हाईलाइफको २० लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका सेयरधनीहरूले २ः१ अनुपात अर्थात् २ कित्ता सेयर हुने सेयरधनीले १ कित्ता सेयरका लागि आवेद दिन पाउनेछन् । कम्पनीको भदौ ११ गते सम्पन्न विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । भदौ १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छकु सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित, साढे १ अर्ब मुआब्जा वितरण गरिने
काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ’, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने । प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.०४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
त्यसपछि सुरु भयो हिमाली अल्लो तथा सुती कपडा उद्योग…
काठमाडौं । सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन् । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले चितवन आउने निधो गरेका हुन् । मनकलाले भनिन्, ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रणा गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।’ सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थिन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल भएकि छिन् । उनले सुनाइन्, ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।’ पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे । सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।’ अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ । कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । मनकलाले भनिन्, ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।’ कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउँछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् । देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाए ‘सबै योजना उनकै (मनकला) हो ।’ उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छन् भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन् । चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । देवेन्द्रले भने, ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।’ ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।
अत्यधिक रक्तश्राव भएपछि दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काठमाडौं । दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिए । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । ‘अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो,’ उनले भने । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
१५ करोडको खुदो निर्यात
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा ९ हजार ७४१.६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म ३ हजार ५५५.६ मेट्रिक टन अर्थात् ५ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो । भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन् । उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्नेछ । आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।
घट्यो विदेशी मुद्राको मूल्य
काठमाडौं । आइतबार विदेशी मुद्राको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज अधिकांश विदेशी मुलुकको मुद्राको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.०६ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.३५ रुपैयाँ र बिक्रीदर ९९.८० रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोको ५ दिनमा स्काइवेलका ९९ गाडी बुुकिङ, केक काटेर ‘सेलिब्रेट’
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो । मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए । स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए । हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ । जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ । स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो । नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य सस्तियो, अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य ३७ डलर घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।