विकासन्युज

यूएम बाइक्सको नयाँ वर्ष उपहार योजना, स्क्रयाचमा २० हजारसम्म जित्ने अवसर

काठमाडौं । आईएमई अटोमोटिभ्स नेपालभरका लागि यूएम बाइक्सको आधिकारिक विक्रेताले नयाँबर्ष २०७५ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ उमङ्ग, यूएम चढी सबै दङ्ग’ योजना ग्राहकवर्ग माझ ल्याएको छ । स्किम् अन्तर्गत हरेक यूएम बाईकको खरिदमा स्क्रयाच कार्ड प्राप्त गरि २० हजार रुपैयाँसम्म नगद जित्ने अवसर सार्वजनिक गरेको छ । योजना नेपालभर रहेको हरेक यूएम आउटलेटमा चैत्र २५ देखि शुरु भएर ३१ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा हाल यूएम सेगमेन्ट अन्तर्गत क्रुजर तथा डर्ट सेगमेन्टको माग र लोक प्रियता उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । भारत स्थित उत्तराखण्ड र पुनेमा रहेको विश्वस्तरीय यूएम उत्पादन फेरिलिटीले नेपाल, भारत र अन्य दक्षिण पूर्वी एसियाली बजारको लागि ७ बाईकहरु उत्पादन गरिरहेकोमा अलिहे विधुतीय भर्जनमा पनि बाइकको उत्पादन शुरु गरेको जानकारी गराएको छ । यस बाईकको मूख्यआकर्षणहरुमा डिजाइन तथा रङहरु रहेका छन् ।

उद्योग मन्त्री यादव र चीनका उपमन्त्री गान लिनबीच भेट, उपभोक्ता हितमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनका स्टेट एडमिनिष्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासमा मूर्तरुपमले अगाडि बढेको चिनीया प्रतिनिधि मण्डललाई जानकारी गराए । उनले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रह गरे । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने क्रममा रहेको जानकारी गराएका छन् । उपभोक्ता हितका विषयमा दुई देशबीचका कानूनका विषयका जानकारी आदान प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाई राख्न निरन्तर छलफल हुनुपर्नेमा उनको जोड छ । भेटमा चिनीया उपमन्त्री गान लिनले चीन नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिएका थिइन् । उनले दुई देशबीचको सहकार्यले एकअर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताइन् । उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।  

विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागु गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागू गर्न अगाडि बढ्नु पर्ने औल्याए । ‘यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दूर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्’,उनले भने,‘यसलाई विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनिकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नु पर्छ ।’ प्राधिकरणका अनुसार, २०६८को असारबाट हालसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी ८ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् । हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण बितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण,घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभावआदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ । ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत बरदान भए पनि यसमाथि गरिने सानो लापरबाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनु पर्ने बताए । उनले भने ,‘कति पय अवस्थामा सेवा प्रदायकका हिसावले सुरक्षामा ध्यान नदिएर हामीबाटै लापरबाही भएको छ, सुरक्षामा कसैले खेलवाड नगरौं ।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरित्त वित्तीय बोझ बढेको जानकारी दिए । ‘दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्ति वापत प्राधिकरणलाई वाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ’,घिसिङले भने,‘तसर्थ सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान हो ।’ यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा,चुहावट नियन्त्रण र किफायति उपयोग ः सम्वृद्धिको लागी विद्युतको उत्पादनशील प्रयोग’ तय गरिएको छ । सभा हुनु विद्युतीय सुरक्षाका विषयमा जानकारी दिन आयोजना गरिएको र्याली प्राधिकरण केन्द्रीय कार्यालयबाट रत्नपार्कबाट सुरु भई भद्रकाली, सुन्धारा, न्यूरोड गेट, हुँदै रत्नपार्क पुगेर टुङगिएको थियो । नेपाल विद्युत प्राधिकरण र सोसाइटि अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल को संयुक्त आयोजनामा गत वर्षबाट विद्युतीय दुर्घटनाबारे जनचेतना दिन हरेक वर्ष २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउन सुरु गरिएको थियो ।    

१८० करोड लागतमा विराटनगरमा पाँचतारे द सेन्चुरियन होटल निर्माण सुरु, १ वर्षमा सञ्चालनमा आउने

काठमाडौं । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ । विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी भएको होटलका वरिष्ठ प्रवन्धक राजेश मुन्द्राले बताए । उनकाअनुसार होटल १० तले हुनेछ । यो विराटनगरमा ठुलो लगानीमा निर्माण सुरु भएको पहिलो होटल हो । भृकुटी चोकमा रहेको ७८ हजार ११७ वर्ग फिट क्षेत्रफलमा ४ वटा ब्लकनिर्माण हुनेछन् । होटल परिसरमा मुख्य होटल, सपिंग मल, रेष्टुरेन्ट, पौडी पोखरी, सभा कक्षा, ब्याङकेट हल तथा क्यासिनो, बालक्रिडा स्थल र एम्पी थिएटर लगायतका सेवा सुविधाहरु निर्माण गरिनेछन् । अहिले होटलको वातावरणिय प्रभावमूल्याङकनको काम भैरहेको मुद्राले जानकारी दिए । यसको लागि आजको १५ दिनसम्ममा प्रालीलाई राय सुझाव दिन सक्नेछन् ।

ओलीले पनि साट्न सकेनन् ५०० र १००० दरका ७ करोड भारु नोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्धित ५०० र १००० को भारतीय नोट साट्न सकेनन् । तीन दिने भारत भ्रमण सकेर ओली आइतबार नेपाल फर्किएका छन् । भारत भ्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले दिएको विज्ञप्तीमा भारतीय मुद्रा सटहीबारे कुनै कुरा उल्लेख गरिएको छैन । भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालका दुई जना प्रधानमन्त्री पुष्प कमल दाहाल र शेर बहादुर देउवाले पनि नोट साट्न सकेका थिएनन् । अहिले नेपालको वित्तिय प्रणालीमा रहेको ५०० र १०० हजार दरका ७ करोड भारु साटिएको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ९ तारिखदेखि ५ सय र एक हजार दरका भारतिय नोटमाथी प्रतिबन्ध लगाएका थिए । तर पनि नेपाली प्रणालीमा रहेको ५०० र १००० दरका भारु साटिएनन् । नेपालमा एक जना व्यक्तिले २५ हजारसम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्था छ । भुटानले भने आफ्नो प्रणालीमा रहेको भारु साटिसकेको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारु सटहीलाई उच्च प्राथमिकताका दिने बताइए पनि यो विषयमा कुरा नै उठान हुन नसकेको बताइएको छ । ओलीको भारत भ्रमण अगाडी भारु सटहीको मुद्दालाई महत्वका साथ उठाउने गरि राष्ट्र बैंकले सरकारलाई ब्रिफिङ गरेको राष्ट्र बैंकले बताएको थियो । यसअघि नोट बन्दीमा परेको भारतीय मुद्रा सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डियाको टोलीले प्रतिव्यक्ति ४५ सय भारु साटिदिने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार नै साटिदिनुपर्ने अडान राखेको थियो ।

चेम्बर अध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधि भियतनाम एक्स्पोको लागि प्रस्थान

काठमाडौं । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हुने २८ अाै‌ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । एक्स्पोमा नेपालकोतर्फबाट लुम्विनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरी लगायतका स्टलहरु रहने चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियामले जानकारी दिएको छ ।

मेलम्चीको सुरुङ आज राती ब्रेक थ्रु हुदै, काठमाडौंमा पानी आउने निश्चित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रुृ) आज सोमबार राती सकिने भएको छ । सुरुङ खन्न ६ मिटर मात्र बाँकी रहेकाले आज रातिसम्म सुरुङ खन्ने काम सकिने भएको हो । इटालियन ठेकेदार को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) ले आइतबार मात्रै ११ मिटर सुरुङ खनेको थियो । ६ मिटर मात्र बाँकी रहेकाले आज रातीसम्म सुरुङ ब्रेक थ्रु हुने मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनले बिहीबार विशेष कार्यक्रम राखिएको जानकारी दिए । मेलम्चीको सुरुङ खन्ने काम सकिएकाले राजधानीमा खानेपानी आउने अब पक्का भएको छ । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा सिएमसीसँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक प्रतिवेदन तयार, १ किलोमिटरको लागत साढे ४ अर्ब

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको छ । प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट राजधानीसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको हो। अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौताका साथै अन्तरदेशीय रेल्वेबारे अध्ययन गर्ने समझदारी भएको थियो। त्यसैअनुरूप केही महिनाअघि एउटा उच्चस्तरीय चिनियाँ टोलीले नेपाल आएर अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन समेत गरेको थियो। यस विषयमा नेपालले पनि हालै एक प्रारम्भिक अध्ययन गरेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए। उनले भने, हामीले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पेश गरेका छौँ। केरुङबाट काठमाडौंसम्म करिब ७५ किलोमिटरको रेलमार्ग बनाउनु पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। रेल विभागका अनुसार काठमाडौंबाट पोखराको दूरी झण्डै १८७ किलोमिटर लामो हुने र मुग्लिनबाट लुम्बिनीसम्म करिब १४० किलोमिटरको रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको छ। जटिल भौगोलिक अवस्था भएका कतिपय स्थानदेखि केही समथर भूभाग समेत ओगट्ने सो महत्त्वाकांक्षी रेलमार्गको लागत स्थान हेरी फरक हुने उपाध्यायले बताए। उनले भने, केरूङबाट काठमाडौं प्रतिकिलोमिटर करिब ४ अर्ब ५० करोड रूपैयाँ, काठमाडौंबाट पोखरा करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर लाग्ने देखिएको छ। मुग्लिनबाट चितवन हुँदै लुम्बिनी जाने हो। मुग्लिनबाट चितवनसम्म करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर र त्यहाँबाट अगाडि करिब १ अर्ब २५ करोड रुपैयाँ लाग्ने देखिएको छ। खर्च प्रारम्भिक भएकाले परियोजनाले ठोस आकार लिएपछि त्यसमा निर्माण गर्नुपर्ने सुरूङ जस्ता पक्षले लागतमा फेरबदल आउन सक्ने बताइएको छ। यो लागतलाई हेर्दा केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन ३ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ लाग्ने देखिएको छ । नेपालसँग रेलमार्गबाट जोडिन दुवै छिमेकी देशले तत्परता देखाएको विषयलाई कतिपयले ती दुई आर्थिक शक्तिबीचको प्रतिस्पर्धाका रुपमा चित्रण गरेका छन्। स्रोतः बीबीसी