२ खर्बको एनआरबि बण्ड जारी हुँदै, लाइसेन्स राजबाट वाक्क छन् गभर्नर
काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाहरूले स्ट्याण्डिङ डिपोजिट फेसिलिटि (एसडीएफ) मार्फत साढे ८ सय अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । अबको एक/दुई महिना धेरै खर्च हुने देखिँदैन । त्यो रकम बढेर राष्ट्र बैंकमा १ हजार अर्ब रुपैयाँ पुग्ने देखिन्छ,’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भने । गभर्नर पौडेलका अनुसार २.७५ प्रतिशत ब्याजदरका हिसाबले राष्ट्र बैंकले २७ अर्ब रुपैयाँ बैंकको निक्षेपको ब्याज तिर्नु परेको छ । यदि राष्ट्र बैंकले ब्याजदरको करिडोर छोड्यो भने १ प्रतिशतमा झर्ने देखिन्छ । माथि राख्नका लागि पनि राष्ट्र बैंकले लागत बढी तिरिरहेको छ । गभर्नर पौडेलले बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकमको समाधान गर्न कर्जाको माग बढाउनु नै मूल विकल्प हो । तर, कर्जाको माग बढ्ने गरी लगानीका क्षेत्रहरू खुला नरहेको उनले सुनाए । बैंकिङ क्षेत्रमा थुप्रिएको लगानीयोग्य रकम परिचालन गर्न लगानीका ढोका खुला गर्नुपर्ने उनको भनाइ छ । ‘२०५०/६० को दशकमा लगानीका लगभग सबै क्षेत्र खुला थिए । विद्यालय, अस्पताल, टेलिकम, एयरलाइन्स, बैंक, बीमा, फाइनान्स खोल्न पाइन्थ्यो । हाइड्रोको पीपीए सुरु गरेका थियौं । त्यसैले कर्जाको माग पनि उच्च थियो । अहिले त केही पनि खोल्न पाउँदैन,’ गभर्नर डा. पौडेलले भने, ‘सबैतिर लाइसेन्स राज छ । एउटा लाइसेन्स पर्मिट निकाल्नका लागि १० तिर गएर हात जोड्नु पर्ने हो भने मान्छेले कहाँ लगानी गर्छन् ? जबकि महिनामा १ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको छ ।’ लगानीको वातावरण नभएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न एनआरबि बण्ड अर्थात् ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार एनआरबि बण्ड नयाँ उपकरण होइन । तर, अन्तिम अवस्था मात्रै एनआरबि बण्ड जारी गरेर तरलता व्यवस्थापन गर्ने गरेको उनले बताए । ‘एनआरबि बण्ड नयाँ उपकरण होइन । पहिलोपटक हामीले २०४८ सालमा निकालेका थियौं । त्यसपछि हामीले २०७२ सालमा पनि एनआरबि बण्ड जारी गरेका थियौं,’ उनले भने, ‘अहिले तरलता अधिक रहेको हुँदा तेस्रो पटक जारी गर्न लागेका हौं ।’ तरलता व्यवस्थापन गर्न नेपाल सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र जस्ता विभिन्न उपकरण जारी गर्छ । तर, कहिलेकाहीं ती उपकरणले मात्रै समस्याको समाधान नहुने देखिएपछि राष्ट्र बैंकले बण्ड अर्थात् ऋण पत्र जारी गरेर तरलता व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकका ती अधिकारीले बताए । ‘अहिले पनि तरलता व्यवस्थापनका लागि सरकारका धेरै उपकरणहरु छैनन् । छन् तर थोरै मात्रै १०/१२ अर्बका ट्रेजरी बिल र विकास ऋणपत्र । त्यसले बजारमा अर्थपूर्ण रुपमा तरलता व्यवस्थापन गर्न सक्दैन । त्यो अवस्थामा राष्ट्र बैंकले ऋणपत्र जारी गर्न लागेको हो,’ उनले भने, ‘सञ्चालक समितिको स्वीकृतिका लागि प्रक्रियामा छ । एनआरबि बण्डको अवधि एक वर्षको रहनेछ ।’ उनका अनुसार २ खर्ब रुपैयाँ भन्दा बढीको तरलता खिच्ने गरी बण्ड जारी गर्ने तयारी रहेको छ । एनआरबि बण्ड जारी गरेपछि ब्याजदर स्थिरतामा कायम गर्न सहज हुने उनले बताए । ‘२ खर्ब रुपैयाँदेखि साढे २ खर्ब रुपैयाँ हाराहारीमा एनआरबि बण्डबाट जारी गर्ने योजना छ । तर, सञ्चालक समितिले थपघट गरेर पनि स्वीकृति दिन सक्छ,’ उनले भने, ‘बण्ड जारी गरेर बजारमा तरलता व्यवस्थापन हुने विश्वास छ । यो पुरै नयाँ उपकरण भने होइन । तर, कहिलेकाहीँ प्रचलनमा आउने उपकरण हो ।’ एनआरबि बण्डा क्रमिक रुपमा निष्काशन गरिनेछ । उनका अनुसार प्रमाणपत्रमा मात्रै एनआरबि बण्ड भनेर दिने हो, प्रक्रिया अन्य ऋणपत्र जस्तै हो । एनआरबि बण्ड जारी गरेर खिचेको रकम राष्ट्र बैंकमै रहने छ । यदि लगानी गर्यो भने त्यो रकम फेरि बजारमै जाने छ । उनका अनुसार एनआरबि बण्डका ब्याजदर निर्धारणका लागि दुई वटा विधि हुने छन् । जस्तै उदाहरणका लागि ५० अर्ब रुपैयाँको बण्ड जारी गर्दैछ भने बिडिङ प्रक्रियामा अन्तिममा २.८१ प्रतिशत ब्याजदर आयो भने सोही ब्याजदर लागू हुन्छ । तर, एनआरबि बण्डमा भने सबैभन्दा कम ब्याजदर छ भने पनि सोही ब्याजदर दिइने तयारी छ । ‘यदि कसैले कम ब्याजदर माग्छन् भने कम दरमै बिड एसेप्ट गर्छाैं । त्यसलाई लागू गर्न नीतिगत व्यवस्था हुनुपर्छ । कानुनी व्यवस्थाका लागि प्रक्रिया अघि बढिसकेको छ । अब प्राविधिकतर्फ राष्ट्र बैंकको सफ्टेवयर सच्याउन भेण्डरसँग छलफल गर्न सम्पत्ति तथा सेवा विभाग र आईटी विभागलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘यसले कस्ट इफेक्टिभ पनि हुने, बजारमा तरलताको प्रशोचन भएर बाञ्छितस्तरमा तरलता रहने र ब्याजदर स्थायित्व कायम रहन्छ ।’
मुलुकमा लगानीमैत्री नीतिको अभावमा युवाहरू विदेशिनु पर्यो : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभाव रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले लगानीमैत्री नीतिको अभावमा मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसकेको बताएका हुन् । उनकाअनुसार आर्थिक नीति लगानीमैत्री हुन नसक्दा देशभित्रै रोजगारीको अवसर सिर्जना गराउन अप्ठ्यारो परेको बताए । प्रतिदिन २५ सय युवाहरू स्वदेशमै रोजगारी नहुँदा विदेशिनु परेको बताउँदै सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने जानकारी दिए । अध्यक्ष अग्रवालले भने– ‘अपार प्राकृतिक स्रोतहरूले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिको अभावले देशले आर्थिक समृद्धि हासिल गर्नु त परै जाओस्, आफ्ना युवा जनशक्तिका लागि रोजगारी सिर्जना गर्न समेत सकेको छैन । प्रतिदिन २५ सय युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिनुपरेको छ । यही नै युवाहरुमा देखिएको असन्तुष्टीको कारण हो ।’ लगानीमैत्री वातावरणको लागि पहिलो आवश्यकता सुरक्षा नै रहेको उनले बताए । अग्रवालका अनुसार लगानीकर्ताको मनोबल उकास्न सरकारले लगानी सुरक्षण सम्बन्धी नीति ल्याउनुपर्छ ।
जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेन : सहकारी पीडित
काठमाडौं । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा सहभागी बनेपामा रहेको पशुपति सहकारी पीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । उनले छोराछोरी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको जानकारी दिए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ । सरकारले पटक–पटक वार्ता गरे पनि आफुहरूको माग पूरा नगरेको बताए । कतिपय सहकारी पीडितहरू डिप्रेसनको शिकार समेत बनेको भनाइ छ । सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्न सक्ने बताए । आफू पनि डिप्रेसनको शिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए । उनले जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरूको माग पूरा नपारेको जानकारी दिए । प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ’, ‘सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?’ लगायतका नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
काठमाडौं । बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ । विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएका हुन् । यसै मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको छ र अदालतले उनलाई परियोजनामा प्रमुख संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ । यस प्रकरणमा अन्य १४ जना पनि संलग्न रहेको बताइएको छ । बेलायतको संसद्मा लन्डनका ह्याम्पस्टेड तथा हाईगेट क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकले यी सबै आरोपहरू यसअघि नै अस्वीकार गर्दै यसलाई बनावटी आरोपमा आधारित राजनीतिक प्रतिशोध बताउँदै आएका थिए । ठूलीआमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उनले जनवरीमा मन्त्री पदबाट राजीनामा दिएका थिए । पूर्व प्रधानमन्त्री हसिनालाई गत वर्ष जनविद्रोह दमनका क्रममा संलग्न मानवता विरुद्धका अपराधका लागि नोभेम्बरमा मृत्युदण्ड सुनाइएको छ र उनी भारतमा निर्वासनमा बसिरहेका छन् । उनी माथिका सबै मुद्दा अनुपस्थितमै चलाइएका हुन् । सोमबारको फैसलामा हसिना, रेहाना र अन्य अभियुक्तहरूले आफूहरूको प्रतिनिधित्वका लागि कुनै प्रतिरक्षा वकिल खटाएका थिए । रेहानासमेत विदेशमै बसिरहेकी छन् भने सिद्दिकका दुई दाजुभाइ र बहिनी पनि गत वर्षको विद्रोहसम्बन्धी अन्य आरोपका कारण विदेशमै छन् । त्यसैगरी, सोही टाउनसिप परियोजनासँग सम्बन्धित तीनवटा छुट्टै मुद्दामा ढाकाकै अर्को अदालतले नोभेम्बर २७ मा हसिनालाई २१ वर्षको जेल सजाय सुनाइसकेको छ । उक्त फैसलामा उनका छोरा र छोरीलाई समेत पाँच–पाँच वर्षको जेल सजाय तोकिएको छ । रासस
चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, कसले कति कमाए ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (कात्तिक महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले ६२ अर्ब माथिको व्यवसाय आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले कार्त्तिक महिनामा मात्रै ३ लाख १८ हजार ४०६ वटा बिमा पोलिसी जारी गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कार्त्तिक मसान्तसम्ममा सबैभन्दा व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले चार महिनाको अवधिमा १७ लाख ९ हजार ५२० पोलिसी बिक्री गरी १७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा नेशनल लाइफले १३ लाख ५३ हजार १८ पोलिसी बिक्री गरेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ कर्पोरेशन (एलआइसी नेपाल) ले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कार्त्तिक मसान्तसम्ममा हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिका आजै प्रस्तुत हुने
काठमाडौं । नेपाली कांग्रेसको सोमबार (आज) दिउँसो बस्ने केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा अनौपचारिक पदाधिकारी बैठक सुरु भएको हो । पार्टीभित्र चलिरहेको आगामी महाधिवेशनको तयारी र समय निर्धारणसम्बन्धी अन्तिम छलफलका लागि पदाधिकारीको बैठक आयोजना गरिएको बताइएको छ । बैठकमार्फत केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेन्डा र प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी भएको स्रोतले जनाएको छ । यसअघि लामो समयदेखि पार्टीभित्र महाधिवेशन मिति निर्धारणका विषयमा रस्साकस्सी चल्दै आएको थियो । अन्ततः शीर्ष नेतृत्वबीच पछिल्ला दिनमा भएको छलफलपछि पुस महिनाभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ । आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा यही सहमतिको आधारमा महाधिवेशनको कार्यतालिका र तयारीका खाका औपचारिक रूपमा प्रस्तुत गरिने कांग्रेस नेतृत्वले जनाएको छ । संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन
सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पत्ति सिर्जना गरे पनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ । विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ । उनले भने, ‘मुलुकमा जो सुकैले सम्पत्ति सिर्जना गरे पनि कसैले हाइड्रोपावर बनायो, कसैले डिपार्टमेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो कि विदेशीले लगानी गरेको भन्ने कुरा कतिपनि मतलब राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौँ ।’ उनले सही सूचना प्रवाह नहुँदा पनि आपराधिक गतिविधिहरू बढ्ने गरेको बताए । सूचनाको गम्भीरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।
महानगरका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।