचारी व्यवस्थापन भएको छ ।’ प्रयोगात्मक शिक्षा स्कूलका हरेक कक्षामा वाल पुस्तकहरु रहेको पुस्तक र्याकहरु छन्, मिनि लाईब्रेरी । प्रयोगात्मक कक्षाको लागि वाल स्टेजसहितको हल छ । पुस्तकहरु मात्र होइन, दुलर्भ हुँदै गएको बस्तुहरुको ‘नमूना सामाग्री’ संग्रह राखिएका छन् । साना केटाकेटीहरु सुत्नको लागि एउटा अछ्यान पनि राखिएको छ । यो जमानामा कम्प्यूटर ठूलो र नयाँ कुरा भएन, कक्षा कोठामा प्रोजेक्टर, बहुउपयोगि डिजिटल मल्टिबोर्ड राखिएको छ । विद्यार्थीले प्रयोग गर्ने शिक्षण सामाग्री आ–आफ्नो स्थानमा राख्नको लागि खुला र्याक तथा बन्द दराजहरुको व्यवस्था गरिएको छ । कक्षा भित्र र वाहिर केटाकेटीलाई धेरै प्रकारका खेलौनाहरु उपलब्ध गराईएको छ । त्यति मात्र होइन, यस स्कूलले विद्यार्थीलाई धान रोपार्इँबारे जानकारी दिन धान रोपिरहेको खेतमा लैजाने, धान काटेको देखाउन धान काटिरहेको ठाउँमा लैजाने, वातावरण दिवसका दिन विरुवा रोप्न लैजाने, दुध कसरी आउँछ, गाई दुहेको देखाउने, ट्राफिक नियम के हो, बग्गीखानामा लगेर ट्राफिकबाट सिकाउने, पुलिसको काम के हो, प्रहरी हेडक्वाटर लगेर देखाउने, ढिकी, जाँतो, ठेकी, मदानी, सिङमाङ के हुन्, बस्तुलाई नै देखाएर पढाउने गरेको उनले बताईन् । ‘हामी घोकाएर पढाउँदैनौँ’ उनले फेरी जोड दिइन् । सबै विषयको पढाई प्रयोगात्मक गर्दा कोर्ष कसरी सकिन्छ ? प्रिन्सिपल बैदार भन्छिन् – दैनिक १/२ घण्टा प्रयोगात्मक कक्षा सञ्चालन गर्दा विद्यार्थीमा स्फूर्ति आउँछ । धेरै कुरा सिक्छन् । प्रयोगात्मक अभ्यासले विद्यार्थीमा पढ्ने, लेख्ने, अभ्यास गर्ने वानिको विकास गराउँछ । सिर्जनात्मक क्षमताको विकास हुन्छ । नेतृत्व विकास हुन्छ । आफूहरुले अहिले पनि ५० प्रतिशत मात्र मन्टेश्वरी मेथड प्रयोग गरेको र ५० प्रतिशत शिक्षा अझै परम्परागत विधिबाट दिने गरेको उनी बताउँछिन् । ‘घोकेको शिक्षाले क्षमता घटाउँछ भने बुझेको शिक्षाले क्षमता बढाउँछ, सिर्जनशिलता बढाउँछ’ उनले भनिन् – बाबुनानीलाई सामाजिक बन्न सिकाउनुपर्छ । अनुशासित बनाउन सिकाउनुपर्छ । आफ्नो काम आफैं गर्न सिकाउनुपर्छ । अरुलाई सम्मान गर्न सिकाउनुपर्छ । रमाईलो वातावरणमा पढाउनुपर्छ ।’ ‘यति कुरा थाहा पाउँदा पाउँदै पनि हामी फेरी पढ्ने र लेख्ने कार्यमा जोड दिन्छौं । किनकी अभिभावकले पनि पढ्न र लेख्नमा मात्र जोड दिन्छन् । हाम्रो छोरा छोरीलाई विक्ने बनाउनु पर्यो भन्छन् । फलफूलको जस्तो’ उनी भन्छिन् – आफ्नो छोराछोरीको शारीरिक विकास, बौद्धिक विकासमा भन्दा घोकन्ते शिक्षामा कमजोर होला कि भन्ने चिन्ता उनीहरुलाई छ । सबै आम्दानी खर्च सौगात मण्टेश्वरीले प्रति विद्यार्थीसँग औषतमा मासिक ६ हजार ५०० रुपैयाँ शुल्क लिन्छ । आम्दानी सबै खर्च हुने गरेको उनले बताइन् । ‘कर्मचारीलाई १५ हजारदेखि ४० हजारसम्म तलब दिनुपर्छ । ३४ जना कर्मचारीलाई तलब खुवायो, प्रशासनिक खर्च हुन्छ, बचत गर्न सकेको छैन’ उनले भनिन् । २०७२ सालको भूकम्पले पहिलाको स्कूल भवन चर्कियो । त्यसपछि कलंकी मैत्रीनगरमा १५ वर्षको लागि जग्गा लिजमा लिएर प्रिफेव्रिकेटेड भवन निर्माण गरेकी छिन् । नयाँ संरचना बनाउँदा करोड भन्दा बढी खर्च भएको उनले बताइन् । यस वर्षदेखि कक्षा २ सम्म पढाउने स्कूलको तयारी छ । प्रि–स्कूल सेटअप भए पनि ठूलो पूर्वाधारको अभावमा स्कूलको माथिल्लो कक्षा सञ्चालन गर्न कठिन भएको छ । ‘नयाँ शैलीमा पढाउन धेरै खर्चिलो छ । त्यसको लागि स्रोत साधनको कमी कमजोरी छ’ उनले चुनौति पनि सुनाइन् ।
ओमको शाखा अब चनौली र हेटौंडामा पनि
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक फरक कार्यक्रमबीच उद्घाटन गरेको छ । चनौली शाखा उद्घाटन उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले भिमनगर माबिका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका थिए । हेटौंडा शाखा उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रावृत्तिको घोषणा गर्दै शाखा तथा एटीएमको उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराएको जनाइएको छ । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी रु १६ अर्ब ३२ करोड कर्जा लगानी गरेकोछ। त्यस्तै ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गर्नुको साथै बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।
साओमी मोबाइललार्इ उपत्यकाबाहिर विस्तार गर्दै टेलिटक
काठमाडौं । टेलिटक प्रालि उपत्यकाबाहिर साओमीफोनको आधिकारिक वितरकको रुपमा नियुक्तभएको छ । अनलाइनमा सस्तो डिल डटकमबाट मोबाइलको बिक्री गर्न टेलिटक प्रालि नियुक्त भएको जनाइएको छ । टेलिटकले साओमीका मोबाइलहरुको बजार मुल्य पनि सार्बजनिक गरेको छ । कम्पनीले थोरै मुल्यमा बढी सुविधा प्रदान गरेको दावी गरेको छ । कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमार्फत साओमी मोबाइलको बिक्री गर्ने योजना रहेको जानकारी गराएको छ । कम्पनीले साओमी फोनसँग एमआइ टिभी, एमआइभीआर, पावर ब्याङ्क, ब्यान्ड, एयर प्युरिफायर लगायत बिक्री गर्दै आएको जनाएको छ ।
सनराइज बैंकले रौतहट र जुम्लामा थप दुई शाखा खोल्यो
काठमाडौं । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्नो दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ । दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यसैगरि गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वरा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।
टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिका प्रियंका कार्कीसँग हेरे ‘शत्रु गते’
काठमाडौं । टिभिएस मोर्टसका उत्पादन टिभिएस मोटरसाईकल र स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोर्टसले आफ्ना अमुल्य टिभिएस जुपिटर क्लासिक ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएका छन् । शुक्रबार बेलुका ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकहरुलाई चलचित्र हेर्ने अवसर प्रदान गरेको बताइएको । जगदम्बा मोर्टस प्रालिका उपाध्यक्ष दीपक अग्रवालले मोटरसाइकल बिक्रीलाई मात्र प्राथमिकतामा नराखि बिक्री पश्चातको सेवा र ग्राहकको मनोरञ्जनलाई समेत ध्यानमा राखि यस्ता किसिमका कार्यक्रम आयोजना विगतदेखि नै गर्दै आएका बताए । आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै जाने उनले विश्वास दिलाएका छन् । निकै छोटो समयमा टिभिएस जुपिटर क्लासिक नेपाली युवाको रोजाईमा पर्न सफल भएकोमा आफु खुसी भएको उनको भनाइ छ ।
९०० मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब लगानी गर्ने, औपचारिक सम्झौता हुन बाँकी
काठमाडौं । भारत सरकार स्वामित्वको एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुणतेस्रो आयोजनामा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्ने विषयमा स्टेट बैंक र प्रवद्र्धक एसजेवीएन सहमत भएका छन् । स्टेट पनि सरकार स्वामित्वको बैंक हो । यद्यपी औपचारिक ऋण सम्झौता हुन बाँकी छ । बैंकको सञ्चालक समितिले पारित गरेपछि मात्र ऋण सम्झौता हुने छ । ऋणदिने र ब्याजदर लिने विषयमा दुई पक्षबीच सहमति भइसकेको छ स्रोतले जानकारी दियो । विद्युत उत्पादन संरचना बनाउन स्टेट बैंकले ऋण लगानी गर्न सहमति जनाएको हो । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी गरेको छ । यसका लागि एसजेविएनले नेपाली बैंकसंग पुनः प्रस्ताव मागेको छ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । लगानी बोर्डले एसजेविएनलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । संभवत बैशाखभित्र उसले लाइसेन्स पाउने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
तीनपांग्रे सवारी पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशतसम्म लगानी गर्ने, रोजगारी सृजना हुने
काठमाडौं । तीनपांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौताभएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् । बैंकहरुले ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएकाे छ । उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सकातर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंककातर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ्रे बैंककातर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीनपांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ । सम्झौतामा बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।