सुनको मूल्य घटयो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेको हो । सोमबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने एक तोला सुनको मूल्य ३ लाख ५ हजार ८ सय कायम भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी सोमबार १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।
जयश्री फुड्सको आम्दानी ३.८९ अर्ब रुपैयाँ, बजारमा बलियो पकड
काठमाडौं । जयश्री फुड्स प्रालिले सन् २०२५ मा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १.७६ प्रतिशत अर्थात् करिब ७ करोड रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । भान्साघर र मंगलम ब्रान्डका चामल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले नवलपरासीको गैँडाकोटस्थित उद्योगमार्फत धान प्रशोधन गरी चामल, चिउरा तथा सोया नगेट्स उत्पादन गर्दै आएको छ । कम्पनीले लामो दाना, जिरा र सावा चामलसहित विभिन्न प्रकारका चामल स्वदेशी बजारमा उपलब्ध गराउँदै आएको छ । भान्साघर र मंगलम ब्रान्डले बजारमा राम्रो पहिचान बनाइसकेका छन् । कम्पनीका अनुसार उत्पादन क्षमता उपयोग, ब्रान्ड पहिचान सुदृढीकरण र बजार विस्तारमा निरन्तर ध्यान दिइएकाले पछिल्ला वर्षहरूमा कारोबार स्थिर रूपमा अघि बढिरहेको छ । आगामी दिनमा मूल्य अभिवृद्धि हुने नयाँ उत्पादन र बजार विविधीकरणमार्फत व्यवसाय विस्तार गर्ने रणनीतिमा कम्पनी रहेको जनाएको छ । सञ्चालन आम्दानीको इतिहास हेर्दा कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख, सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख, सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख, सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख, सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख, सन् २०१८ मा १ अर्ब ९१ करोड ३० लाख र सन् २०१७ मा १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००९ मा स्थापना भएको जयश्री फुड्सले डेढ दशकभन्दा बढी समयदेखि नेपालमा चामल प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनी दुई सदस्यीय सञ्चालक समितिको निर्देशनमा सञ्चालन हुँदै आएको छ । प्रबन्ध निर्देशक पवन कुमार अग्रवालसँग विभिन्न व्यवसाय तथा उद्योग क्षेत्रमा ३८ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी श्यामबाबा इन्टरप्राइजेज, जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि, जयश्री सप्लायर्स प्रालि, जयश्री एग्रो इन्डस्ट्रिज प्रालि, जयश्री प्रोसेसिङ एण्ड प्रोडक्ट्स प्रालि तथा जयश्री सेक्युरिटिज प्रालिमा अध्यक्ष वा सञ्चालकको जिम्मेवारीमा रहेका छन् । यसैगरी, सञ्चालक सुमन अग्रवाल पनि जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि र जयश्री एग्रो इन्डस्ट्रिज प्रालिमा सञ्चालकको रूपमा आबद्ध छिन् । कम्पनीले नेपालभर आफ्ना उत्पादन वितरण गर्दै आएको छ । देशका प्रमुख शहरहरूमा फैलिएका ६ सयभन्दा बढी साना तथा ठूला खुद्रा व्यवसायीहरू कम्पनीका ग्राहक रहेका छन् । बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तराई क्षेत्र केन्द्रित नेपालगञ्ज, भैरहवा, गैँडाकोट, वीरगञ्ज र विराटनगरमा कार्यालय तथा भण्डारण गोदाम सञ्चालनमा छन् । यसले कच्चा पदार्थको सहज आपूर्ति र अनुकूल मूल्यमा खरिद गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । कम्पनीले १ केजीदेखि ३० केजीसम्मका विभिन्न प्याकेजिङमा उत्पादन बिक्री गर्दै आएको छ । भारत–नेपाल सीमासँग नजिकै प्रशोधन इकाइ रहेकाले कच्चा पदार्थ आयात गर्दा ढुवानी लागत कम हुने भौगोलिक लाभ पनि कम्पनीले लिँदै आएको छ । यी सबै पक्षले कम्पनीको लागत नियन्त्रण, सञ्चालन क्षमता र बजार प्रतिस्पर्धात्मकता थप मजबुत बनाएको देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब रुपैयाँ ऋण लिएको जनाएको छ । यसमध्ये १५ करोड ७० लाख रुपैयाँ दीर्घकालीन कर्जा र ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जाका रूपमा रहेको छ ।
उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो, ११ उद्योगमध्ये ६ बन्द
काठमाडौं । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकोमा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरिएको हो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । उनले भने, ‘अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ । भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।’ अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा ७ हजार हेक्टरमा जुट खेती लगाउँदा १० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा १० हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ । पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुट खेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुट खेती हुने गर्छ । अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चा पदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले ६ बन्द छन् ।
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ । माघ २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारी, ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
मुग्लिन-मलेखु सडक कालोपत्र तीव्र, ४० प्रतिशत प्रगति
काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष ८ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप ३ किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उहाँले जानकारी दिए । उनले भने, ‘हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।’ अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उहाँले बताउनुभयो । यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले जानकारी दिए । कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उहाँको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन् । यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा २.२ किमी ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । ७.२ किमी सडक ४ लेन हुनेछ । ४ लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । शर्मा-जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।
प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा सुधार
काठमाडौं । इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा ६ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले जनाएको छ । इरानको भन्सार प्रशासनको तथ्याङ्कलाई उद्धृत गर्दै इर्नाले भनेको छ, ‘सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन ४ अर्ब डलरको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो ।’ इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो । यो आर्थिक बर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैर–पेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्य बराबरको कारोबार गरेको थियो, यो आयतनको आधारमा गत बर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्ष अघिको तुलनामा ६.३ प्रतिशतले कम हो । आयात ४.६ प्रतिशतले बढेर ३ करोड ३१ लाख ७० हजार टन पुगेको छ तर यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ ।
आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार गर्न पाइने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् । आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ । आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौ भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ । यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्र पत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।
३ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुन ठाउँमा कति पर्छ ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।