विकासन्युज

‘दीपल ई-०७’ नेपाली बजारमा सार्वजनिक : एक बटनमै एसयूभीदेखि पिकअपमा परिवर्तन, मूल्य कति ?

काठमाडौं । नेपालको अग्रणी अटो वितरक एमएडब्लु वृद्धि ग्रुपले विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ एसयूभी ‘दीपल ई-०७’ सार्वजनिक गरेको छ । बुधबार कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक गाडीको लाइनअप विस्तार गर्दै अल न्यू ‘ई-०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गरेको हो । लक्जरी र एड्भेन्चरको अनुपम मिश्रण मानिएको यो गाडीले नेपाली ग्राहकलाई आरामदायी यात्रासँगै अफरोड अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यो गाडीको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडी एसयुभी मात्र नभई, एक बटनको भरमा आफ्नो स्वरूप र क्षमता परिवर्तन गर्न सक्ने ट्रान्सफर्मर भएको कम्पनीले दाबी गरेको छ ।  कम्पनीका अनुसार ‘ई-०७ ट्रान्सफर्मर एक्स’ ले परम्परागत एसयुभीको परिभाषालाई नै चुनौती दिएको छ । एक बटन थिच्नासाथ यसको पछाडिको भाग खुलेर यसलाई एउटा पिकअप ट्रकमा परिणत गर्न सकिन्छ । यसमा १६०० लिटरको कार्गो स्पेस र ५३१ केजीको पेलोड क्षमता छ । यसैगरी गाडीमा अत्याधुनिक एयर सस्पेन्सन प्रणाली जडान गरिएको छ, जसले ग्राउन्ड क्लियरेन्सलाई २०० एमएमबाट बढाएर २३१ एमएमसम्म पुर्‍याउन सक्छ ।  यसले चालकलाई मात्र नभई सबै यात्रुको आरामलाई प्राथमिकता दिएको छ । यसका चारवटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसनको सुविधा छ ।  सिटहरूमा विश्वका केही महंगा गाडीमा मात्र प्रयोग हुने प्रिमियम नाप्पा लेदर प्रयोग गरिएको छ । गाडीको अगाडिको सिटमा १४-वे एडजस्टमेन्ट र ‘जिरो ग्राभिटी मोड’ छ । पछाडिका यात्रुका लागि छुट्टै सुपर टच स्क्रिन दिइएको छ । जसबाट एसी, सनसेड, सिट फोल्ड/रिक्लाइन र अन्य सुविधाहरू नियन्त्रण गर्न सकिन्छ। यसमा चीनको समकालीन एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेडद्वारा निर्मित नेपालकै सबैभन्दा उन्नत गोल्डेन शिल्ड ब्याट्री २.० प्रयोग गरिएको छ । जसको क्षमता ८९.९८ किलोवाटआवर छ । यो ब्याट्रीले ५ हजारभन्दा बढी साइकल लाइफ दिने दाबी गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५६६ किलोमिटरको रेन्ज प्रदान गर्छ ।  यसले २४० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट केवल १२ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । गाडीमा १९० किलोवाटको मोटर पावर, रियर ह्विल ड्राइभ र ६०० एमएमको वाटर वेडिङ क्षमता छ । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको बजारमा ५४ वटा ईभी ब्रान्ड हुँदा पनि दीपलले आफूलाई नम्बर एक लक्जरी ईभी ब्रान्डको रूपमा स्थापित गर्न सफल भएकोमा बताए । उनले चिनियाँ केन्द्रीय सरकारले लगानी गरेका १०० कम्पनीमध्ये चाङ्गन पनि एक भएकोले यसको विश्वसनीयतामा प्रश्न नरहेको र एमएडब्लू वृद्धिको ६० वर्षे विरासतले ग्राहक सेवामा उत्कृष्टताको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।  अग्रवालले दीपल ई-०७ एक गाडी मात्र नभएर एक फरक जीवनशैलीको प्रतीक भएको बताए । उनले भने, ‘हामीले एस-०५ र एस-०७ को सफलतापछि यो नयाँ मोडल ल्याएका हौं । यसले बजारमा हाम्रो विश्वासलाई अझ बलियो बनाएको छ । ’ उनका अनुसार यो गाडी विशेषगरी ती ग्राहकहरूका लागि डिजाइन गरिएको हो जो आरामदायी र न्यानो क्याबिनमा बसेर बाहिरको कठिन भू-भाग र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहन्छन् ।  ‘कल्पना गर्नुहोस्, तपाईं गाडीको न्यानो र आरामदायी सिटमा बसेर बाहिर हिउँ परिरहेको दृश्य हेर्दै हुनुहुन्छ,’ उनले विकासन्युजसँग भने, ‘यो गाडीले त्यही अनुभव दिन्छ । भित्र पूर्ण लक्जरी छ भने बाहिर जस्तोसुकै कठिन बाटोमा पनि जानसक्ने क्षमता छ । ’ उनले नेपालमा ईभीको बढ्दो लहरलाई दूरदर्शी कदमको रूपमा व्याख्या गरे । उनका अनुसार नेपालमा उत्पादन भएको अतिरिक्त बिजुली खपत गर्न, जलवायु परिवर्तनको असर कम गर्न र प्रदूषणरहित सफा पर्यटकीय छवि निर्माण गर्न ईभीको भूमिका महत्त्वपूर्ण छ ।  ‘पहाड र हिमनदी भएको हाम्रो देश जलवायु परिवर्तनप्रति संवेदनशील छ । ईभीको प्रयोगले वातावरण संरक्षणमा ठूलो सहयोग पुग्छ,’ उनले थपे ।  त्यस्तै, प्रबन्ध निर्देशक विवेक शिकरियाले दीपलले टच द फ्युचर  भन्ने नारालाई सार्थक बनाउँदै भविष्यमुखी गाडीहरू मात्र बजारमा ल्याएको बताए । उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै छिट्टै बालुवाटारमा एक समर्पित ईभी वर्कशप खोल्ने घोषणा पनि गरे ।  कम्पनीका सीईओ ज्ञानेन्द्र शाहले एमएडब्लुको सन् १९६४ देखिको यात्रा र आज २१ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्दै देशकै सबैभन्दा ठूलो अटोमोबाइल समूह बनेको दाबी गरे । उनले ‘दीपल ई-०७’ लाई नेपाली अटो बजारमा एउटा नयाँ बेन्चमार्कको रूपमा प्रस्तुत गरे ।  एमएडब्लुले ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको जनाएको छ । उत्कृष्ट सर्भिस, समयमै स्पेयर पाट्र्सको उपलब्धता र ग्राहकको आवश्यकताअनुसारका गाडीहरू ल्याएर बजारमा विश्वास जित्ने कम्पनीको लक्ष्य छ । कम्पनीका अनुसार चिनियाँ अटोमोबाइल निर्माता च्याङ्गन विश्वकै तीन ठूला कम्पनीमध्ये एक हो । यसमा चीन सरकारको समेत लगानी छ । च्याङ्गनले भविष्यमा ल्याउने गाडीहरूको लामो सूची रहेको र एमएडब्लुले यसै वर्षभित्र अर्को नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको समेत खुलासा गरिएको छ ।  एमएडब्लु वृद्धि ग्रुपले हालसम्म ४ हजारभन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ भने दीपल ब्रान्डका मात्रै १ हजार २०० गाडी बिक्री भइसकेका छन् । नयाँ ‘दीपल ई-०७’ को आगमनले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।   

प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, पुन : सञ्चालक बने गजेन्द्र विष्ट

काठमाडौं । प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार (आज) सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।  आजै सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई बैंकको सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए ।

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ८.४६ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा पोखरा–८, सिटि स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरे । पूर्व सञ्चालक विश्व मोहन अधिकारी र मनोविज्ञान श्रेष्ठले बैंकको उपलब्धि र आगामी वर्षका लागि प्रतिफल वृद्धि सम्बन्धी सुझाव दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई सेवा पुर्‍याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चालक कृष्ण शंकर श्रेष्ठले सभामा उपस्थित सम्पूर्ण अतिथि र सेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।

टाटा मोटर्सले ल्यायो ‘न्यू इयर बिग स्विच’ अभियान, पुरानो गाडी साटेर नयाँ गाडी चढ्ने मौका

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकका लागि चार दिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सुरु गरेको छ । माघ १ देखि ४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले पुरानो गाडी साटेर टाटाका अत्याधुनिक सवारीमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ गाडीको अनुभव दिलाउनु हो । योजना अवधिभर बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार र नगद छुटको सुविधा पाउनेछन् । विशेष गरी विद्युतीय सवारी (ईभी) मा रुचि राख्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र होम चार्जिङ जडान उपलब्ध गराइएको छ । त्यस्तै, नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज समेत प्रदान गरिनेछ ।

कांग्रेस विभाजनले लोकतन्त्र कमजोर बनाउने प्रेस युनियनको चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको सम्भावित विभाजनले मुलुकको लोकतान्त्रिक अभ्यासलाई गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ । लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितका लागि बहुदलीय लोकतान्त्रिक व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्दै युनियनले कांग्रेसभित्र एकताको विकल्प नभएको स्पष्ट पारेको छ । प्रेस विज्ञप्तिमा  युनियनले आफू लोकतन्त्रवादी पत्रकारहरूको आस्थाको धरोहर भएको उल्लेख गर्दै सञ्चार क्षेत्रका सरोकारलाई बुझ्ने र सम्बोधन गर्ने राजनीतिक प्रणाली बहुदलीय लोकतन्त्र मात्र हुन सक्ने अविचलित मान्यता रहेको जनाएको छ । राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास पनि त्यति नै समृद्ध हुने युनियनको धारणा छ । विज्ञप्तिमा दल विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित नगर्ने उल्लेख गर्दै नेपालकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हाल गम्भीर आन्तरिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट कांग्रेस विचलित हुनु चिन्ताको विषय भएको युनियनको ठहर छ । कांग्रेसको विभाजन लोकतन्त्रका लागि सुखद अनुभूति नहुने भन्दै युनियनले यसले राजनीतिक अस्थिरता र लोकतान्त्रिक मूल्यमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ । विज्ञप्तिमा कांग्रेसका सबै जिम्मेवार नेताहरूलाई लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखी एकताको मार्ग रोज्न आग्रह गरिएको छ । साथै नेपाल प्रेस युनियनले आफू आवद्ध देशभरका पत्रकार साथीहरूलाई कुनै पनि परिस्थितिमा विचलित नहुन र एकताको पक्षमा स्पष्ट अभिमत प्रकट गर्न हार्दिक अनुरोध गरेको छ ।

धनगढीमा टाटा मोटर्सको ‘माघी एक्सचेन्ज उत्सव’, पुरानो गाडी साटेर नयाँ गाडी चढ्ने अवसर

काठमाडौं । सुदूरपश्चिमका ग्राहकलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गर्न लागेको छ ।  माघ १ देखि ३ गतेसम्म बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा आयोजना हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी जस्ता अत्याधुनिक मोडलहरू प्रदर्शन र टेस्ट ड्राइभका लागि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार, पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्नेछ । कार्यक्रममा सहभागी ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, निःशुल्क चार्जिङ बक्स (जडान सहित), लाइफ टाइम चार्जिङ सुविधा र निःशुल्क एभीटीसहित हरेक बुकिङमा उपहार पाउनेछन् । सिप्रदी ट्रेडिङका अनुसार यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने विश्वास छ । ग्राहकहरूले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सका नयाँ र अत्याधुनिक डिजाइन भएका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।  

मोबाइलमा आपत्तिजनक एसएमएस पठाउनेलाई कारबाही गरिने : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिस (भिएएस) सेवा अन्तर्गत केही सेवा प्रदायकमार्फत आपत्तिजनक प्रकृतिका एसएमएसहरू मोबाइल प्रयोगकर्ताको नम्बरमा पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमका अनुसार भिएएस सेवा अन्तर्गत विभिन्न सूचना तथा सन्देश एसएमएसमार्फत पठाइने व्यवस्था भए पनि हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसायको सीमाभन्दा बाहिर गएर जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्भावमा खलल पुर्‍याउने खालका सन्देश प्रवाह गरेको गुनासो प्राप्त भएको छ । नेपाल टेलिकमले यस्ता सन्देश प्रवाह नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई सचेत गराइसकेको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा निगरानी तथा नियन्त्रण गरिने स्पष्ट पारेको छ । साथै, सबै भिएएस सेवा प्रदायकलाई यस्ता सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा नपठाउन निर्देशन दिइएको छ । यदि यस्ता गतिविधि पुनः दोहोरिए सम्झौताअनुसार सम्बन्धित सेवा प्रदायकसँगको सम्झौता खारेज गर्नेसम्मको कारबाही गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कुनै पनि सेवा प्रदायकलाई ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण उपलब्ध नगराएको स्पष्ट गर्दै, ग्राहकको गोपनीयताप्रति आफू सधैं संवेदनशील र प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ । 

विदेशी पर्यटकलक्षित नेपालमै पहिलोपटक टुर प्याकेज बीमा, अन्डरराइटर आईजीआई प्रुडेन्सियल

काठमाडौं । हिमालयन गार्डियन नेपाल (एचजीएन) ले नेपालमै पहिलो पटक यन्त्र आधारित टुर प्याकेज बीमा पोलिसी कम्प्रेहेन्सिभ टुरिजम गार्ड (सीटीजी) सुरु गरेको छ । एचजीएनले नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा विदेशी पर्यटकलक्षित टुर प्याकेज बीमा सुरु गरेको हो । यन्त्र आधारित यो बीमा प्रणालीको अन्डराइटर आइजीआई प्रुडेन्सियल रहेको छ । एचजीएनका अनुसार आइजीआई प्रुडेन्सियलले जोखिमको मूल्यांकन गरी पोलिसी जारी गर्नेदेखि जोखिम बहन गर्ने र दाबी भुक्तानीको जिम्मेवारी लिएको छ । एचजीएनले आईजीआईसँगै विदेशी बीमा कम्पनीहरू लिओडिस अफ लन्डन, (इग्ल्यांन्ड), एभरेष्ट रि (बेरमुडा, ह्यान्डओभर रि (जर्मनी), ह्वाटवाई इन्स्योरेन्स (चीन) र इभरप्रो इन्स्यारेन्स (चीन) सँग पनि साझेदारी गरेको छ । त्यस्तै, चिकित्सकीय सहयोगमा ह्याम्स अस्पतालसँग साझेदारी गरेको छ भने उद्दारको लागि अलपाइन रेस्क्यू सर्भिसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । नेपाल साहसिक पर्यटनका लागि विश्वकै प्रमुख गन्तव्यको रूपमा मानिन्छ । तर पछिल्लो दशकमा हेलिकप्टर सेवाको तीव्र विकाससँगै बीमा ठगीसम्बन्धी गतिविधिहरू बढ्दै गएका छन् । केही हेलिकप्टर कम्पनीहरूले उद्दार खर्च कृत्रिम रूपमा देखाउने गरेका घटनाहरू पनि बेलाबेला बाहिर आउने गरेका छन् ।  साथसाथै केही अस्पतालहरूले पनि अनावश्यक परीक्षण गरी उपचार बिल अस्वाभाविक रूपमा बढाउने, यसमा केही ट्रेकिङ व्यवसायीरूको पनि संलग्न रहेको घटनाहरू आउने गरेका छन् । एचजीएनले साहसिक पर्यटनमा हुने यस्ता गतिविधि रोक्न नसक्नुमा केही कारण औंल्याएका छन् । एचजीएनका अनुसार एउटा कारण अधिकांश अवस्थामा बीमा दाबीहरू सिधै विदेशी बीमा कम्पनीहरूमा दर्ता हुनु  र उनीहरूले उद्दार, हेलिकप्टर र अस्पताललाई सिधै भुक्तानी गर्नु हो । यो अवस्थामा नेपाल सरकार, बीमा प्राधिकरण र अन्य नियामक निकायसँग आवश्यक तथ्यांक र जाँच गर्ने अधिकार नहुँदा समस्या बढेको हो ।  बीमामा मौलाएको यो समस्या उजागर हुन थालेपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन भएपनि समितिले. दोषीलाई निरीक्षण गर्नु, कारबाही नहुनु र आजसम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा यसले विश्वमा पनि नकारात्मक सन्देश प्रवाह हुने गरेको कम्पनीको धारणा छ । नयाँ प्रणालीबाट हुने व्यवस्था कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीहरि आचार्यले यो बीमा प्रणाली सञ्चालनमा आएसँगै उद्धार, उपचार र बीमा दाबी प्रक्रियामा देखिँदै आएको विकृति तथा ठगी नियन्त्रणमा सुधार हुने बताए । डीसीईओ श्रीहरि आचार्य । उनका अनुसार सेवा जिपिएस ट्र्याकर डिभाइसमार्फत सञ्चालन हुन्छ । जसले वास्तविक समयममा ट्र्याकिङ र एसओएस अलर्ट सुविधा प्रदान हुने उनले बताए । यसले आपत्कालीन अवस्थामा उद्दार टोली परिचालन गर्नेदेखि लिएर चिकित्सकीय उपचार उद्दार खर्च आकस्मिक सेवा तथा शव वा यात्रु फिर्ता पठाउने सुविधा उपलब्ध हुने छ । डीसीईओ आचार्यका अनुसार यो प्रणालीमार्फत उद्दार र उपचारसम्बन्धी गतिविधि वास्तविक डेटा र ट्र्याकिङ प्रणालीमा आधारित हुने छ । यसले हेलिकप्टर उद्दार खर्चमा हुने अनियमितता, अनावश्यक मेडिकल परीक्षण तथा झुटा बीमा दाबी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । ‘बीमा दाबी यथार्थ, जीपीएस डेटामा आधारित स्वीकृत हुन्छ,’ डीसीईओ आचार्यले भने, ‘यसले झुटा दाबी स्वत : रोकिन्छन् ।’ बीमा प्याकेजहरू एचजीएनले हाललाई यो प्याकेज विदेशी पर्यटकको लागि मात्रै सुरु गरेको छ । कम्पनीका अनुसार साधारण पर्यटकदेखि व्यावसायिक पर्वतारोहीसम्मको लागि फरक–फरक प्याकेजहरू उपलब्ध छन् । सामान्य पर्यटकको १६ डलरदेखि व्यावसायिक पर्वतारोहीको लागि ५ सय डलरसम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।  एचजीएनका अनुसार प्याकेजहरूको अवधि न्यूनतम ७ दिनदेखि अधिकतम ६० दिनको हो । अहिलेको लागि १८ देखि ६० वर्षसम्मको लागि यी प्याकेजहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यो प्रणालीअन्तर्गत विदेशी पर्यटकका लागि हाल तीन प्रकारका बीमा प्याकेज उपलब्ध गराएको छ । जसअन्तर्गत टुर बीमा प्याकेज (३, ५०० मिटर सम्म), ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) र ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटर सम्म) रहेको छ। टुर बीमा प्याकेजअन्तर्गत चिकित्सकीय तथा दुर्घटना बीमा, उद्धार र अस्पताल सेवा समावेश गरिएको छ । त्यस्तै, ट्रेकिङ बीमा प्याकेजमा चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइसम्बन्धी उपचार, हेलिकप्टर उद्दार र रियल टाइम ट्र्याकिङ सेवा सुविधा समावेश रहेको छ ।  क्लाइम्बिङ बीमा प्याकेजअन्तर्गत उच्च उचाइ जोखिम बीमा, एएमएस उपचार, आपतकालीन उद्दार र अस्पताल सेवा, उचाई डाटा आधारित निगरानी  समावेश गरिएको छ। एचजीएनले आगमी दिनमा थप नयाँ प्याकेजहरु पनि ल्याउने घोषणा गरेको छ । कम्पनीले सुपर बेसिक (२००० मिटरसम्म) को प्याकेजलगायत नयाँ प्याकेज ल्याउने तयारी गर्नुका साथै आगामी दिनमा नेपालीहरूको लागि पनि बीमा प्रणाली सुरु गर्ने जनाएको छ ।