नागढुङ्गा सुरुङमार्गको सवारी शुल्क सार्वजनिक, कुन गाडीलाई कति ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ । मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल( प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ ।
बिदा थपिँदा पाठ्यक्रम समयमै सक्न कठिन, नयाँ भर्ना वैशाख २ देखि गर्न आग्रह
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्ले यही चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिकसत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको थियो । दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने सो संस्थाको दाबी छ । यी चुनौतीबीच सरकारको निर्णय कार्यान्वयन गर्दै आफ्ना विद्यालयलाई आग्रह गर्दै नेशनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ ।
मुटुको धड्कन अचानक बन्द भए ज्यान जोगाउन विमानस्थलमा राखियो ‘एईडी’ मेसिन
काठमाडौं । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो । मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिएर उपचार गर्ने मेसिनलाई ‘एईडी’ मेसिन भनिन्छ । हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले मुटुको धड्कन अचानक बन्द हुने अवस्था विश्वभर प्रमुख कारण रहेको बताए । उनले मुटुको धड्कन अचानक बन्द हुने अवस्था आएमा एईडी मेसिनमार्फत प्राथमिक उपचार गर्न सकिने भएकाले विमानस्थलमा उक्त मेसिन जडान गरिएको बताए । उक्त मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले समेत प्रयोग गर्न सक्ने हाप्सा नेपालले जनाएको छ । विमानस्थलमा जडान गरिएको एईडी मेसिनमा स्पष्ट निर्देशनहरु र ‘क्यूआर’ समावेश गरिएकाले आपतकालिन् अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिनेछ । हाप्सा नेपालले हालसम्म सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी अधिकृत तथा जवानलाई आकस्मिक उपचार विधि (सिपिआर) तालिम, विद्यालयमा सिपिआर तालिम प्रदान गरिसकेको छ । यसैगरी, शिक्षा मन्त्रालयका पाठ्यक्रममा आकस्मिक उपचारसम्बन्धी कार्यक्रम समावेश गरिरहेको छ ।
बालेन प्रधानमन्त्री बनेपछि कार्ल्सवर्गको प्रवेश, जावलाखेल ग्रुपसँग सहकार्य गरेर १० अर्ब लगानी गर्ने
काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेसँगै नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको छ । बालेन नेतृत्वको सरकारको पहलमा बहुराष्ट्रिय कम्पनी कार्ल्सवर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । विश्व चर्चित पेय पदार्थ ब्रान्ड कार्ल्सवर्गले जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजसँगको सहकार्यमा उक्त रकम बराबर लगानी नेपालमा गर्ने भएको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बीच कार्ल्सवर्ग ग्रुपका अध्यक्ष हेनरिक पाउलसनले नेपाल लगानीका लागि उपयुक्त बजार रहेको र थप लगानी गरेर रोजगारी सिर्जना गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘हामी नेपालमा १० अर्ब रुपैयाँ लगानी गरेर आफ्नो बलियो पकड बनाउन चाहन्छौं,’ पाउलसनले भने, ‘हामीले आज नेपालका सरकारी प्रतिनिधिसँग कुरा गरेका छौं । उहाँहरू र हामीबीच लगानीका लागि सहमति पनि भएको छ । चाँडै यस विषयमा थप जानकारी प्राप्त हुनेछ ।’ यो उपलब्धिलाई बालेन सरकारका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ । स्वच्छ प्रशासन, नीतिगत स्पष्टता र परिणाममुखी नेतृत्वले विदेशी लगानी भित्र्याउन सकिन्छ भन्ने उदाहरणका रूपमा यसलाई लिइएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालको बजारप्रति चासो बढाउँदै गएको अवस्थामा यस्ता वैदेशिक लगानी प्रतिबद्धताले थप उत्साहित बनाएको देखिन्छ । यसले आगामी दिनमा थप बहुराष्ट्रिय कम्पनीहरू नेपाल भित्रिने सम्भावना बलियो बनाएको छ ।
सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ । हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।
व्यक्तिगत हितभन्दा जनताको खुसी ठूलो हो : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको ३३औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए । सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए । स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।
नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपाने र सापकोटा
काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई निर्देशकलाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका छन् । निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशक (ईडी)मा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए । मानव संसाधन व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) को विनियम ५२ तथा विनियम ६५(२) बमोजिम न्यौपाने र सापकोटालाई बढुवा गरिएको हो । बढुवा भएका न्यौपाने बैंकिङ विभागमा कार्यरत छन् भने सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् । किरण पण्डित डेपुटी गभर्नर नियुक्त र रोशन सिग्देल उमेरहदका कारण अवकाशमा गएपछि २ कार्यकारी पद रिक्त थियो ।
चार जिल्लामा भारी वर्षा
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ । अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका भू-भागमा मौसम मूख्यतया सफा रहने बताए । उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।