विकासन्युज

हवाई टिकट र ट्रेकिङमा लगाइएको भ्याट तत्काल फिर्ता गर्न माग

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न माग गरेको छ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नव नियुक्त भएका दीपकराज जोशीलाई भेट्द पर्यटन व्यवसायी संगठनले यस्तो माग गरेको हो । संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा र महासचिव यमबहादुर खड्काले संयुक्त रूपमा माग राख्दै पर्यटन बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न मुद्दाहरू यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेका हुन् । साथै संगठनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका दीपकराज जोशीलाई बधाई दिएको छ । यस्ता छन् संगठनले कार्यान्वयन गर्न माग गरेका बुँदाहरू: – २०८१/८२ को नेपाल पर्यटन बोर्डको बजेट तत्काल पास गरी कार्यान्वयनमा लैजानुपर्ने  – विश्व प्रशिद्ध पर्यटन मेलाहरू वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) आईटीबीलगायतमा नेपाल पर्यटन बोर्ड मार्फत निजी क्षेत्रको सहभागिता तत्काल सुनिश्चित गर्नुपर्ने – निजी क्षेत्रको सहभागितामा नयाँ पर्यटन बजारहरू पहिचान गरी तत्काल प्रवर्धात्मक कार्यक्रमहरू आयोजना गरिनुपर्ने – हवाई टिकटमा लगाइएको भ्याट र ट्रेकिङमा लगाइएको भ्याट तत्काल फिर्ता लिन सरकारसँग संवाद गर्नुपर्ने – टीआईएमएसको उद्देश्यअनुरूप कार्यान्यन गरी एफआईटी ट्रेकर्सलाई रोक्नुपर्ने, जसका लागि तत्काल पर्यटनहरू पदमार्ग प्रवेश गर्ने द्वारहरूमा चेकपोस्टहरू स्थापना गर्नुपर्ने – बिना गाइड ट्रेकिङ गर्न नपाईने नियम तत्काल लागू गर्नुपर्ने – विश्व बजारका सञ्चारमाध्यमहरूमा नेपालको प्रचार गर्नुपर्ने – टीआईएमएस कोषमा जम्मा भएको श्रमिक कल्याणकारी कोषको रकम ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मार्फत तत्काल कार्यान्यनमा ल्याउनुपर्ने – नेपाल एयरलाइन्सको सुधारको लागि नेपाल पर्यटन बाेर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्ने

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर । काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले बुधबार उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मंगलबार जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए । परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ । याे पनि पढ्नूहाेस् : पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

माइक्रोसफ्टले भारतमा किन किन्यो सवा ५ अर्बको जग्गा ?

काठमाडौं । विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी माइक्रोसफ्टले भारतमा जग्गा खरिद गरेको छ । स्क्वायर यार्ड्सका अनुसार कम्पनीले हिञ्जवडी, पुणेमा ५ अर्ब १९ करोड ७२ लाख भारुमा जग्गा खरिद गरेको हो । पुणे देशको प्रमुख आईटी हबमा समावेश छ । हालका वर्षहरूमा माइक्रोसफ्टले भारतको व्यावसायिक घरजग्गा क्षेत्रमा लगानी बढाएको छ । कम्पनीको भारतमा धेरै डाटा केन्द्र, विकास केन्द्र र कार्यालय छन् । माइक्रोसफ्ट विश्व प्रसिद्ध प्रविधि कम्पनी हो । यो एप्पलपछि संसारको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । मंगलबारको बन्द मूल्यमा कम्पनीको मार्केट क्याप ३० खर्ब ७ अर्ब ८० करोड डलर छ । रजिस्ट्रेसन डकुमेन्टका अनुसार माइक्रोसफ्टको भारतीय इकाई माइक्रोसफ्ट कर्पोरेसन (इन्डिया) प्राइभेट लिमिटेडले हिञ्जवडी, पुणेमा ६६ हजार ४ सय १४ वर्गमिटर अर्थात् १६.४ एकड जग्गा खरिद गरेको छ । यो सम्झौता अगस्टमा भएको थियो । कम्पनीले यो जग्गा इन्डो ग्लोबल इन्फोटेक सिटी एलएलपीबाट खरिद गरेको हो । यस सम्झौतामा माइक्रोसफ्टले ३१ करोड १८ लाख रुपैयाँको स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेको थियो । कम्पनीले सन् २०२२ मा ३२ अर्ब ८० करोड रुपैयाँमा पिम्परी-चिंचवडमा २५ एकड जग्गा खरिद गरेको थियो । यो वर्ष उसले हैदरावादमा ४८ एकड जमिनका लागि २६ करोड ७० लाख तिरेको थियो । माइक्रोसफ्टले भारतमा आफ्नो व्यवसाय विस्तार गर्दैछ । विशेष गरी डाटा सेन्टर सञ्चालन र जग्गा किन्नु यसको योजनाको हिस्सा हो । कम्पनीले पुणे, मुम्बई र चेन्नईमा डाटा सेन्टरहरू निर्माण गरिसकेको छ । हाल कम्पनीको भारतमा २३ हजारभन्दा बढी कर्मचारी छन् । कम्पनीको बेंगलुरु, चेन्नई, हैदराबाद, मुम्बई र पुणेमा कार्यालयहरू छन् । यस वर्षको सुरुमा कम्पनीले भारतमा एक ‘स्किलिङ इनिसिएटिभ’ अभियान सुरु गर्यो । यसअन्तर्गत सन् २०२५ सम्ममा २० लाख मानिसलाई एआई र डिजिटल सिपमा तालिम दिने योजना छ । एजेन्सी

बिहीबार साँझदेखि शनिबारसम्म मनसुन सक्रिय हुने सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताए । उनले मौसमको यस्तोस्थिति  तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिए । ‘उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।’ महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ जारी विशेष बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।’ बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा  अनुरोध गरको छ ।

काठमाडौंमा १०० प्लस पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु 

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै सयभन्दा धेरै बुकिङ लिएर बिक्री सुरु भएको  सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जानकारी दिए । उनका अनुसार पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपाेजिट मेशिन)  सञ्चालनमा ल्याएको हाे । मेशिनकाे सञ्चालन भएसँगै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउने विश्वास लिएकाे छ । नयाँ जडान गरिएको मेशिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ । हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक शुरु भएको छ । आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे। अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ । झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनु पर्छ । विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, गर्न मिल्दैन ।’ सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उनकाे भनाइ छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए । साथै उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।