प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्य मन्त्री भट्टले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बताएका छन् । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा यस इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरेका छन् । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौ । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले बताए ।
‘ग्यालेक्सी जे७ डियुयो’ स्मार्टफोन नेपाली बजारमा, मूल्य २८ हजार ९९० मात्र
काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी जे७ डियुयो’ नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । उक्त फोनको बजार मूल्य २८ हजार ९९० रुपैयाँ मात्र रहेको छ । उक्त फोेन यही अप्रिल ३०(अर्थात वैशाख १७गते)देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा सहजै उपलब्ध हुँदै आएको छ । ब्ल्याक तथा गोल्ड कलरमा उपलब्ध यस फोन नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज हो जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्दछ । यस मोबाइलमा भएको रियर क्यामरा १३ मेगापिक्सल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ । यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ । दुबै क्यामरा एफ/१.९ युक्त अपरचर तथा एलइडी फ्यास रहेको छ । लो लाईट फोटो ग्राफिको लागि ग्यालेक्सी जे७ डियुयो उच्चस्तरीय स्मार्टफोन रहेको कम्पनीले जनाएको छ । सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले, ‘ग्यालेक्सी जे७ डियुयोमोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार हो, यो नेपाली ग्राहकहरुको मनमनमा वस्ने छ । यसमा भएको डुयल क्यामराले जुनसुकै वेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्ध हुन् तथाआफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने छ । ” ग्यालेक्सी जे७ डियुयोमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको हुँदा पृथक किसमले सेल्फि खिच्न सकिन्छ । फ्रन्ट क्यामरामा पनि एफ/१.९ युक्त अपरचर तथा एलइडि फ्यास रहेको हुँदा कम उज्यालको अवस्थामा पनि सफाफोटो खिच्न सकिन्छ । फ्रन्ट क्यामराका भएको विभिन्न विशेष मोडहरुले व्याक ग्राउन्डलाई ब्लर बनाई फोटो खिच्न सकिन्छ । यसमा भएको ब्युटी मोडले वास्तवमा नै जीवन्त फोटो खिच्न सकिन्छ । यसमा फेस अनलक सुविधा पनि रहेको छ । जसबाट सहजै फोनलाई अनलक गर्न सकिन्छ । यस नयाँ मोबाइलमा ग्राहकले ब्याक ग्राउन्डलाई ब्लर बनाएर फोकस गर्न सकिने सुविधा रहेको छ । यस्तो विशेष सुविधाको प्रयोगबाट फोटोलाई सहजै रुपमा सम्पादन गरी सोसल मिडियाहरुमा शेयर गर्न सक्नेछन् । यसलका अतिरिक्ति लाइभ फोकस लगायत अन्य उत्कृष्ट सुविधाहरुले गर्दा फोटो जीवन्त खिच्न सकिन्छ । यसमा भएको डुयल क्यामराले फोटो खिची सकेपछि ब्याक ग्राउन्डलाई ब्लर र फोटोलाई सफा गरी राख्न सकिन्छ । साथै विभिन्न आकृतिका सफ्टलाइट इफेक्ट पनि समायोजन गर्न सकिन्छ । ग्यालेक्सी जे७ डियुयो सिरिजमा एक्नोस ७ सेरिज अक्टा कोर प्रोसेसर, ४ जिबि र्यामतथा ३२ जिबि मेमोरी जुनमाक्रो एसडि कार्डको प्रयोग गरी २५६ जिबिसम्म बढाउन सकिने जस्ता सुविधा रहेको छ । साथै, ५.५ इन्जको एच डि सुपर डिस्प्ले रहेको छ जसले गर्दा कुनै पनि कुरा हेर्दा छुट्टै जीवन्तता प्रदान गर्दछ । साथै, यसमा ३००० एम ए एच व्याट्रि पनि रहेको छ । एन्ड्रोइट ओरेयो अप्रेटिङ्ग सिस्टम राखिएको हुँदा यसमासँगै दुईवटा एप्स चलाउन सकिने सुविधा पनि रहेको छ ।
९ तालको २१७ हेक्टर अतिक्रमित जग्गा फिर्ता गर्ने हानगरकाे ब्रम्हास्त्र, भत्किएला कर्ण शाक्यको घर ?
काठमाडौं । पोखरामा रहेका ९ तालको २१७ हेक्टर जमिन व्यक्तिले अतिक्रमण गरेका छन् । फेवाताल ताल सहित पोखराको ९ तालका २१७ हेक्टर जमिन अतिक्रमणमा परेको हो । अतिक्रमण हुनेमा सबैभन्दा धेरै फेवातालको रहेको छ । फेवातालको झन्डै १ हजार ६९२ रोपनी जमिन ६७३ जनाको नाममा अनियमितता गरी दर्ता भएको छ । अतिक्रमण भएपछि विश्वप्रकाश लामिछानेको संयोजकत्वमा प्रतिवेदन तयार गरी विसं २०६९ साल जेठ ३ गते बुझाएको प्रतिवेदनलाई मुद्दा परेको ६ वर्षपछि सर्वोच्च अदालतले प्रतिवेदन कार्यान्वयन गर्न सुनुवाई गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब जग्गा फिर्ता अभियान छिट्टै सुरु हुने बताए । “महानगर मिचिएको तालको जग्गा फिर्ता लिन सक्षम रहेको सर्वोच्चको आदेशले झनै यो अभियानमा उर्जा थपेको छ, अतिक्रमित जग्गामा बनाइएका सबै भौतिक संरचना भत्काएर ताल संरक्षणको लागि महानगर तयार रहेको छ,” जिसीले विकासन्युजसँग भने । हाल अतिक्रमित जमिनमा घर तथा टहरा लगायतका संरचनाहरु निर्माण भएका छन् । यसैगरी अतिक्रमण भैरहेमा ७५ देखि १०० वर्षमा ताल लोप हने प्रतिवेदनमा उल्लेख गरेको छ । महानगरका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार अब महानगरले यस विषयमा छिट्टै कार्यपालिकाकाे बैठक बसी निर्णय लिनेछ । “सर्वोच्चको सुनुवाइमा अतिक्रमित जमिनमा बनेको हाेटल व्यवसायी कर्ण शाक्यको घर लगायत संरचनालाई समितीको निर्णय अनुसार भत्काउने काम अघि बढ्ने उल्लेख गरिएको छ,” पौडेलले भने महानगरलार्इ प्राप्त सबै अधिकार प्रयाेग गरी ९ वटै ताल संरक्षणको लागि महानगरले सबै अस्त्र प्रयोग गर्नेछ । सर्वोच्चको पुर्ण पाठमा के कुरा समावेस भएको छ भन्ने कुरा आउन बाँकी रहेको छ । सर्वोच्चको सुनुवाइमा मालपोत, नापी र वातावरण विभागमा गई जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउन भनेको छ । फेवातालको विसं २०१९ मा निर्मित पार्दी बाँध २०३१ पौष १७ मा फुटी तालका ५० प्रतिशत पानी बगेर गएपछि जमिन बन्न गएको थियो । नक्साको अध्ययन गर्दा जग्गाको कित्ताहरु ६५० मिटरभन्दा लामो रहेको कतिपय कित्ताहरु हाल पनि पानीमुनी रहेको, सामान्य जग्गाको भन्दा नक्शा अप्राकृतिक देखिन गएपछि छानमिन समितीले सर्वोच्चमा मुद्दा दायार गरेको थियो । फेवातालसँगै बेगनास ताल, रुपा ताल, मैदी, खास्टे, लगायत अन्य तालहरुको पनि जमिन अतिक्रमण भएको महालेखा परिक्षणले जनाएको छ । पोखरामा रहेका सबै तालहरुको कुल क्षेत्रफल १२७३ हेक्टर रहेको सो मध्ये ९८५ हेक्टर पानीले ओगटेको छ भने ७०.४७ हेक्टर पुरिएको छ । २०० रोपनी सार्वजनिक जग्गा फिर्ता महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको महानगरले जनाएको छ ।
रौतहट-सर्लाही जोड्ने बागमति नदीमाथी सिग्नेचर ब्रिज: राती बत्ति बल्छ, साँझ/बिहान धार्मिक धुन
काठमाडौं । रौतहट र सर्लाही जिल्ला जोड्ने बागमति नदिमा सिग्नेचर ब्रिज(पुल) बन्ने भएको छ । पुर्व पश्चिम राजमार्गस्थित दुई जिल्ला जोड्ने बागमति नदिमा चार लेनको आकर्षक सिग्नेचर ब्रिज बनाउन लागिएको हो । सडक विभागको पुल महाशाखाले सो सिग्नेचर ब्रिजको डिजाइन बनाईरहेको छ । ‘आगामी पाँच बर्षभित्रै रौतहट र सर्लाही जोड्ने महेन्द्र राजमार्गको बागमति नदिमा सिग्नेचर ब्रिज निर्माण सम्पन्न हुनेछ, हामी अहिले डिजाइन बनाईरहेका छौं’, महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले भने । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण हुनेछन् । दुई वटा शहर जोड्ने, मानिसहरुको आवतजावत भैरहने ठाउँमा निर्माण हुने सिग्नेचर ब्रिजले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउनेछ । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ । रौतहट र सर्लाही जोड्ने सिग्नेचर ब्रिजले पनि सो क्षेत्रको पर्यटन फस्टाउने शाक्यले बताए । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलका रुपमा रहेको धार्मिक पर्यटकिय क्षेत्र नुनधर सो पुलबाट ५ सय मिटरको दुरीमा रहेको छ । नुनथरको पर्यटन प्रवद्र्धन तथा बागमति नदिको सभ्यतालाई समेत जोडेर निर्माण हुने सिग्नेचर ब्रिजले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रको विकासमै ठुलो योगदान दिनेछ । विश्व बैंकको सहयोग सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विश्व बैंकले काम गरेपछि भुक्तानी दिने नयाँ व्यवस्था अनुसार सिग्नेचर ब्रिज निर्माणका लागि सहयोग गर्न लागेको हो र हाल सो सहयोग सम्बन्धि छलफल अघि बढिरहेको छ ।
जनसेवी लघुवित्तले संस्थापक सेयरधनीलाई भन्यो : हकप्रद सेयरको रकम जम्मा गर्नुस
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरको रकम जम्मा गर्न संस्थापकलाई भनेको छ । संस्थाले निष्कासन गर्न लागेको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद निष्कासन गर्नुअघि संस्थाले संस्थापकलाई हकप्रद वापतको रकम जम्मा गर्न ३५ दिन समय दिएको छ । संस्थाले पर्वतको कुस्मामा रहेका प्रभु बैंक, एनआईसी एसिया बैंक र मेगा बैंकमा हकप्रद वापतको रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई भनेको हो । संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टार कार्यालयबाट हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । अब धितोपत्र बोर्डबाट मात्र बाँकी छ ।
नागरिक लगानी कोषले सीबीआइएल क्यापिटलको संस्थापक सेयर बिक्री गर्दै, प्रतिकित्ता १४२ रुपैयाँ
काठमाडौं । नागरिक लगानी कोषले सीबीआइएल क्यापिटल लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कोषले सीबीआइएलमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर न्युनतम १४२ रुपैयाँमा बिक्री गर्ने भएको हो । संस्थापक सेयर खरिदकर्ताले १५ दिनभित्र विवरण खुलाइ निवेदन दिन सीबीआईएलले जानकारी दिएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ १० मा, ४० करोड आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आउदो जेठ १० गते हुने प्रथम साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । ४० करोड रुपैयाँ आईपीओ निष्कासन गरेर उठाउने तयारी कम्पनीको छ । कारोबार सञ्चालमा आएको १ वर्षको वित्तीय विवरण पारित गरेपछि मात्र प्रभुले आईपीओ निष्कासन गर्न पाउने छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । कम्पनीले मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।
व्यवसाय विस्तारमा प्रभु बैंक, १ अर्ब ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । प्रभु बैंकले व्यवसाय विस्तार गर्न १ अर्ब रुपैयाँको ऋणपत्र (डिबेञ्चर तथा बण्ड) निष्कासन गर्ने भएको छ । बैंकले आउँदो जेठ १० गते बस्ने १६ औं वार्षिक साधारणसभामा ऋणपत्र निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारणसभाबाट पारित भएपछि बैंकले ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा जानेछ । पुँजीगत आधार मजवुत र व्यवसाय विस्तार गर्न ऋणपत्र निष्कासन गर्न लागेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशाेक शेरचनले बताए । उनले छिट्टै ऋणपत्र निष्कासन गर्ने जानकारी दिए । यद्यपी प्रक्रियागत कारण निष्कासन लम्बिन पनि सक्ने छ । उनले बैंकसंग लगानीयोग्य पुँजी पनि कम भएकाले ऋणपत्र निष्कासन गरेर बढाउन खोजेको प्रष्टपारे । यसअघि ऋणपत्र निष्कासन गर्न साधारणसभामा जानुपर्ने प्रावधान थिएन । अहिले ऋणपत्रका लागि पनि साधारणसभाबाट पारित गर्नुपर्ने भएपछि बैंकले प्रस्तावको रुपमा लैजान लागेको हो । गत चैतसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७४.४९ प्रतिशत छ । बैंकको हाल पुँजी पर्याप्तता १२.६८ प्रतिशत छ । पुँजी पर्याप्ताको अवस्था कम भएपछि यसलाई विस्तार गर्नका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको उनको भनाई छ । पुँजी पर्याप्तता ११ प्रतिशत भन्दा कम हुनुहुदैन् । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । गत चैतसम्म बैंकले ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिमा न्युनतम १ जना महिला हुने गरी नियमावली संशोधनको प्रस्ताव अनुमोदनका लागि सभामा लैजाने भएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति वा गाभ्ने काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि परित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफबाट सेयरधनीलाई लाभांश भने घोषणा गरेको छैन् ।