विकासन्युज

भारतमा पहिलोपटक ‘इच्छामृत्यु’को अनुमति

काठमाडौं । भारतको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतले बुधबार ‘इच्छामृत्यु’को अनुमति दिएको छ । अदालतले १३ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणाको जीवनरक्षक उपकरण (लाइफ सपोर्ट) हटाउन अनुमति दिएको हो । न्यायाधीश जेबी पारदीवाला र न्यायाधीश केभी विश्वनाथनको इजलासले यस विषयमा फैसला सुनाएको हो । सर्वोच्च अदालतले केन्द्र सरकारलाई ‘प्यासिभ युथेनेशिया’ (इच्छामृत्यु) सम्बन्धी व्यापक कानुन बनाउन पनि विचार गर्न आग्रह गरेको छ । अदालतले एम्स दिल्लीलाई लाइफ सपोर्ट हटाउने प्रक्रियाका लागि विशेष योजना तयार गर्न पनि निर्देशन दिएको छ ताकि सम्पूर्ण प्रक्रियाका क्रममा बिरामीको गरिमा र सम्मान कायम रहोस् । हरीश राणाका बुबा अशोक राणाले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् । उनले मानवीय दृष्टिकोणबाट दिएको निर्देशनका लागि अदालतप्रति आभार व्यक्त गरेका छन् । अगस्ट २०१३ मा हरीश राणा चण्डीगढस्थित एक भवनको चौथो तलाबाट खसेका थिए । त्यसपछि उनी लामो समयदेखि लाइफ सपोर्टमा रहेका थिए । राणाको परिवारले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै सन् २०१८ मा पाँच न्यायाधीशको इजलासले दिएको निर्णयका आधारमा चिकित्सा सुविधा हटाउन अनुमति मागेको थियो । सन् २०१८ को उक्त निर्णयमा असाध्य रोगबाट पीडित बिरामीका लागि ‘प्यासिभ युथेनेशिया’ (इच्छामृत्यु) लाई कानुनी मान्यता दिइएको थियो । अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसका अनुसार सर्वोच्च अदालतको त्यस निर्णयमा ‘प्यासिभ युथेनेशिया’ सम्बन्धी विस्तृत निर्देशिका पनि तय गरिएको थियो । यी निर्देशिका त्यस्ता अवस्थामा लागू हुन्छन्, जब बिरामीले पहिले नै ‘अग्रिम निर्देश’ वा ‘लिभिङ विल’ छोडेको हुन्छ । त्यसमा असाध्य रोगको अवस्थामा पुगेमा आफ्नो लाइफ सपोर्ट हटाइयोस् भन्ने उल्लेख गरिएको हुन्छ । यस्तै लिखित इच्छा नभएको अवस्थामा पनि ती निर्देशिका लागू हुन सक्छन् । जनवरी २०२३ मा सर्वोच्च अदालतको अर्को पाँच न्यायाधीशको इजलासले २०१८ को निर्णयमा केही संशोधन गरेको थियो ताकि असाध्य बिरामीको उपचार रोक्ने प्रक्रिया कम जटिल र बढी व्यवहारिक बनोस् । यी संशोधनहरूमा प्रत्येक मेडिकल बोर्डको निर्णयका लागि समयसीमा तोक्नु र प्रक्रियामा न्यायिक मजिस्ट्रेटको भूमिकालाई सीमित गर्नु समावेश थियो । तर दिल्ली उच्च अदालतले हरीश राणासम्बन्धी निवेदन खारेज गरेको थियो । अदालतले राणा मेकानिकल लाइफ सपोर्टमा नरहेको र बाह्य सहयोगबिना पनि जीवित रहन सक्ने उल्लेख गरेको थियो । त्यसपछि परिवारले सन् २०२४ मा सर्वोच्च अदालतको ढोका ढकढक्याएको थियो, तर त्यस समयमा उनीहरूलाई कुनै राहत मिलेन । यद्यपि अदालतले आवश्यकता परे पुनः अदालत आउन अनुमति दिएको थियो। त्यसपछि परिवारले गत वर्ष फेरि सर्वोच्च अदालतमा निवेदन दायर गरेको थियो । सर्वोच्च अदालतले एम्स दिल्लीलाई बिरामीलाई घरबाट अस्पतालमा सार्न आवश्यक सबै सुविधा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । साथै एम्सलाई ‘उपचार रोक्ने प्रक्रिया सुदृढ योजनाअन्तर्गत गरियोस् र त्यसलाई यसरी तयार गरियोस् कि बिरामीलाई कुनै पीडा नहोस् र उनको गरिमा उच्चतम स्तरमा कायम रहोस्’ भन्ने सुनिश्चित गर्न भनिएको छ । सर्वोच्च अदालतको इजलासले देशमा जीवनको अन्त्यसम्बन्धी हेरचाह (एन्ड–अफ–लाइफ केयर) सम्बन्धी कुनै व्यापक कानुन नभएको टिप्पणी पनि गरेको छ। यस विषयमा केन्द्र सरकारलाई आवश्यक कानुन बनाउन आग्रह गरिएको छ ।

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा

ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ ।    पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।       ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको बताउँदै घिमिरेले आवश्यक सचेतना अपनाउन सबैलाई आग्रह गरे । कसैमा शङ्कास्पद लक्षण देखा परे तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै उनले सङ्क्रमण रोक्न खोप अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए ।       उनका अनुसार पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि इसकेको छ भने १४ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा स्वाब पठाइएको छ । दशदेखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको घिमिरेले बताए ।       उनले भने, 'शङ्कास्पद बिरामीको खोजी र उपचारलाई तीव्रता दिएका छौँ । बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ, केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ ।'      यही फागुन ८ गते गाउँका केही स्थानमा सङ्क्रमणको लक्षण देखिएपछि स्वास्थ्यकर्मी गाउँमा पुगेर खोजतलास गर्नुका साथै जोखिम पहिचान, सञ्चार तथा स्वास्थ्य सचेतना र उपचार तथा निगरानी बढाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए । यस क्षेत्रमा रहेका छ हजार ७६३ जनालाई दादुराविरुद्धको खोप लगाइने उनले बताए ।      फागुन २९ गतेदेखि आगामी चैत्र १ गतेसम्म यहाँ दादुराविरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख शर्माले बताए । गाउँभरि सङ्क्रमण फैलिएपछि यस क्षेत्रका विद्यालसमेत बन्द गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । रासस   

एमाले र कांग्रेसका मत रास्वपामा सिफ्ट, कुन दलले कति मतदाता गुमायो ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । निर्वाचन आयोगका प्रवक्ता कुल बहादुर जिसीका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । प्राप्त अन्तिम परिणामअनुसार रास्वपाले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७.८१ प्रतिशत हो । समानुपातिक मत परिणामले यस पटक नयाँ शक्तिको उदय र परम्परागत दलहरूको उपस्थिति कमजोर भएको स्पष्ट देखाएको छ । मुख्य प्रतिस्पर्धी दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत प्राप्त गरेको छ । जुन १६.२७ प्रतिशत हो । नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत सहित १३.४६ प्रतिशत मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ अर्थात् कुल मतको ७.५० प्रतिशत मत प्राप्त गरेको छ । केही महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत पाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यस पार्टीले कुल मतको ३.५७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार २८१ अर्थात् ३.०६ प्रतिशत मत प्राप्त गरेको हो । अन्य साना दलहरूले भने ३ प्रतिशतभन्दा कम मत पाएका कारण समानुपातिक सिट पाउने छैनन् । २०७९ को तुलनामा ठूलो मत परिवर्तन यसपटकको परिणामलाई अघिल्लो २०७९ को आम निर्वाचनसँग तुलना गर्दा राजनीतिक शक्तिको सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ । गत निर्वाचनको परिणामको तुलना गर्दा नेकपा एमालले धेरै गुमाएको छ भने रास्वपाले धेरै प्राप्त गरेको छ । २०७९ मा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यस पटक ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ । यसअनुसार रास्वपाको मत ४० लाखभन्दा बढीले बढ्दै करिब ३५६.३९ प्रतिशत वृद्धि भएको छ । यसको विपरीत प्रमुख परम्परागत दलहरूको मतमा उल्लेख्य गिरावट देखिएको छ । २०७९ मा २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यसपटक १७ लाख ५६ हजार ४३ मत मात्रै प्राप्त गरेको छ । कांगे्रसको मतमा ३५.३२ प्रतिशत गिरावट आएको छ । त्यस्तै २०७९ मा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले को मत पनि यसपटक उल्लेखनीय रूपमा घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा अहिले १४ लाख ५२ हजार ९३९ मत मात्र प्राप्त गरेको छ । जुन करिब ४८.९४ प्रतिशतले कमी हो । यस पटक नेकपाको मत पनि घटेको छ । २०७९ मा ११ लाख ७५ हजार ६८४ मत पाएको तत्कालीन माओवादीले यस पटक ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ । नेकपालाई यस पटक ३१.१३ प्रतिशत कम मत प्राप्त भएको छ । उसो त नेकपा  आधा र्दजन बी पार्टी मर्जर भएर बने पनि नतिजा भने सन्तोषजनक देखिँदैन ।  त्यस्तै निर्वाचनमा राप्रपाको मत पनि अघिल्लो निर्वाचनको तुलनामा ४४ प्रतिशतले घटेको देखिएको छ । राप्रपाले २०२९ को चुनावमा साढे ५ लाख मत पाएको थियो ।  नयाँ शक्ति उदाएको संकेत समानुपातिक मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । विशेषगरी रास्वपाको तीव्र मत वृद्धि र परम्परागत दलहरूको मत घट्नुले मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बढेको देखिएको छ । राजनीतिक विश्लेषक तथा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितका अनुसार यस पटकको निर्वाचन परिणामले आगामी संसदमा शक्ति सन्तुलन मात्र होइन, दलहरूको आन्तरिक संरचना र नेतृत्वमा समेत व्यापक बहस सिर्जना गर्ने संकेत दिएको छ ।

दिपक मनाङे डिल्लीबजार कारागारबाट १४ महिनापछि रिहा

काठमाडौं । दिपक मनाङे रिहा भएका छन् । बुधबार (आज) डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् ।  जेलर बाबुराम अर्यालले ५ वर्षको कैद अवधि पुरा गरेर दिपक मनाङे रिहा भएको जानकारी दिए । उनका अनुसार कारागारमा मनाङे पछिल्लो समय १४ महिना बसेका थिए । पूरा अवधि ५ वर्षको समय कटाएर रिहा भएको उनले बताए । २०६१ वैशाख ३१ गते मिलन गुरुङ ‘चक्रे मिलन’ को हात छिन्नेगरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो । २० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो । यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज बुधबार राति दुबई प्रस्थान गर्दै

काठमाडौं । नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ ।       निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौं आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौं) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौं फर्किने तालिकामा उल्लेख गरिएको छ ।       अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिए ।      खासगरी दुबईमा उद्धारको पर्खाइमा बसेका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे ।       उनका अनुसार आरए २२९ (काठमाडौं–दुबई) बुधबार राति ११ः१५ बजे र आरए २३० (दुबई–काठमाडौं) बिहीबार बिहान ४ः१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ । गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।        

नागरिकताकै भरमा स्कुटर किन्न सकिने, लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा

काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो । विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सक्नेछन् । सामान्यतया फाइनान्स प्रक्रियामा प्रशस्त आम्दानी खुल्ने कागजात, राजधानीकै स्थानीय ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो कम्पनीमा काम गरेको प्रमाण जस्ता झन्झटिला कागजात आवश्यक पर्ने गरिन्छ । तर लुयान नेपालको यो नयाँ व्यवस्थामा त्यस्ता जटिल प्रक्रियाबाट ग्राहकलाई धेरै हदसम्म सहज बनाइएको छ । नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसेर औपचारिक वा अनौपचारिक पेशा–व्यवसाय गरिरहेका व्यक्ति, साना व्यवसायी तथा राइड सेयरिङ्गमा संलग्न युवाहरूले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् ।  यस योजनाअनुसार स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ भने बाँकी रकम १८ महिनासम्मको सरल किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले जानकारी दिए । यो सुविधाले विशेषगरी राजधानीमा बसेर राइड सेयरिङ्ग व्यवसायमा सक्रिय युवाहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । हाल यो सेवा काठमाडौंमा उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।  लुयान नेपालले विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ तथा काइसाई ब्राण्डका स्कुटरमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले हाल करिब १ लाख ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले करिब १ लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।  

सेयर बजारमा १३ अर्बको कारोबार, २ कम्पनी​​​​​​​मा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेर २७९७ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।  बुधबार ३२९ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड, नेसनल हाइड्रो पावर कम्पनीको ४९ करोड, अपि पावर कम्पनीको ४४ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंकको १० प्रतिशत र नेसनल हाइड्रो पावर कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।     

जेसीबी थीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ । ग्राहकको विश्वास थप सुदृढ बनाउने तथा उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत नयाँ जेसीबी थीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोगपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ उपलब्ध हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ । कम्पनीले यो पहल जेसीबी थीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा रहेको निरन्तर मागप्रतिको विश्वासको प्रतीक भएको जनाएको छ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा बढी प्रयोग हुने भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ । एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने लगानीबाट ग्राहकले भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गर्ने भएकाले ‘बाइ ब्याक ग्यारेन्टी’ योजनाले खरिद निर्णयलाई अझ विश्वस्त बनाउनेछ । उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण परिचित जेसीबी थीडीएक्स सुपर नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, सहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।