विकासन्युज

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीको छलफल, उद्धार–राहतमा तीव्रता दिन निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले उच्चस्तरीय आपतकालीन छलफल गरेका छन् । बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूको बैठक बोलाएका हुन् । बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्प व्यवस्थित, सफा र सुरक्षित हुनुपर्नेमा विशेष जोड दिएका छन् । क्याम्पमा बस्ने नागरिकको व्यक्तिगत गोपनीयता कायम गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई सम्मान, सुरक्षा र विशेष प्राथमिकतासहित व्यवस्थापन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित काम गर्न भनिएको छ । प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यी हुन् सचिवस्तरीय निर्णयहरू :

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

काठमाडौं । म्याक्सस नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले चीनको एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने निर्णय गरेको हो । भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ । घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ । उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा उपयोग गरिने कम्पनीले जनाएको छ । बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । तत्काल सहयोग आवश्यक पर्ने र सबैभन्दा बढी प्रभावित क्षेत्र पहिचान गरी राहत सामग्री वितरण गर्ने योजना रहेको छ । प्रत्यक्ष राहत वितरणका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र र आवश्यक सामग्री पहिचान गरिने कम्पनीले जनाएको छ । राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा कार्यान्वयनको समयतालिका भने छलफल तथा समन्वयकै क्रममा रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक तयारी र समन्वय पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । म्याक्सस नेपालले यो पहललाई नेपाल र नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीकका रूपमा लिएको जनाएको छ । विपद्को समयमा देश र समुदायसँग उभिनु सामाजिक उत्तरदायित्वको हिस्सा भएको कम्पनीको भनाइ छ । म्याक्सस नेपाल नेपालका लागि एसएआईसी म्याक्सस सवारीसाधनको आधिकारिक वितरक हो ।

बाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफले ५१ लाख दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ । भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ बेपत्ता भएका छन् । बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन् । विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि भइरहेको सरकारी तथा स्थानीय प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले सम्मान तथा आभारसमेत व्यक्त गरेको छ ।

ज्यान बाजी राखेर उद्धारमा खटिने सुरक्षाकर्मीलाई सरकारले खाजा खर्च र भत्ता बढाउने

काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो ।  सरकारले विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो ।  विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो ।  प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरुले तालुकदार मन्त्रालयमा लेखिपठाउनु पर्ने छ र सम्बन्धित मन्त्रालयहरुले यसबारे निर्णय गर्नेछन् । 

शवको कानबाट सुनको मुन्द्रा थुत्‍ने दुई जना पक्राउ

काठमाडौं । बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुट्ने दुई जना पक्राउ परेका छन् । बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका– १ घर भई हाल भरतपुर महानगरपालिका– १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका– ५ चाँदबेला घर भई भरतपुर– २ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् । दुवै जनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए ।  दुई जनाले रसुवाबाट बगाएर ल्याएको शवको सुन निकालेका थिए ।

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।  

रसुवा बाढीपीडितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाले भदौ १० गते रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महानगरपालिकाले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरपालिकाको तर्फबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन आफू तत्पर रहेको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । विपद्सम्बन्धी समन्वय तथा सहयोगका लागि महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्कीलाई ९८६०२०५१२० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

भोटेकोशीमा ताल बन्यो, फुट्ने जोखिम हुँदा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा  ताल बनेको छ । फुटेको नदी थुनिएर ताल बनेको  फुट्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन चीनले नेपाललाई आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएपछि ताल बनेको र उक्त तालको आकार बढ्दै गएको सूचनामा उल्लेख गरिएको छ।  यस अवस्थालाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायको सूचना पालना गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।