विकासन्युज

सेनाको हेलिकोप्टरबाट मतपत्रसहित १० प्रकारका सामग्री हुम्ला आइपुगे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई मार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइ सकिएको तथा आवश्यकताका आधार आयोगले थप काम गर्दै जानेछ । ३ हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने-जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्ने गरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अधिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकाया लगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो  निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच-पाँच कर्मचारी ७५ जना र अरु बाँकी ४९ मतदान केन्द्रमा छ-छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।  जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ-छ जना खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई  सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ । यदि कुनै कारणवश आउन नसकेको खण्डमा उनीहरूलाई पठाउन जगेडामा राखिएको उनको भनाइ छ ।  यस्तै अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिएको छ । जिल्ला अदालतका नासु छत्त बहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्याम प्रसाद सापकोटालाई लेखा तथा भुक्तानीका लागि जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बरालका अनुसार जिल्लाको ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ । 

हानिकारक सूचना फैलाउने २९० कन्टेन्ट उत्पादकविरुद्ध साइबर ब्यूरोमा उजुरी

६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी काठमाडौं । निर्वाचनलाई बढी भन्दा बढी सहभागितामुलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ । यस्तै, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ । हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ ।  यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।

कोशी, गण्डकी र बागमतीमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागलगायत अन्य बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ । नापतौल इजाजतपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठगी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिए । सोही अवधिमा कार्यालयले ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र तथा एक हजार ३९७ व्यवसायीको नापतौल यन्त्रको नवीकरण गरेको छ । सो अवधिमा अनुगमन, नवीकरण, कारबाही तथा इजाजतपत्र प्रदान गरेबापत रु २५ लाख ४६ हजार ६०४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख यादवले जानकारी दिए । गत आर्थिक वर्षमा ९१७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई व्यवसायिक कारोबारका लागि नापतौल यन्त्र सञ्चालन गर्न कार्यालयले इजाजतपत्र प्रदान गरेको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ती जिल्लाका व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गर्दै आएको छ । साथै कार्यालयले पाँचै जिल्लामा नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षण र नापतौल यन्त्रको इजाजतपत्र दिँदै आएको जनाएको छ ।  उक्त अवधिमा नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नविकरण नगराउने दुई हजार ४३ उद्योगी तथा व्यवसायिक फार्मलाई कारबाहीका साथै जरिवाना गरिएको कार्यालय प्रमुख यादवले बताए । कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुशी जथाभाबी ढक तथा तराजु (डिजिटलसमेत) नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको उनको भनाइ छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ को साउनदेखि असारसम्म गरिएको डोर खटनपटन, अनुगमन तथा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतको आधारमा कारबाही तथा जरिवाना गरिएको यादवले उल्लेख गरे। प्राप्त विवरणअनुसार सो अवधिमा दुई हजार ६३० जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी गराइएको प्रमुख यादवले जानकारी दिए । उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९ पटक, व्यवसायिक फार्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक तथा व्यवसायिक फार्मको अनुगमन ४९९ पटक गरी विभिन्न शिर्षकबाट रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको प्रमुख यादवले जानकारी दिए। आव २०८०/८१ मा कार्यालयले रु ४० लाख ६७ हजार २४२ राजस्व संकलन गरेको थियो । त्यस्तै पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । डोरको खटनपटन र अनुगमनका लागि सवारी सुविधा नभएको तथा कार्यालय सञ्चालनका लागि बजेटको अभाव हुँदा प्रभावकारी कार्यसम्पादनमा समस्या हुँदै आएको यादवले गुनासो गरे । रासस

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा । गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।  काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ : घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन् । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनले बताए। बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उनले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताए । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएकाे उनले बताए । गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने  उनले बताए। भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन नहुने चेतावनी उनले दिए । उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे। भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र संकटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको बताए ।

हिटलरको घर अब प्रहरी चौकी

काठमाडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो । सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । भवनअगाडि राखिएको स्मारक ढुङ्गामा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ । फासीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिऔँ । लाखौँ मानिसको मृत्यु यसका लागि चेतावनी हो’ लेखिएको छ । यसै साता एएफपीले अवलोकन गर्दा जीर्णोद्धारको अन्तिम काम भइरहेको देखिएको थियो । गृह मन्त्रालयका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारीमा छ ।      सरकारले सन् २०१६ मा निजी मालिकबाट भवनको नियन्त्रण लिन विशेष कानून पारित गर्दै यसलाई ‘बेअसर’ बनाउने नीति अघि सारेको थियो । अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो र नरसंहारमा आफ्नो भूमिकाबारे विगतमा पर्याप्त आत्मस्वीकृति नगरेको आरोप खेप्दै आएको छ । नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजार निर्वासनमा पठाइएका थिए ।      स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले यो निर्णयलाई ‘दुई धारको तरबार’ भएको प्रतिक्रिया दिए । उनका अनुसार यसले अति–दक्षिणपन्थी समूहलाई भेला हुन निरुत्साहित गर्न सक्छ, तर भवनलाई फरक ढङ्गले पनि उपयोग गर्न सकिन्थ्यो । नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘समस्यापूर्ण’ बताए । उनका अनुसार प्रहरी राज्यको संरचनाअनुसार चल्ने भएकाले स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने थियो ।      यसअघि भवनलाई शान्ति निर्माण र ऐतिहासिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको बताइएको छ । स्थानीय पसल व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ‘ऐतिहासिक सन्दर्भमा राखेर प्रस्तुत गर्नु रोचक हुने’ धारणा व्यक्त गरे । पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ ।      तर सबै प्रतिक्रिया नकारात्मक छैनन् । इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ्ग लेथनरले भवनलाई प्रहरी चौकीमा रूपान्तरण गर्दा ‘केही शान्ति आउने’ विश्वास व्यक्त गरे । उनका अनुसार यसरी प्रयोग गर्दा भवन अति–दक्षिणपन्थीहरूको तीर्थस्थल बन्ने सम्भावना कम हुनेछ ।      ब्राउनाउका कन्जरभेटिभ मेयरको कार्यालयले यस विषयमा टिप्पणी दिन अस्वीकार गरेको छ । यसबीच, अस्ट्रियामा नाजी अतीत र नरसंहार इतिहासलाई कसरी स्मरण र सम्बोधन गर्ने भन्ने बहस फेरि सतहमा आएको छ । अति–दक्षिणपन्थी फ्रिडम पार्टी सन् २०२४ को चुनावमा सबैभन्दा ठूलो दल बने पनि सरकार गठन गर्न असफल भएको थियो । गत वर्ष ब्राउनाउ एम इनमा नाजी स्मृतिसँग जोडिएका दुई सडकको नाम परिवर्तन गरिएको थियो ।      इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नबीच हिटलर जन्मिएको घरको नयाँ पहिचानले अस्ट्रियामा स्मृति, जिम्मेवारी र भविष्यको दिशाबारे पुनः बहस जगाएको छ । रासस

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।  निर्वाचन तयारी सन्दर्भमा शनिबार लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराए ।  प्रधानमन्त्री कार्कीसहितले शनिबार बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए । जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरुपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए । जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरुप अघि बढ्न निर्देशन दिएको प्रमुख सचिव काप्रीले बताए ।  प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्ति पूर्ण रुपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराए ।  बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए ।