सेयर बजारका प्रमुख व्यक्तिसँग प्रधानमन्त्री बालेनले विशेष छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा प्रधामन्त्रीले पुँजी बजारसँग सम्बन्धित नियामक निकाय, धितोपत्र व्यवसाय र लगानकिर्तासँग छलफल गर्ने भएका हुन् ।  

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी सहभागी हुनेछन् ।

यस्तै, सेयर लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेल, नासा सेक्युरिटिजका सन्दीप जलान, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ र नेपाल लाइफ क्यापिटलका फण्ड म्यानेजर नवराज सिलवाल पनि बैठकमा सहभागी हुनेछन् ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

Share News