२०० एमपी जाईस् टेलीफोटो क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा आउँदै
काठमाडौं । भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै यो मोडेल प्रतिको उत्सुकता देशभर बढ्दै गएको छ । जाईस् सँगको सहकार्यमा तयार पारिएको एक्स३०० प्रोले नेक्स्ट–जेनेरेशन इमेजिङ र नयाँ ओरिजिन ओएस ६ सहित बजारमा प्रवेश गर्नेछ । बजारमा आएको प्रारम्भिक जानकारीअनुसार भिभो एक्स३०० प्रो भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणालीसहित आउने अपेक्षा गरिएको छ । भावनात्मक, प्राकृतिक र जीवन्त दृश्यहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै जाईस् सहकार्यमा टेलिफोटो स्पष्टता तथा लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गरिएको छ । मोडेलको मुख्य आकर्षण २०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरा मानिएको छ, जसले सूक्ष्म विवरणलाई अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्नेछ । यसलाई साथ दिने जाईस् गिम्बल–ग्रेड मुख्य क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक बनाइदिनेछ । डिभाइसमा ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामेरा समावेश गरिनेछ, जसले सेल्फी तथा ग्रुप फोटोहरूलाई अझ स्पष्ट र फराकिलो बनाउन योगदान गर्नेछ । भिभो एक्स३०० प्रो ‘प्रो इमेजिङ चिप भियस् वन’ तथा डाइमेन्सिटी ९५०० चिपसेटमा आधारित रहेर सञ्चालन हुनेछ। भित्र रहेको भी थ्री प्लस इमेजिङ चिप र भिभोले विकास गरेको उच्च–दक्षता एनपीयूले इमेजिङ प्रक्रिया छिटो, सहज र शक्तिशाली बनाउने कम्पनीको दाबी छ । भियस् वनले प्रि–प्रोसेसिङ र भी थ्री प्लसले पोस्ट–प्रोसेसिङ जिम्मा लिनेछ। फोनको मजबूतीका लागि यसमा आर्मर ग्लासको प्रयोग गरिएको प्रारम्भिक जानकारी छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा दिनेछ । साथै, ६५१० क्षमताको ब्लू–वल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप प्रदान गर्नेछ । भिभो एक्स३०० प्रोप्रति नेपाली बजारमा चासो बढिरहेका बेला कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर तथा शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनमा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ । छिट्टै सार्वजनिक हुने यो फ्ल्यागशिप मोडेलले प्रयोगकर्तालाई आफ्ना महत्वपूर्ण क्षणहरू अझ यथार्थ, स्पष्ट र आत्मविश्वासका साथ क्याप्चर तथा साझा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पूर्व सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, पूर्व सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलगातयका विरुद्ध मुद्धा दायर भएको छ । रेग्मीका अनुसार अहिले उनीहरुविरुद्ध मुदा दर्ता प्रक्रियामा रहेको छ ।
३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६०९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सागर डिस्टिलरीको भएको छ । सागरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ३२ करोड, बन्दिपुर केबलकारको १५ करोड, युनाइटेड मोदी हाइड्रोको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बजारका सबै सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशतले घटेका छन् ।
नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । 'सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ', उनले भने, 'थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।' यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ । अनुमानित लागत आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रुपैयाँ रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युत्गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०८१ फागुनदेखि तीन हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुछ्रे इञ्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुछ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ । वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताए । क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि छ करोड ३४ लाख ९१ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिएका थिए । पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उनीहरुले सुझाव दिएका थिए । रासस
सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब बिरामी काठमाडौं जानुपर्दैन
सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ । बाल आँखा उपचार सेवा (नवजात शिशु), ‘रेटिना’ र जलविन्दु उपचार सेवा थालनी गर्न अस्पतालले आन्तरिक तयारीलाई तीव्र बनाएको हो । यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा आँखा उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने जनाइएको छ । अस्पतालको मेडिकल निर्देशक डा आकाङ्क्षा रानाले भने, 'सुर्खेत आँखा अस्पतालमा उपविशिष्टिकृत आँखा उपचार सेवाअन्तर्गत बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना र जलविन्दु सेवा सञ्चालनको तयारी गरिरहेका छौँ । रेटिना उपचार सुरुआत भइसकेको छ । अन्य सेवा छिट्टै थालनी हुने छ ।' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अन्धोपनको दर कर्णाली प्रदेशमा उच्च अर्थात् कूल जनसङ्ख्याको एक प्रतिशत छ । पछिल्लो जनगणनाअनुसार यहाँका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसङ्ख्या छ । अस्पतालले बाल आँखा उपचार सेवा र रेटिना उपचार सेवा थालनीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेर काठमाण्डौंस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएको छ भने ती सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ । स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित सो अस्पतालमा हाल कर्णाली प्रदेशका १० जिल्लासहित पछिल्ला समयमा अछाम, बाजुरा र बझाङका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । नेपाल रेडक्रसले सुर्खेत आँखा अस्पताल सहित जनकपुरमा पनि आँखा अस्पताल सञ्चालन गरिराखेको छ । नेत्र विशेषज्ञ रानाका अनुसार हाल अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत आँखा जाँच, कम्प्युटरद्वारा चश्मा जाँच, मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण, परामर्श तथा प्रेषण सेवा, प्रयोगशाला, आँखाको अल्ट्रासाउण्ड, याग लेजर सेवा, आँखाको पर्दाको फोटो, औषधि पसललगायत सञ्चालन गरिरहेको छ । शल्यक्रिया सेवाअन्तर्गत मेसिनद्वारा सानो घाउ बनाएर मोतिविन्दुको शल्यक्रिया गरिने आधुनिक पद्धति (पाको), आँशुनली, मासुपलाएको शल्यक्रियासहित अन्य आँखा उपचारसम्बन्धी सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ । अस्पताल बिमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकलाई आँखा उपचार सेवामा सहज पहुँच भएको मेडिकल निर्देशक डा रानाले बताए । बिरामीको चाप उच्च : स्थानको अभाव नेपाल रेडक्रस सोसाइटीका सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले भने, 'पछिल्लो समय बिरामी चापमा वृद्धि र सेवा विस्तारको तयारी गरेसँगै अस्पतालमा स्थान एवं भवनको अभाव भएको छ । बिरामी बस्ने र जाँच गर्ने स्थानको अभाव हुँदै गएको छ ।' अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालय र वीरेन्द्र नगरको सहकार्यमा भवनमा तला थप गर्ने र अन्य पूर्वाधार बनाउने काम पनि जारी राखेको छ । ‘आँखा स्वास्थ्य महत्वपूर्ण सेवा हो’ भन्ने विषयलाई तीनै तहका सरकार र स्वयं नेपाल रेडक्रसका केन्द्रीय कार्यालय र दाताले महत्व नबुझेको उनले गुनासो गरे । उनले भने, 'दाताका भरमा अस्पतालको अत्याधुनिक संरचना, उपकरण र दक्ष जनशक्तिसहित सेवा सुरु त भयो, अब कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । विपन्न जनतामा आँखा सेवाको पहुँच पुर्याउन चुनौति छ । नीतिनिर्माता तहका व्यक्तित्वहरु अस्पताल भ्रमण गर्दछन् । अस्पताल हुनु त यस्तो पो भन्दछन् । यहाँको सेवाको प्रशंसा गर्दछन् । तर सहयोग त्यत्ति बढाइदिँदैनन् ।' अस्पतालले बाह्य आँखा उपचार सेवाअन्तर्गत यहाँका अतिदुर्गम स्थानमा आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा विशेष गरेर मोतियाविन्दु देखिएका बिरामीका अस्पतालमा ल्याएर शल्यक्रियासमेत गर्दै आएको छ । अस्पतालले स्थानीय पालिकाको समन्वय र सहकार्यमा नौ स्थानमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । ती स्थानमा पञ्चपुरी नगरपालिका विद्यापुर, भेरीगङ्गा नगरपालिका छिन्चु, दैलेख नगरपालिका, नारायण नगरपालिका, आठबिस नगरपालिका, भेरी नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र बनगाडा कुपिण्डे नगरपालिका छन् । आँखा उपचार केन्द्रसम्म पनि पहुँच नभएकालाई शिविर सञ्चालन तथा विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रम जारी राखेको छ । सभापति आचार्यले भने, 'विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रमबाट सिकाइ उपलब्धि उँचो देखिएको छ ।' अस्पतालले गत आवमा एक लाख आँखाका बिरामीलाई सेवा उपलब्ध गराएको थियो भने चार हजारको मातियाविन्दुको शल्यक्रिया गरेको थियो । अस्पतालको उत्कृष्ट व्यवस्थापन र सरसफाइका कारण पनि सेवाग्राही अस्पतालमा आकर्षित भइराखेका छन् । अस्पतालको भवन बाहिरबाट हेर्दा जति आकर्षित छ, त्यति नै भित्र छिर्दा बिरामी मैत्री देखिन्छ । भेरी नगरपालिका–१ का गङ्गा केसीले भने, 'आँखा जँचाउन सस्तो छ, जँचाउन डाक्टरसँग धेरै समय कुर्नु पर्दैन । अस्पताल सफा पनि छ । म यही भएर यहाँ आएको हुँ ।' पछिल्लो समय बिरामी चाप र सेवा विस्तारको तयारीसँगै अस्पतालमा बिरामी जाँच गर्ने स्थान एवं भवनको अभाव भएको छ । सुर्खेत बजारको मध्य भागमा रहेको अस्पतालले एक बिघा नौ कट्ठा जमिन चर्चेको छ । हाल अस्पतालमा तीन जना नेत्र विशेषज्ञसहित अन्य ४० स्वास्थ्यकर्मी सेवारत छन् । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अन्यत्र काम गर्न अस्पताल व्यवस्थापनले प्रतिबन्ध लगाएको छ । सभापति आचार्यले भने, 'चिकित्सक एवं स्वास्थ्यकर्मीका समय अस्पतालमा उपयोग गर्दा सेवा प्रभावकारी भएको हो । यहाँ सेवारत चिकित्सक एवं स्वास्थ्यकर्मी अन्यत्र काम गर्न पाउँदैनन् ।' नेपाल रेडक्रस सोसाइटीका कामु कार्यकारी निर्देशक मोना अर्यालले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालको क्षमता वृद्धि गर्न उच्च प्राथमिकता दिइने जानकारी दिए । रासस
लामिनारले सुरु गर्यो ‘मेरो सपनाको घर’ सजावट अभियान
काठमाडौं । लामिनार भिट्रिफाइड टायलले 'लामिनार–मेरो सपनाको घर' नामक नेपालकै पहिलो कोठा तथा बाथरूम सजावट कार्यक्रम सुरु गरेको छ । मिस नेपाल–२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सिर्जनात्मक नेतृत्वमा अघि बढाइएको उक्त कार्यक्रममार्फत दुई नेपाली परिवारले आफ्नो घरको कोठा र बाथरूमको पूर्ण सजावट निःशुल्क प्राप्त गर्नेछन् । मेटलवुड फर्निचर, कोहिलर सरसफाइ सामग्री, ब्रिलियन्ट बत्ती र एम्पोरियस सजावट सामग्री जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा रूपान्तरण कार्य सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर किन आफ्नो कोठा वा बाथरूमलाई रूपान्तरण आवश्यक छ भन्ने कारण स्पष्ट पार्दै टिकटक, इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक रूपमा राख्नुपर्नेछ । भिडियोमा @laminartiles उल्लेख (ट्याग) गर्नुका साथै #लामिनार–मेरो सपनाको घर ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । प्राप्त भिडियोहरूको मूल्यांकन लामिनार, यसको सिर्जनात्मक संस्था तथा परियोजना भित्री सजावट विज्ञ अस्मी श्रेष्ठसमेत रहेको आन्तरिक समितिले कथाको प्रस्तुति, आवश्यकता, सिर्जनात्मकता र दर्शक सहभागिताका आधारमा गर्नेछ । विजेताले उच्च गुणस्तरका सामग्री, पूर्ण भित्री सजावट योजना, सम्पूर्ण कार्यान्वयन सेवा तथा सुरु–मध्य–अन्त्य फोटो/भिडियो अभिलेखसहित सम्पूर्ण रूपान्तरण प्याक प्राप्त गर्नेछन् । भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा मिति २०२६ जनवरी ७ तोकिएको छ । नेपाली घरलाई आधुनिक, आकर्षक र आरामदायक बनाउन कार्यक्रम अघि बढाइएको लामिनारले जनाएको छ ।
नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल ३४० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । पानसमा दियो प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा सीईओ क्लब सदस्यता वितरणसँगै आफ्नो कोडमा र नेटवर्कमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै अब बाँकी प्रदेशहरूमा पनि चाँडै कार्यक्रम हुने जानकारी दिए। उनका अनुसार, सीईओ क्लब कार्यक्रममा हालसम्म नेपालभरका १,६०० भन्दा बढी अभिकर्ता छनौट हुनुले यस योजनाको सफलता प्रमाणित गर्छ र यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई व्यवसायिक उन्नतिमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरूलाई विशेष तालिम प्रदान गरेका थिए । उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा भावसहितको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफलताको आधार इमान्दारिता र निरन्तरता रहने बताए । सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउँदा थप प्रेरणा प्राप्त भएको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्नु गौरवको विषय रहेको प्रतिक्रिया दिएका थिए ।