विकासन्युज

टेस्लाको सेयरमूल्य बढ्यो, एलन मस्कले एकैदिन कमाए ३३.५ अर्ब डलर-

एलाेन मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार ३३.५ अर्ब डलर  (करिब ४५ खर्ब  नेपाली रूपैयाँ) ले बढेको छ । योसँगै मस्कको कुल सम्पत्ति २ सय ७० अर्ब डलर पुगेको छ । मस्कको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको सेयर २२ प्रतिशतले बढेको छ, जुन सन् २०१३ यताको एक दिनमा सबैभन्दा राम्रो प्रदर्शन हो । तेस्रो त्रैमासिकको नतिजापछि कम्पनीको सेयरमूल्य बढेको हाे । यस कम्पनीमा मस्कको १३ प्रतिशत सेयर छ । मस्कको कुल सम्पत्तिमा टेस्लाको हिस्सा करिब तीन चौथाई छ । टेस्लाबाहेक मस्कको स्पेस एक्स, एक्स (पूरानाे ट्वीटर), एआई भेन्चर एक्सएआईमा पनि हिस्सेदारी छ । यस वर्ष मस्कको कुल सम्पत्ति ४१.२ बिलियनले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस २०९ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग (२०१ बिलियन डलर) सहित यो सूचीकाे तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ७२.९ बिलियनले बढेको छ । एनभीडीयाका जेन्सेन हुवाङ यस वर्ष सबैभन्दा बढी कमाइ गर्नेमा सबैभन्दा अगाडि छन् । यस वर्ष उनको कुल सम्पत्ति ७८.६ बिलियनले बढेको छ । उनी १२३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् ।

बजारमा सिटामोल अभाव भएको विषय हल्लामात्र हो: औषधि लिमिटेड

काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौं । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । ‘डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौं । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छाैं । खरिद-बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,’ प्रबन्ध निर्देशक पनेरुले भने । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो । खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ । लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।

खाँदबारी-किमाथांका खण्ड निर्माणले तीव्रता पायो

सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथांका खण्डमा निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथांका सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथांका–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रुपमा मानिन्छ । ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथांका जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए । उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ दशमलव किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथांका सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो ।

नेशनल लघुवित्तको लाभांश घोषणा, १४.२५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हाे । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ र कर प्रयोजनका लागि नगद ०.७५ प्रतिशत रहेको जनाइएकाे छ । उक्त प्रस्ताव पहिला नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ अनि सेयरधनीले पाउनेछन् ।

सगरमाथा जलविद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर दिने, मंसिर १४ गते साधारणासभा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीकाे साधारणसभा आगामी मंसिर १४ गते आह्वान गरिएकाे छ । कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक २५ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

बाढीको क्षतिले साढे ९ अर्बको दाबी, ३० करोड भुक्तानी

काठमाडाैं । असोजको दोस्रो साता गएको बाढी-पहिरोका कारण बीमा कम्पनीहरूमा साढे ९ अर्ब दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ६ गतेसमम बीमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढीको दाबी बीमा कम्पनीहरूमा पेस भएको हो । जसमध्ये बीमा कम्पनीहरूले असोज ६ गतेसम्ममा ३० करोड ३६ लाख रुपैयाँमात्र भुक्तानी दिएका छन् । त्यसमा पनि शिखर इन्स्योरेन्स एक्लैले २१ करोड ५० लाख र बाँकी अन्य निजीवन बीमा कम्पनीहरूले भुक्तानी गरेका छन् । शिखरमा ९८ करोड ८१ लाख रुपैयाँको दाबी पेस भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ भुक्तानी दिएको छ भने हिमालयन एभरेष्टले १ करोड ५५ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । सिद्धार्थ प्रिमियरमा २ अर्ब ६ करोडको दाबी पेस भएको छ भने हिमालयन एभरेष्ट र सगरमाथा लुम्बिनीमा क्रमशः ९७ करोड ३४ लाखर ६६ करोड ८१ लाख रुपैयाँ दाबी पेस भएको छ । हालसम्म ७ कम्पनीले एक रुपैयाँ पनि दाबी भुक्तानी दिएका छैनन् । हालसम्म एक रुपैयाँ पनि दाबी भुक्तानी नदिनेहरूमा नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् । नेकोमा ४६ करोड ५० लाख रुपैयाँको दाबी पेस हुँदा नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख, स्टार मइक्रोमा ३५ लाख, ट्रस्टमा १५ लाख, नेपाल माइक्रोमा ८ लाख र प्रोटेक्टिभमा २ लाख रुपैयाँको दाबी परेको छ ।

२० वर्ष विदेशमा मजदुर गरेका भुसाल भन्छन् : देशमा आनन्दले परिवारसँग काम गर्न पाइन्छ

रामपुर । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेशमा मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका छन् । ‘लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु’, उनले भने । उनले तीन वर्षका लागि वार्षिक ४० हजार रुपैयाँमा जग्गा भाडामा लिएका हुन् । बेमौसमी सागसब्जी उत्पादनलाई जोड र्दिएका उनले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोपेका छन् । व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उनले चार लाख रुपैयाँ आम्दानी गरेको बताए । वार्षिक रूपमा सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ । ‘अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ’, विदेशमा आफूले भोगेको अनुभव उनी सुनाउँछन् । उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उनले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् । उहाँ सागसब्जी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्छन् । रासस

प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँची । यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए । उनले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।