विकासन्युज

सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बसन्तराज राउत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले राउतलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । उनले साउन १ गतेदेखि कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन् । 

सेयर बजारका प्रमुख व्यक्तिसँग प्रधानमन्त्री बालेनले विशेष छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा प्रधामन्त्रीले पुँजी बजारसँग सम्बन्धित नियामक निकाय, धितोपत्र व्यवसाय र लगानकिर्तासँग छलफल गर्ने भएका हुन् ।   छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी सहभागी हुनेछन् । यस्तै, सेयर लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेल, नासा सेक्युरिटिजका सन्दीप जलान, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ र नेपाल लाइफ क्यापिटलका फण्ड म्यानेजर नवराज सिलवाल पनि बैठकमा सहभागी हुनेछन् । बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीको सञ्चालक समितिले निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । साउन २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत् आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ । अमात्यले अब कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । कम्पनीले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म उनले निमित्त सीईओका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् ।

गणपूरक संख्या नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा स्थगित

काठमाडौं । गणपूरक संख्या (क्वोरम) नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा स्थगित भएको छ । विभिन्न एजेण्डासहित लघुवित्तले असार ३२ गते साधारण सभा बोलाएको थियो ।  तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र÷नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या (क्वोरम) नपुगेपछि सभा स्थगित भएको थियो । साथै सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले उक्त सभा साउन १० गते बिहान ११ बजे भक्तपुरको ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी-३, कौशलटारमा पुनः सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाका अनुसार स्थगित सभामा यसअघि समावेश गरिएका प्रस्तावहरू नै प्रस्तुत गरिनेछन् । त्यस्तै, असार ३२ गतेका लागि विधिवत दर्ता भएका प्रोक्सी (प्रतिनिधि) हरू पुनः बस्ने सभामा स्वतः मान्य हुनेछन् ।

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौं । पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गरेको छ । विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा जारी परिपत्रमा सो अनुरोध गरिएको छ । परिपत्रमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र लिनका निमित्त स्वास्थ्य जाँच वर्तमान व्यवस्थाले सेवाग्राहीके अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको सम्लग्नताबाट सिण्डिकेटजस्ता समस्या सिर्जना भएकाले सेवा प्रवाहलाई थप सरल, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था गर्दा पारदर्शी एवं एकरुपता कायम गर्न सकिने हुँदा सोहीअनुसार सातै प्रदेशक यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गर्ने भनि माननिय मन्त्रिस्तरीय मिति २०८३ /०२ /१३ गते भएको निर्णयानुसार हुन पत्राचार गरिएको व्यहोरा अनुरोध छ ।’ सङ्घीय सरकारको परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित, मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । यसैबीच यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरुको विवरण माग गरेको छ । साउन १ गते विभागले काउन्सिललाई पत्राचार गर्दै विवरण माग गरेको हो ।

कालिमाटी बजार अपडेट : कुन तरकारी महँगो, कुन सस्तो ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।          समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४६, आलु रातो (मुढे) प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, सेतो आलु प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।       यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, रातो मूला प्रतिकेजी रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।            समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ११०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, पुदिना प्रतिकिलो रु ३००, गान्टेमूला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ११०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।  

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि रु एक लाख ३४ हजार १७६, गम्भीर घाइतको उपचारका लागि रु २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरुलाई रु ५० लाख राहत प्रदान गरिएको छ । यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत रु २३ लाख ६० हजार २००, भण्डारण गरेको अन्न क्षतिबापत रु ७० हजार, घरगोठ क्षतिबापत रु तीन लाख ३९ हजार ६५०, अन्न बाली क्षतिबापत रु २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ रु ४३ हजार ५०० राहत वितरण गरिएको उनले जानकारी दिए । निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।

साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाए । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उनले स्वीकार गरे । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौं श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले बताए । बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ ।  मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।      पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।