विकासन्युज

ग्लोबल आइएमई क्यापिटलद्वारा बाढीपीडितको उद्धार तथा राहतका लागि १० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति क्यापिटलले दुःख व्यक्त गरेको छ । बाढी तथा पहिरोमा परी ज्यान गुमाउने नागरिकप्रति क्यापिटलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्मा परेका नागरिकको खोज तथा उद्धार, घाइतेहरूको उपचार, प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको क्यापिटलले जनाएको छ । क्यापिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

गोदावरी नगरपालिकाले बाढी पीडितलाई ५० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’  प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ । पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपिल गरेको छ ।

सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले कायम चुक्ता पुँजीबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले जनाएको छ । यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकका अनुसार साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ भने अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशमध्ये अग्राधिकार सेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा र साधारण सेयरधनीका लागि १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा वितरण गरिनेछ । प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारणसभाबाट प्रस्ताव पारित गराई सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ । हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाइड्रोका सयौं कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्रै ६० जना थुनिए

काठमाडौं । बुधबार बिहान तिब्बतबाट आएको बाढीले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर असर परेको छ । बाढीका कारण हालसम्म १५ वटा जलविद्युत तथा सोलार आयोजनाहरू प्रभावित भएका छन् भने ४०० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीले सञ्चालनमा रहेका ९ वटा र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुर्‍याएको हो । यसैगरी, नेपाल विद्युत प्राधिकरणको सोलारमा पनि क्षति पुगेको छ । बाढीले कतिपय आयोजनाका सब-स्टेसनहरूमा क्षति पुर्‍याएको छ भने कतिपय आयोजनाहरू बाढीको जोखिमका कारण बन्द गर्नुपरेको छ । विभिन्न आयोजनाबाट प्राप्त विवरणअनुसार सयौं जना अहिले पनि सम्पर्कबाहिर छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा मात्रै ९४ जना सम्पर्कविहीन भएका छन् । आयोजनामा काम गरिरहेको एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन् । तीमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन् । उनीहरूमध्ये ८ जना आयोजनामा कार्यरत कोरियन नागरिक हुन् । त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको जनाइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबर प्राप्त भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन भएका छन् । टिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा उक्लिएर ज्यान जोगाएको बताइएको छ । उनीहरूसँग समेत अहिलेसम्म सञ्चार सम्पर्क स्थापित हुन नसकेको खबर छ । ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको पावर हाउसमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि सम्पर्कविहीन छन् । उनीहरूसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन । हेलिकप्टर व्यवस्थापन गरी आयोजनास्थलको अवलोकन तथा सम्भावित उद्धारको प्रयास भइरहेको जनाइएको छ । १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना सम्पर्कविहीन भएका छन् । अन्य ५ जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये ३ जना चिनियाँ र २ जना नेपाली नागरिक रहेको बताइएको छ । गाउँमा शरण लिएर बसेकाहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरूको उद्धारका लागि हेलिकप्टर लैजाने तयारी भइरहेको जनाइएको छ । लाङटाङ खोलामा सुरुङभित्रै ६० जना थुनिए २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । बुधबारदेखि सम्पर्कविहीन उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ । उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ । उनीहरूको उद्धारका लागि विकासकर्ता कम्पनीका प्रतिनिधिहरू आयोजनास्थलमा पुगेर प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धारमा कठिनाइ भइरहेको छ । बाढीका कारण रसुवाका जलविद्युत आयोजना क्षेत्रमा उद्धार तथा सञ्चार सम्पर्क स्थापना गर्न चुनौती देखिएको छ । सम्पर्कविहीनहरूको वास्तविक अवस्था यकिन हुन नसक्दा आयोजनामा कार्यरत कर्मचारी, कामदार र उनीहरूका परिवारमा थप चिन्ता बढेको छ । बाढीका कारण विभिन्न आयोजनामा कार्यरत सयौं कर्मचारी र कामदारहरू सम्पर्कविहीन भएका छन् । प्राप्त जानकारीअनुसार लाङटाङ जलविद्युत आयोजनाका मात्रै ६० देखि ७० जना कर्मचारीहरू सम्पर्कविहीन छन् । त्यसैगरी, एउटा निर्माण कम्पनीका करिब १२५ जना र नेपाल विद्युत प्राधिकरण का ३५ देखि ४० जना कर्मचारीहरू पनि सम्पर्क बाहिर रहेका छन् । विद्युत आयोजनाका कर्मचारी मात्र नभई बैंकका प्रतिनिधि र स्थानीय बजारका मानिसहरू पनि ठूलो संख्यामा बेपत्ता भएकोले स्थिति थप भयावह देखिएको छ । कतिपय कामदारहरू सुरङभित्र फसिरहेको र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बुझिएको छ । बाढी केवल पानीको मात्र नभई ढुङ्गा र लेदोसहितको भएकाले आयोजनाका इन्टेक र अन्य संरचनाहरू पुरिएका छन् । ती संरचनाहरू सफा नगरेसम्म भौतिक र आर्थिक क्षतिको यकिन विवरण आउन नसक्ने इप्पानले जनाएको छ ।  क्षतिको पूर्ण विवरण संकलन गर्न अझै एक हप्ता जति लाग्ने अनुमान गरिएको छ । केही आयोजना सुरक्षित बाढीको चपेटाका बीच १०२ मेगावाटको त्रिशूली आयोजनाका संरचनाहरूमा भने खासै क्षति नपुगेको जानकारी इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले दिए । उक्त आयोजनाले बाढीलाई केही हदसम्म नियन्त्रण गरेका कारण तल्लो तटीय क्षेत्रमा हुन सक्ने थप क्षति कम भएको उनको भनाइ छ । हालको प्राथमिकता टनेलमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा रहेको अध्यक्ष डाँगीले बताए ।  यसैबीच इप्पानले आकस्मिक बैठक बोलाएर राहत र उद्धार कार्यलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ ।

गण्डकीका सांसद विन्दु थापाको प्रधानमन्त्री राहत कोषमा ५ लाख

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । ५ लाख रुपैयाँ महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उनले जानकारी दिएका छन्। बुधबार रसुवामा आएको बाढीले देशमै महाविपत्तिको अवस्था सिर्जना भएको थापाले उल्लेख गरेका छन् । उनले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।  घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन्। थापाले निर्वाचित हुनुअघि नै राज्यबाट प्राप्त हुने सेवा–सुविधालाई सामाजिक सेवा तथा नागरिकको हितमा खर्च गर्ने प्रतिबद्धता गरेको स्मरण गराएका छन् ।  सांसदका रूपमा प्राप्त पारिश्रमिक तथा सेवा–सुविधाबाट राष्ट्र र नागरिकका निम्ति खर्च गरिने उनले बताए । उनले मन्त्रीको जिम्मेवारीमा रहँदा तथा हाल प्रदेश सांसदका रूपमा सेवा गरिरहँदा प्राप्त आर्थिक सुविधालाई सामाजिक तथा सार्वजनिक हितका लागि खर्च गर्दै आएको बताएका छन्। यो संकट कुनै दल, विचार वा क्षेत्रविशेषको मात्र नभई सिंगो देशको साझा संकट भएको उल्लेख गर्दै दल, विचार र क्षेत्रभन्दा माथि उठेर विपत्तिको सामना गर्न सबै जना एकजुट हुनुपर्छ,’ सांसद थापाले भनेका छन् ।

बाढीपीडितको सहयोगार्थ सिद्धार्थ क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पु‍र्याउने उद्देश्यले सिद्धार्थ क्यापिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सिद्धार्थ क्यापिटलले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँगको समन्वयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, सिद्धार्थ बैंक लिमिटेडका कर्मचारी, विभिन्न मर्चेन्ट बैंकका कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन तथा बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति सिद्धार्थ क्यापिटलले आभार व्यक्तसमेत गरेको छ । 

पत्रकार थामीको खोजी गर्न परिवारको आग्रह

काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । बुधबार बिहानबाट सम्पर्कमा नरहेको थामीकी श्रीमती पत्रकार कालिका खड्काले जानकारी दिइन् । महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । थामी केरुङबाट तिब्बततिर जाने क्रममा सम्पर्कविहीन बनेका हुन् । कालिका भने राससमा कार्यरत छिन् । उनीहरू दुवै जना लामो समयदेखि पत्रकारीतामा आबद्ध छन् । त्यसैगरी, नुवाकोट विदुर- ७ का पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् । उनीहरूको खोज(उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

गोर्खा ब्रुअरीले बाढीपीडितका लागि दियो १० करोड रुपैयाँ

काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुने सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था गरिएको छ । सोहीअनुसार अर्थमन्त्री वाग्लेले सहयोग रकम बुझ्न थालेका हुन् ।