एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएका हो । एमालेले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तयार पारेको छ । पार्टीले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन् । खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ । खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेकी पार्टीका केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन् । अर्याल स्याङ्जा र हमाल लमजुङकी हुन् । खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फबाट गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन् । बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ । दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन् । जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन् । मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन् । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन् । मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ ।
तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) को आयोजनामा फागुन २८, २९ र ३० गते काठमाडौंमा आयोजित तीनदिने एक्स्पोमा औषधि उद्योगसँग सम्बन्धित नवीन प्रविधि, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा अत्याधुनिक मेसिनरीहरूको प्रदर्शनी गरिएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने यो एक्स्पोको यसपटक दशौं संस्करण हो । संघका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन भइरहेको सन्देश जनतामाझ पुर्याउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार विश्व बजारमा विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गर्दै नेपाली औषधि उद्योग अघि बढिरहेको छ । ‘नेपालमा उत्पादन हुने औषधिको गुणस्तरबारे कुनै शंका नगर्न उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने । एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यका अनुसार तीन दिनको अवधिमा २५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए, जसमध्ये ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, अत्याधुनिक औषधि उत्पादन मेसिनरी तथा प्याकेजिङ प्रविधिको प्रदर्शन गरिएको थियो। साथै स्वदेशी औषधि उद्योगहरूले आफ्ना उत्पादन, उपलब्धि र प्रगतिका नमुनासमेत प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस एक्स्पोले नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ । सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।
विदेश पलायन रोक्न उद्यमीलाई बिनाधितो ऋण वितरण
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो । गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप ९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको जानकारी दिए । ‘विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरी एक जनालाई एक लाखका दरले अनुदान उपलब्ध गराएको,’ उनले भने, ‘वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न पछिल्लो तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्दै आएको छ ।’ यसअघि गत कात्तिकमा १२ जनालाई १२ लाख, २०८१ मा २० जनालाई, २०८० मा नौ जनालाई सहयोग गरेको थियो । हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको गाउँपालिकाले जनाएको छ । थप ऋण पाउनेमा वडा नम्बर १ का चक्रे दमाई, ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी, शन्तु भण्डारी, वडा नम्बर ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल, दुर्गबहादुर दर्जी, वडा नम्बर ६ का कौशिला नेपाली र वडा नम्बर ७ का रोहितप्रसाद आचार्य रहेका छन् । सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ । कृषि उद्यमलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार हरेक वर्ष फरकफरक उद्यमीलाई विउँपुजी सहयोग गरिएको छ । पालिकाभित्रै व्यावसायिकरूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
धुलिखेल-खावा सडकखण्ड दुई साता राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण दुई सातासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सडक सुधार तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइने जनाएको हो। कार्यालयका अनुसार यो अवधिमा ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) लाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ। त्यस्तै, टिपर तथा ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालन गर्न नदिइने सूचनामा उल्लेख गरिएको छ। सडक निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न र सवारी आवागमनका कारण हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरेको छ।
निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने
काठमाडौं । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज (शनिबार) नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनमा काठमाडौं महानगरको कडाइ, खाद्य स्वच्छता सुधार अभियान तीव्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता सुनिश्चित गर्न अनुगमन र क्षमता विकास कार्यक्रमलाई सँगै अघि बढाएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महानगरले खाद्य व्यवसायीलाई तालिम दिने र नियमित अनुगमन गर्ने अभियान तीव्र बनाएको जनाएको छ । कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनहरूमा निरन्तर अनुगमन गरिरहेको छ । अहिलेसम्म पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको जानकी किचेन क्यान्टिन तथा दिवा खाजा बनाउने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको ‘नमो फुड कोड’ क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी अस्पताल सिनामंगलस्थित ‘ग्रीन बड्स बेकरी क्याफे’ क्यान्टिन तथा भरोसा अस्पताल बानेश्वरको ‘सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर’ लगायतका स्थानमा अनुगमन गरिएको महानगरले जनाएको छ। बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले सामुदायिक विद्यालयका २३ जना मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम पनि प्रदान गरिसकेको छ । तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका जस्ता विषय समेटिएका थिए । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ देखि प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म र २०७९/८० देखि कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। काठमाडौं महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । अनुगमनका क्रममा अखाद्य वस्तुको प्रयोग भएको पाइएमा सम्बन्धित व्यक्तिको उपस्थितिमा त्यस्ता सामग्री नष्ट गरिएको महानगरले जनाएको छ । साथै सुधारका लागि आवश्यक सुझाव पनि दिइएको छ । महानगरका अनुसार धेरै विद्यालय क्यान्टिनमा सरसफाइमा लापरबाही देखिएको छ। कपडा र खाद्य सामग्री सँगै राख्ने, खाना नछोपी राख्ने, फोहोर फाल्ने डस्टबिनको उचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरेको जस्ता समस्या भेटिएका छन् । यस्तै, क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टीपीएम भ्यालु मापदण्डविपरीत पाइएको, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिएको, खाना बनाउने र भाँडा माझ्ने काम एउटै ठाउँमा गरिएको तथा आगो सुरक्षासम्बन्धी उपकरणको व्यवस्था नदेखिएको समेत अनुगमन टोलीले जनाएको छ । महानगरले यस्ता कमजोरी सुधार गर्न क्यान्टिन सञ्चालकलाई सचेत गराउँदै आगामी दिनमा थप कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक शनिबार बस्दै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रित हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।