विकासन्युज

शिक्षकहरू सडकमा बसिरहनु पर्दैन, जायज माग सम्बोधन गर्छाैं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए । 'पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्', राजतन्त्र वादीतर्फ लक्षित गर्दै उनले भने, 'संविधानकै व्यवस्था अन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।' यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो । 'जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौँ', उनले थपे । प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तराष्ट्रिय सम्बन्धमा त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए । उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे । 'हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,' प्रधानमन्त्री ओलीले भने, 'विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।' उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए । 'अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ', उनले भने । हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिए ।

रवि लामिछानेले भने : यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, पालो सबैको आउँछ

काठमाडौं । अदालतको आदेशपछि कारागार जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले चारवटा सन्देश दिएका छन् । उनले अदालतको निर्णयको सम्मान गर्दै कानूनी प्रक्रियालाई अघि बढाउने बताउँदै भावुक अभिव्यक्ति दिएका हुन् । रविको पहिलो सन्देशमा कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । 'अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु,' उनले भने । दोस्रो सन्देशमा उनले न्यायकै मन्दिरबाट अन्याय नहुने विश्वास व्यक्त गर्दै भने, 'विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन् ।' तेस्रो सन्देश पार्टी र समर्थकलाई समर्पित थियो । उनले भने, 'पार्टीलाई एकढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नुहुन्छ भने बढाउनुहोस्, नसके पनि घटाउनुहोस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुहोस् ।' र अन्तिम सन्देशमा उनले आफ्नो मुद्दालाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गरे। 'अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ,' उनले भने ।  

तीनकुने घटनामा सहभागी भएकी अभिनेत्री एनी कुँवर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।  यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, 'पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो ।'  

सेयर बजारमा ५ अर्बको कारोबार, २२१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७० बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य घटेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४३ करोड, नेपाल रिइन्स्योरेन्सको ३३ करोड, राधी विद्युत कम्पनीको २८ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घटेकाे छ । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशतले घटेकाे छ ।

ट्रम्पका ट्यारिफमाथि पहिलो जवाफी कारबाही गर्न ईयू एकताको खोजीमा

काठमाडौं । युरोपेली आयोग (ईयू) का देशहरू आगामी दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफहरू विरुद्ध एकीकृत मोर्चा प्रस्तुत गर्ने प्रयास गर्दैछन् । उनीहरूले सम्भवतः डेन्टल फ्लसदेखि डायमण्डसम्मका २८ अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमा लक्षित प्रतिकारात्मक कदमहरू स्वीकृत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तो कदमले ईयूलाई चीन र क्यानडासँग मिलेर अमेरिकाविरुद्ध प्रतिशोधस्वरूप ट्यारिफहरू लगाउने पंक्तिमा ल्याउनेछ, जुन केही व्यक्तिहरूले विश्वव्यापी व्यापार युद्धमा परिणत हुने चिन्ता व्यक्त गरेका छन् । यसले अर्बौं उपभोक्ताका लागि सामानहरू महँगो बनाउनेछ र विश्वभरिका अर्थतन्त्रहरूलाई मन्दीमा धकेल्न सक्छ । २७ राष्ट्रीय ईयू समूहले स्टील, एलुमिनियम, गाडीहरूमा २५ प्रतिशत आयात शुल्क र अन्य लगभग सबै सामानहरूमा बुधबारदेखि २० प्रतिशत 'पारस्परिक' शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पका ट्यारिफहरूले ईयूका अमेरिका निर्यात गरिने लगभग ७० प्रतिशत वस्तुहरूलाई असर पार्नेछन्- जुन गत वर्ष कुल ५३२ अर्ब युरो (५८५ अर्ब डलर) को बराबरमा थियो- र यसमा अबसम्म तामा, औषधी, अर्धचालक काठजस्ता वस्तुहरू बाँकी छन् । ईयूको व्यापार नीति समन्वय गर्ने युरोपेली आयोगले सोमबार साँझ सदस्य देशहरूलाई ट्रम्पका स्टील र एलुमिनियम ट्यारिफहरूको जवाफस्वरूप अमेरिकी उत्पादनहरूमा अतिरिक्त शुल्क लगाउने वस्तुहरूको सूची प्रस्ताव गर्नेछ, जुन व्यापक पारस्परिक शुल्कभन्दा फरक हुनेछ । उक्त सूचीमा अमेरिकी मासु, अन्न, वाइन, काठ, लुगा साथै चेविङ गम, डेन्टल फ्लस, भ्याकुम क्लिनर र ट्वाइलेट पेपर समावेश हुने छ । एक वस्तु जसले ईयूमा विवाद निम्त्याएको छ, त्यो हो बोर्बन (अमेरिकी रक्सी) । आयोगले यसमा ५० प्रतिशत ट्यारिफ प्रस्ताव गरेको छ, जसको जवाफस्वरूप ट्रम्पले ईयूको मदिरामा २०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । वाइन निर्यात गर्ने फ्रान्स र इटालीले चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र व्यापारमा आधारित ईयू अर्थतन्त्रले ट्रम्पलाई वार्तामा ल्याउने दबाव कायम राख्न प्रतिक्रिया दिनुअघि व्यापक समर्थन जुटाउन चाहन्छ । लक्सेम्बर्गले सोमबार बिहान ट्रम्पले ट्यारिफ घोषणा गरेपछि पहिलो ईयू–स्तरीय राजनीतिक बैठक आयोजना गर्नेछ, जसमा २७ सदस्य राष्ट्रका व्यापार मन्त्रीहरू छलफलमा सहभागी हुनेछन् । ईयूका कूटनीतिज्ञहरूका अनुसार बैठकको मुख्य उद्देश्य एकीकृत सन्देश दिनु हो– अर्थात् अमेरिकासँग वार्ताको चाहना व्यक्त गर्दै आवश्यक परेमा प्रतिकारात्मक कदम चाल्न तयार रहेको सन्देश । 'ब्रेक्सिटपछि हाम्रो सबैभन्दा ठूलो डर दुईपक्षीय सम्झौताहरू र एकताको विघटन थियो, तर तीन–चार वर्षको वार्तामा त्यो भएन । यहाँ फरक विषय भए तापनि सबैले साझा व्यापार नीतिमा चासो देख्छन्,’ एक ईयू कूटनीतिज्ञले भने । प्रतिशोधात्मक ट्यारिफहरू ईयू सदस्यहरूबीच जवाफ कसरी दिने भन्नेमा विविध धारणा छन् । फ्रान्सले ट्यारिफभन्दा परको उपाय अपनाउनु पर्ने भनेको छ भने राष्ट्रपति एमानुएल माक्रोंले युरोपेली कम्पनीहरूले अमेरिकाभित्र लगानी निलम्बन गर्न सुझाव दिएका छन् । अमेरिकामा झण्डै एक तिहाइ निर्यात गर्ने आयरल्याण्डले 'गम्भीर र सन्तुलित’ प्रतिक्रिया दिन आग्रह गरेको छ भने तेस्रो ठूलो अमेरिकी निर्यातकर्ता इटालीले प्रतिकार गर्नु नै उपयुक्त हो कि होइन भन्नेमा प्रश्न उठाएको छ । 'यो एक जटिल सन्तुलन हो । कारबाही धेरै नै हल्का भए अमेरिका वार्तामा आउँदैन, तर धेरै कडा भए झनै तनाव बढ्न सक्छ,' एक कूटनीतिज्ञले भने । अहिलेसम्म वासिङ्टनसँगका वार्ताहरू सफल भएका छैनन् । ईयू व्यापार प्रमुख मारोस सेफकोविचले शुक्रबार अमेरिकी समकक्षसँगको दुई घण्टा लामो कुराकानीलाई 'खुल्ला’ भन्दै अमेरिकी ट्यारिफहरू ’हानिकारक र अन्यायपूर्ण’ भएको बताएका छन् । प्रारम्भिक ईयू ट्यारिफहरू बुधबार मतदानमा लगिने छन् र जबसम्म ईयूका १५ सदस्य राष्ट्रहरूले जसले ईयूको ६५ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्छन्, उनीहरूले जबसम्म विरोध गर्दैनन् तबसम्म ती स्वीकृत हुनेछन् । यी दुई चरणमा लागू हुनेछन्- पहिलो भाग अप्रिल १५ मा र बाँकी एक महिनापछि । युरोपेली आयोग अध्यक्ष उर्सुला भन डेर लायनले पनि ट्यारिफको प्रभाव मूल्यांकन गर्न र आगामी कदम निर्धारण गर्न सोमबार र मंगलबार स्टील, गाडी र औषधि उद्योगका सीईओहरूसँग छुट्टाछुट्टै छलफल गर्नेछिन् । अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका  

संखुवासभा र भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो कृषि बीमा सचेतना कार्यक्रम

काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन् । चैत्र १७, १८ र १९ गते सम्पन्न कार्यक्रमहरू क्रमशः पौवादुङमा गाउँपालिका वडा नं. १, कृषि ज्ञान केन्द्र भोजपुर, र पाँचखपन नगरपालिकामा आयोजित गरिएका थिए । कार्यक्रमहरूको उद्देश्य कृषकहरूलाई कृषि तथा पशुपंक्षी बीमा, दाबी प्रक्रिया, बीमा सफ्टवेयर प्रणाली र अभिकर्ता तथा प्रविधिकहरूको भूमिकाबारे जानकारी प्रदान गर्नु थियो । संखुवासभाको कार्यक्रम कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा कृषि विभाग प्रमुख उमेश ढकालले बीमाको प्रक्रिया, क्षतिपूर्ति र नयाँ सफ्टवेयर प्रणालीबारे विस्तृत जानकारी दिएका थिए । यस्तै, भोजपुरको कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ र कृषि ज्ञान केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता रह्यो । तीनै कार्यक्रमहरूमा १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बीमा आवश्यक रहेको भन्दै यस्तो कार्यक्रमले बीमा प्रणालीप्रति विश्वास बढाएको प्रतिक्रिया दिएका थिए ।

३ बजे मन्त्रिपरिषद बैठक बस्दै, राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सम्भावना

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबार १८ औं गभर्नर पाउने सम्भावना बलियो रहेको छ । रिक्त रहेको राष्ट्र बैंकको गभर्नर पदमा आज सरकारले नियुक्त गर्न सक्ने बलियो सम्भावना रहेको अर्थमन्त्रालय स्रोतको दाबी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दैछ । यो नियमित प्रक्रिया भएपनि आजको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।  यसअघिका गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल पूरा गरेर चैत २४ गतेदेखि बिदा भइसकेका छन् । अधिकारी बाहिरिएपछि राष्ट्र बैंकमा गभर्नर पद रिक्त बनेको हो ।  अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय गभर्नर नियुक्ति तथा सिफारिस समिति गठन गरिएको छ । समितिमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन् ।  समितिले एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । सिफारिस गरिएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ । गभर्नर बन्न राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नर नीलम ढुङ्गाना र बमबहादुर मिश्र प्रतिस्पर्धामा छन् । मिश्रभन्दा ढुङ्गाना बलियो दावेदारका रूपमा हेरिएका छन् । उनी पहिलो महिला गभर्नर बन्ने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ ।  यस्तै, गभर्नरको आकांक्षीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, लालशंकर घिमिरे, राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, राजनसिंह भण्डारी, उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी, राष्ट्र बैंकका सञ्चालक शंकरप्रसाद आचार्य छन् । गभर्नर बन्नका लागि सुरुवातमा शक्तिकेन्द्र धाए पनि पछिल्लो समय भने सम्भावना नदेखेपछि ब्याक भएका छन् ।  यस्तै, गभर्नर बन्नकै लागि नबिल बैंकको सीईओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुङ्गाना र राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. प्रकाशकुमार श्रेष्ठ अब्बल उम्मेदवार हुन् । यस्तै, राष्ट्र बैंकका सञ्चालक समेत रहेका रविन्द्र पाण्डे र कार्यकारी निर्देश डा. गुणाकर भट्टको नाम पनि गभर्नर पदका लागि सिफारिस समितिले मन्त्रिपरिषदमा पठाउने सम्भावना रहेको स्रोतले बतायो । 

३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २३ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्न राष्ट्र बैंकले भनेको छ ।  यसअघि पनि नेपाल राष्ट्र बैंकले पटकपटक तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले चैत २० मा २१ दिनका लागि ३० अर्बको तरलता खिचेको थियो भने चैत १७ मा २१  दिनकै लागि २५ अर्बको तरलता खिचेको थियो । त्यसअघि चैत १३  मा ३० अर्ब, चैत १० मा २० अर्ब, चैत ६ मा २५ अर्ब, चैत ३ मा ४० अर्बको तरलता खिचेको थियो ।