विकासन्युज

निर्वाचनको समयमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकार समक्ष सिफारिस गरेको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगले आइतबार सरकारलाई पत्र पठाउँदै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न आग्रह गरेको हो । मतदानमा आम नागरिकको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र मतदातालाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको उनले बताए । निर्वाचनअघिको तयारी, मतदानको दिनको व्यवस्थापन तथा त्यसपछिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तीन दिन बिदा आवश्यक हुने आयोगको धारणा रहेको छ । आयोगले निर्वाचन प्रक्रियालाई व्यवस्थित, सुरक्षित र सहभागितामूलक बनाउन यस प्रकारको सिफारिस गरिएको जनाएको छ ।

टाटा कमर्सियलको होली सर्भिस क्याम्प सुरु, स्मार्टफोन पुरस्कार पाइने

काठमाडौं । टाटा कमर्सियलले फाल्गुन १० देखि १५ गतेसम्म होली सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ । यो क्याम्प देशभर सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ । कार्यक्रममा ग्राहकका गाडीको सुरक्षित यात्रा सुनिश्चित गर्न १० वटा प्वाइन्टहरु जाँच सुविधा उपलब्ध गराइनेछ । जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक, र इमरजेन्सी तथा सेफ्टी सम्बन्धि जाँच समावेश छन् । यदि गाडीमा मर्मत वा संभार आवश्यक परेमा ग्राहकहरूले टाटा जेन्यूइन पार्ट्समा १५–२० प्रतिशत छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट, र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनेछन् । सर्भिस प्याकेजमा दर्ता भएमा यी सुविधा एक वर्षसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ । साथै, प्रि-सर्भिस बुकिङ्ग गरी वर्कशपमा आउने भाग्यशाली तीन ग्राहकलाई स्मार्टफोन जित्ने सुनौलो अवसर पनि प्रदान गरिएको  छ। कम्पनीले यस अवधिभरमा २००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य लिएको छ ।   

गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा जलज कुमार अधिकारी नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ । 

मनमैजुमा घरभित्रै छिर्यो चितुवा, तीन जना घाइते

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा चितुवा छिरेको छ । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा चितुवा छिरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले मनमैजुमा स्थानीयको घरमा चितुवा छिरेको जानकारी दिए । जिल्ला वन कार्यालयका टोलीहरू उद्धार गर्न गइरहेको उनले बताए ।  साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो ।  उनले भनिन्, 'चितुवा माथिल्लो टोलबाट तीन जनालाई घाइते बनाएर आएको रहेछ । एकजना बच्चाको कानमा चोट बनाएको रहेछ । उपचारका लागि टेकु अस्पताल लगिएको छ ।' चितुवाबाट बच्नका लागि भाग्दा राईसमेत घाइते भएकी छिन् ।

उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएकाे छ । महासंघको आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदहरूमा चुनावी प्रतिस्पर्धा हुनेछ । साेमबार एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी दिने तयारी गरेकी छन् । त्यसैगरी जिल्ला-नगर उपाध्यक्ष पदमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार बन्ने भएका छन् । महासंघको संशोधित विधानअनुसार यसपटकदेखि दुई जना जिल्ला-नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । यस्तै, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्ष पदमा कमला श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । प्यानलको औपचारिक घोषणा सोमबार गरिने जनाइएको छ ।  स्रोतका अनुसार यस समूहको वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल हुने गरी उम्मेदवारी घोषणा गरिनेछ । ढकाल हाल वस्तुगततर्फका उपाध्यक्ष हुन् । कार्यसमिति भित्र निर्वाचन भएर वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।

२७ अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २६१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ६३ करोड रुपैयाँ बराबरको भएको छ । साथै रिडि पावर कम्पनीको ३७ करोड, एसवाई प्यानलको ३१ करोड, न्यादी गुप्रको १९ करोड र राधी विद्युतको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।     

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत लाभांश दिने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।  

भक्तपुर १ का मतदाता भन्छन् - सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं । ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर निर्वाचन क्षेत्र नं १ चाँगुनारायण नगरपालिका– १ की १९ वर्षीया मोनिका रोक्काले भनिन्, 'म पहिलो पटक मतदान गर्दैछु, दुःख, सुखमा सहयोग गर्ने र यहाँको विकासमा ध्यान दिनेलाई भोट दिने हो, जनप्रतिनिधि भनेको जनताकै माझमा र मनमा बस्न सक्नुपर्छ ।' भक्तपुरका कतिपय ठाउँमा अझै सडक कालोपत्र भएको छैन । स्वच्छ खानेपानीको अभाव छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा पर्याप्त ध्यान पुग्न सकेको छैन । विकास निर्माणमा यो क्षेत्र अझै पछि परेको छ जस्तो लाग्छ नागरिकलाई । मोनिकालाई जस्तै अरुलाई पनि आफ्ना क्षेत्रका नागरिकहरुका लागि रोजगारीको अवसर सिर्जना गर्न स्थानीय स्रोतसाधनको सम्भावनाको खोजीका लागि अध्ययन गर्न जरुरी छ भन्ने लाग्छ । मोनिकाजस्तै भक्तपुर निवासी केशव पराजुलीलाई पनि समस्या परेका बेलामा सहजीकरण गर्ने र चुनामा मात्र नभएर अरुबेला पनि यहाँका नागरिकमाझ रहने जनप्रतिनिधि चाहिन्छ भन्ने लाग्छ । 'चुनावमा मात्रै भोट माग्न आउने, अनि अरुबेला वास्तै नगर्ने उम्मेदवारलाई भेट दिएर के गर्नु ?' पराजुलीले भने, 'नागरिकका समस्यामा साथ दिने जनप्रतिनिधि चाहिन्छ ।' यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई भक्तपुरका स्थानीय जनताका माग यस्तै यस्तै छन् । आसन्न निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल निकै तरिकाले बढिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा १६ राजनीतिक दल र नौ जना स्वतन्त्र उम्मेदवार गरी २५ उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका सो क्षेत्रका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए । यो क्षेत्रबाट विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवाल विजयी भएका थिए । नेता सुवाल आसन्न निर्वाचनमा पनि उम्मेदवार छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सोमप्रसाद मिश्र, नेपाली कांग्रेसका किरण न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट ईश्वरीप्रसाद पैयानीले प्रतिस्पर्धा गर्दै छन्। त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीबाट दीपककुमार पोखरेल, श्रम संस्कृति पार्र्टीबाट विष्णुहरि न्हिसुतु, मितेरी पार्टी नेपालबाट सावित्री न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) चन्द्रमान कोजु, उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट देवेन्द्र ठाकुर रहेका छन् । साथै, स्वतन्त्र उम्मेदवारहरुमा दशरथ थापा, पूण्यराम सुवाल, बालकृष्ण खाइतु, राज श्रेष्ठ, राजेश्वरी प्रजापति, विष्णुराम दुमरु, सुजीता बूढाथोकी, सुदीप न्यौपाने र सुरेश कोजु रहेका छन् । आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरु मतदाताको घरघर पुगेर मत मागिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा नेमकिपाका प्रेम सुवालले चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०७४ सालमा राजनीतिमा पुस्तान्तरण गर्ने घोषणा गर्दै उम्मेदवारी नदिएपछि सुवालले निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचन जित्दै आएका छन् । 'भक्तपुरका जनताको खुसी हाम्रो मुख्य चुनावी एजेण्डा हो', उम्मेदवार सुवालले भने, 'मेरो उम्मेदवारी यहाँका जनताको साथ र विकास निर्माणका लागि हो ।' यो निर्वाचन क्षेत्र एउटै पार्टीको एकल वर्चस्व रहे पनि यसपटक विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारले नेपाल मजदुर किसान पार्टीलाई चुनौती दिएका विश्लेषकहरु बताउँछन् । यो क्षेत्रमा २०३८ सालदेखि २०७० सालसम्मको पाँच वटा निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी हुनुभएको इतिहास छ । त्यसपछि २०७४ सालदेखि २०७९ सालमा पनि सोही पार्टीका नेता सुवाल निर्वाचित भएका थिए । नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्रलाई नेमकिपालाई चुनौती दिन मन छ । 'हिलोमा नपसी कमलको फूल फुल्दैन, म चुनौती लिन तयार छु, म आफूलाई पनि मतदाताबीच परीक्षण गराउन चाहान्छु', नेता मिश्रले भने, 'मुुलुकमा प्रणाली परिवर्तन भयो तर भ्रष्टाचार नियन्त्रण र सुशासनमा फरक आउन सकेन, गल्तीहरु सच्याएर जाँदा सुशासन, भ्रष्टाचार नियन्त्रणका साथै प्रशासनिक क्षेत्रमा पुनःसंरचना गर्नुपर्ने हुन्छ, त्यो प्रयास म गर्नेछु ।' भक्तपुरको यो क्षेत्रमा पहिलाको तुलनामा भौतिक पूर्वाधारमा नेपालमा राम्रो प्रगति भएको छ । पहिलेजस्तो डोकोमा पानी बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । बिजुली, खानेपानी र सडक निर्माणमा राम्रो भएको छ । तर भ्रष्टाचार र सेवा प्रवाहमा जनताले खोजेजस्तो सार्वजनिक सेवा प्रवाह हुन सकेको छैन । 'नेपालमा लोकतन्त्र आए पनि प्रशासनिक काम कारबाहीमा सुधार भएको छैन', नेता मिश्रले थपे, 'यसमा दलहरुको ध्यान जान जरुरी छ, राजनीतिमा पुस्तान्तरण हुन पनि जरुरी छ ।' नेता मिश्रलाई भक्तपुर निर्वाचन क्षेत्र १ र सिंहदरबारबीच जोडिनुपर्छ भन्ने लाग्छ । 'सिंहदरबारको नजिक भए पनि हामी ओझेलमा परेका छौँ, मैले पुलको काम गर्नेछु', उनले भने, 'ख्वप कलेजलाई विश्वविद्यालयका कुरा उठिरहेको छ तर अहिले पनि हुन सकेको छैन, सांस्कृतिक, पर्यटकीय, पूर्वाधारमा पहल गर्नेछु, सङ्घीय सरकारको स्रोतसाधनलाई भक्तपुरमा लैजाने प्रयास गर्नेछु ।' जनताले आफूलाई मत दिनेमा उनी आशावादी छन् । नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेको पनि सो क्षेत्रको विकास निर्माण र पूर्वाधार विकासमा मुख्य प्राथमिकता छ । 'विसं २०७२ को भूकम्पका कारण चार/पाँच सय घरधुरी पालमुनि बस्न बाध्य छन्, अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन', उनले भने, 'प्लानिङका नाममा जग्गा रोक्का राखिएको छ, जनताले धेरै दुःख पाएका छन्, त्यसकारण पनि फरक उम्मेदवारलाई जिताउन जरुरी छ ।' उनले पहिलो पटक उम्मेदवार बनेका हुन् । आफूलाई मतदाताले भारी मत दिने विश्वासमा उनी ढुक्क छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित पनि आफ्नो पक्षमा मत पार्न निकै मेहनत गरिरहेका छन् । 'रास्वपाको मुख्य एजेण्डा सुशासन, भ्रष्टाचाररहित समाज निर्माण हो', उनले भने, 'भक्तपुरको विकासका लागि मैले ध्यान केन्द्रित गर्नेछु ।' सो क्षेत्रका निर्वाचन कार्यालय प्रमुख प्रकाश मगरका अनुसार यहाँका कूल मतदाता एक लाख सात हजार ५४ छन् । त्यसमध्ये पुरुष मतदाता ५२ हजार ६६ (४८.६४ प्रतिशत), महिला मतदाता ५४ हजार ९८८ (५१.३६ प्रतिशत) छन् । समावेशीको आधारमा हेर्दा खस, आर्य ६८ प्रतिशत, आदिवासी/जनजाति २८ प्रतिशत र चार प्रतिशत मधेसी रहेका छन् । सो निर्वाचन क्षेत्रमा एक सय १९ मतदान केन्द्र छन् । यहाँ राजनीतिक दलका उम्मेदवार १६ र स्वतन्त्र नौमध्ये पुरुष २२ र महिला तीन जना छन् । भौगोलिक क्षेत्रका हिसावले भक्तपुर–१ निर्वाचन क्षेत्रअन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका का सबै वडा पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ । गत २०७९ सालको स्थानीय तहको निर्वाचनबाट भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको छ । यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले वडा नं ९ को वडाध्यक्ष मात्रै जितेको छ । अरू वडामा भने नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए । निर्वाचित सुवालको मतान्तर ३० हजार ७९३ रहेको थियो । राप्रपाका भरतबहादुर खड्काले नौ हजार ३०३ मतसहित तेस्रो भएका थिए। नेकपा माओवादी केन्द्रका सुनील गोठेले पाँच हजार २८३ मत प्राप्त गरेका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० वटा मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचन प्रयोजनका लागि यही माघ २१ गतेदेखि सेना पनि परिचालन भइसकेको छ । रासस