भारतमा अम्रिसो बेच्दा भित्रियो साढे ५७ करोड, २८ करोडको अदुवा निर्यात
काठमाडौं । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ५७ करोड रुपैयाँ भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ लाख किलो अम्रिसो निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म ५७ करोड ७४ लाख रपैयाँ बढीको अम्रिसो निर्यात भएको भन्सार विभागले जनाएको छ । उक्त अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । २८ करोडको अदुवा निर्यात अदुवाको स्वादले तरकारी र मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधीजन्य गुणसमेत भएकाले विभिन्न औषधीमा समेत प्रयोग गर्ने हुने गरेको छ । अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । चालु आवको पौष मसान्तसम्म २४ लाख किलो अदुवा निर्यात भएको छ । विभागका अनुसार २८ करोड १९ लाख रुपैयाँ बढीको अदुवा निर्यात भएको छ । नेपालबाट अदुवा भारत र स्वीट्जरल्यान्ड निर्यात भएको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार भारतमा २४ लाख ४० किलो र स्वीट्जरल्यान्डमा १० किलो अदुवा निर्यात भएको छ ।
कलंकको रुपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गरे । उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै स्वाधिन र स्वाभिमानी देश भएको बताए । उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । नेपालले तेल र फलाम खानीहरूको उत्खनन् गरिहेको भन्दै कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए । ‘एआईको जमानामा एउटा कलंकको रुमपा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ। यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।
कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ । विगत २३ वर्षदेखि यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुवात गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् । कोर्सको सुरुवात गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे । ‘बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक महत्त्वका पूर्वाधार निर्माणमा जोड दिँदै आएकोमा नबिल बैंकले उद्यमशीलताको विकासका लागि सर्टिफिकेट कोर्स सुरु गरेको छ । यो उद्यमशीलतामा रुचि राख्नेका लागि लाभदायक हुने अपेक्षा छ,’ मुख्यमन्त्री सिंहले बताए । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै स्टार्टअप सुरुआत गर्न चाहने र सुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरु गरेको उनको भनाइ थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रमलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए । मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसप्रकारको कार्यक्रमले युवाहरुलाई देशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए । साथै उनले नबिल बैंकले मोनास्टीक स्कुलसँग यस कार्यक्रमको लागि गरेको सहकार्य एकदमै सराहनीय रहेको व्यक्त गरे । नबिल बैंकले समाजिक उद्यमशिलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव-उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्याएका छन् । साथै पाँचजना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुई जनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् । तीन महिने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन-बेस्ड’ तालिम प्रदान गरिनेछ । उक्त तालिममा सहभागीले आफ्नो उत्पादनको प्रवद्र्धन तथा बजारीकरणलगायतका विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ । विद्यालयले कार्यक्रममा सहभागी हुनका लागि खुला आवेदन माग गरेको थियो । जसमा उद्यमशीलताको क्षेत्रमा काम गर्ने अठोट भएकालाई छनोट गरिएको जनाइएको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ । बैंकका अनुसार दुवै कार्यक्रममा हालसम्म आठ सय ६६ जना सहभागी भएर छन् । दुवै कार्यक्रममार्फत हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइसकेको छ ।
सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड, बरण हाइड्रोपावरको ३० करोड, साहस ऊर्जाको २७ करोड र एक्सल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक रहेका छन् । सोमबार सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशतले बढेको छ । अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
प्रादेशिक सेवा दिँदै बीपी कोइराला क्यान्सर अस्पताल, स्थानीय लाभान्वित
काठमाडौं । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ । अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको छ । पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरिएको छ । एक पटकमा १५० हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उनले जानकारी दिए । टोलीमा पाँच जना विशेषज्ञ चिकित्सक, दुई नर्स र एक प्रशासनिक कर्मचारी यहाँबाट जाने गर्दछन् भने अन्य सहयोग त्यहीँको अस्पतालबाट लिने गरिन्छ । स्वास्थ्य परीक्षण, नियमित जाँच र शल्यक्रियासम्म त्यहींको अस्पतालमा गर्ने गरिएको छ । जटिल अवस्था भएमा यही बोलाएर उपचार दिने गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार नाम टिपाएका बिरामीमध्ये धेरै जुन क्यान्सरका छन् त्यहीअनुसारका विभागीयविज्ञ चिकित्सक पठाउने गरिएको छ । यहाँबाट गएको टोलीले त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीसँग क्यान्सर रोग सम्बन्धमा छलफल गर्ने गरेको छ । रोग पहिचान, उपचारलगायतका बारेमा अनुभव आदानप्रदान गर्ने गरिएको उनले जानकारी दिए । पौडेलले भने, ‘सम्बन्धित अस्पतालमा भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरेर सकेसम्म त्यहाँ गर्न सकिने उपचार त्यहीँ गर्ने गरेका छाैं ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए । सोहीबमोजिम विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो ।
पाठेघरको मुखको क्यान्सर रोक्न किशोरीलाई लगाइँदै एचपीभी खोप, १ अर्ब ३० करोड खर्च
काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले मङ्गलबारदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । यो अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । खोप शाखाका अनुसार कक्षा ६ देखि १० मा अध्ययन गर्ने वा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार बढी किशोरीलाई यो खोप लगाइने भएको छ । फागुन ७ गते सम्म सञ्चालन हुने अभियानका लागि १ अर्ब ३० करोड खर्च हुने अनुमान गरिएको छ । । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा नेपाल सरकारले एचपीभी खोप ल्याइएको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक ४ जनाको मृत्यु हुने गर्छ भने दैनिक औसत ६ जनालाई पाठेघरको मुखको क्यान्सर देखिने गरेको अध्ययनले देखाएको छ । क्यान्सर के कारण लाग्छ भन्ने थाहा नभए पनि पाठेघरको मुखको क्यान्सर भने एचपीभी भाइरसबाट हुने चिकित्सकहरूले बताएका छन् । समयमै यसको परीक्षण गरेमा यो भाइरस शरीरमा भए/नभएको १० वर्षअघि नै थाहा पाउन सकिन्छ । समयमै पत्ता लागेमा निको बनाउन सकिने वा यसको जोखिमलाई न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ । एचपीभी खोप के हो ? ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक किसिमको भाइरस हो । जसले संक्रमण गर्दा पाठेघरको मुखको क्यान्सर हुन्छ । विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सर ९५ प्रतिशतभन्दा बढी यो भाइरसले गराउँछ । एचपीभीका दुई सय भन्दा बढी प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तीमा १२ प्रतिशतले पाठेघरको मुखको क्यान्सर गराउने गरेको पाइएको छ । यो भाइरसले सङ्क्रमण गर्दा महिलाहरूको पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमा समेत क्यान्सर बनाउने गर्छ । यो रोग कसरी सर्छ ? एचपीभी सर्ने मुख्य माध्यम भनेको यौन सम्पर्क हो । रोग सङ्क्रमित व्यक्तिसँगको यौनसम्पर्कबाट सर्छ । यो संक्रमण महिलामा मात्र नभइ पुरुषमा पनि हुन्छ । लक्षणहरू यो रोग लाग्दा सुरुमा धेरै लक्षणहरू देखा पर्दैन । रोग लागेको अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ । यौनाङ्ग क्यान्सर हुनुका साथै मुसा आउने गर्छ । रोग लागिसकेपछि तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, धेरै रगत बग्ने समस्या देखा पर्छ । यो रोग लागेको छ वा छैन भनेर थाहा पाउन पाठेघरको मुखको पानीको परीक्षण गरेरमात्र थाहा हुन्छ ।
एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल
सन् २०२३ काे जुलाई ३१ मा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको डेल्टाको एन्नासिस टापुमा जहाजबाट आइपुगेपछि पंक्तिबद्ध रूपमा पार्क गरिएका नयाँ निसान कारहरू । फाइल तस्बिर । काठमाडौं । जापानी र दक्षिण कोरियाली कार निर्माता र उनीहरूका आपूर्तिकर्ताहरूको सेयर सोमबार गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस क्षेत्रका निर्यातकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमा लगाएको व्यापक भन्सार महसुलबाट प्रभावित भएकाले सेयरमा गिरावट आएको हो । विश्वको शीर्ष अटो निर्माता टोयोटा र सानो प्रतिद्वन्द्वी निसानको सेयर ५ प्रतिशतभन्दा बढीले घटे । होन्डा ७ प्रतिशतभन्दा बढीले घट्यो । ट्रम्पको उक्त कदम अपेक्षित भए पनि विश्वका केही सबैभन्दा ठूला उत्पादकहरूलाई धक्का दियो किनकि लगानीकर्ताहरू विश्वको शीर्ष अर्थतन्त्रबाट कमजोर माग र अझ चिन्ताजनक रूपमा विश्व वृद्धिमा गिरावटको सम्भावनासँग जुधिरहेका थिए । ट्रम्पको निर्णयले अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित भएका छन् । धेरै जापानी र दक्षिण कोरियाली कार निर्माताहरू र उनीहरूका आपूर्तिकर्ताहरूको मेक्सिकोमा कारखाना छन् र त्यहाँ बनाएका कारहरू लामो समयदेखि संयुक्त राज्य अमेरिकामा निर्यात हुँदै आएका छन् । निसानका प्रमुख कार्यकारी अधिकृत माकातो उचिदाले नोभेम्बरमा मेक्सिकोका कारखानाबाट करिब ३ लाख सवारीसाधन अमेरिकामा निर्यात हुने बताएका थिए । उनले भनेका थिए, ‘निसानका मेक्सिकोमा दुई कारखाना छन्, जहाँ यसले अमेरिकी बजारका लागि सेन्ट्रा, भर्सा र किक्स मोडेलहरू बनाउँछ । यसले वार्षिक लगभग ३ लाख सवारीसाधनहरू अमेरिकामा निर्यात गर्छ ।’ होन्डाले आफ्नो मेक्सिकन उत्पादनको ८० प्रतिशत अमेरिकी बजारमा पठाउँछ र यसका मुख्य सञ्चालन अधिकृत शिन्जी अयोमाले नोभेम्बरमा यदि अमेरिकाले आयातित सवारीसाधनहरूमा स्थायी भन्सार महसुल लगाएमा उत्पादन स्थानान्तरण गर्ने बारे सोंच्नु पर्ने चेतावनी दिएका थिए । दक्षिण कोरियाको किया मोटर्सको सेयर पनि लगभग ७ प्रतिशतले घट्यो । दक्षिण कोरियाली विद्युतीय सवारी ब्याट्री फर्महरू र ब्याट्री सामग्री निर्माताहरू जसले जीएम, फोर्ड र अन्य कम्पनीहरूलाई आपूर्ति गर्न क्यानडामा कारखाना निर्माण गर्ने योजना बनाएका थिए, उनीहरू अन्यौलमा परेका छन् । पोस्को फ्युचर एम र इकोप्रो बीएम क्रमशः ९.१ प्रतिशत र ८.७ प्रतिशतले घटे । मुख्य चीनको बजार ‘लुनार न्यू इयर’ बिदाको लागि बन्द भए पनि हङकङमा सूचीकृत चिनियाँ स्टकहरूमा सोमबार गिरावट आयो । अस्ट्रेलियाका ठूला फलाम खानी कम्पनीहरू बीएचपी, रियो टिन्टो र फोर्टेस्क्यु सोमबार २ देखि ५ प्रतिशतको बीचमा घटे किनभने भन्सार महसुलले विश्व वृद्धिलाई रोक्ने सम्भावना थियो । रियो टिन्टो क्यानडेली एल्युमिनियम व्यवसायको कारण सबैभन्दा बढी जोखिममा देखिएको छ । विश्लेषकहरूको अनुमानअनुसार यसले वार्षिक लगभग १.३५-१.६ मिलियन मेट्रिक टन अमेरिकामा बेच्छ । मेक्सिकोमा कारखाना भएका ताइवानी टेक कम्पनीहरूको पनि सेयर घटेको छ । फक्सकन ८ प्रतिशत, क्वान्टा लगभग १० प्रतिशत र इन्भेन्टेक ८ प्रतिशतले घटेका छन् । (एजेन्सीहरूको सहयोगमा) ट्रम्पको भन्सार महसुल : प्रतिशोधमा क्यानडा र मेक्सिको, वार्ताको तयारीमा चीन ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर