एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद खुला
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद-पुनर्खरिद खुला राखेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजना नियमित खरिद-पुर्नखरिदका लागि खुला गर्नुपर्ने प्रावधानअनुसार मंसिर १५ गतेदेखि नियमित कारोबारका लागि खुला गरिएको जनाएको हो । हालका लागि इकाइ खरिद तथा पुर्नखरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय ट्रेड टावर नेपाल, थापाथली-काठमाडौंबाट गर्न सकिने व्यवस्था मिलाइएको छ । क्यापिटलका अनुसार निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल तथा डिजिटल भुक्तानी माध्यममार्फत पनि इकाइ खरिद-पुनर्खरिद गर्न सकिनेछ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित 'एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम' कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो । नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डहरूमध्ये पहिलो पटक मिनी एसआईपी (५ सय रुपैयाँ) तथा एसटीपी (सिस्टेमाटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू यस योजनामा समावेश गरिएको क्यापिटलले जनाएको छ । योजनामा संकलित रकममध्ये अधिकांश हिस्सा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका सेयरमा लगानी गरिनेछ । भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूको छनोट गरी लगानी गर्ने लक्ष्य यस इक्विटी-ओरिएन्टेड फन्डको रहेको छ । योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताबाट ७४ लाख १७ हजार इकाई बराबरको आवेदन प्राप्त भएको थियो, जुन कुल मागको १.४८ गुणा बढी हो । योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।
कांग्रेसले टुंग्यायो महाधिवेशनको मिति, देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थपियो
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको मिति टुंग्याएको छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने भएको हो । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशन मिति सर्वसम्मत रूपमा तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय समितिको छलफलपछि तीनदिने महाधिवेशन औपचारिक रूपमा घोषणा गरिएको हो । प्रवक्ता महतका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीभित्रको तयारी र आगामी योजनालाई ध्यानमा राख्दै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरिएको हो । महाधिवेशन तयारीका अन्य विषयमा भने थप निर्णय क्रमशः गरिने नेपाली कांग्रेसले जनाएको छ ।
लोन प्रोडक्टमा गभर्नर पौडेल असन्तुष्ट, उद्योगी, व्यवसायीसँग छलफल गरेर डिजाइन गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘लोन प्याकेज’मा पुनरावलोकन गर्ने निर्देशन दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए । उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरुले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने गभर्नर पौडेलले बताए । हाल बैंकहरुले सञ्चालन गरिरहेका लोन प्याकेजहरू त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन नसकेको र बैंकमा पैसा थ्रुपिएको उनको भनाइ छ । साथै, बैंकहरुका प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत उनले बताए । ‘बैंकको फाइनान्सियल प्रोडक्टहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइन भइरहेको छ, त्यो डिजाइनहरू उहाँहरूको आवश्यकता अनुकूलको भएर आएको छैन । लोकल विजनेशम्यानहरुलाई फोकस गरेर फाइनान्सियल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु,’ गभर्नर पौडेलले भने । उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए । राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने अवस्था आउन नदिने उनको भनाइ छ । राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए । त्यसले बैंकहरुले व्यवसाय बढेर नाफा वृद्धि हुने उनको भनाइ छ ।
नेपाल लाइफले गर्यो भौतिक पूर्वाधार पुन:निर्माण कोषमा १ करोड ५० लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार (आज )अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे । गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुन:निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि उक्त सहयोग प्रदान गरिएको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक समितिका संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुन:निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । अर्थमन्त्री खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद दिए ।
नेप्से ४.२८ अंकले घट्यो, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर दुई हजार ६४५.२४ को विन्दुमा कायम भएको हो । सोमबार ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता सेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा विकास बैंक ०.२६, वित्त ०.९१, जलविद्युत् ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त ०.६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, म्युचुअल फन्ड ०.१७, व्यापार ०.१० र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ । सोमबारको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र झापा इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको २७ करोड १० लाख तीन हजार १८० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा भुसाल
काठमाडौं । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पार्टीका नेता घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको घोषणा गरेका छन् । जोशीले सोमबार पत्रकार सम्मेलनमार्फत आफूले भुसाललाई कार्यवाहक अध्यक्षका रूपमा काम गर्न लिखित जिम्मेवारी हस्तान्तरण गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा जिम्मेवारी हस्तान्तरण गर्दै जोशीले भने, ‘पार्टीको आगामी सञ्चालन, पुनर्गठन प्रक्रिया र समन्वयलाई प्रभावकारी बनाउन भुसाललाई कार्यवाहक अध्यक्षको भूमिका दिइएको छ ।’ यसअघि नेकपा एकीकृत समाजवादीबाट अलग भएर सुरु भएको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राख्ने र संयुक्तकै निर्वाचन चिन्ह हँसिया प्रयोग गर्ने सहमति जोशी र भुसालबीच भएको थियो । भुसाल कार्यवाहक अध्यक्ष बनेसँगै पार्टीमा पुनर्संरचना र नेतृत्व संयोजन प्रक्रियालाई थप गति मिल्ने अध्यक्ष जोशीले विश्वास लिएको जोशीले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, पुस अन्तिम सातामा महाधिवेशन गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा पुस अन्तिम सातामा पार्टीको १५औं महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका पेस गर्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ । नेताहरूका अनुसार प्रस्तावित कार्यतालिकाबारे शीर्ष र प्रभावशाली नेताहरूबीच सहमति बनेको छ । महाधिवेशनको मितिलाई लिएर यतिबेला पार्टीभित्र देखिएको मतभिन्नता घट्दै गएसँगै आजको बैठक सुरु भएको हो । प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत अब पुसमै महाधिवेशन गर्न तयार भएपछि समायोजन गरिएको मध्यमार्गी प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने तयारी गरिएको हो । यसअघि मंसिर ६ गतेदेखि लगातार कांग्रेसका बैठकहरू पटक–पटक सारिँदै आएको थियो । केन्द्रीय कार्यसमितिको आजको बैठकले महाधिवेशनको टुंगोसहितको कार्यतालिका पेस गर्ने र आवश्यक प्रक्रियाहरू अघि बढाउने अपेक्षा गरिएको छ ।
एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सञ्चालनका लागि समझदारी
काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय भुक्तानी प्रणाली (एनसीएचएल) बीच नेपालपे कार्डको सेवा विस्तार तथा प्रवर्द्धनका लागि समझदारी भएको छ । सम्झौतापछि एनआईसी एशिया बैंकले नेपालपे कार्ड सेवालाई अझ प्रभावकारी रूपमा ग्राहकसम्म पुर्याउने भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले एनसीएचएलद्वारा सञ्चालित राष्ट्रिय कार्ड स्विच (एनपीएस–एनसीएस) मार्फत घरेलु कार्ड योजनाअन्तर्गत नेपालपे कार्डको निरन्तर सेवा प्रदान गर्नेछ । यसले देशभरका एटीएम, पोस, मोबाइल तथा अन्य भुक्तानी प्रणालीमार्फत डिजिटल कारोबारलाई सहज बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ । नेपालपे कार्डमार्फत कार्डधारकले देशभित्रका विभिन्न सेवा प्रदायक, व्यापारी, एटीएम तथा पोस नेटवर्कबाट सरल र सुरक्षित डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत र प्रभावकारी बनाउँदै राष्ट्रव्यापी नगदविहीन कारोबार प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । समझदारीपछि दुवै संस्थाले राष्ट्रिय भुक्तानी स्विचको दायरा विस्तार गर्दै ग्राहकमैत्री र सुरक्षित भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।