अर्बौं खर्च गरेर मधेसको दलित बस्ती बनाउने गगनको वचन
सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् । काठमाडौं ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् । उनले सर्लाही जानुअघि काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए । त्यस्तै, उनले मधेसमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए । साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए । उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए । उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौं पैसा लागोस् । बरु मन्त्रालय काटौं । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’
रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान
लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । कुनै निर्वाचन क्षेत्रमा ५२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । उनले मतदानमा उत्साहजनक सहभागिता देखिएको बताए ।
१ बजेसम्म झापा ५ मा खस्यो ४४ प्रतिशत मत
काठमाडौं । झापामा १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ । झापा क्षेत्र नम्बर १ मा ४४.४ प्रतिशत, झापा २ मा ४४.७९ प्रतिशत, ३ मा ३९.३२ प्रतिशत, ४ मा ३१.४७ प्रतिशत र झापा ५ मा ४४.४१ प्रतिशत मत खसेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए । ‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ,’ उनले भने । झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी आफ्ना नागरिकको उद्धार गर्दै अष्ट्रेलिया
काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइवटा सैन्य विमान तैनाथ गरी नागरिक उद्धारमा तल्लीन रहेको अधिकारीहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ । अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयाेतल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किए पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् । अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह गरेको अधिकारीहरूलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले समेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् । उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए । यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा १ लाख १५ हजार नागरिक रहेको बताएको छ । न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार मध्यपूर्वमा दुइवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।
देशभरि खस्यो ४४ लाख बढी मत
काठमाडौं । देशैभरि ४४ लाख मत खसेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको छ । त्यसैगरी, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ३ लाख १२ हजार मत खसेको छ । प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनले उल्लेख गरे ।
झापामा खस्यो ४० प्रतिशत मत
काठमाडौं । बिहीबार मध्यान्ह १ बजेसम्म झापामा ४० प्रतिशत मत खसेको छ । प्रतिनिधि सभाको निर्वाचनमा झापामा सबै क्षेत्रमा निर्वाचन जारी रहेको र ४० प्रतिशत मत खसिसकेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए । ‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ ,’ उनले भने । झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।
सुदूरपश्चिममा अहिलेसम्म ५ लाख ९ हजार मत खस्यो
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दिउँसो १ः३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन् । प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् । सुदुरपश्चिमका ९ वटै शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।
मतदानपछि सुरेन्द्रले भने– निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छ
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् । पाण्डेले यो निर्वाचनलाई भदौ २३–२४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गरे । निर्वाचनको नतिजाबारे विश्लेषण गर्दै पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गरे । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उनको भनाइ छ । पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाए । बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भने दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको आरोप लगाए । अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पाण्डेले धन्यवादसमेत दिए ।