विकासन्युज

नेपाल माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, १५४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६७६ बिन्दुमा पुगेको छ । आज १५४ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बुधबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २२ करोड र राधी विद्युत कम्पनीको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  बुधबार बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशतले घटेकाे छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेकाे छ । विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशतले बढेकाे छ ।  

आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त खुला

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको एक विज्ञ सदस्यको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट भरिने भएकाले इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । आवेदन सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ । दरखास्त दिनको लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने र सार्वजनिक निकायसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको विज्ञता प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नठहरिने व्यक्ति मात्र योग्य हुनेछन् । उमेर हदको सन्दर्भमा, दरखास्त दिनको मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले मन्त्रालयको वेबसाइटमा प्रकाशित निर्देशिकाको अनुसूची २ अनुसारको ढाँचामा दरखास्त भर्नुपर्नेछ । साथै, दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र तथा स्वघोषणा फाराम आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ । मन्त्रालयले समयमै आवश्यक सबै कागजातहरू संलग्न नगर्ने दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।

आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन, साढे ४ प्रतिशतको हाराहारीमै सीमित

काठमाडौं । गत जेठ १५ मा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशतको आर्थिक वृद्धिदर यस वर्ष हुने लक्ष्य राखे । महत्त्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्यसहित ल्याइएको बजेट उनले कार्यान्वयन नै गर्न पाएनन् । सरकार परिवर्तनका कारण अर्थ मन्त्रालयको बाघडोर विष्णुपौडेलले सम्हालेपनि बजेट कार्यान्वयन चुस्त हुन सकेको छैन । सरकारी बजेट खर्च प्रभावकारी नहुदाँसम्मको असर यस वर्षको आर्थिक वृद्धिदरमा देखिने भएको छ ।   सरकारले यस वर्ष पनि आर्थिक वृद्धिदरको लक्ष्य भेट्न नसक्ने दातृ निकायहरुले गरिरहेको प्रक्षेपणहरुबाट देखिन थालेका छन् ।  सरकारी लक्ष्य पूरा नहुने संकेत गर्दै बुधवार एसियाली विकास बैंक(एडीबी) ले एसियाली डेभलपमेण्ट आउटलुकमार्फत प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीका अनुसार चालु आवमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने आँकलन गरिएको छ । गत आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।  एडीबीकाअनुसार अहिले पनि सरकारी खर्च बढ्न सकिरहेको छैन, निर्माण क्षेत्र चलायमान हुन सकिरहेको छैन । त्यसै कारण यो आर्थिक वर्षमा सरकारी लक्ष्य भेट्न मुस्किल पर्नेछ ।  यद्यपि गत वर्षमा भन्दा नेपालको अर्थतन्त्रले केही गति लिएको एडीबीको ठहर छ । एडीबीकाअनुसार गत आव नेपालमा जलविद्युत उत्पादनमा वृद्धि, गहुँ उत्पादन बढेको छ भने सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुनेछ ।  एडीबीले आफ्नो प्रतिवेदनमा भनेको छ, ’ब्याजदरमा आएको गिरावटले औद्योगिक लागतमा कमी आएको र उत्पादनमा भएको वृद्धि भएको छ । जलविद्युत उत्पादन बढेको र निर्माण क्षेत्रसमेत सकारात्मक हुनेछ । पर्यटक आगमनमा वृद्धिले होटल तथा यातायात क्षेत्र पनि चलायमान हुनेछ ।’ दातृ निकायहरुले आर्थिक वृद्धि लक्ष्यअनुसार हासिल नहुनुका कारण प्राकृतिक विपत्तिदेखि राजनीतिक अस्थीरतासम्मलाई मानेका छन् ।  गत साता मात्रै विश्व बैंक चालु आव २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो ।  ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको थियो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो । सन् २०२४ अन्त्यतिर नेपालले ठूला प्राकृतिक विपत्तिको सामना गर्नुपरेको थियो ।  विश्व बैंकले हालै आफ्नो प्रक्षेपण सार्वजनिक गर्दै भनेको छ, ‘यस वर्ष आन्तरिक व्यापार, जलविद्युत तथा धान उत्पादन वृद्धिबाट आर्थिक वृद्धिदर उकास्न मद्दत पुग्नेछ । आगामी आव अर्थतन्त्र अझ बिस्तार हुनेछ । यसमा सेवा क्षेत्रको योगदान बढी हुने अनुमान छ ।’ आगामी आव २०८२/८३ मा ५.२ प्रतिशत र त्यसपछि २०८३/८४ मा ५.५ प्रतिशतले बिस्तार हुने समेत विश्व बैंकको अनुमान छ । 

स्काईवेल एसयुभी किन्ने जोडीलाई युरोप घुम्न जाने अवसर

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्ने भएका छन् । स्काईवेल नेपालको 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानअन्तर्गत स्काईवेल किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरेको हो । यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल -'बीई ११' र 'ईटी ५'- मध्ये कुनै पनि खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् । नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल-साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् । 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् । स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको  छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् । हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् । स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स हाे ।

रविको मानवअधिकार हनन गर्नेलाई कारबाही गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी सभापति रवि लामिछानेको गैरकानुनी पक्राउप्रति विरोध जनाउँदै बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । उनीहरूले लामिछानेको पक्राउ प्रक्रियामा राज्य संयन्त्रबाट मानवअधिकार उल्लंघन भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । रास्वपाका अनुसार अदालतको आदेश बिना, कुनै कानुनी प्रक्रियाको पालना नगरी, दलबलसहित लामिछानेको निजी सयनकक्षमा प्रहरी पुगेर बल प्रयोग गरिएको हो । यस प्रकारको ज्यादती संविधान र मानव अधिकार विपरित रहेको रास्वपाको ठहर छ । 'सभापति लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको बलप्रति गम्भीर आपत्ति जनाउँदै दोषी अधिकारीमाथि कारबाही हुनुपर्छ,' आयोगमा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । रास्वपाले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

‍‍गौतमबुद्ध अन्तर्राराष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै उद्योग व्यवसायीको ध्यानाकर्षण

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।  पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । त्यस्तै, सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरुसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए । त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् ।  यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् । भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समर शेड्युल लिएका छैनन् ।

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।  एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक- २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो ।  अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।  त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा दुई दशमलव तीन र सन् २०२६ मा दुई दशमलव दुई प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति दुई दशमलव छ प्रतिशत थियो । नेपालको मुद्रास्फीति भने सन् २०२५ मा पाँच दशमलव दुई र सन् २०२६ मा पाँच प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ । 'अप्रिलको सुरुआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ,’ प्रतिवेदनमा भनिएको छ । साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन–रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।   

अब नेपालको अर्थतन्त्र सुधार हुँदै जाने एडीबीको अनुमान, महँगी घट्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधार हुने अनुमान गरेको छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र सुधारको गतिमा रहने प्रक्ष्येपण गरेको हो ।  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने अनुमान गरेको एडीबीले आगामी आर्थिक वर्षमा सो वृद्धिदर ५.१ प्रतिशत पुग्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो भने अघिल्लो आवमा २ प्रतिशतमा सीमित बनेको थियो ।  यस्तै, एडीबीले आगामी आर्थिक वर्षमा नेपालको मुद्रास्फिति ५ प्रतिशतमा झर्ने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्म ५.२ प्रतिशत कामय हुन सक्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षको नेपालको मद्रास्फिति अर्थात् महँगी ५.४ प्रतिशत र अघिल्लो आर्थिक वर्षमा ७.७ प्रतिशत पुगेको थियो ।  एडीबीले नेपालको सेवा क्षेत्र, जलविद्युत उत्पादन र धान उत्पादनमा वृद्धि भएपछि आर्थिक वृद्धिदरमा सुधार हुँदै गएको बताएको छ । खाद्यबाहेकका वस्तुहरूमा मूल्यवृद्धि कम भएपछि मुद्रास्फीति घट्न पुगेको, व्यापार घाटा कम भएको तथा रेमिट्यान्स आम्दानी बढ्नाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक माग थप सशक्त हुँदै जाँदा, जलविद्युत निर्यात बढ्दै जाँदा र पर्यटन क्षेत्र मजबुत हुँदा आर्थिक वृद्धिदर अझै बढ्ने जनाएको छ । विश्व बजारमा तेलको मूल्य केही घट्ने अनुमानसँगै नेपालको मुद्रास्फीति पनि घट्न सक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्स स्थिर रहँदा आयात बढ्ने भएकाले चालु खाता घाटामा जान सक्ने प्रक्ष्येपण पनि गरिएको छ ।  पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।