काठमाडौं । साइबर ब्यूरोले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमार्फत तस्विर बनाएर व्यक्तिको चरित्रहत्या गर्ने तथा कन्टेन्ट बनाउनेलाई कारबाही गर्ने भएको छ ।
बुधबार (आव) ब्यूरोले सूचना जारी गरी समाजमा त्रास सिर्जना गर्ने व्यक्ति वा संघ संस्थाको चरित्रहत्या गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कडाभन्दा कडा सजाय हुने चेतावनीसमेत दिएको छ ।
ब्यूरोका सूचना अधिकारी दिलीप गिरीले अनलाइन माध्यममा भेटिने हरेक विषयलाई हत्तपत्त विश्वास नगर्न सबैलाई आग्रह गरे ।
विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि उनले आग्रह गरेका छन् ।
उनका अनुसार प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग बढेको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाहरूको कृत्रिम फोटो र भिडियो बनाएर सार्वजनिक गर्ने काम भइरहेको गिरीले बताए ।
भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने अभिप्रायले सिर्जित श्रव्यदृष्य सामग्री तथा अभिव्यक्ति प्रकाशन गर्ने क्रम बढेको उनको भनाइ छ ।
समाज तथा मानिसहरूमा त्रास सिर्जना गर्ने लगायतका कार्यहरू भइरहेका घटनाहरू सार्वजनिक भइरहेको उनले बताए ।