विकासन्युज

नेपाल र बंगलादेश जोड्ने सुरुङमार्ग बनाइँदै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताए । दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यावसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयलाई आगाडी बढाएका छौं, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।’ नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडी बढाउने सहमति भएको बताएका छन् । नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे । मन्त्री यादवले भने, ‘निर्धक्क भएर लागनी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसीमको सुरक्षा दिन तयार छौं ।’ उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गरे । त्यस्तै उनले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै भने, ‘हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ ।’ कार्यक्रममा दक्षिण एसियाली मुलुकका १५० जना साना तथा मझौला व्यावसायीको सहभागीता छ । मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ । एक दिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने विषायमा छलफल भएको थियो ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, ४० करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीकाे साे मात्राकाे काराेबार भएकाे हाे । सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ६.५ र ६.१९ प्रतिशत घटेको छ । उता स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकताकर्ताले भने ९.९४ प्रतिशत कमाएका छन् । बजारमा होटल, उत्पादनमूलक, विकास बैंक, बीमा र ट्रेडिङ समूहको सूचक हरिया छन् भने बाँकी समूहको सूचक राताम्मे छन् । होटल समूह ३५ अंकले उकालो लागेको छ भने बैंकिङ् समूह ११ अंकले ओरालो लागेको छ ।

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिनः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए। प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए । उनले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने जनाएका छन् । लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराएका छन् । नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउने ओलीले बताए । उनले विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा ती समस्याको समाधानको बाटोमा रहेको बताउँदै हिजोको जस्तो अवस्था नभएर हाम्रा छिमेकीसँगको सम्बन्ध सुमधुर रहेको बताउँदै भने, “हामीले छिमेकीसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा बराबरी छ र आफ्ना आन्तरिक मामिलामा अरुको रुचि, चासो, स्वार्थ घुस्न दिनुहुन्न भन्ने कुरालाई हामीले स्थापित गरेका छौँ ।” प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताए । उनले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताएका छन् । उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रष्ट पारेका छन् । उनले महिला पछाडि परेका वर्ग र समुदायबीचमा रहेको असमानता हटाउन संविधानमा व्यवस्था भएअनुसारका क्रियाकलाप गर्न र वास्तविक रुपमै असमानता हटाउनसमेत लाग्न आग्रह गरेका छन् । साथै, उनले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले जनता बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुने भएकाले सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखी आर्थिक समृद्धिको दिशामा सरकार अघि बढेको पनि बताए । ओलीले कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताएका छन् । उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भने, “म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।” ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिनेसमेत स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए । रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने तयारी, काभ्रेको नागीडाँडामा अध्ययन शुरु

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गरिने भएको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार आन्तरिक उडान अलग गर्न काठमाडौंबाट नजिक पर्ने स्थानहरुमा प्राधिकरणले अध्ययन गरिरहेको छ ।‘पहिले काभ्रे जिल्लाको ठुली चौरमा विमानस्थल निर्माणको सम्भावना रहेको थियो तर स्थानीय वासिन्दा र नगरपालिकाले असहयोग गरेपछि अहिले काभ्रे जिल्ला बनेपाको नागी डाँडामा अध्ययन गर्ने टोली खटाइएको छ’, पौडेलले विकासन्युजसँग भने । बनेपाको नागी डाँडामा प्रारम्भिक अध्यायनको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । ‘नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ’, थापाले भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागी डाडामा विमानस्थल निर्माणको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाँडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए । दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको निजगढ विमानस्थलको काम ढिलो हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न लागिएको हो । अहिले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २ वर्षभित्र सम्पन्न गर्नेगरी विमानस्थल चार किल्ला वरिपरी सडक निर्माण, रुख कटानी र सुरक्षाको काम भैरहेको छ । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न ४५ देखि १ घण्टासम्म आकासमै पर्खनु पर्ने समस्या छ ।

एभरेष्ट बैंकद्धारा लुम्विनी विकास कोषलाई खानेपानी स्थल हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्विनीको मायादेवी मन्दिर परिसर बाहिर रहेको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्धिकरण गरीएको खानेपानी स्थललाई व्यवस्थित गरी एक कार्यक्रमका बीच उक्त कोषलाई हस्तान्तरण गरेको हो । कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्धारा पानी ख्वाई हस्तान्तरण गरेकाे बैंकले जनाएको छ । बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

१० वर्ष वारेण्टी भएको सिजीका वासिङ्ग मेसिनहरुको माग बढ्दो

काठमाडौं । आकर्षक स्वरुप तथा विशेषताहरु भएको सिजीको वासिङ्ग मेसिनहरुको माग बढ्दै गएको छ । उक्त मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताका साथै नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त मेसिनहरुको माग बढेको कम्पनीले जनाएको छ । उक्त वासिङ्गहरु हेर्दा एकदमै राम्रो, जस्तोसुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । कम्पनीले बढ्दो आधुनिकरण र व्यस्तताको कारण ग्राहकहरुलाई ध्यानमा राखि उक्त मेसिनहरु नेपाली बजारमा ल्याएको हो ।

गाउँमा बैंक आर्थिक विकासको आधार

नेपालमा कुल जनसंख्याको ४० प्रतिशतले मात्र बैंकिङ सुविधा पाएका छन् । विशेष गरी शहरी क्षेत्रका जनताले मात्र बैंकिङ सुविधाको उपयोग गर्न पाएका हुन् । बढी अवसर र लाभका हिसावले बैंकहरु बढी सहर केन्द्रीत नै भएका छन् । जिल्ला सदरमुकाम र व्यवासायिक गतिविधि बढी भएका केही क्षेत्रमा बाहेक बैंकको उपस्थिती न्युन नै छ । २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक बाहेक निजी क्षेत्रबाट स्थापना भएका बैंकको ग्रामिण क्षेत्रमा उपस्थिती ज्यादै न्युन देखिएको छ । अझै ६० प्रतिशत जनसंख्या बैंकिङ पहुंच नभएको अवस्थामा सरकारले ग्रामीण क्षेत्रमा पनि बैंक सुविधा पुर्याउने तयारी थालेको छ । गठन भएका ७५३ स्थानीय तहमा बैंकिङ सुविधा पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये गत फागुन मसान्तसम्म ३९४ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति भएको छ । राष्ट्र बैंकको तथ्याँकलाई मान्दा अझै ३५९ तहमा बैंक पुग्न सकेको छैन् । ग्रामीण क्षेत्रमा राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकको शाखा बढी छ । कृषि विकासको दुर्गम क्षेत्रमा सबैभन्दा बढी शाखा रहेका छन् । यता निजी लगानीमा खुलेका बैंकहरु कारोबार कम हुने भएकाले प्रतिफल कम आउने र ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न सहज नभएको भन्दै राष्ट्र बैंकले तोकेको क्षेत्रमा सेवा विस्तार गर्न अझै आनकानी गरिरहेको अवस्था छ । जनसंख्या कम, प्रविधिकको प्रयोगमा समस्या र लागत बढी हुने, जनशक्तिको व्यवस्थापनमा समस्या भन्दै निजी बैंक पछि हटदै आएका छन् । राष्ट्र बैंकले आउदो असारसम्म सबै तहमा शाखा विस्तार गर्न सबै बैंकलाई निर्देशन दिएको छ । अहिलेको तयारी हेर्दा असारसम्म सबै स्थानीय तह बैंकिङ पंहुचमा पुग्ने देखिएको छैन् । बैंकले जाने भनेका छन तर शाखा विस्तार शहरतर्फ मात्र केन्द्रीत भएका छन् । राष्ट्र बैंंकले दुर्गम क्षेत्रमा शाखा खोल्ने बैंकलाई १ करोड रुपैयाँ र्निब्याजी सहुलियत ऋण पनि दिने भनेको छ । यो सुविधाले पनि बैंक ग्रामीण क्षेत्रमा जान मानिरहेका छैनन् । बैंकिङ व्यवसाय नाफामुखी हुनुपर्छ, नाफा कमाउन बैंक खुलेको हो । बैंकको पहिलो प्राथमिकता नाफा नै हुनुपर्छ भन्नेमा दुईमत छैन् । तर जनताको पैसाबाट चलेका बैंकले जनता माझ जान ढिला सुस्ती गर्नु राम्रो हैन् । ग्रामीण क्षेत्रमा बैंक गएपछि स्वतः रुपमा त्यहाँ निक्षेप परिचालन बढने देखिएको छ । घरमा रहेका साना पुँजी बैंकिङ प्रणालीमा आउने छ । यसका अतिरित्त कर्जा लगानीमा पनि विस्तार भई गाउँमा आर्थिक गतिविधि बढ्ने छ । जसले गर्दा ग्रामीण अर्थतन्त्र चलायमान भई समग्र देशको आर्थिक वृद्धिमा टेवा दिनुे छ । ग्रामीण क्षेत्रमा सहकारी र लघुवित्तीय संस्थाले सेवा दिइरहेका छन् । सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा वाणिज्य बैंकको एउटा शाखा हुनुपर्ने भनेको छ । सरकारले ल्याएको कार्यक्रमअनुसार राष्ट्र बैंकले निर्देशन दिइसकेपछि निजी बैंकले विस्तारमा ढिलाइ गर्नु हुदैन् । प्रत्येक तहमा बैंकिङ सेवा पुगेपछि सेवा लिनको संख्या बढ्ने छ । राष्ट्र बैंकसंग विभिन्न क्षेत्रमा शाखा विस्तारका लागि गरेको प्रतिवद्धता पुरा हुनुपर्छ ।  

जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा साढे ४ करोडको कारोबार

काठमाडौं । राजधानीमा चलिरहेको नेपालको १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा शनिबारसम्म साढे ४ करोड रुपियाँ बराबरको कारोबार भएको छ । साथै ७० हजारले अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा मेला शुरु भएको हो । मेलाकाे पहिलो दिन  २० हजारले अवलोकन गरेको तथा ५० लाखको कारोबार भएको आयोजकले जनाएको छ । त्यस्तै शनिबार ५० हजारले अवलोकन गरेको र ४ करोड रुपियाँको कारोबार भएको आयोजकको भनाइ छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सञ्चालित मेला मङ्गलबारसम्म चल्ने बताइएको छ । मेलामा ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरूका साथै भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागता रहेको छ । २५० वटा स्टल रहेको मेलामा २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने र ७ करोडभन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।