विकासन्युज

सरकारमा केही समस्या छैन, गभर्नर नियुक्त छिट्टै हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गर्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त छिट्टै हुने बताएका छन् । शुक्रबार देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।  बैठकमा सहभागी एक पदाधिकारीले बाहिर हल्ला भएजस्तो सरकार कुनै समस्या नरहेको सभापति देउवाले उल्लेख बताए ।  पछिल्लो समय गभर्नर नियुक्तिको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन नसकेको हो । एमालेले गर्दा गभर्नर नियुक्त हुन नसकेको हल्लालाई देउवाले बारम्बार खण्डन गर्दै आइरहेका छन् । साथै बैठकमा टीआरसी र शिक्षा विधेयकमा पनि छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एस्पायरिङ अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । बिहीबार एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ । पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुने र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ ।

डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्डबाट ‘इमिनेन्स अवार्ड’

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डले नेपालका डा. सुधन लम्साललाई 'इमिनेन्स अवार्ड' प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकड्र्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । 'इमिनेन्स अवार्ड' उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व्यक्त गरे । नेपालको शिक्षाक्षेत्र तथा युवा विकासमा रहेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पाउनु नै गर्वको कुरा रहेको उनी बताउँछन् । जापान, इजिप्ट, दुवै, टर्की, सिंगापुर, मलेसिया, थाइल्याण्ड, चीन, काजकिस्तान लगायतका देशहरुमा गएर उनले थुप्रै तालिम र कार्यशालाहरू सञ्चालन गरिसकेका छन्, जसमा शिक्षा, कर्पोरेट, र अन्तर्राष्ट्रिय संस्थाहरू समावेश छन् । लम्साल एक प्रतिष्ठित कार्यक्रम, तालिम र संचार निर्देशक पनि हुन् । उनले इमोशनल इंटेलिजेन्स, एप्रिसिएटिव इन्क्वायरी, पर्सनालिटी डेवलपमेन्ट, क्यारियर काउन्सिलिङ, र जीवनको दृष्टिकोण व्यवस्थापनसम्बन्धी युवा प्रोत्साहन कार्यक्रमहरू गर्दै आएका छन् । उनी विभिन्न प्रवृत्तिका कार्यक्रमहरू डिजाइन गर्दै सामुदायिक विद्यालय र नेतृत्व प्रशिक्षण कार्यशालाहरू, जसले आधुनिक शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै युवा सशक्तिकरणको लागि नयाँ दृष्टिकोण ल्याउनको लागि काम गर्दैछन् । डा. लम्सालको उपलब्धि समर्पण, सृजनशीलता र उत्कृष्टताको प्रेरणादायी प्रतीक बन्न पुगेको छ ।

महालक्ष्मी विकास बैंककाे ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालमा पहिलो पटक विकास बैंकको हैसियतमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ । फोन पेको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सुविधामार्फत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद निकाल्न सक्ने छन् । सेवाको प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरू गरिएको यो सेवा छिट्टै देशभरका शाखाहरूमा विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको झन्झट हटाउने र नगद झिक्ने प्रक्रियालाई अझ सहज र डिजिटल बनाउने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलिपे प्लस नेटवर्कमार्फत क्रस(बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतबाट आएका पर्यटकहरूले नेपालमा नेपालपे क्यूआर स्क्यान गरी आफ्नै देशको डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् । ग्राहक अनुभवलाई थप सहज बनाउन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ । जसले डिजिटल बैंकिङ्ग सेवामा नयाँ परिष्कार ल्याएको छ ।

औद्योगिक विकास र रोजगारीमा टेवा : कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट

काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्याएको छ । बुधवार आयोजित विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै उक्त युनिटको औपचारिक शुभारम्भ गरे । यसअघि मोरङको विराटनगरमा पहिलो युनिट स्थापना गरिसकेको कम्पनीले दुई दशकको सफल अनुभवलाई आधार बनाएर कपिलवस्तुमा दोस्रो युनिट स्थापना गरेको हो । नयाँ युनिटबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका लोकप्रिय चाउचाउ ब्रान्डका उत्पादन सुरु गरिने छ । साथै, केही नयाँ ब्रान्ड पनि उत्पादनमा ल्याउने योजना कम्पनीले सार्वजनिक गरेको छ । उत्पादन सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिनेछ । सुरुआती चरणमा चाउचाउ उत्पादन केन्द्रित भए पनि आगामी दिनमा अन्य स्न्याक्स उत्पादन लाइनहरू थप्ने तयारी कम्पनीको रहेको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

१० मेगावाट सौर्य परियोजना : सूचीकरण प्रक्रिया अघि बढाउँदै अर्गा भगवती

काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ । उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ । अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्‍याउने दाबी गरेको छ । यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।

हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक

झापा । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिर्तामोडस्थित आफ्ना डिलर 'अलायन्स मोटर्स' मा क्रेटा इभी (इलेक्ट्रिक भर्सन) को सार्वजनिक कार्यक्रम तथा ग्राहक प्रतिकृया सञ्जाल 'मिट एन्ड ग्रेट' सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ग्राहकहरूले नयाँ क्रेटा इभीको प्रत्यक्ष अवलोकन गर्दै हुन्डाई व्यवस्थापन टिमसँग गाडीको प्रविधि, सेवालगायत विषयमा प्रत्यक्ष संवाद गरेका थिए । कम्पनीले इभी प्रति देखिएको अनिश्चितता, जस्तै स्पेयर पार्ट्स उपलब्धता, सर्भिस चार्ज, र ब्रान्डको दीर्घकालीन सपोर्टमा स्पष्टता ल्याउँदै क्रेटा इभी पेट्रोल मोडेलसरहै भरपर्दो हुने जानकारी गराएको छ। हुन्डाई नेपालका अनुसार क्रेटा इभी र पेट्रोल मोडेल एउटै प्लेटफर्ममा आधारित भएकोले सर्भिस, पार्ट्स र ब्रान्ड सपोर्ट दुबैमा कुनै भिन्नता छैन । कम्पनीले आफ्नो सन्देश देशभर फैलाउन उच्च व्यवस्थापन टोली स्वयं विभिन्न स्थानहरूमा पुगेर ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ । बिर्तामोडको कार्यक्रम पनि त्यही अभियान अन्तर्गत भएको हो । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै हुन्डाई नेपालले 'सफा र स्मार्ट भविष्य' को यात्रालाई अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।

तोलामा १ हजार ४ सयले घट्यो सुन

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आए सँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, १ तोला चाँदी १ हजार ९६० मा बेचबिखन भइरहेको छ ।  बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो ।  अन्तराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।