नरेन्द्र विष्ट

नाइमा मोबिलिटी एक्स्पो : २ हजार बढी गाडी बुकिङ, ९२ हजारले गरे अवलोकन

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको पाँचौं दिन गाईजात्राको सार्वजनिक बिदा । ८६ वर्षीया बिनासरी आचार्य लौरो टेक्दै विस्तारै भीड छिचोल्दै थिइन् । प्यूठान घर भई हाल बागबजारमा छोरा–बुहारी र नातिनातिनासँग बस्ने उनी गाडी किन्न होइन, केवल रमाइलो हेर्न र मेलाको माहोलमा रमाउन आएकी थिइन् ।  ‘न गाडी किन्न सक्छु, न हिँड्न सक्छु,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यहाँको माहोल राम्रो लाग्यो, सबै कुरा राम्रो छ, रमाइलो हेर्न आएको ।’ बिनासरी जस्ता आगन्तुकले एक्स्पोलाई केवल व्यापारिक मेला मात्र नभएर एउटा सामाजिक उत्सवको रूप लिएका थिए । यस पटकको एक्स्पोलाई ‘ईभीमय’ भन्दा फरक पर्दैन । खासगरी बीवाईडीको स्टलमा मानिसहरूको भीड थामिनसक्नु थियो । कम्पनीले भर्खरै सार्वजनिक गरेको बजेट कार ’एट्टो वान’ हेर्न र बुकिङ गर्न मानिसहरू झुम्मिएका थिए । ‘साढे दुई/तीन वर्षदेखि उपभोक्ताहरूले सानो र गुणस्तरीय बजेट कारको माग गरिरहनुभएको थियो,’ बीवाईडीकीकी प्रबन्ध निर्देशक तथा नाईमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ भन्छिन्, ‘त्यही माग पूरा भएकाले यति धेरै माया पाएका छौं ।  पहिला ईभीबारे बुझाउनु पथ्र्यो, आज ग्राहक आफै आएर एट्टो वान नै किन्छु भन्दै दुई मिनेटमै फारम भरेर बुकिङ गर्नुहुन्छ । यो विश्वास हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ एक्स्पोको पाँच दिनमा करिब ६ सय बिवाइडी गाडी बुकिङ हुनुले नै यसको क्रेज प्रस्ट पार्छ ।  त्यस्तै, एमजी र  ओमोडा एन्ड जेकोको स्टलमा पनि उत्तिकै आकर्षण थियो । विशेषगरी जेको जे-फाइभको आकर्षक लुक्स, ग्राउन्ड क्लियरेन्स र पावरले धेरैलाई तानेको थियो । एक्स्पो ईभीमय भए पनि अन्य प्रविधिले पनि आफ्नो दरिलो उपस्थिति देखाएका थिए । टोयोटाले आफ्नो हाइब्रिड प्रविधिको यारिस क्रस र नयाँ लुक्सको ल्यान्ड क्रुजर प्राडो प्रदर्शनमा राखेको थियो । ‘हाइब्रिड टेक्नोलोजीबारे मान्छेमा ठूलो चासो छ । नसोचेको तरिकाले बुकिङ भइरहेको छ,’ टोयोटाका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ भन्छन् । उनले एक्स्पो अवधिभर १६/१७ वटा गाडी बुकिङ भएको जानकारी दिए । यसैबीच एउटा फरक र विशेष स्टलले सबैको ध्यान तानेको थियो, एमजीपीएल ग्रुप । विराटनगरमा फ्याक्ट्री रहेको यो कम्पनीले नेपालमै एसेम्बल गरिएका विद्युतीय रिक्सा, पानी ट्याङ्कर, फोहोर उठाउने गाडी र फुड ट्रक जस्ता व्यावसायिक सवारी प्रदर्शनमा राखेको छ । एक्स्पोमा मेगाटेक समूहले प्रदर्शनमा ल्याएका स्वदेशमै बनेका ‘सामुराइ ब्रान्ड’ का ई-रिक्साहरू दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन् । विभिन्न प्रयोजनका लागि निर्माण गरिएका यी इ-रिक्साहरूले सस्तो, वातावरणमैत्री र बहुउपयोगी सवारीको रूपमा नयाँ सम्भावना देखाएका छन् ।  मोरङको बुढीगंगास्थित कारखानामा डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया नेपालमै हुने यी रिक्साहरू साना व्यवसायी, किसान तथा स्थानीय तहका लागि लक्षित छन् । सामान ढुवानी, तरकारी र मासु बिक्री, फोहोर संकलन, पानी हाल्ने, र यात्रु सेवा जस्ता विविध प्रयोजनका लागि निर्माण गरिएका मोडलहरू एक्स्पोमा प्रदर्शित छन् ।  १३ मोडलका सामुराइ रिक्साहरू एक्स्पोमा सामुराइ लोड-किङ, भेजी क्लोज, फुडीज, चिकन कार्ट, सुपर प्लस, प्लस, प्लस (बेस), इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन जस्ता विभिन्न मोडलहरू सार्वजनिक गरिएका छन् । यी इ-रिक्साहरूमा ४ देखि ५ वटा लेड-एसिड ब्याट्री, १०००-१२०० वाट मोटर, तथा ८०० देखि १३८० किलोग्रामसम्मको लोड क्षमता रहेको मेगाटेकले जनाएको छ । कम्पनीका अनुसार पानी ट्यांकर मोडलको मूल्य ९ लाख रुपैयाँ, गार्बेज कार्ट ६ लाख ५० हजार, चिकन कार्ट ५ लाख ५० हजार, स्कूल भ्यान ६ लाख, र भेजी क्लोज ४ लाख ५० हजार तोकिएको छ । ३०० जनालाई रोजगारी दिइरहेको मेगाटेकले हालसम्म ९ सयदेखि १ हजार युनिट रिक्साहरू उत्पादन गरिसकेको र दैनिक १०-१५ युनिट उत्पादन क्षमता रहेको जनाएको छ । ‘हाम्रो उत्पादन तराईमा निकै सफल छ, तर काठमाडौं उपत्यकामा चलाउन अनुमति पाएका छैनौं,’ कम्पनीका सिनियर सेल्स अफिसर शशी रेग्मीले भने, ‘हामी यही एक्स्पोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । यदि निश्चित समय र रुटमा अनुमति पाए, यी साधन शहरी व्यवस्थापनका लागि निकै उपयोगी हुनेछन् ।’ विगतका नाडा अटो शोभन्दा फरक यसपटकको नाइमा  मोबिलिटी एक्स्पो व्यवस्थापन र आगन्तुकको गुणस्तरका हिसाबले अब्बल देखिएको अवलोकनकर्ताहरू बताउँछन् । विद्यार्थी वा रमितेभन्दा पनि वास्तविक खरिदकर्ताको उपस्थिति बाक्लो रहेको आयोजकको दाबी छ । ‘एक्स्पो सुरु हुनुअघि डर जस्तो थियो तर आज पाँचौं दिनमा आइपुग्दा म ढुक्क छु, सबैले राम्रो व्यापार गरेका छन्,’ नाइमाका आयोजक समिति सदस्य गौरव शारडा भन्छन् । ‘आगन्तुकको चाप र व्यवसायीको आग्रहमा हामीले एक्स्पो एक दिन थप्यौं । यसले नै देखाउँछ कि यो नेपालकै आजसम्मको सबैभन्दा ठूलो र सफल अटोमोबाइल एक्स्पो हो,’ उनले थपे । उनका अनुसार एक्स्पो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान छ, जसले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सोमबारसम्म चल्ने नाइमा एक्स्पोमा पाँचौं दिनसम्म आइपुग्दा २ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् भने ९२ हजार जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार, चौथो दिन साढे २१ हजार र आइतबार २२ हजार जनाले एक्स्पोमा सहभागिता जनाएका थिए ।  आइतबार परेको गाईजात्राको विदाका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी नआएको नाइमाको भनाइ छ । अवलोकनकर्ताहरूले एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको नाइमाले बताएको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत गाईजात्राको सार्वजनिक बिदाको भरपूर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ ।

नाइमा एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको व्यवसायीको दाबी, बुकिङ र अवलोकनकर्ताको ‘रेस्पोन्स’ ले मक्ख

काठमाडौं । शनिबारको मुसलधारे पानीले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने अर्कै रौनक थियो । विगतका वर्षहरुमा पानी पर्नेबित्तिकै बिथोलिने प्रदर्शनी यस पटकको नाइमा मोबिलिटी एक्स्पोमा भने कुनै असर परेन ।  स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२५ ले अपेक्षाभन्दा निकै माथिको सफलता पाएको अवलोकनकर्ताहरु बताउँछन् । अवलोकनकर्ताको उर्लंदो भीड र सहभागी व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै आयोजक नाइमाले एक्स्पोको अवधि एक दिन थपेर ६ दिनको कायम गरेको छ ।  विगतका अटो शोहरूमा पानी पर्नासाथ हिलो र अव्यवस्थाको सामना गर्नुपर्ने अनुभव संगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको नाइमा एक्स्पो नितान्त फरक रहेको अनुभव सुनाउँछन् । नाइमा मोबिलिटीमा अवलोकन गर्न पुगेका  प्रवेश कुवंरका विगतका नाडा अटो शोहरुमा पानी पर्दा पुरै खुट्टा हिलै हिलोले पुरिन्थ्यो । तर यसपटक त्यस्तो अवस्था नभएको उनी सुनाउँछन् ।  उनले भने,  ‘यसपटको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं । स्टलभित्र छिर्ने बाटोहरुमा जताततै कार्पेट ओछ्याएको छ । माथि पालको छानो छ । ठाउँठाउँमा पंखाहरु छन् । भित्रछिर्ने बाटोका दुई लेन छन् । खाजा खानेदेखि प्रत्येक स्टलहरुमा पानीको व्यवस्था छ । यसपटको अटो शो विगतका भन्दा व्यवस्थित छ ।’ फराकिलो र आकर्षक स्टल, हलहरू जोड्ने र ढाकिएका बाटा र हिलोमुक्त परिसरले आगन्तुकलाई सहजता प्रदान गरिरहेको नाइमाले दाबी गरेको छ ।  नाइमाकी अध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एण्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यका अनुसार यसपटक स्टलहरू ठूला छन् र व्यवस्थापन उत्कृष्ट छ । ‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । अशक्तता भएका व्यक्तिहरू पनि सहजै घुम्न सक्नुहुन्छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो प्रदर्शनी अहिलेसम्म भएको थिएन,’ उनले भनिन् । एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उनको भनाइ छ । उनले ग्राहकको रेस्पोन्सले आफूहरु खुसी भएको सुनाइन् । उनले एक्स्पोमा सवारी साधन बुकिङको आधिकारिक तथ्यांक आइनसकेको भएपनि एक हजार बढी सवारी साधन बुकिङ भएको अनुमान रहेको सुनाइन् ।  जी अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छाले स–सानो कुराले गर्दा एक्स्पो फरक र उत्कृष्ट बनेको बताए । यसपटकको एक्स्पोमा घुम्न र रमाइलो गर्न आउनेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका गुणस्तरीय ग्राहकको उपस्थिति बाक्लो देखिएको लक्ष्मी ई–मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले बताए ।  ‘यसपटकका ग्राहकहरू पहिलादेखि नै गाडीबारे अध्ययन गरेर, बुझेर आएका छन् । धेरै कुरा इन्टरनेटमा हेरेर थाहा पाइसकेका हुन्छन् । त्यसैले उहाँहरूसँग कुरा गर्न पनि सहज भएको छ,’ थपलियाले थपे । नाडाका पूर्व अध्यक्ष धु्रव थापा पनि विगतको तुलनामा यस पटक उत्कृष्ट भएको बताउँछन् । ‘पहिले विद्यार्थीहरूको भीड बढी हुन्थ्यो, तर अहिले साँच्चिकै सवारीसाधनमा रुचि राख्ने र खरिद गर्न चाहनेहरूको उपस्थिति बढेको छ । यसले बुकिङमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । विशेषगरी विद्युतीय सवारी (इभी) प्रति मानिसहरूको आकर्षण बढेको उनको अनुभव छ ।  यस्तै, यार्डियाका सेल्स एन्ड मार्केटिङ प्रमुख भिजन कोइरालाले पनि शनिबार ‘पोटेन्सियल बायर’ हरूको फ्लो निकै राम्रो रहेको र १०/१५ वटा स्कुटर नगदमै बुकिङ भएको बताए । एक्स्पोको उद्देश्य तत्काल गाडी बेच्नु मात्र नभएर ब्रान्डिङ गर्ने, सही जानकारी दिने र ग्राहकसँग सम्बन्ध स्थापित गर्नु पनि हो । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने, ‘यो सेलिङ स्पट मात्र होइन । यो मानिसहरूलाई सबै उत्पादन एकै ठाउँमा हेर्ने, तुलना गर्ने, अध्ययन गर्ने र भविष्यका लागि निर्णय लिने प्लेटफर्म हो । ’ यो एक्स्पोले दशैंको माहोललाई समेत अगाडि नै भित्र्याएको छ । ‘हाम्रो ट्यागलाइन नै दशैंको सुरुवात नाइमाबाट भन्ने थियो । शिथिल अर्थतन्त्रमा यसले एउटा सकारात्मक भाइब्रेन्सी ल्याएको छ,’ नाइमा आयोजक समितिका सदस्य तथा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने ।  नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतिक अर्यालले भने, ‘हाम्रो होडबाजी यति बेच्यौँ वा यति बुकिङ भयो भन्नेमा हुँदै होइन । हाम्रो मुख्य लक्ष्य उपभोक्ताले यहाँ आएर दुःख होइन, रमाइलो अनुभव गरेर फर्कनुहोस् भन्ने हो ।  हामीले टिकटको लाइन, पार्किङ, पानीको समस्या जस्ता विगतका पीडालाई समाधान गर्न खोजेका हौं ।’ एक्स्पो भव्य रूपमा सफल भए पनि यसले काठमाडौंको कमजोर प्रदर्शनी पूर्वाधारलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । अधिकांश सहभागी र आयोजकहरू भृकुटीमण्डपको पुरानो संरचना अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीका लागि अपर्याप्त भएको स्वीकार्छन् । ‘सबैभन्दा ठूलो चुनौती नै प्रदर्शनी स्थल हो, यहाँ न राम्रो पार्किङ छ, न त वातानुकूलित हल नै । हामीले जसोतसो टालटुल गरेर व्यवस्थापन गरेका हौं, ’ उनले सरकारलाई आग्रह गर्दै हात जोडेर बिन्ती छ, नेपाली ग्राहकलाई सुहाउँदो पूर्वाधार सरकारले उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो,’ निर्देशक शारडाले भने । यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बजेट छुट्याएर तीन वर्षभित्र नयाँ हल बनाउने घोषणा गरेकाले व्यवसायीहरू आशावादी छन् । पहिलो प्रयासमै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापना गरेको व्यवसायीको दाबी छ । 

नाइमा एक्स्पोमा दुई पांग्रेतिर पनि उस्तै आकर्षण र अफरै-अफर

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ ले नेपाली अटो बजारमा नयाँ तरंग सिर्जना गरेको छ । सवारी खरिदबिक्रीका लागि यो एक्स्पो केवल एक मेला मात्र नभई बजारको भविष्य प्रतिस्पर्धाको स्तर र उपभोक्ताको बदलिँदो रोजाइको ऐना बनेको छ ।  नाडाबाट छुट्टिएर नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पो व्यवस्थापकीय हिसाबले उत्कृष्ट देखिनुका साथै उपभोक्ताका लागि नयाँ मोडल र भारी छुटको वर्षा लिएर आएको छ । जहाँ गाडी भित्र्याउने कम्पनीहरूले ५ लाखदेखि २० लाखसम्मको नगद छुट दिइरहेका छन् ।  एक्स्पोमा दुई पांग्रे र चार पांग्रे सबैमा अवलोकनकर्ताहरूको भीड देख्न सकिन्छ । आज एक्स्पोको तेस्रो दिन प्रत्येक ब्राण्डका स्टलहरू सूरु भएको देखि नै भरिभराउ छन् ।  एक्स्पोमा ५० ब्राण्डका ४८ वटा स्टल रहेका छन् । एक्स्पो सुरु भएको दिन १५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् भने दोस्रो दिन १३ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ ।  दुई पांग्रेका दर्जनौं मोडल सार्वजनिक पहिलो पटक नाइमाले आयोजना गरेको एक्स्पोको मुख्य आकर्षण दुई पांग्रे सवारी साधन बनेको छ । विभिन्न आठ ब्रान्डले दुई दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक गरेका छन् । याडिया, सेगवे, केटीएमदेखि सीएफमोटो र नयाँ ब्रान्ड मोर्बिडेलीसम्मले आफ्ना बाइक तथा स्कुटर सार्वजनिक गरेका छन् ।  वैद्य इनर्जीले फ्यामिली स्कुटरको रूपमा परिचित एथर रिज्ता एक्स्पोमा राखेको छ । भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर इनर्जीले पारिवारिक स्कुटर एथर रिस्ता नाइमा पहिलोपटक ल्याएको हो ।  ईभी बजारमा सबैभन्दा ठूलो चासोको विषय बन्ने गरेको ब्याट्रीको आयुमा एथरले पहिलो पटक ८ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी घोषणा गरेको छ । एथर इनर्जी भारतका इन्जिनियरिङ डेभलपमेन्ट हेड गौरव रेग्मीका अनुसार कम्पनीले ग्राहकको आवश्यकता र प्रतिक्रियालाई गहिरोसँग अध्ययन गरेर ‘रिस्ता’ को निर्माण गरेको हो ।  ‘हाम्रो पहिलेको ४५० एक्स मोडल पर्फर्मेन्समा केन्द्रित थियो, तर बजारमा एउटा यस्तो स्कुटरको माग थियो पूरै परिवारका लागि उपयुक्त होस्,’ उनले भने, ‘त्यही मागलाई सम्बोधन गर्न हामीले ठूलो सिट, पर्याप्त स्पेस र प्रिमियम बिल्ड क्वालिटीसहित ‘रिस्ता’ ल्याएका हौं ।’ भारतमा यो स्कुटरले पाएको सफलतालाई पनि उनले उल्लेख गरे । सार्वजनिक भएको १० महिनाभन्दा कम समयमा १ लाखभन्दा बढी युनिट बिक्री भएर रिस्ता भारतमा सबैभन्दा छिटो यो आँकडा छुने स्कुटर बनेको छ । साथै, यसले विभिन्न प्रतिष्ठित अवार्ड शोहरुमा २२ भन्दा बढी अवार्ड जितिसकेको छ । एथर रिस्तामा ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसलाई एथरले आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छ । यसको सर्टिफाइड रेन्ज १५३ किलोमिटर भए पनि कम्पनीले नेपाली सडकमा १२५ देखि १३० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीको छ । यो स्कुटरले १५ डिग्रीसम्मको उकालो सजिलै तान्न सक्ने र काठमाडौंको ह्वाइट गुम्बा जस्तो ठाडो उकालोमा पनि दुई जनालाई लिएर सहजै चढेको परीक्षणबाट देखिएको उनले बताए । नाइमा एक्स्पोलाई लक्षित गर्दै वैद्य इनर्जीले विशेष अफरहरू ल्याएको छ । कम्पनीका ब्रान्ड मार्केटिङ सलमान खानका अनुसार स्कुटरमा सिधै नगद छुट नभए पनि ग्राहकले आकर्षक फाइदा लिन सक्छन् । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले निःशुल्क ८७० वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा एक्सचेन्जमा विशेष भ्यालु एडिसन जस्ता अफरहरू पाउनेछन् ।  यसका साथै अवलोकनकर्ताहरूले एउटा एथर रिस्ता स्कुटर नै जित्ने मौका पनि पाउनेछन् । यसका लागि एथरको स्टलमा आएर स्कुटरसँग फोटो खिची आफ्नो सामाजिक सञ्जालमा साथीहरूलाई ट्याग गर्नुपर्नेछ । यसको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकिएको छ ।  यस्तै, विद्युतीय स्कुटरमा आफ्नो बलियो उपस्थिति देखाउँदै कुजु नेपालले याडियाको भेलक्स सिरिजका तीन मोडल (भेलक्स फास्ट चार्जिङ, भेलक्स यू र भेलक्स एच) सार्वजनिक गरेको छ । यसमा भेलक्स फास्ट चार्जिङमको मूल्य ३ लाख ६० हजार, भेलक्स यूको मूल्य ४ लाख ५० हजार र भेलक्स एच मोडलको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।  सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा ७६ भोल्ट, ३० एएच  क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ।   यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज दिनेछ । कम्पनीले यसमा २ वर्ष २० हजार किलोमटिर वारेन्टी दिएको छ ।  तेस्रो मोडल भेलक्स एचमा ३.२ किलोवाट क्षमताको मोटर छ। यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ । यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। तीन वटै मोडलमा एलएफपी ब्याट्री प्रयोग गरिएकाले सुरक्षित, टिकाउ र भरपर्दो पर्फर्मेन्स दिने विश्वास कम्पनीको छ। कम्पनीले यसमा ३ वर्ष ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यसैगरी आइहब प्रालिले सेगवेका चार नयाँ मोडल सार्वजनिक गर्दै सहरी यात्रामा नयाँ विकल्प दिएको छ । स्कुटर ‘ई-१५० एमके २’ (मूल्य ५ लाख) र ‘ई-१२५ एमके २’ (मूल्य ३ लाख ५० हजार) का साथै अत्याधुनिक ई-बाइक ‘साइबर’ (मूल्य ५ लाख ५० हजार) र ई-साइकल ‘सफारी’ (मूल्य ३ लाख ५० हजार) ले सबैको ध्यान तानेको छ । हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल (२०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आर) एकैपटक सार्वजनिक गरेर बजारमा तहल्का मच्चाएको छ । ५ लाख ९९ हजारदेखि १० लाख ७४ हजार रुपैयाँसम्मका यी बाइकहरू उत्कृष्ट डिजाइन र दमदार पर्फमेन्सका लागि परिचित छन् ।  अग्नि मोटोइन्कले नयाँ विद्युतीय ब्रान्ड ‘बिजी’ का आरयूभी ३५० र सी १२ इलेक्ट्रिक स्कुटरका विभिन्न भेरियन्टहरू २ लाख २८ हजारदेखि ३ लाख २५ हजार रुपैयाँसम्मको मूल्यमा ल्याएको छ । ऋषि ट्रेड सेन्टरले नेकेड स्पोर्टस् ‘३०० एनके’ (मूल्य ६ लाख ५४ हजार) र स्पोर्टस् मोडल ‘४५० एसआरएस’ (मूल्य १३ लाख ४९ हजार) सार्वजनिक गरेको छ । पावरफुल इन्जिन र प्रिमियम फिचरले भरिपूर्ण यी बाइकहरूले पर्फमेन्स खोज्ने राइडरलाई आकर्षित गरेका छन् ।  केटीएम इन्टरनेसनल ट्रेडिङले इटालियन ब्रान्ड ‘मोर्बिडेली’ लाई नेपाल भित्र्याएको छ । यसको ‘टी ३५२ एक्स’ मोडल ९ लाख ९७ हजार रुपैयाँमा सार्वजनिक भएको छ । नयाँ मोडल सार्वजनिक मात्र होइन । कम्पनीहरूले मूल्य घटाउन र आकर्षक अफर दिन पनि प्रतिस्पर्धा गरिरहेका छन् । सीएफमोटोले ‘अफरको वर्षा’ योजना अन्तर्गत आफ्ना बाइक र स्कुटरमा ५० हजार रुपैयाँसम्म नगद छुट दिएको छ । ४५० एमटीको खरिदमा २५ हजार बराबरको एसेसरिज र प्रिमियम हेल्मेट निःशुल्क पाइनेछ । यसैगरी, बेनेली र मोर्बिडेलीले पनि भारी छुट गरेका छन् । नयाँ मोर्बिडेली टी ३५२ एक्समा ३४ हजारको छुट दिइएको छ भने बेनेलीका अन्य मोडलमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ । यसैगरी, गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाईब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ । नाइमा एक्स्पोमार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन २१ गतेदेखि अर्थात् नाइमा एक्स्पोबाट आधिकारिक रूपमा लागू भएको छ र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर्स किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र १ लाखको बाई ब्याक भ्यालु ग्यारेन्टी दिएको छ ।  विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ ।  परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप (साट्ने) गर्ने )चार्ज सकिएको ब्याट्री राखेर फुलचार्ज भएको ब्याट्री लिने) हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको कम्पनीले उल्लेख गरेको छ ।  गोगोरो नेपालको यातायातको भविष्य भएको नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले बताए । बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा मोबिलिटी एक्स्पोमा केही आकर्षक अफरहरू पनि ल्याएको छ ।  नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि दिएको छ । जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू छन् । त्यस्तै आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गरिरहेका छन् ।   सिटी कारको आकर्षण दुई पांग्रेमा जस्तै चार पांग्रेतर्फ पनि उपभोक्ताको रोजाइमा परिवर्तन देखिएको छ । विशेषगरी ३० लाख रुपैयाँसम्मका इन्ट्री–लेभल सिटी कारहरूमा मानिसहरूको भीड लागेको छ । सस्तो मूल्य, साँघुरो सडकमा चलाउन सहज र पार्किङमा सजिलो हुने भएकाले मध्यम आय भएका परिवारको कार चढ्ने सपना यिनै गाडीले पूरा गरिरहेका छन् ।  एक्स्पोको एउटा रोचक कथा हेनरी भोल्ट्सको नयाँ गाडीसँग जोडिएको छ । कम्पनीले अपग्रेडेड ‘मोडल सी–प्रो’ सार्वजनिक गर्ने भव्य तयारी गरे पनि चीनतर्फ बाढीका कारण गाडी समयमै काठमाडौं आइपुग्न सकेन । तर, गाडी नपुगे पनि यसको चर्चा भने बजारमा चुलिएको छ । हाल बजारमा उपलब्ध हेनरी भोल्ट्सको १९ लाख ९५ हजार पर्ने मोडलले २०० किमि रेन्ज दिन्छ र यसमा फास्ट चार्जिङ छैन । तर बाटोमै अड्किएको ‘सी–प्रो’ ले खेल नै परिवर्तन गर्ने क्षमता राख्छ । यसमा ३०० किलोमिटर रेन्ज उपलब्ध रहेको छ । ३० किलोवाटको डीसी फास्ट चार्जिङ ४० मिनेटमै ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ ।  यसमा ३५ किलोवाट मोटर र ११० एनएम टर्क पावर क्षमता रहेको छ ।  यसको मूल्य २२ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।  यो गाडी आज आइपुगेमा एक्स्पोमै सार्वजनिक गर्ने कम्पनीको योजना छ । यो गाडीको आगमनले नेपालको इन्ट्री–लेभल विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धा सुरु गर्ने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटो बजार अब केवल सवारी साधन बेच्ने ठाउँ मात्र नरहेर प्रविधि, मूल्य र उपभोक्ताको चाहनाबीचको रोमाञ्चक प्रतिस्पर्धाको मैदान बनेको देखाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय गाडीको लहर, ५ लाखदेखि २० लाखसम्मको छुट

काठमाडौं । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सुरु भएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोले स्पष्ट संकेत गरेको छ कि अब नेपाली अटो बजार पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ केन्द्रित भएको छ । एक्स्पोको पहिलो दिनमै बुधबार दुई दर्जनभन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका छन् । एक्स्पोमा अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गरेका छन् भने केहीले पेट्रोल र हाइब्रिड गाडीका नयाँ संस्करण पनि प्रदर्शन गरेका छन् । ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले भारी छुटलगायतका विभिन्न स्किमहरू ल्याएका छन् ।  कुन ब्राण्डको के छ अफरहरू ? प्रोटोन शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनलाई नेपाली बजारमा भित्राएको छ । चिनियाँ अटोमोबाइल ‘जीली’ सँगको सहकार्यमा निर्मित ‘प्रोटोन ई मास ७’ दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । जसमा प्राइम भेरिएन्ट र प्रिमियम भेरिएन्ट रहेका छन् । प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट ब्याट्री र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।  प्रिमियम भेरिएन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसमा ६०.२२ किलोवाटको ठूलो ब्याट्री र ४१० किलोमिटर रेन्ज दिन्छ । यसमा विश्वकै सबैभन्दा उन्नत मानिएको ‘सर्ट ब्लेड ब्याट्री’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । एक्स्पो अफरअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ४ वर्षसम्म शून्य प्रतिशत ब्याजदरको आकर्षक योजना ल्याइएको छ । साथै ८ वर्षको असीमित किलोमिटर वारेन्टीले ग्राहकलाई थप विश्वस्त पारेको छ । हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको स्टलमा हालै सार्वजनिक भएको ‘क्रेटा ईभी’ लाई मुख्य आकर्षण बनाएको छ । तर सबैभन्दा ठूलो घोषणा भने नेपालमै एसेम्बल गरिएका गाडीहरूमा केन्द्रित छ । नेपालमा निर्मित गाडीमा कम्पनीले नवलपरासीको रामग्राममा रहेको एसेम्ब्ली प्लान्टमा बनेका भेन्यू र क्रेटा मोडलहरूमा १० वर्षको निःशुल्क सर्भिसिङको अफर दिएको छ । एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष नगद छुट, एक वर्षको निःशुल्क बीमा, सडक करको सुविधा र लक्की ड्रमार्फत एक जनालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । जीकर र निशान पायोनियर मोटर कर्पले आफ्नो प्रिमियम ईभी ‘जीकर एक्स’ को मूल्यमा भारी कटौती गरेको छ । ८५ लाख रुपैयाँ पर्ने यो गाडी नाइमा मोबिलिटी एक्स्पो र दशैंको लागि मात्र ७० लाख रुपैयाँमा उपलब्ध गराइएको छ । यो १५ लाखको छुट हो ।  यसैगरी, एसपीजी अटोमोबाइल्सले जापानिज ब्रान्ड निशानको चर्चित ईभी ‘लिफ’ अहिलेसम्मकै ठूलो छुट दिएको छ । ६५ लाख रुपैयाँ पर्ने यो गाडी एक्स्पो अवधिभर ४५ लाख रुपैयाँमा उपलब्ध गराएको छ । जुन २० लाख रुपैयाँ छुट हो ।  बीवाइडी चिनियाँ विद्युतीय गाडी बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ र बहुप्रतीक्षित ह्याचब्याक ‘एटो वान’ (सिगल) सार्वजनिक गरेको छ । सानो र किफायती गाडी खोज्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले दाबी गरेको छ । यसमा बस भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसले २३० किमि रेन्ज दिने कम्पनीको दावी छ ।  यसैगरी, टप भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ  । यसको रेन्ज ३०० किमि रहेको कम्पनीले जनाएको छ । फक्सवागन  फक्सवागनले पावर र पर्फर्मेन्स रुचाउनेहरूका लागि १.५ लिटर टर्बो इन्जिनसहितको टाइगुन र भर्टुस जिटी सार्वजनिक गरेको छ । यसमा प्रयोग भएको ‘एसीटी टेक्नोलोजी’ ले कम स्पिडमा दुईवटा सिलिन्डर मात्र सक्रिय गराई इन्धन बचत गर्ने कम्पनीको दाबी छ । जसले १ हजार ५ सय सीसीको गाडीमा पनि १२–१३ किमि प्रतिलिटरको माइलेज दिन्छ । ग्रेट वाल मोटर्स  जीएमडब्लुले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै विद्युतीय गाडी ‘ओरा ०३’ मा विशेष अफर अन्तर्गत ३९ लाख ९९ रुपैयाँमा उपलब्ध गराइएको छ । जसमा ७ किलोवाटको चार्जर र एक वर्षको बीमा निःशुल्क छ । म्याक्सस प्रिमियम र लग्जरी एमपीभी खोज्नेहरूका लागि म्याक्ससले ‘मिफा ७’ सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई–टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू दिएको छ ।  सात सिट क्षमता भएको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । एमजी  एमजीले आफ्नो नयाँ गाडी ‘आईएम ६’ प्रदर्शनमा राखेको छ । जसको रेन्ज ४५० किलोमिटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै कमेट, एमजी ४ र जेडएस ईभीजस्ता मोडेलमा पनि आकर्षक अफरहरू छन् ।  चेरी (ओमोडा/जेको) चेरीले आफ्नो नयाँ मोडल जेको जे ५ लाई एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य दिएको छ । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको थियो ।  हेनरी बोल्ट्स एक्स्पोमा यो ब्रान्डले आफ्नो नयाँ मोडेल सी प्रो सार्वजनिक गरेको छ । जसमा १ लाख ५० हजार रुपैयाँ छुट छ भने पुरानो मोडेल एचमा २ लाख ५० हजार रुपैयाँको छुट दिइएको छ । फोर्थिङ लक्ष्मी इ-मोबिलिटीले नयाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे ईभी’ सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी आजै सार्वजनिक गरिएको हो । सनलङ ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको छ । सनलङले दुईवटा माइक्रो ईभी भ्यान यु वान ४७ लाख ४७ हजार रुपैयाँ र यु २ ५१ लाख ५१ हजार रुपैयाँमा विशेष स्किमहरू ल्याएको छ ।  कामा कामाले आफ्ना ईभी ट्रक र भ्यानमा १० हजारदेखि ५० हजारसम्मको नगद छुट, २ लाखको मूल्य कटौती र एक वर्षको बीमा तथा सडक करको सुविधा दिएको छ । यो गाडीको आधिकारिक वितरक त्रिवेणी ग्रुप हो । लिपमोटर यो ब्रान्डले सी १०, बी १० र टी ०३ जस्ता मोडलहरू प्रदर्शनमा राखेको छ । सी १० को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ र टी ०३ को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो । क्यारी लक्ष्मी ग्रुप अन्तर्गतको यो ब्रान्डले आफ्ना १५ र १६ सिटे ईभी भ्यानहरू केभिन १ र केभिन २ लाई क्रमशः ५८ लाख ५६ हजाररुपैयाँ र ६३ लाख ६ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको छ । टोयोटा टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ ।  मित्सुबिसी मित्सुबिसीले आफ्ना पजेरो स्पोर्ट, एक्लिप्स क्रस र आउटल्यान्डर जस्ता गाडीहरूमा भारी छुटको व्यवस्था गरेको छ । तर कुनमा कति अफर भनेर खुलाएको छैन । लियोन मोटर्स नेपालका लागि आधिकारिक वितरक हो।  केइ यस्तै विद्युतीय गाडी केइले पनि नाइमा मोबिलिटी एक्स्पो अवधिभर ९ लाखसम्मको छुट दिएको छ । 

अब नेपालमा पनि ४ करोड मूल्य पर्ने उड्ने कार : चालक नचाहिने, दुईजना यात्रु बोक्ने

काठमाडौं । सडकमा गुड्ने गाडी त हामीले देख्दै र चढ्दै आएका छौं । तर, अब हामीले आकाशमा उड्ने कार (फ्लाइङ कार) आफ्नै आँखाले हेर्न पाउने भएका छौं ।  आगामी भदौमा आयोजना हुने ‘नाडा अटो शो’ मा चिनियाँ ब्राण्ड चाङ्गानले उत्पादन गरेको  ‘फ्लाइङ कार’ प्रदर्शनीमा राखिने भएको छ । चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो कार नेपाल ल्याउन लागेको हो । तर, आकर्षक र भविष्यको सवारी मानिएको यो कार तत्कालै किन्न वा नेपाली आकाशमा उडाउन भने पाइने छैन ।  कम्पनीले यसलाई बिक्रीका लागि नभई प्रदर्शनी र आफ्नो प्राविधिक क्षमता देखाउनका लागि मात्रै ल्याउन लागेको जानकारी दिएको छ ।  कस्तो छ फ्लाइङ कार ? आकाशमा उड्ने कार कस्तो हुन्छ भन्ने विषयमा अधिकांश अटोप्रेमीहरूको चासो बढेको छ । एमएडब्लू वृद्धि अटोकर्पका मार्केटिङ प्रमुख रमेश दनेखूले यो कार चांगान अन्तर्गतको  ‘दीपल’ ब्राण्डको पूर्ण विद्युतीय कार भएको जानकारी दिए । यसमा दुई जना यात्रुले यात्रा गर्न सक्छन् ।  ‘यो चाङ्गानको इनोभेसन देखाउनका लागि हो,’ दनेखूले भने, ‘हामीले प्राविधिक रूपमा के–के गर्न सक्छौं भनेर देखाउन ल्याउन लागेका हौं ।’ धेरैको चासोको विषय यो कार किन्न पाइन्छ कि पाइँदैन र यसको मूल्य कति पर्छ भन्ने हुन्छ । कम्पनीका अनुसार यसको मूल्य चीनमा करिब २३ लाख ९० हजार चिनियाँ युवान पर्छ भने नेपालमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्नेछ ।  यो उड्ने गाडी चीनका प्रमुख अटो निर्माता कम्पनी चांगान अटोमोबाइल र ईहाङको सहकार्यमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो उड्ने सवारीसाधनको नाम ईएच २१६-एस हो । जुन पूर्ण रूपमा विद्युतीय र स्वचालित प्रणालीमा आधारित मोडेल हो ।  यो सिधै माथि उड्न र अवतरण गर्न सक्ने विशेषता भएको फ्लाइङ कारका रूपमा चीनमा परिचित छ ।  ‘फ्लाइङ कार’ चालकबिनै उड्न सक्ने स्वचालित क्षमता भएको गाडी हो । यसमा दुई यात्रु बोक्ने तथा अधिकतम २२५ किलोग्राम तौल बोक्न मिल्ने क्षमता छ । एक पटकको चार्जमा ३० किलोमिटर दूरी (२०-२१ मिनेटको उडान) तय गर्न सक्ने कम्पनीको भनाइ छ ।  यसका साथै अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा, अधिकतम उचाइ ३ हजार मिटर रहेको छ । यो गाडीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित व्यावसायिक प्रयोगको अनुमति प्राप्त गरिसकेको छ ।  विश्वमा उड्ने कार प्रविधिको स्थिति अमेरिका, चीन, दुबई, दक्षिण कोरिया, र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय ऊध्र्वगामी अवतरण र उडान सक्षम यान (इभीटीओएल) प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् । त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर, नेपालले पहिलो पटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ ।  भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बंगलादेश, पाकिस्तान, र श्रीलंकामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन । नेपालमा उडाउन पाइँदैन : विभाग  नेपालको सवारी नियमन गर्ने यातायात व्यवस्था विभागले यस्ता सवारीका लागि कुनै पनि कानुनी व्यवस्था नभएको बताएको छ । यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख श्रीकान्त यादव नेपालको यातायात व्यवस्था ऐनले सडकमा गुड्ने सवारीलाई मात्र चिन्ने र उड्ने कारको परिकल्पना नै नगरेको बताउँछन् । ‘हाम्रो यातायात ऐनले उड्ने कारको लागि कुनै नीति-नियम बनाएको छैन,’ उनले भने, ‘हाम्रो कानुनले सडकमा गुड्नेलाई मात्र सवारी मानेको छ । त्यो बाहेकको परिकल्पना नै गरिएको छैन ।’ उनले उड्ने कार ल्याउने विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए । चांगानले विकास गरेको इलेट्रिकल भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको कम्पनीले दाबी गरेको छ । चांगानले यो फ्लाइङ कार टेक्नोलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको बताइएको छ ।  ‘यो कार बिक्रीका लागि होइन । नेपालमा यस्ता गाडी सञ्चालनका लागि कुनै नियम कानुन नै बनेको छैन,’ दनेखूले भने, ‘यो कार विश्वव्यापी रूपमा नै व्यावसायिक बिक्री सुरु भइसकेको छैन, अझै अनुसन्धान र विकासकै चरणमा छ ।’ ‘यसको बारेमा हामीलाई पनि धेरै कुरा थाहा छैन, यो रिसर्च फेजमै छ । यसको अन्य विस्तृत विवरण अहिले नै दिन सकिँदैन,’ उनले थपे । यो कार चीनमा परीक्षण भइसकेको तर नेपालमा ल्याएर उडाउने वा परीक्षण गर्ने कुनै योजना नरहेको कम्पनीले जनाएको छ ।  ‘चीनमा यो कार उडिसकेको छ,’ दनेखूले भने, ‘तर यहाँ ल्याएर उडाउन मिल्दैन, यो नाडा अटो शोको स्टलमा प्रदर्शनीमा मात्र रहनेछ ।’   यो कारले नाडा अटो शोमा सबैको ध्यान खिच्ने निश्चित छ । नेपालमा बिक्री र सञ्चालन नहुने भएता पनि भविष्यको सवारीसाधन कस्तो हुनेछ भन्ने एउटा रोमाञ्चक झलक यसले दिनेछ ।   

नेपालको पहिलो हेल्मेट उद्यमीको कथा : बाउ-छोराको दोस्ती, बिजनेसमा रेकर्ड

काठमाडौं । मोटरसाइकल चलाउने चालकको टाउकोमा विदेशी हेल्मेटहरूले अड्डा जमाइरहेका थिए । जसरी विदेशी आयातित वस्तुको भुक्तानीका लागि देशको खर्बौं रकम बाहिरिरहेको छ, यो रकममा हेल्मेटको हिस्सा पनि उल्लेख्य थियो । विदेशी ब्राण्डको हेल्मेटलाई मोटरसाइकल चालकले शिरमा राख्दै कुदिरहेका छन् । नेपाली बजारमा तिनै विदेशी ब्राण्डका हेल्मेटहरूको दबदबा थियो ।  यही नाजुकपन देखेर/भोगेर रुपन्देहीका उद्यमी रामप्रसाद बस्यालको मनमा एउटै प्रश्नले अड्डा जमान लाग्यो कि ‘नेपालमै हेल्मेट उत्पादन गर्न सकिँदैन र ?’ उनले त्यसैका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियविज्ञ व्यवसायीसँग छलफल गरे । उनी व्यवसायमा विसं २०४५ सालदेखि सक्रिय थिए । उनले विसं २०४५ सालदेखि कोहिनुर मेटल उद्योगबाट एअरकुलर उत्पादन गर्दै आएका थिए । विसं २०५८ सालबाट मोटरसाइकलको लेगगार्ड उत्पादन पनि सुरु गरेका थिए । यी दुवै उद्योग आफैमा नेपालको पहिलो उद्योग थिए । सो व्यवसायमा उनी सफल पनि बन्दै गएका थिए ।  नयाँ, पृथक र रचनात्मक व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई रामप्रसाद पछ्याउँदै गए । आफू व्यवसायी । उनका छोरा सुमनले भने विदेश जाने सपना सुनाए । तर, उनले विदेश जानुभन्दा स्वदेशमै थुप्रै सम्भावना रहेकोले स्वदेशमै बस्न सुझाव दिए ।  बरु कसैले नगरेको व्यवसाय, जसको सम्भावना ठूलो होस् त्यस्तो व्यवसायको आइडिया लिएर आउन छोरा सुमनलाई उनले सुझाव दिए ।  बुबाले मोटरसाइलको लेगगार्ड उत्पादन गरिरहेको र अब हेल्मेट पनि बनाउन सके झन राम्रो बजार बनाउन सकिन्छ भन्ने आइडिया सुमनले बुबालाई सुनाए । रामप्रसादलाई पनि उनको आइडिया मन पर्यो । अब हेल्मेट उत्पादनमा बाबु छोरा जम्ने भए । तर, हेल्मेट उद्योगको नेतृत्व रामप्रसादले सुमनलाई नै गर्न आग्रह गरे । सुमनले स्वीकारे ।  अब रामप्रसाद र छोरा सुमनले नेपालमै गुणस्तरीय हेल्मेट उत्पादन गर्ने प्रतिज्ञा लिए । जतिबेला उनको परिवार मोटरसाइकलको लेगगार्ड बनाउने काम गर्थ्यो  ।  ‘सधैं केही नौलो र रचनात्मक काम गरौं भन्ने सोच्छु, यस अघिका व्यवसाय पनि नेपालमै पहिलो थिए, हेल्मेट पनि पहिलो नेपाली उद्योग हो,’ रामप्रसादले सुनाए ।  बुबा-छोराको सहमतिमा २०७१ सालमा कोहिनुर प्लास्टिक इन्डस्ट्रिज स्थापना भयो । सोही उद्योगले उत्पादन गरेको हेल्मेट ‘कोहिनुर’ नेपाली बजारमा आयो । यसलाई ‘केपीआई’ ब्रान्ड नामले पनि चिनिन्छ । विस्तारै बजार बन्दै गयो । अहिले नेपालको पहिलो र सबैभन्दा ठूलो हेल्मेट उद्योग बन्न सफल भएको छ ।  केही व्यवसायीले विदेशी उत्पादन ल्याएर नेपालमा आफ्नो ट्याग राखेर पनि बिक्री गरिरहेका छन् । तर, बस्यालले नेपालमै पूर्णरूपमा उत्पादन गरेर विदेशी हेल्मेट विस्थापित हुने अवस्थासम्म पुर्‍याएका छन् ।  ‘हामीले लेगगार्डमा बजार बनाइसकेका थियौं,’ उनी भन्छन्, ‘त्यही बजार र नेटवर्कलाई उपयोग गर्दै हेल्मेट उत्पादनमा हात हाल्यौं, जसले गर्दा हामीलाई नयाँ बजार खोज्नु परेन ।’ भोगेका चुनौती हेल्मेट उद्योग सञ्चालन गर्दा चुनौतीको पहाडमा बुबाछोरा थिए । सुरुवाती दिनहरूमा प्रविधि सिक्न र उत्पादन प्रक्रिया मिलाउन निकै कठिन भएको अनुभव रामप्रसाद सुनाउँछन् ।  त्यससँगै सरकारी नीतिले पनि ठूलो असर गरेको उनी बताउँछन् । ‘हामीले नेपालमा ‘नेपाल गुणस्तर’ चिह्न लिन धेरै प्रयास गर्‍याैं । तर हेल्मेटको मापदण्ड नै नभएकाले सम्भव भएन,’ रामप्रसादले भने, ‘त्यसपछि हामीले भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (आईएसआई) र अमेरिकाको ‘डिओटी’बाट प्रमाणीकरण लियौं ।’  यसबाहेक कतिपय कम्पनीहरूले नेपालमा उद्योग दर्ता गर्ने तर भारतबाटै तयारी हेल्मेट ल्याएर आफ्नो छाप मात्र लगाइदिने गर्दा पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको उनको भनाइ छ ।  ‘तयारी हेल्मेट आयात गर्दा लाग्ने भन्सार शुल्क भन्दा हामीले ल्याउने कच्चा पदार्थमा लाग्ने भन्सार दर बढी छ,’ रामप्रसाद बस्यालले गुनासो गर्दै भने, ‘यसले गर्दा आयातित हेल्मेटसँग प्रतिस्पर्धा गर्न हामीलाई निकै गाह्रो परेको छ ।’  ७० करोड रुपैयाँभन्दा बढी लगानी भएको यो उद्योगको दैनिक उत्पादन क्षमता ५ हजार ५ सय थान हेल्मेट छ । तर, हाल दैनिक १५ सय थान मात्रै उत्पादन भइरहेको उनको गुनासो छ । यसको मुख्य कारण नै सरकारी नीति भएको उनी बताउँछन् ।  वार्षिक ४० करोड कारोबार  ‘कोहिनुर’ नाम सुन्नेबित्तिकै धेरैले बेलायती महारानीको मुकुटमा जोडिएको हिरा सम्झन्छन् । तर, सुमन कोहिनुरको अर्थ फरक रूपमा व्याख्या गर्छन् ।   कोहिनुरको अर्थ चम्किलोपना हो । बिहान शीतको थोपामा सूर्यको किरण पर्दा जुन चमक आउँछ, त्यही चमकलाई उनी कोहिनुर भनेर व्याख्या गर्छन् ।  ‘सुरुमा हामीले उत्पादन गर्ने लेगगार्ड चम्किलो हुन्थ्यो, त्यसैसँग मेल खाने भएकाले यो नाम रोजेको हुँ,’ उनले भने। यही नामले हेल्मेट बजारमा पनि आफ्नो छुट्टै पहिचान बनाएको तर्क सुमनको छ । कोहिनुर हेल्मेटले गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको छ । उद्योग परिसरभित्रै अत्याधुनिक प्रयोगशाला (ल्याब) छ, जहाँ कच्चा पदार्थदेखि तयारी उत्पादनसम्मको परीक्षण हुन्छ ।  अहिले वार्षिक ४० करोड रुपैयाँ कारोबार हुने गरेको उनले बताए । यो उद्योगमा एक सय ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनी अझै पनि कारोबार बढ्नेमा आशावादी छन् ।  उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको खण्डमा ३ सय जनाभन्दा बढीलाई रोजगारी दिन सकिने र कारोबार पनि बढ्ने उनी बताउँछन् ।  निर्यातको लक्ष्य कोहिनुर ब्राण्डको हेल्मेटले नेपाली बजार तताइसकेको छ । अब विदेशी हेल्मेट विस्थापित गर्ने रणनीतिका साथ उद्योगले काम गरिरहेको छ । त्यसका साथै हेल्मेट निर्यातको योजना पनि उद्योगले बनाएको छ ।  ‘भारतीय बजारलाई लक्षित गरेरै आईएसआई प्रमाणीकरण लिएका हौं, भारत र बंगलादेशका केही कम्पनीहरूसँग छलफल अगाडि बढे पनि विभिन्न प्रक्रियागत झन्झटले ठोस रूप लिन सकिएको छैन, एकदिन निर्यातको सुखद समाचार पनि सुनाउने छौं,’ खुसी हुँदै रामप्रसादले भने ।  नेपाली उत्पादन भन्नेबित्तिकै विदेशी खरिदकर्ताले सस्तो मूल्य खोज्छन् । तर, कोहिनुरको गुणस्तर कुनै पनि ब्रान्डभन्दा कम नभएको दाबी उनको छ ।  स्वदेशमै सिर्जनशील काम गर्न सुझाव जसरी अष्ट्रेलिया जानै लागेका आफ्नो छोरालाई रामप्रसादले स्वदेशमै केही गर्न सुझाव दिए । उनी त्यही सुझाव देशका लाखौं युवालाई पनि दिन्छन् । जसरी छोरालाई नयाँ आइडिया लिन उनले सुझाव दिएर हेल्मेट उद्योगमा नयाँ किसिमको ‘कोर्स क्रियट’ गरे । त्यसैगरी देशका नौजवानहरूलाई पनि उनी रचनात्मक बन्न सुझाव दिन्छन् ।  अहिले उनको हेल्मेट उद्योगको नेतृत्व उनकै छोरा सुमनले गरिरहेका छन् । सुमन पनि स्वदेशमै नयाँ व्यवसायको नेतृत्व गर्दा सन्तुष्ट छन् ।  ‘विदेशमा गएर नयाँ प्रविधि सिकेर आउनुपर्छ र नेपालमा नभएका नयाँ उद्योगमा लगानी गर्नुपर्छ,’ उनी भन्छन्, ‘अरूले गरिरहेको काममा प्रतिस्पर्धा गर्नुभन्दा नयाँ क्षेत्र रोज्दा सफल हुने सम्भावना बढी हुन्छ ।’ रामप्रसाद सफल उद्यमी मात्रै होइनन्, एक सक्रिय सामाजिक अभियन्ता पनि हुन् । उनी नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष र रोटरी क्लब अफ सेन्ट्रल बुटवलका पूर्वअध्यक्ष समेत हुन् ।  उनी ‘बस्याल वंश समाज’ का केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत छन् । व्यवसायसँगै समाजसेवामा उनको सक्रियताले उनको व्यक्तित्वलाई अझ फराकिलो बनाएको छ । व्यवसायमा बुबा–छोराको दोस्तीले एकपछि अर्को सफलता दिलाइरहेको छ । 

प्राधिकरणमा २० वर्ष काम गरेकालाई रित्तै घर पठाउने खेल, हितेन्द्रले लत्याए पूर्वसहमति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश कार्यालय परिसरमा केही कर्मचारी शान्तिपूर्ण धर्नामा छन् । उनीहरूको अनुहारमा वर्षौंदेखिको थकान, अन्यायको पीडा र भविष्यको अनिश्चितता प्रस्टै देखिन्छ । जसले देशलाई उज्यालो बनाउन आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए । तर आज उनीहरू आफ्नै भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिन बाध्य छन् । विगत २० वर्षदेखि प्राधिकरणमा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत दीपा अधिकारी आफ्नो पीडा पोख्दै भन्छिन्, ‘जागिर खाएको २० वर्ष भयो ।  तर अहिलेसम्म मासिक नियुक्ति पाएका छैनौं । ३० दिन काम गर्दा २५ दिनको तलब आउँछ । शनिबार बोलाए पनि त्यसको पैसा पाइँदैन । हाम्रो पनि परिवार छ । बालबच्चा छन् । यो महँगीमा कसरी बाँच्ने ?’  दीपाको कथा यो आन्दोलनमा सहभागी २ हजार ८ सयभन्दा बढी ज्यालादारी कर्मचारीको साझा पीडा हो । उनीहरूको मुख्य माग प्राधिकरण सञ्चालक समितिले २०७९ सालमा गरेको निर्णयको कार्यान्वयन हो । जसमा उनीहरूलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा रूपान्तरण गर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भनिएको थियो । तर वर्षौं बित्दा पनि त्यो निर्णय केवल कागजमा सीमित रह्यो ।  ‘हुन्छ-हुन्छ भन्दाभन्दै २० वर्ष बित्यो,’ दीपा भन्छिन्, ‘अब त घर जाने बेला हुन लाग्यो । म ५८ वर्ष पुग्न लागे‌ं । अहिले जागिरबाट निकालिदियो भने रित्तो हात जानुपर्छ । यतिका वर्षको हाम्रो योगदानको केही मूल्य छैन ?’  उनलाई दशैंमा बालबालिकालाई पेस्की आउँछ भनेर पटक-पटक ढाँटेको यथार्थ सुनाउँदा उनको घाँटीमा खाना अड्किएजस्तै हुन्छ । उनी आफ्नो त्यो दुःखलाई भन्नै सक्दिनन् ।  यी कर्मचारीहरूको जिम्मेवारी सानो छैन । कोही कार्यालय सहयोगी छन्, कोही कम्प्युटर अपरेटर । कोही मिटर रिडिङ गर्छन् त कोही ज्यान जोखिममा राखेर बिजुलीको पोलमा चढ्छन् । कतिपय ठाउँमा त ज्यालादारी कर्मचारीले नै पूरै शाखा चलाएका छन् । तर, उनीहरूको परिचय र अधिकार भने सधैं अस्थायी रह्यो ।  प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संर्घष समितिका केन्द्रीय अध्यक्ष नरेन्द्र यादव भन्छन्, ‘उज्यालो नेपालको सपना साकार पार्न हाम्रा कयौं साथीहरूले दुर्घटनामा परेर अंगभंग भए, कतिले ज्यानै गुमाए ।  ‘पोलको टुप्पोबाट चरा खसे जसरी साथीहरू खसिरहेका छन्, तर हाम्रो कुनै मूल्यांकन भएन, ’उनले थपे । उनीहरूले आफूहरूलाई स्थायी गर्न नभई केवल मासिक नियुक्तिपत्र र सामाजिक सुरक्षा कोषको ग्यारेन्टी मात्र मागेको बताउँछन् ।  आन्दोलन गर्नुअघि व्यवस्थापनसँग पटक-पटक वार्ता र संवाद भए पनि हुन्छ, गर्छौं भन्ने आश्वासनबाहेक केही नपाएको उनीहरूको गुनासो छ । ‘विगतमा भएका सम्झौता र निर्णय कार्यान्वयन नभएपछि हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भयौं, ’ यादवले भने, ‘यदि प्राधिकरणलाई हामी आवश्यक छैन भने बिदा गरोस् । आवश्यक छ भने हाम्रो रोजगारको ग्यारेन्टी गरोस् ।’ यस्तै, नेपाल विद्युत प्राधिकरण दैनिक संघर्ष समिति बागमती प्रदेश समितिका अध्यक्ष रमेश पराजुलीले पनि आफूहरूको पीडा प्राधिकरणले नसुनेको गुनासो गरे । उनका अनुसार प्राधिकरणले ८ घण्टा काम गर्नैपर्छ भनेर तोकेको छ । उनी भन्छन्, ‘हामीले तोकेको भन्दा बढी समय काम गर्नुपर्छ । यदि बत्ती गयो वा कतै विद्युतको पोल ढल्यो भने ८ घण्टा काम गरेर आएपनि रातदिन जेसुकै होस् कुद्नुपर्छ । यो पीडा कसले बुझिदिन्छ खै ?’ उनका अनुसार उनीहरूले पोलमा चढ्ने, मिटर रिडिङ गर्ने, राजस्व संकलन गर्ने, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरदेखि कतिपय स्थानमा पूरै शाखा चलाउनेसम्मको जिम्मेवारी सम्हालिरहेका छन् ।  तर, उनीहरूले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला मात्र पाउने गरेका छन् । काठमाडौंमा ९ सय पाउने गरेकोमा र कैलाली कन्चनपुर जस्ता जिल्लामा ६ सय ८५ रुपैयाँ मात्र पाउने गरेको कर्मचारीहरू बताउँछन् ।  दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिका उपमहासचिव गणेश खतिवडाले आफूहरूलाई व्यवस्थापनले भन्दा ग्राहकले बढी बुझेको मार्मिक अनुभव सुनाउँछन् ।  उनले भने, ‘एक ग्राहकले फोन गरेर भने- सर, बत्ती छैन । हामी त एकछिन बत्तीबिना बस्न सक्दैनौं । रातदिन हामीलाई उज्यालो दिने तपाईंहरू यस्तो अन्यायमा हुनुहुँदो रहेछ । यदि व्यवस्थापनले सुन्दैन भने भन्नुहोस्, म ५ हजार ग्राहक लिएर तपाईंहरूको आन्दोलनमा समर्थन जनाउन आउँछु ।’ यो घटनाले कर्मचारीहरूलाई भावुक बनाएको छ । ‘हामीले प्राधिकरणको मात्र होइन, ग्राहकको काम गरेका रहेछौं भन्ने महसुस भयो,’ खतिवडा भन्छन्, ‘ग्राहकलाई हाम्रो यति धेरै माया रहेछ, तर हामीलाई जन्माउने संस्थाले नै हाम्रो पीडा बुझेन । ’ यस्तै, मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए । उनका अनुसार केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । अहिले उनीहरूले इकाईस्तरको आन्दोलन सकेर प्रदेशस्तरको धर्ना कार्यक्रम गरिरहेका छन् । प्राधिकरणको व्यवस्थापनसँग वार्ताको प्रयास भए पनि ठोस निकास ननिस्किएको उनीहरूको भनाइ छ ।  यदि अब यहाँबाट पनि माग सम्बोधन नभए मेची-महाकालीका सबै ज्यालादारी कर्मचारीलाई काठमाडौं उतारेर केन्द्रीय कार्यालय घेराउ गर्ने र ‘ ऐतिहासिक युद्ध’ लड्ने उनीहरूको चेतावनी छ । जसले जोखिम मोलेर लाइन मर्मत गर्छन् । उसले महसुल उठाउन जाँदा उपभोक्ताको आक्रोश सामना गर्छन् । जसले देशको हरेक कुनालाई उज्यालो बनाउन आफ्नो पसिना बगाउँछन्, तिनै कर्मचारीहरू आज आफ्नो जीवनको उत्तरार्द्धमा एउटा नियुक्तिपत्र र सामाजिक सुरक्षाको सामान्य अधिकारका लागि संघर्ष गरिरहेका छन् । 

नाइमा मोबिलिटी एक्स्पोमा पेट्रोल र विद्युतीय बाइकले प्रतिस्पर्धा गर्दै, यी हुन् प्रदर्शन हुने मोडेल

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् ।  विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ ।  यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ ।  पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् ।  मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ ।  वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए ।  यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए । यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ ।  यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ ।  बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ ।  यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे ।  टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ । यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ । हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ । यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् ।  केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ ।  यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् ।  एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् ।  हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ ।   एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ । कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ ।  भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ । यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ ।  केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ ।  यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् । भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् ।  यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।