विकासन्युज

चिनियाँ सामानमा १०४% कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागू भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ । वासिङ्टनको शीर्ष आर्थिक प्रतिद्वन्द्वी तर प्रमुख व्यापारिक साझेदार समेत रहेको चीन सबैभन्दा बढी प्रभावित भएको छ । ट्रम्प ह्वाइट हाउसमा फर्केपछि चिनियाँ उत्पादनहरूमा लगाइएका भन्सार दरहरू अहिले आश्चर्यजनक रूपमा १०४ प्रतिशत पुगेको छ । ह्वाइट हाउसले जापान र दक्षिण कोरियाजस्ता सहयोगीहरूलाई प्राथमिकता दिने भन्दै मङ्गलबार आफ्नो सरकारले व्यापारिक साझेदारहरूसँग ‘अनुकूल सम्झौताहरू’ मा काम गरिरहेको ट्रम्पको धारणा छ । उनले शीर्ष व्यापार अधिकारी जेमिसन ग्रिरले पनि सिनेटलाई अर्जेन्टिना, भियतनाम र इजरायलले आफ्नो कर घटाउने प्रस्ताव गरेको बताए । चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत कर बिहीबारदेखि लागु हुने भएको छ । मङ्गलबार ट्रम्पले संयुक्त राज्य अमेरिकाले करबाट ‘दैनिक लगभग दुई अर्ब डलर’ कमाइरहेको बताएका छन् ।  उनले सुरुमा चिनियाँ सामानहरूमा ३४ प्रतिशत अतिरिक्त भन्सार दर घोषणा गरेका थिए । तर चीनले अमेरिकी उत्पादनहरूमा समान मात्राको आफ्नै भन्सार दर लगाएपछि ट्रम्पले अर्को ५० प्रतिशत भन्सार शुल्क थपे ।  फेब्रुअरी र मार्चमा लगाइएको विद्यमान करहरू गणना गर्दा यसले ट्रम्पको दोस्रो राष्ट्रपतिको कार्यकालमा चिनियाँ सामानहरूका लागि सञ्चयी भन्सार शुल्क वृद्धि १०४ प्रतिशत पुग्नेछ । एजेन्सीको सहयोगमा 

कुलमानलाई हटाएपछि ऊर्जामन्त्रीले फेरे बोली, ‘अब देशमा लोडसेडिङ हुँदैन’

काठमाडौं ।  यसअघि देशमा लोडसेडिङ हुन्छ भनेर हल्ला फैलाएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को बुधबार उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् । उनले यसअघि नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा लोडसेडिङ हुने धारणा राखेका थिए । तर, अहिले उनले अब देशमा लोडसेडिङ नहुने बताएका हुन् ।  उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४ सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए ।        प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए ।         नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।         मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए । उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।  नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए ।         ‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो-११ कम्पनीले निर्माण गरेको हो ।  रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।  

भूकम्पपीडित म्यानमारलाई नेपालले १ करोड ४० लाख बराबरको राहत सामग्री सहयोग गर्ने

काठमाडौं । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताइन् ।  म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो ।  म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधीहरू, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको बताए ।  यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् । मन्त्री राणाले भने, ‘हाम्रो राजदूतावास म्यानमारमा भएको हुनोल त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरुलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधीहरू, मेडिकल टिमहरू माग्नुभएको थियो । मेडिकल टिम नेपाली सेनाले पठाएको छ । त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौं ।’  हस्तान्तरण गरिने सामग्रीहरुको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने जानकारी दिए । उनकाअनुसार २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । । योभन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको उनले जानकारी दिए ।  अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाउने उनले बताए ।  

काठमाडौंमा वर्षाले दियो प्रदूषणबाट राहत, अझै केही दिन वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो हल्का वर्षा भएको छ । लामो समयपछि परेको यस वर्षाले वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि देशभरको मौसममा बदली आएको हो । मंगलबारदेखि सक्रिय भएको उक्त प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौं उपत्यकामा बुधबार मात्र वर्षा भएको हो । मौसम विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको जनाइएको छ । वर्षाले उपत्यकाको वायु प्रदूषणमा सुधार हुने र जनताले केही राहत महसुस गर्ने अवस्था सिर्जना भएको मौसमविद्हरूले बताएका छन् । काठमाडौं उपत्यकासँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मौसमविद् धर्मराज उप्रेतीका अनुसार आज, भोलि र पर्सि पनि वर्षाको सम्भावना रहेको छ । त्यसैले केही दिन मौसम बदलिने सम्भावना रहेको उनको भनाइ छ । यसबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले वातावरणमा रहेको धुँवा, धुलोलाई हटाउँदै स्वच्छता कायम गर्न मद्दत गरेको छ । काठमाडौं उपत्यकाबाहिरका केही स्थानमा पनि वर्षा भएकोले वायुमण्डलीय प्रदूषण हट्न सहयोग पुगेको बताइएको छ ।

फक्सवागनको विद्युतीय कार बिक्री युरोपमा बढ्यो

काठमाडौं । फक्सवागन समूहको विद्युतीय कार(ईभी) को बिक्री यूरोपमा यस वर्षको पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढी बढेको छ । चीनमा भने बिक्री घटेको देखिएको छ । युरोपमा विद्युत् कारको माग वर्षौंको सुस्त वृद्धिपछि फेरि बढ्न थालेको छ भने चीनको विद्युत् कार बजार भने अझै पनि निकै प्रतिस्पर्धात्मक छ । जहाँ नयाँ विद्युत् कार मात्रै उत्पादन गर्ने कम्पनीहरूले विदेशी कार निर्माता कम्पनीहरूको बजार हिस्सा खोसिरहेका छन् । चीनमा कुल बिक्री ७.१ प्रतिशतले घटेको छ, यद्यपि कम्पनीले त्यहाँ २२ प्रतिशतको इन्धन इञ्जिन कार बजार हिस्सा कायम राख्न सफल भएको छ । मर्सिडीज-बेन्ज र पोर्शेले पनि चीनमा बिक्री घटेको रिपोर्ट दिएका छन् । फक्सवागनले प्रमुख मोडलहरू- जस्तै आईडी.थ्री र आईडी.फोर एक्सको नयाँ संस्करणहरू लन्च हुँदै जाँदा आगामी महिनाहरूमा विद्युत् कारहरूको बिक्री क्रमशः बढ्दै जाने अपेक्षा गरेको छ । अप्रिलमा शाङ्घाइ अटो शोमा फक्सवागनले नयाँ अडी ब्रान्डको पहिलो सिरिज उत्पादन मोडल प्रदर्शन गर्नेछ जुन यसै वर्ष लन्च हुनेछ र सन् २०२६ मा आउने तीनवटा भीडब्ल्यू मोडलहरू पनि देखाउनेछ । पश्चिमी युरोपमा फक्सवागनका गाडीहरूको अर्डर- चाहे त्यो विद्युत् होस् वा इन्धन इञ्जिन- २९ प्रतिशतले बढेको छ । युरोपेली अटोमोबाइल निर्माता संघको तथ्यांकअनुसार यो वर्ष युरोपमा विद्युत् गाडीहरूको बिक्री उल्लेखनीय रूपमा बढेको छ, यद्यपि कुल गाडी बिक्री भने घटेको छ ।  नयाँ युरोपेली संघको उत्सर्जन लक्ष्यहरू र नयाँ मोडलहरूको लन्चले वर्षौंको सुस्त वृद्धिपछि माग बढाएको देखिन्छ । संयुक्त राज्य अमेरिकामा बिक्री ६.२ प्रतिशतले बढेको छ, जुन सम्भवतः २५ प्रतिशत आयात कर लागु हुनु अघि ग्राहकहरूले अग्रीम रूपमा गाडी किनिरहेका संकेत हुन सक्छ । भीडब्ल्यू ब्रान्डको करिब दुई–तिहाइ बिक्री मेक्सिकोमा बनेका गाडीहरूमार्फत हुन्छ र यसको सबै पोर्शे, अडी र लाम्बोर्गिनी गाडीहरू युरोपबाट आयात गरिन्छ ।

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा रु ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।    उनले भने, 'सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार गरेर उक्त मानवीय सहायता रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, क्षतिको यकिन विवरण प्राप्त भएपछि थप सहयोग गर्नेछौँ ।'    मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवं पीडितलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, सङ्घसंस्था र दातृ निकायलाई सहयोगका लागि अपिल गरे ।  प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई खटाएको छ । अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गए राति भएको आगालागिबाट दश कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा  एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।  यीमध्ये ११ घरमा पसल सञ्चालनमा थिए । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिन्डर विष्फोट हुँदा सल्किएको आगो बजारका अन्य घरपसलमा फैलिएको थियो । साँझदेखि सुरु भएको आगलागी राति १ः३० बजेमात्र प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको थियो ।  आगलागीबाट सात करोड ५४ लाख बराबर रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए । रासस  

आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तर संसदीय संघ (आईपीयू) को महासभाबाट नवगठित स्वास्थ्यसम्बन्धी समितिकी सदस्यमा निर्वाचित भएकी छन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित १५ मुलुकका प्रतिनिधिहरूलाई चार वर्षका लागि समितिमा चयन गरेको हो । समितिको कार्यकाल सन् २०२९ को मार्चमा समाप्त हुनेछ । आईपीयूको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै यसलाई स्वतन्त्र समितिको रूपमा पुनर्गठन गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार गठन गरिएको उक्त समितिमा नेपालको प्रतिनिधित्व गर्दै सांसद गौतम निर्वाचित भएकी हुन् ।  समितिमा सांसद गौतमसँगै अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी मुएको मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्तानकी सिनेट सदस्य ओ अतानियाजोवा, र जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।  

व्यापारीको जेठो संगठन नेपाल चेम्बर ७५ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७५ औं वर्षमा प्रवेश गरेको छ ।  वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, 'आज हामीले ७५ ‍औं वर्षमा प्रवेश गरेका छौं । यो अवसरमा हामी खुसी छौं । नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बरले सधैं साथमै रहेको छ ।' उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स.२००७ सालमा आश्विन २७ गते भएको थियो । नेपाल चेम्बर प्रजातन्त्रसङ्गै स्थापित भएको हो ।  विसं २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल  चेम्बरको अगुवाइमा भएको थियो ।  निवर्तमान अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागि रहेको दाबी गरे ।  चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि बताए  । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गरेको छ । देशमा रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरेको छ । देशभरका उद्योगी तथा व्यवसायीहरूको सहभागिता भएको नेपाल चेम्बर अफ कमर्सको विधान मन्त्रिपरिषदबाट २०७४ सालमा संशोधन भएको थियो भने तदनुरूप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा राष्ट्रिय संघ संस्थाहरूसम्म सदस्यहरू बिस्तार भएको छ । हाल ७ वटा प्रदेशका ६८ वटा जिल्ला चेम्बर गठन भैसकेको निवर्तमान अध्यक्ष  मल्लले जानकारी दिए।