नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच सम्झौता, स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यहरूले भक्तपुर नगरपालिका–९, राधेराधेमा रहेको सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले प्याथोलोजी ल्याबका विभिन्न सेवामा डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा फागुन ८ गते नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिका तर्फबाट ल्याव निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको उल्लेख गरेको छ ।
सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ । स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए । सो वर्ष तीन हजार ३१६ जनामा सङ्क्रमण देखिएको थियो । चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेङुगुबाट प्रभावित भइसकेका छन् । अधिकृत जोशीले भने, 'अघिल्ला वर्षको तुलनामा डेङ्गुको ग्राफ केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम भने टरेको छैन । विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ ।' निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेङ्गुका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए । उनका अनुसार डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन् । यसैबीच, नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए । निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ ।
मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । आव २०८१र८२ को सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१ दशमलव १० प्रतिशत, छुर्पी ६३ दशमलव ३० प्रतिशत, अदुवा, सुठो एक सय एक दशमलव ८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ३१६ दशमलव २० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४० दशमलव ९० प्रतिशत, अम्रिसो २४ दशमलव ९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा १६ अर्ब तीन करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।
१० प्रतिशत इथानोल मिश्रणले वार्षिक ६ अर्बको पेट्रोलियम आयात घट्ने
काठमाडौं । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उनले भने, 'यस विषयमा करिब २० वर्षदेखि अध्ययन र छलफल हुँदै आएको थियो । हालसम्म सबै अध्ययन भइसकेर पेट्रोलमा इथानोल मिसाउने आदेश-२०८२ स्वीकृत भइसकेको छ । उक्त नीति शीघ्र राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनेछ ।' मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको बताउँदै १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब छ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने दाबी गरे । यसबाट व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । मन्त्री सिन्हाले इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भूमिको उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नयाँ उद्योग स्थापना, औद्योगिक वातावरण, सुरक्षा, रोजगारी, कच्चापदार्थ उत्पादनलगायत क्षेत्रमा चुनौती भने रहेको उनले स्वीकार गरे । 'अवसरसँगै चुनौती पनि छन् । नगदेबाली केन्द्रित कृषि बढ्दा खाद्य सुरक्षामा असर पर्न सक्ने जोखिम पनि छ', उनले भने । मन्त्री सिन्हाले यस क्षेत्रमा विदेशी लगानी आउने सम्भावना रहेको उल्लेख गर्दै प्रतिस्पर्धा आवश्यक भए पनि अस्वस्थ प्रतिस्पर्धा हुन नहुनेमा जोड दिए । इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा इथानोलको मूल्य कम हुनुपर्ने र त्यसका लागि कार्यविधि चाँडै आउने पनि उनले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा धेरैवटा आयोग र सुझाव समिति बनेका उल्लेख गर्दै ती आयोग र समितिको सिफारिसमा इथानोल मिश्रणसम्बन्धी आदेश सरकारबाट आएको जानकारी दिए । सबै इन्धनको सकारात्मक र नकारात्मक पाटोलाई विश्लेषण गरेर अघि बढ्नुपर्ने बताउँदै सचिव कार्कीले पेट्रोलमा इथानोल मिश्रण मुलुकको हितमा रहेको धारणा राखे । प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारले पनि यो नीतिलाई निरन्तरता दिने उनले विश्वास व्यक्त गरे । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको बताउँदै निर्णय कार्यान्वयनबाट पछि नहट्ने स्पष्ट पारे । उनले भने, '२० वर्षदेखि तयारी गरिएको कार्यक्रम अहिले लागू गर्न लागिएको हो । यो कार्यक्रम असफल हुन दिइने छैन ।' कार्यकारी निर्देशक भट्टका अनुसार कार्यक्रम पूर्ण कार्यान्वयनमा आउन एकदेखि डेढ वर्षसम्म लाग्न सक्छ । इथानोलको गुणस्तर मापदण्ड तय गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको उनले बताए । 'मिश्रण गर्ने आदेश मात्रै पर्याप्त हुँदैन, गुणस्तरको मापदण्ड बनाउनु आवश्यक छ', उनले भने । उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले मन्त्रिपरिषद्ले गत पुसमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको जानकारी दिँदै हालसम्म नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन नभएको बताए । यद्यपि यो आदेशले उत्पादनका लागि बाटो खोलिदिएको उनको भनाइ छ । सरकारले शीघ्र इथानोलको न्यूनतम मूल्य सिफारिस गर्ने, गुणस्तर निर्धारण गर्ने र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । उनका अनुसार इथानोल मिश्रणसम्बन्धी आदेश राजपत्रमा प्रकाशित भएपछि मूल्य निर्धारण समिति गठन भई उत्पादन क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ । 'यो नयाँ विषय भएकाले कार्यान्वयन गर्न समय लाग्छ, तर विभिन्न देशको अभ्यास अध्ययन गरेर अघि बढेका छौँ', उनले भने । निजी क्षेत्रका प्रतिनिधिले भने इथानोल उत्पादनका लागि कच्चापदार्थ पर्याप्त भए पनि उद्योग स्थापना गर्न सहज वातावरण आवश्यक रहेको बताएका छन् । किआन केमिकल इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष वेदप्रसाद खरेलले लगानीकर्ताले प्रशासनिक झन्झट भोग्नुपरेको उल्लेख गर्दै सरकारी संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले नेपालमा वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने गरेकामा करिब दुई लाख मेट्रिकटन मात्रै आन्तरिक उत्पादन भइरहेको जानकारी दिए । दुई वर्षभित्र आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको बताउँदै उनले इथानोल मिश्रणको निर्णय भए पनि कार्यविधि र कार्यान्वयन योजना स्पष्ट नभएको बताए । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले इथानोल मिश्रण कार्यक्रम कार्यान्वयन गर्दा मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनुपर्नेमा जोड दिए । 'हामीलाई के चाहिने हो र अहिले भएका संयन्त्रले त्यसलाई सम्हाल्न सक्छन् कि सक्दैनन् भन्ने मूल्याङ्कन आवश्यक छ', उनले भने । उनले इथानोलको मूल्य उतारचढाव, नियमन र अनुगमनका स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय उत्पादन र प्रभावकारी बजार नियमन नभए आयात प्रतिस्थापनको लक्ष्य पूरा नहुने धारणा राखे । 'इथानोलको मूल्य, गुणस्तर र नापतौलको व्यवस्था स्पष्ट पारिनुपर्छ', उनले भने ।
एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार
काठमाडौं । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने आइएमई लिमिटेडका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई उक्त विद्युतीय कार हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको उनले बताए । कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा श्रम गरेर आर्जन गरेको रकम स्वदेश पठाउनुका साथै सीप र अनुभव समेत हस्तान्तरण गर्दै उद्यमशीलतामा अघि बढ्ने युवाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनाअन्तर्गत एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरूलाई लक्की ड्रमा सहभागी गराइएको थियो । सोही योजनाअन्तर्गत दुई जना सेवाग्राहीले आईफोन १६ ई समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । आइएमईले विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट स्वदेश पठाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्ता विभिन्न योजना तथा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीका अनुसार नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित तथा गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ । शाखामार्फत पोलिसीसम्बन्धी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रियासम्बन्धी सेवा उपलब्ध हुने जनाइएको छ । सन नेपाल लाइफले सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै आएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।
सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आइतबार ३ सय ७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।