आईएमई इलेक्ट्रिकले पायो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर अवार्ड
काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले दक्षिण एसियाबाट ‘आउटस्ट्यान्डिङ बिजनेस पार्टनर’ अवार्ड प्राप्त गरेको छ । भारतको कोचीमा सम्पन्न मोटुल इन्डिया एनुअल कन्फ्रेन्समा आईएमई इलेक्ट्रिकले सो अवार्ड पाएको हो । मोटुल इन्डिया एन्ड साउथ एसियाका सीईओ नागेन्द्र पाई, मोटुल एसिया प्यासिफिकका सीईओ लियोनेल डान्टियाक र मोटुल इन्डियाका चेयरम्यान खेतान ब्यासले आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाललाई सो अवार्ड हस्तान्तरण गरे । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।
मटरकोसा किलोको ६० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु ८५, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले निजी क्षेत्र उत्साहित, सहकार्यमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची निजी क्षेत्र र लगानीमैत्री रहेको बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे । साथै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी वृद्धि र राजस्व अभिवृद्धिमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ । ढकालका अनुसार सेवा प्रवाहलाई डिजिटल, सहज र समयवद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक पक्ष हुन् । उनले महासंघले उठाउँदै आएका धेरै विषयहरू कार्यसूचीमा समावेश भएको उल्लेख गर्दै यसलाई उत्साहजनक कदमको रूपमा व्याख्या गरे । ‘यस सुधार एजेन्डाको प्रभावकारी कार्यान्वयन भए आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्नेछ,’ उनले भने। ढकालले यस ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको औंल्याउँदै महासंघ त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
विदेशमा रहेका नेपालीले आजसम्म कालंगा हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ । चैत १० गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई पक्राउ गरिएको विकासन्युजलाई जानकारी दिए । सीआइबीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
भ्रष्टाचार नियन्त्रणको जिम्मा राष्ट्र बैंकलाई, बैंक, वालेटदेखि सेयरसम्म निगरानीमा
काठमाडौं । सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिएको छ । शासकीय सुधारका १०० काम सार्वजनिक गर्दै सरकारले राष्ट्र बैंकमार्फत भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउँदै आर्थिक सुधार गर्ने भएको हो । यससँगै अब नेपाल राष्ट्र बैंकले १०० दिनभित्र बैंक खाता, डिजिटल वालेट, सेयर लगानी लगायत सबै वित्तीय गतिविधि समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत स्थापना गर्नुपर्नेछ । उक्त प्रणालीमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गरिनेछ भने सन्देहास्पद कारोबारहरू स्वचालित रूपमा पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने समेत छ । यसैगरी, साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रमा ऋण प्रवाह बढाउन हाल रहेको जोखिम भार घटाउने व्यवस्था ३० दिनभित्र मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको छ । व्यवसायमैत्री वातावरण बनाउन सरकार अघि बढेको छ । व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता खोल्ने तथा अन्य अनुमतिहरूलाई एकीकृत गर्दै ४५ दिनभित्र ‘एकद्वार व्यवसाय प्रणाली’ लागू गरिनेछ । सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र ट्र्याकिङयोग्य बनाउने गरी कानुनी तथा प्राविधिक सुधार तत्काल लागू गरिने जनाइएको छ । यसैबीच अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जेनजी जनआन्दोलनका क्रममा प्रभावित व्यवसायहरूका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने भएका छन् । निजी क्षेत्रको सुरक्षा र संरक्षणलाई प्राथमिकता दिँदै ‘प्राइभेट सेक्टर प्रोटेक्सन स्ट्राटेजी’ तयार गरी तत्काल कार्यान्वयनमा ल्याइने सरकारको योजना छ । त्यसैगरी, राज्यका निष्क्रिय स्रोतहरूको उपयोग गर्न १० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरिनेछ। हकवालाले दाबी नगरेको रकमलाई कानुनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याइनेछ, जसको काम ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारका यी कदमहरूलाई आर्थिक अनुशासन कायम गर्ने, पारदर्शिता बढाउने र निजी क्षेत्रको विश्वास पुनर्स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।
बेनी हाइड्रोको आईपीओमा स्थानीयले लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थानीय, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ का स्थानीय र २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु र प्राइम बैंकको नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् ।
कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन, १० किलोमिटर पार गर्न डेढ घण्टा लाग्ने
काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा ‘र्याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँ पुल खण्डमा र्याफ्टिङको शुभारम्भ गरे । र्याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरादेखि सवारीमा २ घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ,’ उनले भने । फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्याफ्टिङ गर्न १ घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्याफ्टिङको प्रवर्द्धन गरेको थियो । एक पटकमा एउटा बोटमा ८ जनाले र्याफ्टिङ गर्न सक्ने र्याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए । विदेशी पर्यटकका लागि नयाँ पुलदेखि गुल्मीको रिडीसम्म ३ दिनको र्याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ । कात्तिक र चैत महिना र्याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जल यात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका वस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।