विकासन्युज

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले लम्की मानव सेवा आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस अवसरमा आश्रमका सञ्चालक थापाले जाडोयाममा प्राप्त न्यानो सामग्रीले आश्रममा बसोबास गर्दै आएका बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

नेशनल लघुवित्तको १२औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कर प्रयोजनसहित सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पनि पारित गरेको छ । २०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई बनेको हो । संस्थाले बाह्रौं वर्षमा सफल प्रवेश गर्दै २०८२ असोजसम्म सातै प्रदेशका ७४ जिल्लामा १८५ शाखा कार्यालयमार्फत २ लाख ५३ हजार विपन्न परिवारमध्ये १ लाख २२ हजार ऋणीलाई करिब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह र करिब ६ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको जनाएको छ । सभाले सम्बन्धित निकायबाट स्वीकृति लिई ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमध्ये संस्थापक समूहको १० प्रतिशत सेयर नियामक निकायको स्वीकृति पश्चात सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहकको हक–हित संरक्षण र प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा प्रविधिको उच्चतम प्रयोगमार्फत संस्था थप सुदृढ बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।  

वाणिज्य बैंक र चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता, तलबी खाता र पेशाकर्मी कर्जा सुविधा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा र अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेललगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटीएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न, १९ शाखाबाट बैंकिङ सेवा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विगत २९ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, महोत्तरी, नवलपरासी, बारा, सिन्धुली, सर्लाही, धनुषा, सुनसरी, झापा, पर्सा, मोरङ र रौतहटलगायत स्थानमा गरी हाल १९ शाखा तथा भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स, सी–आस्वालगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै लैजाने लक्ष्य लिएको संस्थाले जनाएको छ । ग्राहकका बैंक खाता, वालेट तथा क्यूआरमार्फत हुने विद्युतीय रकमान्तर र भुक्तानीलाई सहज बनाउन आवश्यक पूर्वाधार तयार गरिएको र विभिन्न शाखामा एटीएम सेवा पनि सञ्चालनमा रहेको संस्थाले जानकारी दिएको छ । हाल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल निक्षेप ८ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

विशेष महाधिवेशन विवाद : गगन–विश्वप्रकाशसहित कांग्रेस नेतामाथि कारबाही

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहितका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ ।  बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किनसमेत भनेको एक नेताले जानकारी दिए । बैठकमा नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताए । लेखक विशेष महाधिवेशन पक्षसँग दुई दिनदेखि वार्तारत रहेका थिए । अर्का नेता विमलेन्द्र निधिले बैठकपश्चात फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपरेको बताए। महामन्त्रीद्वयको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी छ । कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन् । 

नेपाल इन्भेष्टमेण्टको साधारण सभा सम्पन्न, ४ अर्ब ३३ करोड खुद नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न सभामा सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गर्दै आवश्यक छलफल गरिएको थियो । बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहतर्फ २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । यसैगरी, बैंकले लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको छ । संस्थाको इक्विटी पक्षमा ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ एकाइमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

हिमालयन बैंकको ३३औं साधारण सभा सम्पन्न, एकीकृत वित्तीय विवरण पारित

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैंक तथा सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीब एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी, नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातअनुसार सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।      कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।      साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।      साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट सेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए । उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।      कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे । कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे ।       त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।