विकासन्युज

अर्थतन्त्र उकास्न अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच के-के भयो छलफल ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी भएका थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले अनुभवी र राज्यका काबिल अर्थशास्त्री भनी सम्बोधन गगरेका थिए ।  छलफलको सुरुवात गर्दै उनले भने, “तपाईहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा बसेर काम गर्नुभएको काबिल अर्थशास्त्रीहरू हुनुहुन्छ । समग्र मुलुकको आर्थिक र वित्तीय अवस्थाबारे तपाईंहरूको ज्ञान मुलुक निर्माणको यो महत्त्वपूर्ण समयमा लगाउनुपर्नेछ ।” अर्थमन्त्री वाग्लेले थप भने, “अब मलाई सुझाउनुहोस्, वित्तीय संकट व्यहोरी रहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई कसरी हामीले सहयोग गर्न सक्छौं ?” नयाँ बजेट कार्यान्वयनमा आएको र यसैको जगमा टेकेर आर्थिक रूपान्तरणको जग बसाउनुपर्ने भन्दै उनले त्यसका लागि अर्थतन्त्र चलायमान गराउनुपर्ने र विगतको नीतिकाकारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।  ऋण बिग्रिएर कालोसूचीमा परेका हजारौं नागरिकलाई अर्को मौका कसरी दिन सकिन्छ भन्ने उपाय सुझाउन पनि उहाँले कार्यकारी निर्देशकहरूलाई आग्रह गरे । मौद्रिक उपकरण लागू गर्ने राष्ट्र बैंकबाट स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणबाट नै आर्थिक समृद्धिको बाटो समाउन सकिने विश्वास पनि उनले व्यक्त गरे। अर्थमन्त्रीसँगको छलफलमा खुलेर प्रस्तुत भएका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठन भएपछि बिस्तारै बजारको आत्मविश्वास बढ्दै गएको र छिट्टै अर्थतन्त्रले लय समाउने संकेतहरू देखिएको अर्थमन्त्रीलाई बताएका छन् ।  कोभिड महामारीले पिल्सिएको अर्थतन्त्रले अझै लय समाउन नसकेको र त्यसैको मारमा परेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई माथि उठाउनु चुनौतीपूर्ण रहेको उनीहरूको भनााइ थियो ।  छोटो समयमा थपिएका कालोसूचीको हजारौं संख्या र त्यसले निम्त्याएको निराशाले बजारमा प्रभाव पारेको भन्दै उनीहरूले त्यसको समाधान आवश्यक रहेको बताए । जनताको बचत रहेको वित्तीय संस्थाहरूको पूर्ण लगानी सुरक्षाको सुनिश्चितता गर्दै कालोसूचीको कलंकबाट नागरिक, उद्योगी र व्यवसायीलाई माथि निकाल्न तत्कालै केही गर्न जरुरी भएको उनीहरूको भनाइ थियो ।

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

काठमाडौं । आकर्षक तलब र विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय मनोहर मुडभरी रहेका छन् ।  उनले एक व्यक्तिलाई मौरिसस पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बाजुरा घर भई काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको छ । कास्की स्थायी घर भई टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, पाँचथर घर भई काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेललाई युएई पठाइदिने प्रलोभनमा ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै पीडितबाट रकम लिने र लामो समयसम्म पनि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।  उनीहरूले चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

हर्मुज जलडमरूमध्य खोल्न ट्रम्पले इरानलाई दिए पुन: चेतावनी

काठमाडौं । हर्मुज जलडमरूमध्य खोल्नुपर्ने विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुन: चेतावनी दिएका छन् । ट्रम्पले फक्स न्युज च्यानलसँगको कुराकानीका क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले ‘हर्मुज जलडमरूमध्य चाँडै नखुले  इरानमाथि निकै कडा हमला हुने’ दावी गरेका छन् । सम्झौता हुने सम्भावना बढिरहेका बेला तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको समयमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलडमरूमध्य हुँदै जाने दक्षिणी मार्ग अन्तर्राष्ट्रिय जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि खुला रहेको जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले इरानसँगको वार्तामा प्रगति भएको बताएका थिए ।  उनीहरूले यसै सातादेखि तेल तथा अन्य सामानको समुद्री ढुवानी पुनः सुरु हुन सक्ने आशा व्यक्त गरेका थिए ।

अबदेखि काठमाडौंका होटल–रेस्टुरेन्टमा ‘स्मोकिङ जोन’ अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा स्मोकिङ जोन राख्न निर्देशन दिएको छ । प्रशासनले बुधबार (आज) सूचना जारी गर्दै जथाभावी रूपमा हुक्का, चुरोटलगायतका धूमपानजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको हो । होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धूमपान हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत असर परेको भन्दै कार्यालयमा गुनासो आउन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रशासनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूमपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन निर्देशन दिएको हो । साथै धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द गरी धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने व्यवस्था गर्नसमेत भनिएको छ । कार्यालयले होटल तथा रेस्टुरेन्टमा आउने अन्य ग्राहकलाई असर नपर्ने गरी धूमपान गर्ने स्थान व्यवस्थित गर्न व्यवसायीलाई सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अन्य निकायबाट होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दा ऐनविपरीत गतिविधि गरेको पाइएमा सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही हुने भएको हो । प्रशासनले काठमाडौंका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी धूमपान क्षेत्र व्यवस्थित गर्न आग्रह गरेको हो ।

मानवअधिकारकर्मी हुँ भन्दै गर्ने अवस्थी पक्राउ

काठमाडौं । रियल स्टेट व्यवसायी तथा मानवअधिकारकर्मी भनेर ठगी गर्ने बैकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।  घरजग्गा मिलाइदिने प्रलोभनमा पारेर १६ लाख ठगी गर्ने काठमाडौं महानगरपालिका ७ बस्ने हेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।  विभिन्न समयमा व्यक्तिहरूलाई १ करोड १४ लाख भन्दा बढी बराबरको खातामा रकम नभएको चेक जारी गरेका र बैंकिङ कसूर मुद्दामासमेत फरार रहेका डोटी, आदर्श गाउँपालिका ४ अवस्थीलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहदादुर थापाले जानकारी दिए ।  उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।  

‘माई पल्सर स्टोरी’ अभियान, नेपाली राइडरलाई एनएस ४०० जेड जित्ने अवसर

काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा विश्वव्यापी ‘माई पल्सर स्टोरी’ (#MyPulsarStory) अभियान सुरु गरेको छ । अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, सामग्री सर्जक, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर चलाउँदै आएका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ । कम्पनीका अनुसार सहभागीले भिडियो, फोटो, सङ्गीत, कृत्रिम बौद्धिकता (एआई)मा आधारित सामग्री वा अन्य सिर्जनात्मक माध्यमबाट जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन् । उत्कृष्ट सामग्रीलाई ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ अभियानअन्तर्गत पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । अभियानअन्तर्गत प्रत्येक साता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४००जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन् । सहभागी हुन इच्छुकले पल्सरसँग जोडिएको आफ्नो अनुभव ‘माई पल्सर स्टोरी’ ह्यासट्यागसहित सामाजिक सञ्जालमा साझा गर्नुपर्नेछ । साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अर्थमन्त्रीले डेपुटी गभर्नर सिफारिस गर्नुछ भनेपछि...

काठमाडौं । गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई वाइपास गरेर सोझै प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्वाद गर्ने गरेको विषयमा सार्वजनिक वहस भइरहेको समयमा अर्थमन्त्री वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी)हरूसँग छुट्टै संवाद गरेका छन् । औपचारिक रूपमा अर्थतन्त्र र मौद्रिक नीतिबारे राय/सुझाव लिन आयोजित भनिएको बैठकलाई सहभागी कार्यकारी निर्देशकहरूले भने केवल नियमित छलफलका रूपमा मात्रै लिएनन् । उनीहरूको बुझाइमा यो बैठक अर्थतन्त्रको वास्तविक अवस्था बुझ्ने प्रयाससँगै रिक्त रहेको डेपुटी गभर्नर पदका सम्भावित उम्मेदवारहरूको सोच, क्षमता र दृष्टिकोण बुझ्ने अवसर पनि थियो । बैठकको सुरुवात अर्थमन्त्रीको मन्तव्यबाट भयो । त्यसपछि उपस्थित कार्यकारी निर्देशकहरूलाई पालैपालो बोल्ने अवसर दिइयो । कसैले पनि लिखित मन्तव्य तयार पारेका थिएनन् । सबैले आफूले नेतृत्व गरिरहेको विभागको अनुभव, मौद्रिक नीतिको कार्यान्वयन, अर्थ मन्त्रालयसँगको समन्वय, वित्तीय क्षेत्रका चुनौती तथा आफ्नै व्यावसायिक अनुभवका आधारमा धारणा राखे । एक कार्यकारी निर्देशकका अनुसार छलफलमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध, केन्द्रीय बैंकको संस्थागत संरचना, सरकारको अपेक्षा तथा विभागगत जिम्मेवारीका विषयमा केन्द्रित भएर कुराकानी भयो । अर्थमन्त्रीले उठाएका प्रश्न र जिज्ञासालाई प्रत्येक कार्यकारी निर्देशकले आफ्नो जिम्मेवारीअनुसार उत्तर दिने प्रयास गरेका थिए । मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग झण्डै तीन घण्टा लामो छलफल गरेका अर्थमन्त्री वाग्लेसँग बैंकर्सहरूले राष्ट्र बैंकको नियमन शैली र सरकारको भूमिकामाथि खुलेर आलोचना गरेका थिए । तर कार्यकारी निर्देशकहरूको बैठकमा भने त्यस्तो दृश्य देखिएन । गभर्नर वा डेपुटी गभर्नरको कार्यशैलीमाथि कसैले टिप्पणी गरेनन् । बरु संस्थागत सुधार, मौद्रिक नीतिको प्रभावकारिता र अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंकले खेल्न सक्ने भूमिकामै छलफल केन्द्रित रह्यो । सहभागी कार्यकारी निर्देशकहरूका अनुसार बैठकमा राष्ट्र बैंकको स्वायत्तताको विषय पनि उठेको थियो । केन्द्रीय बैंक स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्नेमा सबैको जोड रहे पनि स्वायत्तता भनेको जवाफदेहिताबाट मुक्त हुनु नभएको धारणा व्यक्त गरिएको थियो । गभर्नर जो भए पनि सरकार, तालुक मन्त्रालय, लेखापरीक्षण निकाय र कानुनी संयन्त्रप्रति उत्तरदायी हुनुपर्नेमा छलफल केन्द्रित भएको उनीहरूको भनाइ छ । बैठकको अर्को रोचक पक्ष भने समय व्यवस्थापन बन्यो । सुरुमा बोल्ने कार्यकारी निर्देशकहरूले १०-१२ मिनेटसम्म आफ्ना धारणा विस्तारमा राख्ने अवसर पाए । तर बैठक चलिरहेकै बेला अर्थमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुपर्ने भएपछि समय छोट्याइयो । त्यसपछि बोल्ने कार्यकारी निर्देशकहरूलाई पाँच मिनेट र अन्त्यतिर दुई-तीन मिनेटमै आफ्नो धारणा टुंग्याउन भनियो । यसले सबैलाई समान अवसर नदिएको अनुभूति भएको एक कार्यकारी निर्देशकले गुनासो गरे । उनका अनुसार यदि अर्थमन्त्रीले सबैको सोच, नेतृत्व क्षमता र नीतिगत दृष्टिकोण बुझ्न खोज्नुभएको हो भने सबैलाई बराबर समय दिनुपर्थ्यो । समय अभावका कारण अन्तिमतिर बोल्नेहरूले धेरै विषय उठाउनै पाएनन् । त्यसपछि अर्थमन्त्रीले पहिलो चरणमा १२ जना कार्यकारी निर्देशकसँग मात्रै छलफल सकेर बाँकी ६ जनालाई साँझ साढे ५ बजे पुनः बोलाएका छन् ।  यही कारण बैठकलाई लिएर कार्यकारी निर्देशकहरूबीच अर्को चर्चा पनि चल्यो । अहिले नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद रिक्त छ । छलफलका क्रममा अर्थमन्त्रीले ‘डेपुटी गभर्नर पनि सिफारिस गर्नुपर्ने छ’ भन्ने प्रसंग निकालेपछि धेरै कार्यकारी निर्देशकले त्यसलाई सामान्य टिप्पणीभन्दा बढी अर्थपूर्ण रूपमा बुझे । अर्थमन्त्रीले ‘तपाईंहरूलाई चिन्नुपर्ने पनि थियो, हामी एउटै यात्रामा छौं’ भन्ने अभिव्यक्तिसँगै डेपुटी गभर्नर नियुक्तिका लागि बुझ्न खोजेको अनुभूति भएको एक कार्यकारी निर्देशकले बताए । यही कारण बैठकमा सहभागी अधिकांश कार्यकारी निर्देशकले आफूहरूलाई औपचारिक अन्तर्वार्ताका लागि नबोलाइएको भए पनि अनौपचारिक रूपमा आफ्नो सोच र नेतृत्व क्षमता परीक्षण भइरहेको अनुभूति गरेको उनको भनाइ छ । ‘बैठक छलफलकै लागि थियो,’ ती कार्यकारी निर्देशकले भने, ‘तर कताकता डेपुटी गभर्नरका सम्भावित उम्मेदवारहरूको सोच, दृष्टिकोण र नेतृत्व क्षमता बुझ्ने अनौपचारिक अन्तर्वार्ता पनि जस्तो लाग्यो ।’ छलफलका क्रममा अर्थसचिव घनश्याम उपाध्यायले पनि राष्ट्र बैंकका स्थायी कर्मचारीको भूमिकामाथि जोड दिएका थिए । गभर्नर र डेपुटी गभर्नरसँग नियमित छलफल भइरहने भए पनि संस्थाको दीर्घकालीन अनुभव र संस्थागत स्मृति कार्यकारी निर्देशकहरूसँग रहेको उल्लेख गर्दै उनले अहिलेका आर्थिक चुनौतीबारे उनीहरूको भोगाइ, बुझाइ र अनुभव प्रत्यक्ष रूपमा सुन्न चाहेको बताएका थिए ।

भेटेरिनरी कार्यालयका प्रमुखविरुद्ध १ लाख ३२ हजार घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो । अख्तियारका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने भन्दै २० प्रतिशत कमिसनस्वरूप घुस मागेका थिए । उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा डा. दासले कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा पशु खोप कार्यक्रमका लागि नियुक्त गरिएका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी कम्तीमा २० प्रतिशत रकम घुस मागेको खुलेको आयोगले जनाएको छ । अख्तियारका अनुसार दुवैले भ्याक्सिनेटरहरूलाई दबाबमा पारेर १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ । उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै अख्तियारले १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।