विकासन्युज

निर्माण ढिलाइ गर्ने आयोजना अब छुट्टाछुट्टै वर्गमा, पिपीए रद्द समेत गरिने

काठमाडौं । सरकारले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा रहेका तर सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाको वर्गीकरण गरी आवश्यक सहजीकरण गर्ने भएको छ । ती आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी)को म्याद थप गर्ने तयारी गरिएको छ । गत असार ३२ गतेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, आरसीओडी तथा पीपीएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ । आरसीओडी समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन् ।   यस्तै, समूह ‘ख’मा आरसीओडी समाप्त भए पनि सम्झौताअनुसार ग्रिड कनेक्सनका लागि प्राधिकरणबाट प्रसारण लाइन वा सबस्टेसन निर्माण सम्पन्न नभएका कारण सञ्चालनमा आउन नसकेका आयोजना रहनेछन् । त्यसमा आरसीओडी थप गर्नका लागि सञ्चालक समितिले तोकेको शर्त पूरा गरेका आयोजना रहनेछन् । त्यस्तै, आरसीओडीको अवधिभित्र पीपीएमा उल्लेखित काबु बाहिरको परिस्थिति सृजना भई आयोजनाको निर्माणमा असर परेको भन्ने घटनाको पुष्टि गर्ने कागजातसहित निवेदन दिई स्वीकृत भएका आयोजनलाई पनि सूचीकरण गरिनेछ । समयावधि कायमै हुँदाको बखतसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी पुगेका आयोजना समावेश गरिनेछ ।  समूह ‘ग’मा आरसीओडी समाप्त नभए पनि पीपीएमा उल्लेखित दायित्वहरू उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनजस्ता प्रमुख दायित्व समयमै पूरा नगरेका, सो अवधि समाप्त हुँदासम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशतभन्दा कम भएका आयोजना राखिने व्यवस्था गरिएको छ । समूह ‘घ’ मा आरसीओडीको अवधि समाप्त भइसकेपछि पनि पीपीएमा उल्लेख भएका दायित्व जस्तै, उत्पादन अनुमतिपत्रको प्राप्ति, वित्तीय व्यवस्थापन, जग्गाको व्यवस्थापन पूरा नगरेका, सर्वेक्षण र उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजना पर्नेछन् । भौतिक प्रगतिको मापन प्राधिकरणले निर्धारण गरेको कार्यविधिअनुसार हुनेछ । मुख्य संरचनाको निर्माण (जस्तै हेडवक्र्स, पाइप एलाइनमेन्ट, टनेल, पावरहाउस आदि) सुरु भई प्रगति हासिल भएको अवस्थालाई भौतिक प्रगतिको आधार मानिनेछ । सौर्य आयोजनाको हकमा प्यानल खरिद सम्झौता, एलसी खोलिएको, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा ‘माउन्टिङ स्ट्रक्चर’ र फाउन्डेसन निर्माण सुरु भएको अवस्थालाई समेत प्रगतिको सूचक मानिनेछ । समूह ‘ख’मा रहेका आयोजनालाई समयमा निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन विद्युत् व्यापार विभागले सचेत गराउने तथा आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले दिएको निर्देशन पालना भए÷नभएको व्यापार विभागले अनुगमन गर्नेछ । त्यस्ता आयोजनाको हकमा समयसीमा दिई नियमित अनुगमन गरिनेछ । बढीमा छ महिनाभित्र आवश्यकताअनुसार अर्को श्रेणीमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ ।  यस्तै, समूह ‘ग’मा परेका आयोजनालाई पीपीएका प्रावधानअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी हुनेछ । चित्तबुझ्दो जवाफ नआए वा सुधार नदेखिएमा सम्झौता रद्दको प्रक्रियासमेत अघि बढाइनेछ । यस्तै, २५ प्रतिशतको भौतिक प्रगति प्राधिकरणको भौतिक प्रगतिसम्बन्धी कार्यविधि, २०७१ अनुसार हुनुपर्नेछ । नयाँ व्यवस्थाले लामो समयदेखि अलपत्र परेका आयोजना, प्रगति गरिरहेका आयोजना तथा सञ्चालनमा आउन ढिलाइ भएका आयोजनाबीच स्पष्ट भिन्नता कायम हुनेछ । यस्तै, विद्युत् आयोजना व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन पनि सहयोग पुग्ने विश्वास लिइएको छ । 

जावलाखेल चिडियाखानाको आम्दानी १८ करोड, बर्डफ्लुले ३ करोड घाटा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा ३ करोड रूपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।  बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो ।  सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।   चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । उनका अनुसार सामान्य दिनमा दैनिक १ हजार ७०० देखि १ हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार ५ हजारदेखि ७ हजार र आइतबार ३ हजार ५०० देखि ५ हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए । पुनः सञ्चालन भएको पहिलो दिन, साउन १ गते ८०० जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए । चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १०० रूपैयाँ, विद्यार्थीका लागि १५० रूपैयाँ र अन्य आगन्तुकका लागि २५० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।  गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रूपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ । हाल चिडियाखानाको टिकट काउन्टर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ । सबै आगन्तुक साँझ ५ बजेसम्म बाहिरिनुपर्ने व्यवस्था छ । सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म खुला रहने गरेको थियो । 

घरजग्गा कारोबारबाट सरकारको खातामा ६१.६५ अर्ब, कर बढ्नुअघि किनबेच ह्वात्तै बढ्यो

काठमाडौं । घरजग्गा कारोबारबाट गत आर्थिक वर्ष २०८२/८३ मा ६१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।  देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सङ्कलन असार महिनामा भएको छ । असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने भएपछि असारमा कारोबार वृद्धि भएको घरजग्गा व्यवसायीहरू बताउँछन् ।  विभागको तथ्याङ्कअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।  विभागका अनुसार २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर ३ अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ मात्रै प्राप्त भएको थियो ।  यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो । गत मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ र फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।  त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ र जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, ९ बजे पछि मात्रै सञ्चालन गर्ने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।  अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ  ।       स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सञ्चालनमा आएका छन् ।

आज देशका धेरै क्षेत्रमा मेघगर्जनसहित भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप विजेता

काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा पुगेपछि फेरान टोरेसले १०६औं मिनेटमा गरेको निर्णायक गोलले स्पेनलाई दोस्रो पटक विश्वकप च्याम्पियन बनायो । यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए । त्यसपछि अर्जेन्टिनाले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै खेल्नुपरेको थियो । स्पेनले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले लामो समयसम्म गोल हुन दिएको थिएन । अतिरिक्त समयमा टोरेसले अवसरको सदुपयोग गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन् । यससँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै विश्व फुटबलमा पुनः आफ्नो प्रभुत्व स्थापित गरेको छ । अर्कोतर्फ कतार २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा असफल भयो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यस प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए । स्पेन प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

साउने सोमबार पशुपति दर्शनको रूट तय, कुन ढोकाबाट कसरी छिर्ने ?

काठमाडौं । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा  सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ ।  साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए ।  दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उनले बताए । पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिने छन् । बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ ।  “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ”,  सदस्य सचिव श्रेष्ठले भने । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिर बाट चार लाइन रहने छन् । पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामुर्ति कैलाश हुँदै एक नं ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता चपल कक्षमा जुत्ता राखेर रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताए । मार्ग नं १ बाट नै अर्को दोस्रो लाइन मात्र बोलबमहरुको लागि रहने छ । उक्त लाइन गुह्येश्वरी तिरबाट र जयबागेश्वरी हुँदै दथुटोल, पाचाटोल, बजार मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरेर रुद्रगारेश्वर भएर उतर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ । सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं २ जयवागेश्वरी, बालकुमारी, भुवनेश्वरी भएर नासल चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरेर मूल ढोका (पश्चिम) बाट दर्शन पूजा गरेर नन्दीलाई दायाँ पारेर मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मार्ग नं ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशाला तिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङ्गबाट चौसठ्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ । विशेष पुजा बिहान ८ः३० बजे देखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।   मार्ग नं ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरेर चौंसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरेर दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।  मार्ग नं ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकेट लिएर राम मन्दिर मुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता चप्पल राखेर बागमती हुँदै आर्यघाटको भर्याङ्गबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरेर प्रसादि लिएर सोही बाटो फर्कने व्यबस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खोलेदेखि नै सुरु हुनेछ । यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुने छ । मार्ग न. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूल ढोका लगेर भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ । प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पञ्चामृत पूजा तीन हजार १०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताए । फलफूल मिठाइसहितको पञ्चामृत पूजा रु सात हजार ५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ । विशेष सुलभ दर्शन पुजा प्रसादिको शुल्क रु एक हजार तोकिएको छ । यसका लागि बिहान ३ः०० बजे मन्दिर खोलेदेखि बेलुका आरतीसम्म नै हुनेछ ।  विशेष पूजाको रसिद मूल ढोका अगाडिको एसबिआइ बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ । विशेष सुलभ दर्शन पूजा प्रसादि रसिद प्राप्त गर्ने स्थान  भुवनेश्वरी चोकस्थित लकर सेबा माछापुच्छ्रेबैंक एटिएम रहेको काउन्टरबाट र तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ । हंशमण्डपमा सबै स्वयमं्सेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीको लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ । पार्किङ व्यवस्था रहने स्थानका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ,  भण्डारखाल अगाडि तथा कोष परिषद्, सिफल चौंर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ÷ दिव्य पार्टी पालेस अगाडि, स्वास्थ्य सेवा रहने स्थान, पञ्चदेवल  पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुन्ड, जयवागेश्वरीमा व्यवस्था मिलाइएको छ ।  चन्दन प्रसादि वितरण स्थानका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था मिलाइएको छ । पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारका लागि  व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, ऋणको अवधि ५ वर्ष पुग्यो

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूका लागि मोटरसाइकल खरिद प्रक्रियालाई थप सहज र किफायती बनाउन नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ ।  हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत अब ग्राहकले बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन् ।  ऋणको अवधि बढाउनुका साथै कम्पनीले ब्याजदरलाई पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे र सीमित मासिक बजेट भएका परिवारलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । यो नयाँ फाइनान्सिङ सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ ।  कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभएर ग्राहकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन व्यवस्था हो ।  मोटरसाइकल खरिद गर्दा कुल मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने गरेको यथार्थलाई स्वीकार गर्दै बजाजले ऋणको अवधि विस्तार र ब्याजदर कटौती गर्ने निर्णय गरेको बताएको छ ।  नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भमार्फत उपलब्ध हुने यो सहज किस्ता सुविधा देशभर रहेका एचएच बजाजका आधिकारिक शोरुमहरूबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार प्लाटिना १००इएसको मासिक किस्ता ३ हजार २५५ बाट घटेर २ हजार १२४ मा झरेको छ । जसबाट ग्राहकले प्रतिमहिना करिब १ हजार १३१ बचत गर्न सक्नेछन् ।  त्यसैगरी, डोमिनार ४०० को मासिक किस्ता पनि ८ हजार २२७ बाट घटेर ५ हजार ३७० पुगेको छ । जसले मासिक करिब २ हजार ८५७ सम्मको बचत दिलाउनेछ ।  यसका साथै बजाजका चर्चित मोडेलहरू पल्सर १२५, एन१२५, १५०, एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४००जेड लगायतका सम्पूर्ण मोटरसाइकलमा पनि मासिक किस्ता घटाइएको छ, जसले ग्राहकलाई आफ्नो बजेटअनुसार बाइक रोज्न सजिलो बनाउनेछ ।