विकासन्युज

‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय

काठमाडौं । विकास मिडियाले खुला गरेको ‘विकास नायक, २०८२’ को मनोनयनको समय मंसिर १८ गतेसम्मका लागि थप गरिएको छ । विकास मिडियाद्वारा सञ्चालित विकासन्युज र देश विकास पत्रिकाले आयोजना गर्ने ‘विकास नायक, २०८२’ को मनोनयन गर्ने समय थप गरिएको हो ।  मंसिर ८ गते बसेको ‘विकास नायक, २०८२’ निर्णायक समितिको बैठकले बृहत सहभागितालाई प्रोत्साहित गर्दै मनोनयन गर्ने समय थप गर्ने निर्णय गरेको हो ।  समितिका संयोजक कृष्णहरि बास्कोटाले विभिन्न क्षेत्रलाई समेट्ने लक्ष्यका साथ मनोनयन समयावधि थप्ने निर्णय भएको जानकारी दिए । समितिले विकास नायक छनोटका आधार र मापदण्ड सम्बन्धी विभिन्न निर्णय गरेको छ ।  समितिले राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गर्नेबाट एक जना, उद्योग स्थापन सञ्चालन मार्फत बजार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गर्ने एक जना, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गर्नेबाट एक जना विकास नायक घोषणा गर्ने गरी क्षेत्र विभाजन गरेको छ ।  यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिनेबाट एक जना, जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवर्द्धन गरेर जनतालाई लाभ पुर्‍याउनेबाट एक जना, शिक्षा, स्वास्थ्य र पर्यटन सेवा विकासमा महत्त्वपूर्ण योगदान गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ ।  त्यस्तै, बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गर्नेबाट एक जना, नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गर्नेबाट एक जनालाई विकास नायक घोषणा गर्ने निर्णय गरेको छ ।  समितिले खेलकुद, भाषा, साहित्य, कला, मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाउने र पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने पेशाकर्मीबाट एक/एक जना गरी कुल १० जनालाई विकास नायक घोषणा गरी सम्मान गर्ने निर्णय गरेको छ ।  बास्कोटाको संयोजकत्वमा गठित विकास नायक २०८२ को निर्णायक समितिको सदस्यमा प्राध्यापक डा. कुशुम शाक्य, वरिष्ठ पत्रकार शिव गाउँले, उद्यमी निरञ्जन श्रेष्ठ रहेका छन् भने विकासन्युजका सम्पादक सन्तोष रोकाया सदस्य सचिव छन् ।  संयोजक बास्कोटा सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्वअर्थसचिव हुन् । उनी नीति अनुसन्धान तथा प्रशासन सुधारका क्षेत्रमा निरन्तर सक्रिय छन् । प्रा.डा. शाक्य त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको पूर्वडिन तथा अर्थशास्त्र विभागकी प्रमुख हुन् । उनी अहिले नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञ सदस्यका रूपमा क्रियाशील छिन् । गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले खोज पत्रकारिता केन्द्र, अनलाइन खबर र हिमाल खबर लगायत सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरिसकेका छन् । यस्तै, श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । उनी नेपाली युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष समेत हुन् ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेलले जनाए विद्या भण्डारीलाई सदस्यता दिने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किन अनुकूल वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी एकता र समावेशीताको पक्षमा सबैको हित सुनिश्चित गर्ने कार्य गर्दै आएको दावी गरे । विद्या भण्डारीलाई सहज तरिकाले पार्टीमा फर्काउने वातावरण तयार पार्न आवश्यक पहलहरू अगाडि बढाइने पोखरेलले जानकारी दिए । भण्डारीको सदस्यता नवीकरण गर्न आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता उनको छ ।  पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा राजनीतिक वृत्तमा छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति मङ्सिर ९ गते बसेको बैठकले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा ६.४० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव अनुसार सेयरधनीलाई वितरण हुने कुल लाभांश रकम ६ करोड ४० लाख रुपैयाँ हुनेछ । कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभा बाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण गर्ने जनाएको छ ।  

मन्दाकिनी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । कम्पनीले २.९ मेगावाट क्षमताको माथिल्लो सार्दीखोला जलविद्युत आयोजना विकास गर्न एनएमबि बैंक लिमिटेडसँग वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा गरेको हो । मन्दाकिनी हाइड्रोपावर कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–स्थित ४ मेगावाटको सार्दीखोला जलविद्युत आयोजना निर्माण गरी २०७४ साल मंसिरदेखि व्यवसायिक सञ्चालनमा ल्याएको हो ।  विगत तीन वर्षदेखि सेयरधनीहरूलाई निरन्तर नगद लाभांश तथा बोनस सेयर वितरण गर्दै आएको हाइड्रोपावरले उक्त आयोजनाको निर्माण कार्य पनि अघि बढाएको जनाएको छ। आवश्यक स्वपूँजी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ। यसका लागि विद्युत् नियमन आयोगबाट १ः०.६६४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व–स्वीकृति प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग द्विपक्षीय सम्झौता भइसकेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न स्वीकृति पाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आधिकारिक रूपमा आवेदनसमेत दर्ता गरिसकेको छ । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना मार्फत क्षमता विस्तार गर्दै कम्पनीको उत्पादन वृद्धि र सेयरधनीका प्रतिफलमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका १४ निर्णय सार्वजनिक, मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १४ निर्णय सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साथै पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गरिएको मन्त्री खरेलले बताए ।  यसबाहेक बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ भने सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि ६८ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६८ पुगेको छ । मंगलबार नेकपा एमालेले पनि दल दर्ता गराएपछि दर्ता संख्या बढेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता कायम भएका दलमध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराइसकेका छन् । उनका अनुसार मंसिर १० गतेसम्म दल दर्ता प्रक्रिया खुला रहनेछ । प्रवक्ता भट्टराईले आयोग निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने तयारीमा जुटेको बताउँदै दलहरूको व्यापक सहभागिताले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गरे ।

बुढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनामा तीव्र प्रगति

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको ब्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार निर्माण अवधिको व्याजसहित कूल लागतका आधारमा कर्जा र स्वःपूँजी (इक्विटी) अनुपात ७० र ३० प्रतिशत रहने गरी मोडालिटी तयार गरिएको छ । आयोजनाको प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सेयर स्वामित्व रहने छ ।  आयोजना सम्पन्न भएपछि वा निर्माणको अन्तिम चरणमा वास्तविक वित्तीय सूचकलाई समेत दृष्टिगत गरी उपयूक्तता र सम्भाव्यताको आधारमा केही प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरी कर्जाको भार घटाउन वा  सरकारको शेयर पुर्नसंरचना गर्न सकिने प्रस्ताव गरिएको छ ।   सरकारको आयोजनामा इक्विटी वापत ९७ अर्ब ४७ करोड र सहुलितपूर्ण कर्जावापत १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब रुयौयाँ लगानी रहने छ । सरकारबाट हालसम्म आयोजनामा भएको ४५ अर्व  रुपैयाँ कम्पनीमा गरेको शेयर लगानीमा रुपान्तरणको प्रस्ताव गरिएको छ ।  आयोजनाको निर्माणका क्रममा भन्सार तथा मूल्य अभिबृद्धि कर बापतको रकमसमेत सरकारले यस आयोजनामा लगानी गर्नु पर्ने प्रस्ताव छ । पेट्रोलियम पदार्थको आयातमा भन्सार विन्दुमा लगाउँदै आएको पूर्वाधार करको ५० प्रतिशत रकम आयोजनामा लगानीका लागि छुट्याउनु पर्ने प्रस्ताव गरिएको छ ।   हालसम्मको लगानी घटाउँदा आयोजनामा सरकारको लगानी हुने २ खर्ब २८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिनु पर्नेछ । प्राधिकरणले आयोजनामा इक्विटी वापत २४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने छ । वित्तीय लागत घटाई आयोजनालाई सम्भाव्य बनाउ सरकारको सहजीकरणमा अनिवार्य तरलता अनुपातमा गणना हुने गरी ३० अर्ब रुपैयाँको ऊर्जा बण्ड जारी गर्नु प्रस्ताव गरिएको छ ।  उक्त बण्ड बैक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी र सार्वजनिक कोषले खरिद गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब रुपैयाँ ऋण प्रवाह हुने छ । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा तथा पुनर्बीमा कम्पनी,एचआइडिसिएल, नेपाल टेलिकम र वाणिज्य बैंकहरुको सहवित्तीयकरणमार्फत उठाउने प्रस्ताव गरिएको छ ।  आयोजनाबाट हिउँदयाममा १ अर्ब ४१ करोड र वर्षायाममा १ अर्ब ९७ करोड युनिट गरी ३ अर्ब ३८ करोड युनिट विद्युत उत्पादन हुने छ । विद्युत खरिद बिक्री दर हिउँदयाम र वर्षायामका लागि क्रमश ः १२.४० र ७.१० रुपैयाँ प्रतियुनिट रहने प्रस्ताव गरिएको छ ।  यसरी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि वार्षिक रुपमा ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पचास वर्ष राख्ने प्रस्ताव गरिएको छ । आयोजना ८ वर्षभित्रमा निर्माण सम्पन्न भएमा ४२ वर्ष विद्युत उत्पादन हुनेछ ।  आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलपूmको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् ।  काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साविकका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन्। बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालन, तल्लो तटीय लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मिटरसम्म रहने छ ।  नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यबृद्धि लगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको छ । अपर अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।  ३० प्रतिशत इक्विटीलाई शत्प्रतिशत मानी त्यसको ५१ प्रतिशत संस्थापन र ४९ प्रतिशत साधारण सेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक सेयरधनीबाट ३६ अर्ब ६७ करोड र साधारण सेयरधनीबाट ३५ अर्ब २३ करोड रुपैयाँ उठाइने छ ।  ५१ प्रतिशत संस्थापक सेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, बीमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरु रहने प्रस्ताव गरिएको छ ।  ४९ प्रतिशत साधारण सेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैरआवासीय नेपाली, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र आम सर्वसाधारण रहने व्यवस्था गरिएको छ । आयोजना निर्माणका लागि अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड संस्थापन भइसकेको छ ।  आयोजना निर्माणका लागि बैक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ । विश्व बैंकको लगानी अन्यौलमा परेपछि सरकारले देशभित्रका बैंक तथा वित्तीय संस्थाहरु र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अपर अरुणलाई अगाडि बढाउन लागिएको हो ।  आयोजनामा सहवित्तीयकरणमार्फत करिब ५३ अर्ब लगानीका लागि प्राधिकरण, आयोजनाको प्रवर्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच समझदारी भइसकेको छ ।  आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ ।  आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।   भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर  आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टील आर्क पुल निर्माण गरिरहेको छ ।

अन्तिम २ मिनेटमा ५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।  मंगलबार नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।  बजार बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।  १३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।