विकासन्युज

निक्षेप राख्न बैंक खोज्दै समाज कल्याण परिषद

काठमाडौं । समाज कल्याण परिषददे आफुसंग भएको रकम मुद्धति वा कलखातामा राख्न बैंकसंग प्रस्ताव मागेको छ । परिषदले आफुसंग भएको वचत रकम एक वर्षे मुद्धति वा कलखतामा राख्नका लागि दोस्रो पटक वाणिज्य बैंकसंग प्रस्ताव मागेको हो । यसअघि बैंकले कम ब्याजदर प्रस्ताव गरेपछि पुनः प्रस्ताव आब्हान गरेको परिषदले जनाएको छ । परिषदले मुद्धति निक्षेप र कलखातामा राख्ने रकमको छुट्टाछुट्टै ब्याजदर प्रस्ताव गर्न भनेको छ । उसले ७ दिनभित्र प्रस्ताव पेश गर्न बैंकलाई अनुरोध गरेको छ ।

कारोबारको ४ दिनमै सेयर बजार १०१ अंक वृद्धि, आज कति बढ्ला ?

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ ।  बजार अब उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो । डेढ वर्षअघि बजार बढेर १ हजार ८८१ अंकमा पुगेको थियो । बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।  

एनआईसी एसिया बैंकले खुलायो ८० भन्दा बढीलाई जागिर, आवेदन दिने अन्तिम दिन अप्रिल २३

काठमाडौं । तपाई बैंकिङ जागिरको खोजिमा हुनुहुन्छ ? बैंकबाट आफनो करियर सुरु गर्न चाहानुहुन्छ ? अब चिन्ता नलिनुस एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ । बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । २३ अप्रिल अर्थात वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।

१२० दिनसम्म चल्ने तङ्ग इल मोदोको प्रशिक्षण सुरू

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो । नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा आइतबारदेखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण शुरु भएको हो । पूर्वमन्त्री एकनाथ ढकालले प्रशिक्षणको उद्घाटन गरेको बताइएको छ । उनले सो अवसरमा तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगीले तालिमको उद्घाटनमा आउन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले खेलाडीले सिकेको शिप राष्ट्रको सम्पत्ति हुने बताए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुने बारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ती रहेको बताए । तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले जानकारी गराए । प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० युवा–युवतीहरूको सहभागीता रहेने आयोजकको भनाइ छ ।  

लक्ष्मी केयर्सको माउन्टेन बाइक र्याली सम्पन्न, २ सय बढी सहभागी

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा ‘गो ग्रिन’ अभियानअन्तर्गत रही ‘उज्यालो अभियान’को एक हिस्साको रुपमा १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइकर्याली केही दिन अघि सम्पन्न गरेको छ । २ सय भन्दा बढी साइकल यात्रीहरुको सहभागीता रहेको उक्त र्याली लीले १३ किलोमिटरको दुरी तय गरेको आयोजकको भनाइ छ । सो कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भइ टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि भएको बताइएको छ । आयोजकको अनुसार वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमाउज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको आयोजकको भनाइ छ ।

राजधानीमा लाइभ स्ट्याण्ड–अप कमेडी शो, दर्शकले पेट मिचि मिचि हाँसे

काठमाडौं । विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउदै आएको नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनमा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ । उक्त शो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ । शोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरुले यस्ता शो भइराख्नु पर्नेमा जोड दिएका छन् । कमेडी शोमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिपाल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारीका अतिथिक कलाकार रोशन सुवेदीको बेजोड प्रस्तुतीहरु रहेको जनाइएको छ । शोमा उपस्थिति दर्शकले पेट मिचि मिचि हासेको आयोजकको भनाइ छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको संगठन समायोजन सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै पारित नयाँ संगठनात्मक संरचनाअनुसारको समायोजन प्रक्रिया शुरु गरेको छ । प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने निर्णय गरेको थियो । आइतबार प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धरको अध्यक्षतामा बसेको बैठकमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरुको कार्यालय समायोजन तथा दरबन्दी मिलानसम्बन्धमा बृहत् छलफल भयो । ३१ वटा भूकम्प प्रभावित जिल्लामा रहने इकाईले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार पुनर्निर्माणसम्बन्धी कार्यहरु गर्दछ । त्यस्तै, अर्को छुट्टै बैठकमा शिक्षाको केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कर्मचारी समायोजन, दरबन्दी मिलान सम्बन्धमा छलफल भएको छ । शिक्षाको एउटा केन्द्रीय र २० वटा जिल्ला आयोजना कार्यान्वयन इकाइ रहने छन् जसले विद्यालय भवनहरुको पुनर्निर्माणको काम गर्दछन् । नयाँ संगठनात्मक संरचना २०७४ चैत्र २९ बाट क्रियाशील हुनेछ । प्राधिकरणले त्यसअघि सबै कार्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य सम्पन्न गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । पुरानो संरचनाबाट संचालन भइरहेको आर्थिक कारोबारलाई नयाँ संरचना अनुसार समायोजन गर्न प्राधिकरणका जनशक्ति व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद दवाडीको अध्यक्षतामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालका प्रतिनिधि एवम् प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख कमान सिंह खत्री सदस्य रहेको कार्यदल गठन भएको छ । त्यस्तै, पुनर्निर्माण सम्बन्धी ऐन, नियमावली, निर्देशिका र कार्यविधिलाई परिमार्जन गरी नयाँ संरचना अनुकूल बनाउनका लागि सुझाव पेश गर्न जनशक्ति महाशाखाका प्रमुख दवाडीकै अध्यक्षतामा प्राधिकरणका पाँचवटै महाशाखाका उपसचिव सदस्य एवम् कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी अर्को कार्यदल पनि गठन गरिएको छ । यी कार्यदलहरुले विषयवस्तुको विस्तृत अध्ययन पश्चात् यथाशीघ्र प्रतिवेदन बुझाउने गरी कार्य सुरु गरिसकेको प्रवक्ता भूसालले जानकारी दिए ।  

पानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन मंगलबारदेखि, २० राष्ट्रका विज्ञ सहभागी

काठमाडौं । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘खाने पानी, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आयोजक समिति एवम् सोफेनका अध्यक्ष रामदीप साहले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन महत्वपूर्ण हुने बताए । उनको अनुसार बढ्दो जनसंख्याका कारण भैरहेको वनजंगल विनास र औद्योगिकरणको प्रभावले वायु मण्डलमा थपिदै गएको कार्वन मनो अक्साइड, कार्वनडाई अक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको छ । सोफेनको अनुसार विश्वव्यापी तापक्रम बृद्धिले जलवायुमा परिवर्तन ल्याएको छ । यसको असरबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकमा नेपाल समेत पर्दछ । पृथ्वीको तापक्रममा भएको बृद्धिले हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ । हिमाली भेगमा धेरै हिमतालहरु देखा परेका छन् । हिमनदीहरुको लम्वाई छोटिदै छ । हिउँले ढाकिएका कतिपय उच्च पर्वतहरु हिउरहित भएका छन् । पहाडमा पानीको मूल सुक्दै गएका छन् । अतिवृष्टि,अनाबृष्टि, खण्डबृष्टि जस्ता घटना बढेका छन् । बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको छ । सम्मेलनमा खानेपानी,वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय, विज्ञ,अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरि २० राष्ट्रका विज्ञहरुसहित करिब ५ सय जनाको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुले सहभागिता रहनेछ भने १० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्षहरु , खुला दिसामुक्त हुन बाँकी रहेका ११ जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्षहरु,जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका इञ्जिनियरहरु,सहभागी हुनेछन् । सम्मेलनलाई दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, अर्थमन्त्री डा.युवराज खतिवडा, एशिया वाटर काउन्सिल र कोरिया वाटराका अध्यक्षहरु, भारतको डा.मोदी विश्वविद्यालयका उपकुलपति, एआईटी बैंकक, आईआईटी कानपुर, राजस्थान विश्वविद्यालया, कोरियन विश्वविद्यालय लगायत विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरुबाट प्रमुख सम्बोधन हुने आयोजकको भनाइ छ । सम्मेलनमा १७ वटा कि नोट पेपर प्रस्तुत हुनेछन् । २६ वटा शत्रमा विभिन्न १५ विषयमा १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । ती कार्यपत्र उपर विज्ञहरुबाट टिप्पणी हुनेछ । त्यसलाई सहभागीहरुबीच छलफल गरी परिस्कृत र पारिमार्जन गरिनेछ समेत कार्यक्रम छ । सम्मेलनबाट निस्केका सुझाव र प्रतिवेदन सहभागीहरु, संवन्धित संस्थाहरु र संवन्धित मुुलुकका लागि अत्यन्त उपयोगी हुने आयोजकको विश्वास छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने जानकारी दिइएकाे छ।