विकासन्युज

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक/पटक प्रयास भए पनि समस्या समाधान हुनसकेको छैन । वन तथा भू-संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँदा आयोजनालाई समस्या भएको हो । सरकारी वन क्षेत्र र सरकारी पर्ती गरी आयोजनालाई करीब एक हजार रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । निर्माणाधिन गल्छी-मैलुङ सडकखण्डका कारण पनि आयोजनाको निर्माणमा समस्या खडा भएको छ । सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले दिउँसोको समयमा सो सडक खण्ड बन्द गर्दै आएका छन् । नेपाल सरकारले विभिन्न निकायबाट प्राप्त गर्नुपर्ने विदेशी मुद्रा सटही, विस्फोटक पदार्थ आयातमा समेत स्वीकृति प्राप्त गर्न समस्या परेको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले जानकारी दिएका छन् । यस्तै ठेकेदार कम्पनीलाई विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने नोट सटही सुविधा दिनुपर्ने माग आयोजनाको छ । निर्माण कम्पनीले आयोजना स्थलमा प्रयोग गर्ने उपकरण, निर्माण सामग्री तथा स्पेयर पार्टस् बाहिरी मुलुकबाट ल्याउनुपर्ने हुँदा त्यसका लागि प्रक्रियागत झन्झट पैदा भएको प्रबन्ध सञ्चालक गौतमको भनाइ थियो । सो आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुनेछ । स्वपुँजीमध्ये प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, नुवाकोट र रसुवा जिल्लाका स्थानीय गाउँपालिका र जिल्ला समन्वनय समितिको पाँच प्रतिशत, ती जिल्लाका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, त्यहाँका बासिन्दाको १० प्रतिशत, आम नेपालीको १५ प्रतिशत र प्राधिकरण र टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर लगानी रहने व्यवस्था गरिएको छ । यस्तै आयोजनामा नबिल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, नेपाल बैंकलगायतसँग ऋण सम्झौता गर्ने तयारी गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७४ साल भदौ ६ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाले २०७८ साल फागुन १७ गते विद्युत् उत्पादन गर्ने मिति तय गरिएको छ । आयोजना र चिनियाँ ठेकेदार कम्पनी सिचुवान एएनएचई चीनबाट गत माघ २९ गते रु एक अर्ब ९१ करोड ४६ लाख १९ हजार ४७२को लागतमा सो आयोजना निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित छ । सो आयोजना नदी प्रवाही आयोजना हो । माथिल्लो त्रिशूली ‘थ्री’ एक आयोजनाबाट निस्किएको पानी प्रयोग गरेर ३७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०७२ साल माघ २९ गते नै स्वीकृत भइसकेको र हाल ४६३.६ मिटर लामो परीक्षण सुरुङ निर्माण गरिसकिएको छ, भने कार्यालय भवन तथा आवास भवन पनि निर्माण भइसकेको छ । यस्तै परियोजनाका लागि अधिग्रहण गरिएको करीब ९६ रोपनी जग्गाको जग्गा धनीलाई मुआब्जा वितरण गर्ने कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट औसतमा २९२।५९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेमा सुक्खायाममा १३४.८८ मेगावाट घण्टा र वर्षायाममा १५७.७१ घण्टा ऊर्जा उत्पादन हुनेछ । सो परियोजनाको कूल लागत रु आठ अर्ब ९४ करोड रहेको छ । केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनाको स्थलगत निरीक्षण गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । त्रिशूली जलविद्युत् कम्पनी २०६८ वैशाख २९ गते स्थापना भएको सार्वजनिक कम्पनी हो । रासस

जग्गाकाे कित्ताकाट रोक्ने कृषि मन्त्री खनालको घोषणा

काठमाडौं । कृषि क्षेत्रको विकासको लागि जमिन महत्वपूर्ण रहेको भन्दै कृषि योग्य जमिनको कित्ताकाट गरि बिक्री गर्न रोक लगाउने कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले बताए । मन्त्रालयमा बिहीबार पत्रकारहरुसँगको भेट कार्यक्रममा कृषि क्षेत्रको विकासलाई जोड दिदै जताभावी गरिने जग्गाको बिक्री रोक्ने उनको जोड छ । ‘कृषि योग्य जमिन जताभावी बिक्री गर्ने क्रम रोकिएन भने कृषि क्षेत्रको विकास असम्भवन छ,’ उनले भने ‘कुनैनकुनै नीति बनाएर कृषि योग्य जमिनको कित्ताकाट रोक्नेछु ।’ भूउपयोग नीति बनिसकेको अवस्था छ । यसको लागि प्रधानमन्त्रीले बोल्ड कदम लिने बेला आएको उनको भनाइ छ । ‘विगतमा पनि सरकारको जग्गा कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरणमा रोक लगाइएको थियो’, उनले भने ‘तर त्यसको सफल कार्यान्वयन हुन सकेन ।’आवश्यकताअनुसारका कानून बनाएर जग्गा कित्ताकाट रोक्ने उनले बताए । उनको अनुसार नेपालमा १० देखि १६ प्रकारको कृषि सुहाउदो हावापानी भएपनि आशातित कृषि क्षेत्रमा विकास हुन सकेको छैन । ‘अहिलेसम्म मुलुक कृषिजन्य कुनै पनि वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन,’ उनले भने ‘वार्षिक १ खर्ब १३ अर्ब रुपौयाँकोको कृषिजन्य वस्तु आयात भएको देखिन्छ ।’ लाखौं रोजगारस सृजना गर्ने कृषि क्षेत्रको विकास हुन नसक्नुमा केहीनकेही कमजोरी रहेको उनको बुझाइ छ । त्यसको लागि अध्ययन, अनुगमन अघि बढाउने कृषि मन्त्री खनालले जानकारी दिए । सरकार कृषिजन्य वस्तुको आत्मानिर्भरको दिशामा अघि बढ्ने उनले घोषणा गरे । उनको अनुसार सो प्रक्रिया अघि बढिसकेको छ । मन्त्रालयले राजा महेन्द्र विर विक्रम शाहाको पालामा स्थापना भएका कृषि कार्यक्रमहरुलाई पुनःसञ्चालन गने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनः मुल्याङकन गरी नयाँ ढंगले अघि बढाउने, निजी क्षेत्रबाट कृषिमा भएका सकरात्मक पाटोको अध्ययन गर्ने लगायतका कार्य तत्काल अघि बढाउने उनले जानकारी गराएका छन् ।

माछापुच्छ्रे बैंकको एमबिएल स्मार्ट बचत खाता सञ्चालनमा, बीमा सुविधा पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् । यस खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ्य र दुर्घटना बीमाको सुविधा समेत प्रदान गर्न भएको छ, जसमा ग्राहकले पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँ सम्मको औषधी खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ । बैंक नै नगई इलेक्ट्रोनिक माध्यम बाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

१११ मेगावाट रसुवागढीको सुरुङ खन्न अब ५७० मिटर मात्रै, ३ महिनाभित्रै ब्रेक थ्रु हुने

काठमाडौं । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । कुल ४ हजार २०० मिटर लामो सुरुङ मध्ये अब ५७० मिटर मात्र बाँकी रहेको छ । ३ हजार ६७० मिटर सुरुङ खन्ने काम सकिएको छ । आउदो जुलाइसम्म सुरुङ छिचोलिने (ब्रेक थ्रु ) हुने प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । सुरुङ खन्ने काम दुई फेसबाट भइरहेको बताउदै ढिलोमा जुलाइसम्म सकिने लक्ष्य लिएको उनले जानकारी दिए । उनकाअनुसार हालसम्म आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजना सन् २०१९को डिसेम्बरमा सकिने गरी तिब्र गतिमा भइरहेको छ । आयोजना नेपाल–चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।  

विकसित राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन्: चौधरी

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व ब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्धारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन् । यसको मतलब के अब हामीले विश्व ब्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ?’ पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिए सँगै यो बिषय विश्व ब्यापी वहशमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादन माथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ । विश्व ब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘विश्व ब्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वब्यापी रूपमा गम्भिर समिक्षा विना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ । अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढि जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरेका छन् । ‘अमेरिका लगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनिकुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन ।’ विकासशिल राष्ट्रहरूको प्रमुख एजेण्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको बताउँदै अध्यक्ष चौधरीले ति देशहरूमा राजनीतिक तहबाटै लगानी–मैत्री वातावरण तयार गर्ने तर्फ ध्यान पुर्याइएको महसुस आफुले गरेको अनुभव सुनाए । विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यानदिन जरूरी रहेको उनले बताए । ‘विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने ‘यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।’ विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको छ र यो प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

जेविल्स फाइनान्सले पायो हकप्रद निष्कासनको अनुमति, २३ करोड ११ लाखको सेयर आउदै

काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बर्जर रंग म्याजिकल योजना अन्तर्गत न्यौपानेले जिते रेनो क्विड कार

काठमाडौं । बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । सो कार्यक्रममा योजना प्रबद्र्धक अनुपविक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका थिए । विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जितेका छन् भने काठमाण्डौंका रामकुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कार स्वरुप प्रत्येकले १–१ लाख रुपैयाँ जितेका छन् । यसैगरी, पूर्वाञ्चलकी लक्ष्मी बोहरा, र पश्चिमाञ्चलका निरक ओली र राजेन्द्रप्रसाद पन्तले दोस्रो पुरस्कार स्वरुप ५०-५० हजार रुपैयाँ नगद उपहार जितेका छन् । पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह, र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जिते भने १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप १०-१० हजार रुपैयाँ जितेका छन् । साथै, क्षेत्रगत रुपमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार तृतीय हुनेले २५ हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ गरि ६ क्षेत्रका ६० उत्कृष्ट घरधनीहरुले उपहार स्वरुप नगद पुरस्कार जितेका छन् । शहरोन्मुख शहरका उत्कृष्ट २० घरधनीहरुले २०-२० हजार रुपैयाँ जितेका छन् । विजेताहरुले आफ्नो उपहार दावी गर्नका लागि बर्जर पेन्ट्स नेपालको नजिकको बिक्रि शाखामा सम्पर्क गर्नुपर्नेछ ।

बजारमा सामान्य वृद्धिसँगै ७६ करोडको कारोबार, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । बिहीबारको कारोबारमा सामान्य सुधार भएको छ । बजार समान्य अंकले बढ्दा ७६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल १६९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । यस कम्पनीको कारोबार रकमका साथै सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन एक लाख ६० हजार ६३६ कित्ता सेयर ५ करोड ७३ लाख ४९ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको नाफा र सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका सेयर बजारका विश्लेशकहरु बताउँछन् । नेपाल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । साथै, बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । एकैदिन यस कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बिहीबार होटल र अन्य बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ७५ अंकले उकालो लागेको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादनमूलक समूह दोहोरो अंकले उकालो लागेका छन् । समग्रमा नेप्से परिसूचक ५.७७ अंकले बढेर १३६६ अंकमा पुगेको छ । सो दिन नेप्सेमा ०.४२ प्रतिशत वृद्धि भएको छ ।