मध्यभोटेकोशी जलविद्युतले १ अर्ब ४४ करोडको आइपीओ बिक्री गर्दै
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर आइपीओ बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत शेयर रहेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ । यस्तै सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक÷एक प्रतिशत शेयर रहेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कूल ४९ प्रतिशत शेयर रहनेछ । यस्तै लगानीकर्ता संस्थाको कूल ५१ प्रतिशत शेयर रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । आयोजनाको हाल कूल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ । रासस
सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । कारोबार शुरु हुँदा उकालो लागेको बजार बन्द हुँदा ३.४८ अंकले घटेर १२४१ अंकमा पुगेको छ । सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन यस कम्पनीका सेयरधनीले ९.८२ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ । त्यस्तै, अरुण काबेली पावरका सेयरधनीले ५.१७ प्रतिशत कमाएका छन् । दिनभरको बजारमा कुल १५५ कम्पनीको कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । समग्रमा कुल ८ लाख ४२ हजार कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ । बजारमा उत्पादनमूलक र फाइनान्स समूह क्रमशः ३१ र ४ अंकले उकालो लागेका छन् । होटल समूह स्थिर रहेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।
बढी भाडा बढी लिने ७७९ यातायात सवारी कारवाहीमा
काठमाडौं । बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ । फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैं मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौ फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ ।-रासस
द्रुत राहदानी बनाउने बढ्दै
काठमाडौं । कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को दुई महीनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २९६ सिफारिश भएका राहदानीमध्ये ९१५ जनाले बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय बाणगङ्गाबाट दुई महीनामा ४८ वटा द्रुत राहदानी वितरण भएको छ । गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २०० सयभन्दा बढीले राहदानी बनाएका छन् । तीन वटै निकायवाट आर्थिक वर्ष २०७४÷७५ मा ६ हजार ५९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १२१ जनालाई राहदानी वितरण गरिएको छ । कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । राहदानी बनाउनेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरब र कतारमा रोजगारीका लागि गएको पाइएको छ । चालू आवमा नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५÷७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३०० नागरिकता वितरण गरेको छ । यसैगरी दुई महीनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १९९ थान वितरण भएको छ । दैनिक रुपमा शुक्रबारबाहेक जिल्ला प्रशासन कार्यालयबाट ७०, इप्रका वाणगङ्गाबाट आठदेखि १० सम्म र इप्रका चन्द्रौटाबाट १५ देखि २० सम्म नागरिकता र राहदानी वितरण भइरहेको अधिकृत खनालले जानकारी दिए । पछिल्लो वर्ष वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको सङ्ख्या बढिरहेको छ ।-रासस
साझा यातायातले सुरु गर्यो विद्युतीय बस सेवा
काठमाडौं । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।” उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए। आगामी दिनमा विद्युतीय सवारीनको प्रबद्र्धन गर्दै जाने उहाँको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।” सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको उनले बताए । विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा उहाँको जोड छ । उनले भने, “विद्युतीय बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ ।’ उत्पादन गर्नेहरूले पनि विद्युतीय बसको मूल्य घटाउन खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए। विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताए। लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौँ उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा उनको जोड छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ । रासस
१५ रुपैयाँमा स्मार्ट लाइसेन्स छाप्ने जिम्मा मालिका इन्कर्पोरेटलाई, ४५ दिनमै ६ लाख कार्ड छापी सक्ने
काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिएको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्ययले बताए । उपाध्ययका अनुसार ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए। लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ । कार्ड विभागको मीनभवनस्थित कार्यालयमै छापिने छ । दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।
नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, करीब २१ देशको सहभागी
ललितपुर । ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगीक मूलप्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने इन्जिनिरिङ अध्ययन संस्थानका डीन प्रा त्रिरत्न ब्रजाचार्यले जानकारी दिए । आर्थिक–सामाजिक विकास र वातावरणीय संरक्षणका लागि नवीकरणीय ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विश्वव्यापीरुपमा यसतर्फ जोड दिइरहेको सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलनको आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने र सहयोगमा नयाँ सम्भावनाको खोजी गर्न मद्दत पुग्ने उनले बताए । दिगो ऊर्जा विकासबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नबराज ढकालको भनाइ छ । यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौंमा सम्पन्न भएको थियो । सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देश र विदेशका गरी करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने र झण्डै २५० जना ऊर्जाविद्को सहभागिता रहने ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा श्रीराज शाक्यले जानकारी दिए । रासस
दशैंमा कर्मचारीले तलब पाएनन्
जुम्ला । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए । “आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ उनले भने, “जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।” प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशैँ पनि बित्यो तर पाइएन । उनले भने, “खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन । सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।” रासस