मुटुको धड्कन अचानक बन्द भए ज्यान जोगाउन विमानस्थलमा राखियो ‘एईडी’ मेसिन
काठमाडौं । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो । मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिएर उपचार गर्ने मेसिनलाई ‘एईडी’ मेसिन भनिन्छ । हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले मुटुको धड्कन अचानक बन्द हुने अवस्था विश्वभर प्रमुख कारण रहेको बताए । उनले मुटुको धड्कन अचानक बन्द हुने अवस्था आएमा एईडी मेसिनमार्फत प्राथमिक उपचार गर्न सकिने भएकाले विमानस्थलमा उक्त मेसिन जडान गरिएको बताए । उक्त मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले समेत प्रयोग गर्न सक्ने हाप्सा नेपालले जनाएको छ । विमानस्थलमा जडान गरिएको एईडी मेसिनमा स्पष्ट निर्देशनहरु र ‘क्यूआर’ समावेश गरिएकाले आपतकालिन् अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिनेछ । हाप्सा नेपालले हालसम्म सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी अधिकृत तथा जवानलाई आकस्मिक उपचार विधि (सिपिआर) तालिम, विद्यालयमा सिपिआर तालिम प्रदान गरिसकेको छ । यसैगरी, शिक्षा मन्त्रालयका पाठ्यक्रममा आकस्मिक उपचारसम्बन्धी कार्यक्रम समावेश गरिरहेको छ ।
बालेन प्रधानमन्त्री बनेपछि कार्ल्सवर्गको प्रवेश, जावलाखेल ग्रुपसँग सहकार्य गरेर १० अर्ब लगानी गर्ने
काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेसँगै नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको छ । बालेन नेतृत्वको सरकारको पहलमा बहुराष्ट्रिय कम्पनी कार्ल्सवर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । विश्व चर्चित पेय पदार्थ ब्रान्ड कार्ल्सवर्गले जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजसँगको सहकार्यमा उक्त रकम बराबर लगानी नेपालमा गर्ने भएको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बीच कार्ल्सवर्ग ग्रुपका अध्यक्ष हेनरिक पाउलसनले नेपाल लगानीका लागि उपयुक्त बजार रहेको र थप लगानी गरेर रोजगारी सिर्जना गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘हामी नेपालमा १० अर्ब रुपैयाँ लगानी गरेर आफ्नो बलियो पकड बनाउन चाहन्छौं,’ पाउलसनले भने, ‘हामीले आज नेपालका सरकारी प्रतिनिधिसँग कुरा गरेका छौं । उहाँहरू र हामीबीच लगानीका लागि सहमति पनि भएको छ । चाँडै यस विषयमा थप जानकारी प्राप्त हुनेछ ।’ यो उपलब्धिलाई बालेन सरकारका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ । स्वच्छ प्रशासन, नीतिगत स्पष्टता र परिणाममुखी नेतृत्वले विदेशी लगानी भित्र्याउन सकिन्छ भन्ने उदाहरणका रूपमा यसलाई लिइएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालको बजारप्रति चासो बढाउँदै गएको अवस्थामा यस्ता वैदेशिक लगानी प्रतिबद्धताले थप उत्साहित बनाएको देखिन्छ । यसले आगामी दिनमा थप बहुराष्ट्रिय कम्पनीहरू नेपाल भित्रिने सम्भावना बलियो बनाएको छ ।
सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ । हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।
व्यक्तिगत हितभन्दा जनताको खुसी ठूलो हो : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको ३३औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए । सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए । स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।
नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपाने र सापकोटा
काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई निर्देशकलाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका छन् । निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशक (ईडी)मा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए । मानव संसाधन व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) को विनियम ५२ तथा विनियम ६५(२) बमोजिम न्यौपाने र सापकोटालाई बढुवा गरिएको हो । बढुवा भएका न्यौपाने बैंकिङ विभागमा कार्यरत छन् भने सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् । किरण पण्डित डेपुटी गभर्नर नियुक्त र रोशन सिग्देल उमेरहदका कारण अवकाशमा गएपछि २ कार्यकारी पद रिक्त थियो ।
चार जिल्लामा भारी वर्षा
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ । अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका भू-भागमा मौसम मूख्यतया सफा रहने बताए । उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
कर्मचारीलाई विभागले भन्यो- करदातासँग अनधिकृत भेटघाट र उपहार नलिनू, अफिसमा फेसबुक नचलाउनू
काठमाडौं । आन्तरिक राजस्व विभागले विभाग र अन्तर्गतका कर्मचारीहरूको आचारसंहिता जारी गरेको छ । विभागले कर्मचारीको व्यक्तिगत तथा सामूहिक आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवं सेवामूलक बनाई समग्र विभागको कार्यसम्पादन तथा सेवाप्रवाहमा प्रभावकारिता ल्याउन तथा कर्मचारीको आचरण र व्यवहारलाई सदाचारयुक्त, करदातामैत्री, सहयोगी, अनुशासित र मर्यादित बनाउन यो आचारसंहिता बनाएको बताएको छ । विभागले आचारसंहिता जारी गर्दै कर्मचारीले इमान्दारिता, सदाचारिता, तटस्थता, निष्पक्षता, व्यावसायिकताका साथ उद्देश्यपरक, पारदर्शी र जवाफदेही ढंगले आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ । कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, समान तथा समतामूलक व्यवहार गर्नुपर्ने उल्लेख गरेको छ भने कर्मचारीले कुनै पनि प्रकारको मोलाहिजा, पक्षपात वा पूर्वाग्रह नराखी राष्ट्र र जनताको वृहत्तर हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । यस्तै, कर्मचारीहरूले परस्परमा सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्नुपर्ने, करप्रशासनप्रति जनविश्वास अभिवृद्धि गर्न कर्मचारीहरूले आफ्नो व्यावसायिक तथा निजी जीवनमा उदाहरणीय आचरण प्रदर्शन गर्नुपर्ने र धर्म, वर्ण, लिङ्ग, जातजाति, क्षेत्र, भाषा वा आस्थाका आधारमा कुनै भेदभाव नगरी तटस्थ रुपमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ । आचारसंहितामा करदाता, सेवाग्राही तथा सरोकारवालासँग निष्पक्ष, पारदर्शी र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने, निर्णय गर्दा वस्तुनिष्ठ, तथ्यगत र प्रमाणमा आधारित हुनुपर्ने, सेवा प्रवाह छिटो, सरल, सहज र प्रभावकारी बनाउनु पर्ने, सेवा प्रवाह गर्दा सार्वजनिक हितलाई सर्वोपरि मान्नु पर्ने र पदीय जिम्मेवारी र कामकारबाहीप्रति लगनशील र तत्पर रहनुपर्ने उल्लेख गरेको छ । यस्तै, कर्मचारीले कर कानुनको अपव्याख्या नगरी समान रुपमा कानूनको कार्यान्वयन गर्नुपर्ने, करदाता सम्बन्धी गोप्य सूचना सुरक्षित राखुपर्ने, झुट्टा विवरण तयार गर्ने, कर छलीमा सहयोग गर्ने वा भ्रमपूर्ण सूचना दिने कार्य गर्नु नहुने आचारसंहितामा उल्लेख छ । कर्मचारीले कार्यालयमा तोकिएको पोशाक र कर्मचारी परिचयपत्र देखिने गरी अनिवार्य रूपमा लगाउनु पर्ने, करदाता वा सरोकारवालासँग अनधिकृत भेटघाट नगर्ने, करदाताको प्रतिनिधि वा एजेन्ट भई काम गर्नु नहुने आचारसंहितामा उल्लेख छ । कर्मचारीले सेवाग्राहीबाट कुनै प्रकारको उपहार, दान दातव्य वा आतिथ्यता स्वीकार गर्न नहुने, कार्य सम्पादनको क्रममा सेवाग्राहीसँग कुनै गैरकानूनी सुविधा लिनु नहुने, सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्न नहुने, सेवाग्राहीको सम्मान र अधिकारको संरक्षण गर्नुपर्ने र डिजिटल प्रणालीको अधिकतम प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । विभागले कानुनले अनुमति दिएकोमा बाहेक कुनै पनि गैरसरकारी संस्थामा पदाधिकारी हुन नहुने, कानुनले अनुमति दिएकोमा बाहेक अन्य रोजगारी स्वीकार गर्न नहुने, मातहत कर्मचारीबाट उपहार लिन नहुने र राजनीतिक प्रभावबाट मुक्त रही काम गर्नुपर्ने बताएको छ । यस्तै, विभागले सामाजिक सञ्जालमा मर्यादित व्यवहार गर्नुपर्ने, कार्यालय समयमा व्यक्तिगत सामाजिक सञ्जाल (फेसबुक, एक्स, इन्टाग्राम) को प्रयोग गर्न नहुने, सरकारी कामकारवाही सम्बन्धी पत्राचार गर्दा सम्भव भएसम्म आधिकारिक इमेलको प्रयोग गर्नु पर्ने र कामको सिलसिलामा ई–गभर्नेन्स प्रवर्द्धन गर्नु पर्ने उल्लेख आचारसंहितामा गरिएको छ ।
प्रधानमन्त्री बालेनलाई श्रममन्त्रीको कार्यभार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका थिए । योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।