विकासन्युज

ट्रम्पको आदेशले नेपालका ३०० बढी संस्था अलमलमा, डेढ खर्ब बढी अनुदान प्रभावित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोक्ने आदेश दिएसँगै अमेरिकी सहयोग नियोग युएसएआइडीले गैरसरकारी संस्था महासंघ नेपाललाई पत्र पठाएको छ । पत्रमा ९० दिनसम्म यूएसएआईडी अन्तर्गत हुने कुनै पनि गतिविधि नगर्न भनेको छ । गैरसरकारी संस्था महासङ्घले पत्र प्राप्त भएसँगै ९० दिनका लागि तत्काल सबै काम रोकिएको छ । महासंघका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार यूएसएआईडीमार्फत हुने कुनै पनि सभा, गोष्ठी, सामग्री वितरण र खरिदको काम रोक्न भनिएको छ । तर, कुनैपनि कर्मचारीको तलब रोक्ने भन्ने कुरा भने पत्रमा उल्लेख गरिएको छैन । उनले कर्मचारीको तलबको बारेमा केही नभनेकाले पनि निर्णयमा केही हेरफेर भएर कार्यक्रम यथावत सञ्चालन हुने अपेक्षा गरेका छन् । उनी यो निर्णयले नेपालको आर्थिक विकासमात्रै नभइ हरेक क्षेत्रमा प्रभाव पर्ने बताउँछन् । ‘तत्काल ९० दिनसम्मका लागि रोक्न भनेको छ । यसले खासै आत्तिनुपर्ने अवस्था छैन,’ अध्यक्ष सुवेदी भन्छन्, ‘तर त्यसपछि पनि यो निर्णय यथावत रह्यो भने स्वाभाविक रूपमा ठूलो असर पर्छ ।’ यूएसएआईडीअन्तर्गत चलिरहेका २१ कार्यक्रमहरू रोकिएका छन्, जसको लागत १७ करोड ८१ लाख ४० हजार अमेरिकी डलर अर्थात २४ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबर रहेका छन् । गैरसरकारी संस्था महासंघका अनुसार हाल नेपालमा विभिन्न ३ सय बढी संघ संस्थाले यूएसएआईडीको कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । यूएसएआईडीले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, विद्युतलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । जसबाट नेपाली नागरिकले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा ठूलो सहयोग पाइरहेका छन् । यूएसएआईडीले सबैभन्दा ठूलो लगानी नेपालको शिक्षा र स्वास्थ्यमा गरेको छ । उनले कार्यक्रम रोक्यो भने यो क्षेत्रमा ठूलो समस्या आउन सक्ने विज्ञहरू बताउँछन् । शिक्षा, स्वास्थ्य र कृषिमा ठूलाे प्रभाव  यूएसएआईडीले पछिल्लो समय स्थानीय पालिकासँग समन्वय गरेर शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विशेषगरी पहाडी क्षेत्रका बालबालिकालाई प्राथमिकता दिई नेपालभरि नै यो कार्यक्रमले नेपालको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गरिरहेको छ । यसले प्रारम्भिक कक्षाका विद्यार्थीहरू, विशेष गरी सीमान्तकृत समुदायका बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षामा पहुँच बढाउने काम गरिरहेको छ । यसले शिक्षकलाई तालिम, पाठ्यपुस्तक वितरण, शौचालय निर्माण, पुस्तकालय स्थापना, र कक्षाकोठा सुधार जस्ता क्रियाकलापमार्फत शिक्षाको गुणस्तर सुधार गरिरहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका यो कार्यक्रमले गर्दै आएको छ । यसले विशेषगरी मातृ स्वास्थ्य, शिशु स्वास्थ्य, परिवार नियोजन र संक्रामक रोगहरूको रोकथाम केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिले नेपालका सबैजसो स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रममा युएसएआइडीको ठूलो भूमिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विशेषगरी नेपालको मातृ तथा शिशु मृत्युदर घटाउन ठूलो भूमिका खेल्दै आएको छ । यदि यो कार्यक्रम बन्द हुने हो भने यो क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने स्वास्थका जानकारहरूको भनाइ छ । नेपालका अधिकांश जिल्लामा गर्भवती महिलाको सुरक्षित प्रसूति सेवा, नवजात शिशुहरूको हेरचाह र पोषण कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य सामग्री वितरण,प्रजनन स्वास्थ्यमा जनचेतना अभियान सञ्चालन गरिरहेको छ । नेपालको कृषि, क्षेत्रमा पनि यसले सहयोग पुर्याउँदै आएको छ । कृषिमा विशेषगरी कृषिकको जीवनस्तर सुधार,उत्पादनशिलता वृद्धी लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसका लागि उन्नत बीउ वितरण गर्नेदेखि मल, सिँचाइ लगायतका विभिन्न प्राविधिक पाटोमा सहयोग गर्दै आइरहेको छ । जसले नेपालका सयौँ किसानहरू राहत हुँदै आएको छ । यसले विशेष गरी सुदूपश्चिम, कर्णाली, मधेप्रदेश लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ । यूएसएआईडीले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रमा वातावरण संरक्षण, दिगो विकास लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यी कार्यक्रमले जलवायुका असर कम गर्न भूमिका खेलिरहेका छन् । यसरी नेपालको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्यलगायतका विषयमा सहयोग गर्दै आएको युएसएआइडीले कार्यक्रम स्थगित गर्दा ठूलो क्षति बेहोर्नुपर्ने विज्ञहरूको तर्क छ । एमसीसीकाे भविष्यमाथि पनि प्रश्न  अमेरिकाले यूएसएआईडीमार्फत मात्र होइन अन्य वैदेशिक अनुदान पनि लिँदै आएको छ । अमेरिकाले चर्चित विकास अनुदान आयोगमार्फत नेपालमा मिलिनियम च्यालेज्न कर्पोरेशन (एमसीसी) को कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । २०७८ साल फागुन १५ गते सरकारले यो कार्यक्र अगाडि बढाउने सहमति जनाएको थियो । सुरुमा ६० अर्ब बराबरको लगानीमा सुरु गर्ने भनिएको यो परियोजनाको हाल लगानी बढेर ९२ अर्ब रुपैयाँ नाघेको छ । कार्यक्रम सुरु भएको ५ वर्षभित्र सक्ने गरी काम सुरु भएको छ तर, यो निर्णयले यो कामलाई समेत प्रभाव पर्ने विज्ञहरूको तर्क छ । अब नेपालमा एमसीसीकाे भविश्यमाथि पनि प्रश्न उठ्न थालेकाे छ । यूएसएआईडीले नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गरेमार्फत अरबौँ डलर रुपैयाँ नेपाल ल्याउने गर्छ । यसले पञ्चवर्षीय योजनामा करिब ५०० मिलियन डलर अर्थात नेपाली ८२ अर्ब ८० करोड रूपैयाँ बढी आर्थिक सहायता गरिरहेको छ । यो कार्यक्रम स्थगित हुँदा ५०० मिलियन मिलियन डलर नेपालले गुमाउनु पर्ने हुनसक्छ । विभिन्न संघसंस्थामार्फत कार्यक्रम सञ्चालन गरेपनि नेपालमा यो कार्यक्रमअन्तर्गत कति कर्मचारी छन् भन्ने तथ्यांक भने आफूसँग नरहेको अध्यक्ष सुवेदीले बताए । विज्ञहरूका फरक-फरक मत अर्थविद् चन्द्रमणि अधिकारी अमेरिकाको यो कदमले नेपालको आर्थिक क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने बताउँछन् । ‘यसले कतिसम्मको असर पार्छ भन्ने कुरा त ९० दिनपछिको अवस्था हेरेर थाहा हुन्छ तर, यो ९० दिनमा पनि नेपालमा प्रभाव पर्छ,’उनी भन्छन्, ‘योभन्दा बाहेक अन्य तरिकाबाट पनि अमेरिकाको अनुदान सहयोग निकै ठूलो छ ।’ वैदेशिक सहायता रोक्दा नेपालजस्तो देशलाई ठूलो प्रभाव पार्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अमेरिकाको सहयोग नेपालका शिक्षा स्वास्थ्यमात्र नभइ खानेपानी, पूर्वाधारका क्षेत्रमा पनि धेरै छ, ९० दिन पछि पनि यी कार्यक्रम रोकिने अवस्था आयो भने यसको असर धेरै पर्छ ।’ ट्रम्पले जलवायु परिवतर्न र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा यसअघि नै गरिसकेका छन् । अर्थविद् अधिकारी अमेरिकाको अन्तर्राष्ट्रिय मुद्रा कोषमा ठूलो लगानी रहेको बताउँदै उसको यो निर्णयले नेपालजस्ता देशलाई अप्ठ्यारोमा पार्ने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी भने तत्काल असर नपर्ने बताउँछन् । उनी भन्छन्, ‘कार्यक्रम सबै स्थगित नै भयो भने त असर पर्ला । तर, अहिले यूएसएआईडीले नेपाल सरकारलाई सहयोग गर्ने भनेका कतिपय कार्यक्रमहरू सुरु नै भएका छैनन् र सुरु भएकाहरू पनि अघि बढिसकेको अवस्था छैन ।’ उनले हिजो गरेको निर्णयले आज कति असर गर्छ भन्ने विषयमा जवाफ दिन गाह्रो हुने बताए । ‘अमेरिकाले पनि आफ्नो नीतिगत समीक्षा गर्दै होला, हामी पनि गरौंला,’ उपाध्यक्ष अधिकारी भन्छन्, ‘सबै कार्यक्रम यूएसएआईडीमै केन्द्रित छैनन्, हाम्रा आफ्ना कार्यक्रम पनि छन्, काम गरिरहेका छौँ । यी कार्यक्रमले केही असर त पर्छ तर आत्निुपर्ने अवस्था भने हुँदैन ।’ यूएसएआईडीका अधिकांश कार्यक्रम एनजीओ आइएनजीओ मार्फत गइरहेकाले त्यहाँ असर पर्न सक्ने भन्दै उनले नेपाल सरकारमार्फत आएका कार्यक्रमहरू सुरुवाती चरणमा रहेकाले असर नपर्ने बताए । शिक्षाविद् डा. विद्यानाथ कोइराला भने यसले नेपालको शिक्षा क्षेत्रमा नेपालीलाई ठूलो सिकाइ हुने बताउँछन् । उनी भन्छन्, ‘आत्मनिर्भर बन्ने हो भने यो कार्यक्रम स्थगित हुँदा पनि फरक पर्दैन, जब हामी पहिलेजस्तै परनिर्भर हुन्छौँ भने यहाँनेर ठूलो असर पर्छ । उनी नेपालले आफ्नै ज्ञानमा आफ्नै शिक्षाकलाई तालिमदिन सक्नुपर्ने र सिकाइमा उपलब्धी गर्नेसक्ने दाबी गर्छन् । उनी शिक्षाको नाममा ठूला-ठूला होटेलमा लाखौ खर्च गरी तलिम दिनुभन्दा समूदायमै गएर शिक्षक र विद्यार्थीलाई यो विषयमा अभिमुखीकरण दिनुपर्ने बताउँछन् । उनी शिक्षा क्षेत्रमा खासै असर नपरेपनि अन्य क्षेत्रमा भने केही असर पर्ने सक्ने बताउँछन् । ७० वटा परियोजना रोकिए अमेरिकाले अनुदान रोक्ने निर्णय गरेसँगै नेपालमा ७० वटा परियोजनाको काम रोकिएको छ । जसमा यूएसएआईडी २१ वटा कार्यक्रम रहेका छन् । यी परियोजनाहरू सन् २०११ देखि हालसम्म निरन्तर सञ्चालित हुँदै आइरहेका छन् । सबैभन्दा धेरै स्वास्थ्यका १२ , कृषि र वन क्षेत्रका १०, परिवार तथा शिशु कल्याण क्षेत्रका ७, शिक्षा र आर्थिक मामिला क्षेत्रका ६/६ कार्यक्रमहरू छन् । अर्थमन्त्रालयले भन्यो : थप दायित्व सिर्जना गर्ने काम नगर्नू यूएसएआईडीबाट सञ्चालित परियोजनामा थप दायित्व सिर्जना हुने काम नगर्न अर्थमन्त्रालयले पत्राचार गरेको छ । यूएसएडले विभिन्न आयोजनामा प्राप्त अनुदान सहयोग ९० दिनका लागि रोकिएको पत्र पठाएपछि अर्थ मन्त्रालयले ती आयोजनामा थप दायित्व सिर्जना नगर्न परिपत्र गरेको हो । ‘यूएसएडले ४ वटा आयोजनाको अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित गरेको छ । ९० दिनको अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत यूएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ,’ अर्थ मन्त्रालयले भनेको छ ।

खुम्बु क्षेत्रमा उडान खोल्ने निर्णय, एक महिनापछि जुट्यो सहमति

काठमाडौं । खुम्बु क्षेत्रमा अन्ततः हेलिकप्टर उडानमा लगाइएको रोक हट्ने निर्णय भएको छ । झन्डै एक महिनाअघि सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय भएको थियो । निकुञ्जले विज्ञप्ति जारी गर्दै अनियन्त्रित हेलिकप्टर उडानले पर्यटनको मर्मलाई नै नोक्सान पुर्‍याएको भन्दै हेलिकप्टर उडान रोक्ने निर्णय गरेको हो । ‘निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान अवतरण होभरिङ गर्न गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको थियो । निकुञ्ज प्रशासनले सन् २०२५ को जनवरी १ देखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा समुद्री सतहबाट करिब ४ हजार मिटरमाथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति कतिपय सरकारी निकाय तथा पर्यटन व्यवसायीहरू तीव्र असन्तुष्टि जनाएका थिए । अझ खासगरी नागरिक उड्डयन प्राधिकरण (क्यान) र निकुञ्जबीच विवाद नै चर्कियो । पर्यावरण र वन्यजन्तु संरक्षणको तर्क निकुञ्जले दिँदै आएको थियो । यता क्यानले अधिकार क्षेत्र मिचेको बताउँदै आएको थियो । सबैभन्दा अचम्मको विषय चाहिं निकुञ्ज र क्यान दोहोरी खेल्दा पर्यटन मन्त्रालय मौन बस्यो । जसकारण यो समस्या झन् पेचिलो बन्दै आएको थियो । उडान खोल्ने सहमति गत शुक्रबार जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु, नेपाल वायुसेवा सञ्चालक संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सोलुखुम्बु कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला पक्षबीच सर्वपक्षीय बैठक बसी उक्त रोक खोल्ने सहमति भएको हो । हाल उक्त क्षेत्रमा हेलिप्याडमा देखिएको अवरोध स्थानीय तहले हटाउने र वायुसेवा सञ्चालक कम्पनीले उद्धार उडानलाई अवरोध हटेलगत्तै सुचारु गर्ने सहमति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिए । उनका अनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको छ । उनले भने, ‘दुई दिनअघि हामी सर्वपक्षीय बैठक  बस्यौं । बैठकमा हाललाई हवाई उडान सुचारु गर्ने सहमति भएको छ । नागरिकलाई समस्या भयो । त्यसैले उडान सुरु गर्ने सहमतिमा पुग्यौं । अब उद्धार उडान सुरु हुन्छ । हाल यस क्षेत्रमा कुनै समस्या छैन ।’ गाउँपालिकाका अध्यक्ष शेर्पाले कसैले उद्धार उडानका लागि हेलिकप्टरको आवश्यकता परेमा तत्कालै उडान माग गर्न सकिने जानकारी दिए । त्यस्तै, उनले नियमित उडानका लागि भने १५ दिनभित्र सबै पक्षबीच छलफल भई खोजिने बताए । के भन्छ क्यान ? खुम्बु क्षेत्रमा तत्काललाई कुनै बाधा अवरोध नभएको क्यानले जनाएको छ । क्यानका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार सहमति भइसकेको र तत्काललाई कुनै समस्या नभएको बताए । उनले भने, ‘सरोकारवाला निकायबीच समन्वय गरी सहमति जुटाउने निर्णय भएको छ । स्थानीय सरकारले केही अवरोध गरिरहेको थियो । स्थानीय सरकारका आफ्नै गुनासाहरू हुन सक्छन् । बाँकी सबै अन्य सरकारी निकाय सहमतिमै थियौं । हाम्रो तर्फबाट कुनै अवरोध भएको छैन । सबै कानुनमै प्रष्ट छ । तत्कालाई कुनै समस्या छैन ।’ उनले हाललाई केही ठाउँमा उडान भइरहेको र कुनै ठाउँमा उडान हुन नसकेको बताए । उनले आफूहरुले कानुनमा रहेको कुरा नागरिकहरुलाई सम्झाउने र बुझाउने कर्तव्य भएको सुनाए । ११ कम्पनीका ३२ हेलिकप्टर सञ्चालनमा सरकारी विवरणअनुसार हाल नेपालमा ११ वटा कम्पनीका ३२ हेलिकप्टरहरू सञ्चालनमा छन् । सगरमाथा आरोहणका लागि अनुकूल समय वसन्त ऋतुको समयमा आधार शिविरमा मात्र दैनिक औसतमा ५० भन्दा बढी  हेलिकप्टर उडान हुने गरेका छन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ । भारतको मुम्बई स्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो । नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरे । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया बीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्घि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ । लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एशोशिएशनहरूबीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औं सम्झौतामा हस्ताक्षर गर्दा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोजकुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष श्री रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष श्री विजय लाल श्रेष्ठ, उपाध्यक्ष श्री मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरु श्री लेखनाथ पोख्रेल र श्री सन्दिप कार्कीको उपस्थिति रहेको थियो ।

निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै राष्ट्रिय बीमा कम्पनी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीले कृषी, पशुपंक्षी तथा जडिबुटी बीमाको अभिकता सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीको केन्द्रिय कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म तालिम हुनेछ । तालिम सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागी हुनका लागि निबेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो,  संस्थाको हकमा कुनै एक संचालकले तालिम लिनुपर्ने र प्यान कार्डको प्रतिलिपि आवश्यक पर्दछ ।

डीएभी कलेजको ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले १६ माघमा ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता २०८१’ आयोजना गर्ने भएको छ । देशकै सर्वाधिक धनराशिको भनेर दाबी गरिएको उक्त  प्रतियोगिता खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमले ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

पोखराको शिवचोकमा खुल्यो कजारियाको शोरुम, गुणस्तरका उत्पादन र सेवा प्रदान गर्ने

काठमाडौं । टायल उत्पादक कम्पनी कजारियाले पोखराको शिवचोकमा पनि नयाँ शोरुम खोलेको छ ।  धौलाश्री सप्लायर्सले आइतबार उक्त शोरुमको उद्घाटन गर्‍यो ।  उद्घाटन समारोहमा स्थानीय, व्यवसायीहरूलगायतको उपस्थिति थियो । सो अवसरमा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीले  पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पुर्‍याउने नयाँ उद्यमको महत्त्वलाई उजागर गरे । कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे । उनले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजारिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजारियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं ।’ मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको सहरमध्ये एक हो । यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ । कजारियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीकाे विश्वास छ । गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीले जनाएकाे छ । प्रिमियम टायल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताइएकाे छ । रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।   नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४ अर्ब रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएकाे छ ।

१८ अर्ब लागतको घुन्सा खोला हाइड्रोमा सम्झौता, लक्ष्मी सनराइजको अगुवाइमा सहवित्तीयकरण

काठमाडौं । लक्ष्मी सनराईज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने बैंकको विश्वास छ । घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८१ वैशाख २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।  सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकबाट लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ। सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीले सदा सम्मान गर्ने बताए । यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको बताए । व्यवसायीक क्षमता बृद्धिको लागि ज्ञान आर्जन र प्राप्त उपलब्धीहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको छ । ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायीक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए । सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने बताए । अन्य सहभागीहरुलाई सम्मानीत अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे । उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।