विकासन्युज

एनआईसी एशिया लघुवित्तले २४९ सदस्यलाई दियो बाख्रापालन र सुन्तला खेतीको तालिम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखामा भव्य रूपमा वित्तीय साक्षरता तथा कृषि तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २६ र २७ गते सम्पन्न उक्त कार्यक्रममा पाउँदुर, सिरानचौर, अमरापुरी, थाकुरद्धारा, बागचौर, छाँयाछेत्रलगायत सात शाखामा आयोजित कार्यक्रममार्फत करिब २४९ जना सदस्यलाई वित्तीय साक्षरतासँगै बाख्रापालन र सुन्तला खेतीसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, तीनवटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीहरूलाई लघुवित्त सेवाको सदुपयोग, बचत तथा ऋण व्यवस्थापन, घरायसी आय वृद्धिका उपायहरूबारे जानकारी दिइएको थियो । संस्थाले ग्रामीण समुदायमा वित्तीय पहुँच अभिवृद्धिसँगै आम नागरिकको जीवनस्तर उकास्न यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । यस प्रकारको सहकार्य र सहभागितामूलक प्रयासले सदस्यहरूको आत्मनिर्भरता र उत्पादनशील क्षमतामा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ ।

पर्यटन क्षेत्रमै सबैभन्दा बढी कर तिर्ने तारागाउँ रिजेन्सी होटल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ ।  महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा तारागाउँ रिजेन्सी होटललाई सम्मानपत्र प्रदान गरेका हुन् । महासंघले गत चैत २८ मा सम्पन्न ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आज एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो । महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९ औं वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरेको हो ।   पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ  । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भइसकेको छ । होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत २०७६ मा सम्मानित गरेको थियो । कूल ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रुपमा सम्मान गरेको हो । नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । होटलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी  दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् । १० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।

सव-इन्जिनियर पौड्यालविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा, पत्नी पनि प्रतिवादी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँको बिगो माग गरिएको हो । अनुसन्धानअनुसार पौड्यालले २०५१ साल वैशाख ९ देखि २०८० असार ३१ सम्मको सेवाअवधिमा तलब, भत्ता, जग्गा बिक्री, बीमा, र छोराछोरीको पारिश्रमिक मिलाएर २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ वैध आय देखिएका छन् । तर, उनी र उनको परिवारले सो अवधिमा घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, रेष्टुरेन्टमा लगानी, सवारीसाधन, शेयर, ऋण सापटी र सुन खरिदजस्ता शीर्षकमा ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ खर्च गरेका थिए । यसरी करिब साढे तीन करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पौड्यालले अवैध सम्पत्ति पत्नी विष्णुमाया पौड्यालको नाममा राखेकाले उनीलाई समेत प्रतिवादी बनाइएको छ । आयोगले गैरकानूनी सम्पत्ति जफत गर्न माग गर्दै अदालतमा दाबी दर्ता गरेको हो । यो मुद्दाले सरकारी सेवामा रहेका व्यक्तिहरुले कसरी पदको दुरुपयोग गरेर अवैध सम्पत्ति आर्जन गरिरहेका छन् भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ।

बिटकोइनभन्दा इथेरियम अगाडि, सात दिनमै ३५ प्रतिशत प्रतिफल

काठमाडौं । क्रिप्टोकरेन्सीको मूल्य फेरि आकाशिन थालेको छ । गएको एक हप्तामा लगभग सबै प्रमुख क्रिप्टोकरेन्सीहरूले शानदार प्रतिफल दिएका छन् । विशेषगरी विश्वकै दोस्रो सबैभन्दा महँगो क्रिप्टो इथेरियमले त साप्ताहिक प्रतिफलको हिसाबले विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइनलाई समेत पछि पारेको छ ।  इथेरियमको मूल्य गत ७ दिनदेखि एकदमै तीव्र गतिमा उक्लिरहेको छ । यसले सात दिनमै लगानीकर्तालाई झण्डै ३५ प्रतिशत प्रतिफल दिएको छ। ७ दिनअगाडि अर्थात् अप्रिल ४ तारिखको दिउँसो १ बजे एउटा इथेरियमको मूल्य १ हजार ८४० डलर थियो । आज आइतबार दिउँसो १ बजे यसको मूल्य झण्डै २ हजार ४९५ डलर पुगिसकेको छ ।  यसले ७ दिनमै लगानीकर्तालाई ३५ प्रतिशतभन्दा बढी प्रतिफल दिएको देखिन्छ । त्यति नै अवधिमा बिटकोइनको रिटर्न ८ प्रतिशतभन्दा अलि बढी मात्र रहेको छ । दोस्रो सबैभन्दा महँगो क्रिप्टो हाल विश्वकै सबैभन्दा महँगो क्रिप्टो बिटकोइन हो, जसको मूल्य १ लाख डलरभन्दा माथि पुगेको छ । दोस्रो स्थानमा इथेरियम रहेको छ, जसको मूल्य २ हजार ४०० डलरभन्दा बढी छ । इथेरियम केवल दोस्रो सबैभन्दा महँगो क्रिप्टो मात्र होइन, व्यापारिक चलनको हिसाबले पनि यो दोस्रो स्थानमै रहँदै आएको छ । बिटकोइनको स्थिति कस्तो ? अघिल्ला केही समयको प्रतिफल हेर्दा बिटकोइन अझै पनि भरपर्दो क्रिप्टोकरेन्सी बनेको देखिन्छ । ७ दिनको अवधिमा यसको प्रतिफल ८ प्रतिशतभन्दा बढी रहेको छ । आइतबार दिउँसो १ बजे एउटा बिटकोइनको मूल्य झण्डै १ लाख ३ हजार ६४७ डलर थियो । विगत १ वर्षको अवधिमा बिटकोइनले ७० प्रतिशत जति रिटर्न दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताएका छन् । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आज उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे । 'हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ', उनले भने । आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्यमन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए । एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० भन्दा बढीको सहभागिता

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमा लेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सर्भेयर संघले संघ मात्रै नभएर अबका दिनमा तालिम केन्द्र पनि सञ्चालन गरी आवश्यक तालिम सञ्चालन गर्न अनुरोध गरे । तालिम केन्द्र सञ्चालनमा संघलाई प्राधिकरणको साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।  एक दिने अन्तरक्रिया कार्यक्रममा चार वटा स्टेक होल्डरसँग छलफल भएको र कार्यक्रम निकै नै सकारात्मक भएको च्याप्टर प्रमुख लामिछानेले बताए । उनका अनुसार कार्यक्रमको पहिलो सेसनमा ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिएका थिए । त्यस्तै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले वर्तमान बीमाको सिनारियोबारेमा प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तति दिएका थिए  भने प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सम्पति बीमालेखसम्बन्धी प्रस्तुति दिएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुवेदी, बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रदेश प्रमुख जमुना अर्याल, सर्भेयर, बैंक, बीमाका कर्मचारीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो । 

प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष- ऐनामा आफ्नै अनुहार देखी अरूलाई गाली गर्न छाडौं

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्य पुष्पकमल दाहाललाई आग्रह  गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । उनले आफै ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे । उनले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका सांसदहरूले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोलेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिनँ । ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली गर्ने । त्यसमा मैले केही भनिरहन आवश्यक छैन जस्तो देख्छु । आफै ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै हो ।’ उनले संसदमा सामाजिक सञ्जालका टिप्पणीहरु व्यक्त गर्न नहुने पनि बताए ।  

तरलता घटाउन राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरण मार्फत २१ दिन अवधिका लागि यो रकम संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी आवेदन दिन सक्नेछन् । यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ भने उक्त उपकरणमा लगानी गरिएका निक्षेपलाई राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी १८ जेठमा भुक्तानी गरिने जनाइएको छ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन गर्न राष्ट्र बैंकले समय समयमा यस्ता मौद्रिक उपाय अवलम्बन गर्दै आएको छ ।