विशेष महाधिवेशन पक्षका ८ प्रस्ताव, मान्लान् त सभापति देउवाले ?
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । उक्त पक्षले पार्टी सुधार, नेतृत्व पुनर्संरचना र आगामी निर्वाचनको रणनीतिलाई केन्द्रमा राख्दै आठ बुँदे प्रस्ताव अघि सारेको हो । विशेष महाधिवेशनको छलफलका क्रममा उठाइएका यी प्रस्तावले पार्टीलाई संस्थागत ढंगले अघि बढाउने र निर्वाचनमा केन्द्रित बनाउने उद्देश्य राखेको विशेष महाधिवेशन पक्षीय नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिए । प्रस्तावको पहिलो माग पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने माग गरिएको छ । यस्तै, दोस्रो महत्त्वपूर्ण प्रस्तावमा नेतृत्वलाई संस्थागत बनाउँदै विशेष महाधिवेशनको स्वामित्व सम्पूर्ण पार्टीले लिनुपर्नेमा जोड दिइएको छ । आगामी निर्वाचनअघि नै पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जनतामाझ जाने प्रस्ताव गरिएको नेता केसीले जानकारी दिए । निर्वाचन रणनीतिमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसले पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक आत्मविश्वास बढाउने तर्क प्रस्तावकर्ताहरूको रहेको केसीले बताए । टिकट वितरणलाई विवादरहित र सर्वस्वीकार्य बनाउन स्वतन्त्र र विश्वसनीय संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ । त्यस्तै, निर्वाचनमा केन्द्रित भई पार्टी संगठनलाई सक्रिय बनाउन पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ । प्रस्तावमा उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने व्यवस्था गर्नुपर्ने मागसमेत समेटिएको छ । यसले व्यक्तिकेन्द्रित निर्णय प्रक्रियाको अन्त्य गर्दै सामूहिक नेतृत्व प्रणाली बलियो बनाउने नेता केसीको विश्वास रहेको छ । यसबाहेक विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन पुँजीका रूपमा ग्रहण गर्दै कार्यान्वयनमा लैजानुपर्ने प्रस्तावमा उल्लेख छ । कांग्रेसभित्र देखिएको असन्तोष र सुधारको मागलाई सम्बोधन गर्दै पार्टीलाई निर्वाचनमुखी बनाउने दिशामा यी प्रस्तावलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौंबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताए । एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
कुमारी बैंकको २५औं वार्षिक सभा सम्पन्न, वित्तीय विवरण पारित
काठमाडौं । कुमारी बैंक लिमिटेडले बुधबार काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ । बैंकले विगत २४ वर्षदेखि देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको बताएको छ । बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ र प्रभावकारी सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
नेशनल लाईफको साधारण सभा सम्पन्न, बीमाशुल्क १०.२६ प्रतिशतले बढ्यो
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा बुधबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्ष प्रेमा सिंहले समिक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र लचिलो रहेको बताइन् । उनले कोभिड महामारी र भुराजनैतिक कारणले बढेको विश्व मुद्रास्फीति अहिले घट्ने क्रममा रहेको र यसले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाएको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आ.व. २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको छ । यद्यपि, आ.व. २०८२/८३ मा बढ्दो राजनीतिक र सामाजिक अस्थिरताका कारण वृद्धिदरमा संकुचन आउन सक्ने सम्भावना छ। कम्पनीको व्यवसाय समिक्षा वर्षमा सन्तोषजनक रहेको छ । कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड रूपैयाँ पुगेको छ । समिक्षा वर्षको संचालनबाट १,४९८.५९ करोड रूपैयाँ थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई ९,४५८.७७ करोड रूपैयाँ पुगेको छ । कम्पनीले मृत्यु दावी, अवधि समाप्ती, आंशिक अवधि समाप्ती, सर्मपण मूल्य र अन्य दावी भुक्तानीमा ९४८.६५ करोड रूपैयाँ भुक्तानी गरेको छ । अध्यक्ष सिंहले सबै लगानी योग्य रकमहरू नेपाल बीमा प्राधिकरणको निर्देशित क्षेत्र भित्र पारदर्शी तथा दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने औजारहरूमा लगानी भइरहेको जानकारी दिइन् । यसले बीमितहरूको अधिकतम हित संरक्षण गर्नेमा कम्पनी विश्वस्त रहेको बताइएको छ । समिक्षा वर्षमा कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७,७९०.२० करोड रूपैयाँ पुगेको छ । लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न प्रयासरत छ । यसैगरी वार्षिक औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ ।
महामन्त्री पदमा जगदीश्वरनरसिंह केसीको पनि उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि जगदीश्वरनर सिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनअन्तर्गत जारी नेतृत्व चयन प्रक्रियामा केसीको उम्मेदवारी परेसँगै महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ । महाधिवेशन निर्वाचन समितिले तोकेको समयसीमाभित्र केसीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले मात्रै उम्मेदवारी दिएको बताइएको थियो । केसीको उम्मेदवारीसँगै अब महामन्त्री पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी दर्तापछि विकासन्युजसँग केसीले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउने, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने र जनतासँग पार्टीको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताए । ‘कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको मुद्दामा केन्द्रित पार्टी बनाउनु आजको आवश्यकता हो,’ उनले भने । केसी लामो समयदेखि नेपाली काङ्ग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन् । उनी पार्टीभित्र वैचारिक स्पष्टता, अनुशासन र कार्यकर्तामैत्री संगठनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । महामन्त्री पदमा निर्वाचित भए पार्टीका नीति निर्माण, संगठन सञ्चालन र आगामी निर्वाचन रणनीतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएसँगै कांग्रेसभित्र शक्ति सन्तुलन, पद बाँडफाँट र भावी राजनीतिक दिशाबारे व्यापक बहस चलिरहेको छ । महामन्त्री पदलाई पार्टी सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिइने भएकाले उम्मेदवारहरूको गतिविधि र समर्थनको अवस्था चासोका साथ हेरिएको छ । महाधिवेशन कार्यतालिकाअनुसार अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनावी प्रचार–प्रसार र मतदान प्रक्रिया अघि बढ्नेछ ।
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको प्रधानमन्त्रीले बताइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार 'स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने प्रयोगात्मक जीवन पद्धति हो । 'स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ । त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्छ', प्रधानमन्त्री कार्कीले भनिन् ।
सभापतिमा गगन, अन्य पदमा कसको उम्मेदवारी ?
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा गगन थापा एक्लो उम्मेदवार बनेका छन् । बिहीबार बिहान ११ बजेसम्म सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेको छ । यसैगरी, महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । निर्वाचन समितिले सबै पदमा उम्मेदवारी परेको जनाएको छ। समितिका संयोजक सीताराम केसीका अनुसार मनोनयन फारम वितरण र उम्मेदवारी दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया बिहान ११ बजेभित्रै सम्पन्न भएको छ । केसीका अनुसार कुन पदमा को–को उम्मेदवार छन् भन्ने विस्तृत विवरण निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सिन्धुलीमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित पक्राउ
कमलामाई । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।