विकासन्युज

माग पूरा नभएपछि मन्त्रालयका कर्मचारीले फेरि थाले आन्दोलन (तस्बिरहरू)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि कृषि तथा पशुपंक्षी विकासमन्त्रीको रुपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानको लागि केही समय दिन माग गरेपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर आजका दिनसम्म पनि माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरु समायोजनपछि बढुवा नभएको भन्दै उनीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना बसेका छन् । संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलनमा छन् । उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन् । बिहीबारको धर्नाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै २०७५ सालमा समायोजनबाट भएका त्रुटीहरु सच्याउँदै वृद्धि विकास कार्यलाई सुचारु गर्न माग गरेको बताए । २०७५ सालमा समायोजन गरेपछि सरकारले पदनाम दिन नसकेको बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत समायोजन भएका ३७८ जना कर्मचारीहरुको पदस्थापन नगरीकन आयोजना र परियोजनामा काममा खटाउने गरेको जानकारी दिए । ऐनले दिएको अधिकार प्रयोग गर्दै हरेक ठाउँका माथिल्ला पदहरुमा अवकाश, राजीनामा वा अन्य कारणबाट रिक्त रहेका पदमा वृद्धि विकासको बाटो सुचारु हुनुपर्ने बताए । छिटो भन्दा छिटो आफूहरुको अधिकार प्राप्त हुनुपर्ने बताए । आफूहरूको पद दर्ता नभइकन आन्दोलन नरोक्ने चेतावनी दिए । कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सरकारले समायोजन हुन प्राथमिकताका आधारमा निवेदन दिने व्यवस्था थियो । सोहीअनुसार कृषि सेवाका सबै कर्मचारीहरूले आवेदन दिएका थिए । निवेदन नदिएको कारण समायोजनमा बाधा नपर्ने भएकोले निवेदन नदिएको वा जहाँ रोजेको भए पनि नियमानुसार समायोजन भएको थियो । समायोजन गर्दा कर्मचारीले अनलाइन प्रणालीमा प्राथमिकता तय गर्नसक्ने प्रावधान रहेको र सोहीअनुरुप कृषि क्षेत्रका समूहहरूले पनि प्राथमिकता राखी समायोजन भएको थियो ।  

तल्लो सेती जलविद्युत आयोजनाका लागि ५ सय रोपनी क्षेत्रफल अधिग्रहण

तनहुँ । तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाका लागि ५ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जलविद्युत आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नं १ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरनी गाउँपालिका–५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा नं २९ प्रभावित हुने बताइएको छ । बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक दुई सय १३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र दुई सय मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए । नेपाल विद्युत प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना सुरु गरेको हो । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए । करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए । देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उनले जानकारी दिए । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

धरान । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा ४० लाख १४ हजार ७ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जंगल सफारी, परापर्यटक, वनपैदावार, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार ७ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले ३९ लाख ९४ हजार ४ सय ८ रुपैयाँ राजस्व संकलन गरेको थियो । हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका पर्यटकले ७ सय ५० अन्य देशका आगन्तुकले १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ । आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैंडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

टीआरसीमा कार्यदलको सहमति जुट्यो, पीडकमाथि २५ प्रतिशत सजाय मागदाबी

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको छ । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको स्रोतले बताएको छ । विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा सहमति भएको उनले बताए । सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने उनको भनाइ छ । बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा थिए । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए ।

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनान समेत हेर्ने दूतावासले नेपालीलाई सहायताका निम्ती नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा उल्लेख छ । इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हानिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि तनाब बढेको छ । सम्पर्कका लागि : कायरो इमेल– [email protected] सम्पर्क व्यक्ति– दीपक घिमिरे, द्वीतिय सचिव फोन नं. ±201097772348 -WhatsApp_ माधवराज काफ्ले, तृतीय सचिव फोन नं. +201002505997 -WhatsApp_ बेरुत इमेल– [email protected]

निर्माण उद्योगका समस्याबारे गृहमन्त्री लेखक र कानुनमन्त्री चौरसियालाई ब्रिफिङ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई भिन्दाभिन्दै भेट गरी निर्माण उद्योगमा देखिएका विविध समस्या बारे जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको व्यवसायी प्रतिनिधिमण्डलले बुधबार गृहमन्त्री लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री चौरसियालाई भेटेर निर्माण उद्योगमा रहेका विविध समस्या बारे जानकारी गराएको हो । गृहमन्त्री लेखकसमक्ष महासंघले निर्माण व्यवसायीहरू र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादतीलगायतका विषयमा ध्यानाकर्षण गराएको छ । व्यवसायीका गुनासो र समस्या सुनेपछि गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्ष आ–आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताए । यसैगरी, महासंघले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री चौरसियासमक्ष केही नेपाल ऐन संशोधनलगायत पूर्ण निर्माण उद्योगमैत्री ऐन कानुनका लागि अनुरोध गरेको छ । व्यवसायीका कुरा सुनेपछि कानुनमन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलले मन्त्रीद्वयको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको जनाएको छ ।

दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियुक्त गरेको छ । पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ । गाडि बुकिङ गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराइने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपियाँ तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपियाँ तोकेको छ । हिमालय अर्गनाईजेशन अन्तरगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढी समयदेखि यस अर्गनाईजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहँदै आएको छ । यो समूहका अध्यक्ष ध्रुव थापा हुन् ।

झापामा १ हजार ११० उद्योग दर्ता, २ करोड ६८ लाख राजस्व संकलन

फाइल फोटो भद्रपुर । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार १ सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ ४ सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २ सय ८८ उद्योग खारेज हुँदा १ हजार ७ सय ८ उद्योगले नवीकरण गरेका छन् । गत आवमा २ सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी ३ अर्ब २८ करोड रुपैयाँले बढेको थियो । वाणिज्यतर्फ २ सय ७८ फर्मले पुँजी वृद्धि गर्दा ५ अर्ब १ करोड १० लाख ५० हजार भएको छ । उक्त कार्यालयले गत आवमा २ करोड ६८ लाख ९० हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७९/८० मा १ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको थियो ।