विकासन्युज

गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम थालिरहँदा खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गर्दै, विक्री वितरण र निर्यात गर्न दिन निजी क्षेत्रले माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाहरुले सरकारलाई बजेटमा सुझाव दिँदै त्यस्ता वस्तुहरु अहिले खेर गइरहेको भन्दै आगामी बजेटमा त्यसखालको कार्यक्रम ल्याउन भनेका हुन् ।  उद्योग वाणिज्य महासंघले दिएको सुझावमा भनिएको छ, ‘गिटी रोडा ढुंगा उत्खनन, बिक्रि वितरण र निर्यात सम्बन्धमा आवश्यक कार्यविधि बनाई आन्तरिक खपत (अन्दाजी वार्षिक २ करोड घनमिटर) भन्दा बढी परिमाणलाई निर्यात गर्न पाउने व्यवस्था गरिनुपर्छ ।’ उद्योग वाणिज्य महासंघकाअनुसार नदी उकासका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत बंगलादेशमा अबको केही बर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गर्नुपर्छ । निजी क्षेत्रले यस्तो कार्यक्रम ल्याए अर्थमन्त्रीलाई बलियो साथ दिने समेत घोषणा गरेको छ । बजेटबारे सुझाव दिँदै एफएनसीसीआईले भनेको छ, ‘माननीय मन्त्रीज्युले यसअघिको बजेटमा हाम्रो आग्रहमा उक्त व्यवस्था गरेपनि पछि विशेषगरी सामाजिक सञ्जालमा विरोधका कारण पछाडि हट्नुपरेको थियो । यसपटक हामी सरकारसँग यस विषयमा सँगै रहनेछौँ र साथ दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ यता, नेपाल उद्योग परिसंघले पनि प्राकृतिक स्रोत साधनमाथि लगाइका कडा प्रावधान हटाउन सरकारसँग माग गरेको छ । उसले त्यस्ता कानूनहरुले करोडौं पर्ने खेर गइरहेका प्राकृतिक स्रोतहरु उपयोग गर्न नपाएको बताएको छ ।  उसले बजेटमा सुझाव दिँदै भनेको छ, ‘प्राकृतिक सम्पदाको दिगो उपयोग हुनेगरी हाल कायम रहेका कठोर नीति नियमहरूको पुनरावलोकन गर्न अत्यावश्यक छ । उद्योगहरूका लागि वन क्षेत्रको उपयोग, काष्ठ तथा गैह्रकाष्ठ वस्तुहरूको उपयोग, जडिबुटी, ढुँङ्गा, गिट्टी, पानी, चुनढुङ्गा, खानी तथा खनिजजन्य सम्पदाहरूको दिगो उपभोग हुनेगरी प्रचलित कठोर कानूनहरूको सरलिकरण गर्नुपर्छ ।’ यसअघि अर्थमन्त्री भएकै बेला विष्णु पौडेलले बजेटमा त्यसबारे कार्यक्रम राखेका थिए तर प्रकृतिक स्रोत साधनको चर्को दोहन हुने भन्दै चर्को विरोध भएपछि त्यो कार्यान्वयनलाई सरकारले कार्यान्वयनमा लैजान सकेको थिएन ।   अहिले पनि प्राकृतिक स्रोत साधनको अवैध दोहोन रोकिएको छैन । यसमा राज्यले गम्भीरता नदेखाएको भन्दै अदालतमा समेत मुद्दा परेको थियो । सर्वाेच्च अदालतले गत माघमा यसबारे परमादेश जारी गर्दै ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी विक्री व्यवस्थापनका लागि कानून बनाएर कार्यान्वयन गर्न भनेको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन बनाउन परमादेश जारी गरेको लामोसमय बितेपनि काम नै शुरु भएको छैन । उद्योग वाणिज्य महासंघले बजेटमा गिटी ढुंगाको मात्रै चासो दिएको छैन । उसले इआईएकोे अध्ययन र स्वीकृति ६ महिनाभित्र हुने र आइइ भित्र पर्ने आयोजनाको दायरा बढाई ३ महिना भित्र स्वीकृति गर्र्नेे व्यवस्था आवश्यक रहेको बताएको छ ।  इआइ र आइइलाई लगानी रकमसँग नजोडी वातावरणीय प्रभावका आधारमा बाध्यकारी बनाउनुपर्ने उसको माग छ । स्वदेशीे काठले नै आन्तरिक माग परिपूर्ति गरी निकासी समेत गर्नसक्ने सम्भावना भएकाले वर्षेनी अरबौंको काठ र काठजन्य उत्पादन आयात गर्ने अवस्थाको अन्त्य गरी स्वदेशी काठको उपयोगलाई सहज बनाउन प्रचलित बन सम्बन्धी ऐन कानून र प्रक्रियाहरू सरलिकरण गर्न समेत महासंघले भनेको छ । महासंघकाअनुसार वनजन्य उद्योगबारे ऐनमा व्यवस्था भएपनि व्यवहारिक कठिनाइ भएको हुँदा यस्ता उद्योग स्थापनाका लागि सहजीकरण गरिनुपर्छ । 

शांघाई अटो शोमा सबैको ध्यान खिचेको 'जेको जे फाइभ' र 'जेको भी ट्वान्टी थ्री' नेपाल भित्रिँदै

काठमाडौं । शांघाई अटो शोमा सबैको ध्यान केन्द्रित गरेको जेको जे फाइभ र जेको भी ट्वान्टी थ्री नेपाली बजारमा आउने पक्का भएको छ ।  नेपालमा ओमोडा र जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दुवै मोडल भित्र्याउन लागेको हो । सबै कुरा मिलेको अवस्थामा नाइमा अटो शोमा यी दुवै मोडल प्रदर्शन हुने स्रोतले जनाएको छ  ।  दुई मोडेलमध्ये जेको जे फाइभ आउने लगभग पक्का भइसकेको छ  भने भी ट्वान्टी थ्रीलाई पनि सक्दो नाइमा अटो शोमा देख्न सकिने स्रोतको दावी छ ।  जेको जे फाइभ एसयूभी हाे । याे गाडी प्लग इन हाइब्रिडमा उपलब्ध हुनेछ । यसमा बोल्ड फ्रन्ट ग्रिल र मोडर्न एलईडी हेडलाइट्स रहेकाे छ ।  यसैगरी, याे गाडीमा २०८ किलाेवाटकाे पीएमएस मोटर रहेकाे छ । ब्याट्रीप्याक ६९.८ किलाेवाटकाे लिथियम आयन ब्याट्री रहेकाे छ । यसकाे डब्ल्यूएलटीपी रेन्ज ५०१ किलाेमिटर रहेकाे छ । यसका साथै यसमा प्यानाराेमिक सनरुफ, १९ इन्चकाे एलाेय ह्वील्स, लेभल टु एडीएसलगायतका अन्य फिचर छन् ।  जेको भी ट्वान्टी थ्री प्रिमियम इलेक्ट्रिक कम्प्याक्ट-साइज क्रसओभर हो । रेट्रो अफ राेड डिजाइनमा आधारित याे गाडीलाई आईकार ट्वान्टी थ्री भनेर पनि चिनिन्छ । यो गाडीमा अफ-रोड क्षमतासँगै आधुनिक प्रविधि र स्टाइलिश डिजाइन रहेकाे छ । याे गाडीमा फोर ह्वील कर्नर डिजाइन रहेकाे छ । यसमा ग्राउन्ड क्लियरेन्स २०६  मीमी र अल ह्वील ड्राइभमा २१२ मीमी रहेकाे छ । 

राजतन्त्र ल्याउन खोजे लडाईं हुन्छ : नारायणमान बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् ।  उनले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताए । उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताए । राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गरे ।  उनले भने, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । यदी त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन ।’ अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाए । 

एकै दिन बोलाइयो मन्त्रिपरिषद् र सिफारिस समितिको बैठक, आजै गभर्नर नियुक्त हुने सम्भावना

काठमाडौं । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका छन् । उनले समितिका सदस्यलाई फोन गरेर बैठक बोलाएका हुन् । अर्थमन्त्री पौडेलले समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डेलाई बैठकमा बोलाएका हुन् । समितिका एक सदस्यका अनुसार अर्थमन्त्रीले फोन गरेरै बैठकमा डाकेका हुन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।  समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ ।  ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिगषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे । 

युद्धविरामका लागि रुस र युक्रेनले तुरुन्त वार्ता सुरु गर्ने ट्रम्पको दावी

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन युद्धविराम र त्योभन्दा महत्त्वपूर्ण युद्धको अन्त्यका लागि ‘तुरुन्तै’ वार्ता सुरु गर्ने बताएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा जानकारी दिँदै सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी भएको बताएका छन् । ट्रम्पका अनुसार पुटिनसँगको संवाद ‘धेरै सकारात्मक’ रह्यो । ट्रम्पले लेखेका छन्, 'रुस र युक्रेन युद्धविराम र त्योभन्दा पनि महत्त्वपूर्ण युद्धको अन्त्यका लागि तुरुन्त वार्ता सुरु गर्नेछन् । यसको सर्तहरू दुबै पक्षको सहमतिबाट तय हुनेछ ।' ट्रम्पले भनेका छन् कि उनले यसबारे जानकारी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गराइसकेका छन् । त्यसका साथै उनले युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, इटलीकी प्रधानमन्त्री जिओर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिडरिख मर्त्स र फिनल्यान्डका राष्ट्रपति एलेक्जेन्डर स्टबलाई समेत जानकारी गराएका छन् । पुटिनले भनेका छन् कि रुस शान्तिका लागि युक्रेनसँग ‘समझौता’ गर्न वार्तामा बस्न तयार छ । तर उनले उक्त समझौतामा के-के विषय समावेश हुनेछन् भन्नेबारे स्पष्ट पारेनन् । ‘संकटका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ’ भन्ने चाहना उनकाे छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन, रूस, अमेरिका, युरोपेली संघका देशहरू र बेलायतबीच ‘उच्च स्तरीय’ बैठकबारे विचार गरिरहेको बताएका छन् । जेलेन्स्कीले अमेरिकालाई पनि यी छलफलहरूबाट टाढा नहुन आग्रह गरेका छन् । उनले भने, 'रुसले पनि सार्थक वार्तामा संलग्न हुन तयार रहेको देखाउन आवश्यक छ ।'

संसद बंक गरेर ओलीको देउवासँग गोप्य भेट, गभर्नर नियुक्तिको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले भेटवार्ता भइरहेको छ । सोमबार साँझ दुई नेताबीच भेटवार्ता हुने भनिए पनि देउवाले बालुवाटार जान अस्वीकार गरेपछि छलफल हुन सकेको छैन । अहिले देउवा बालुवाटार पुगेर ओलीसँग छलफल गरिरहेका छन् ।  उनीहरुको भेटघाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा केन्द्रित हुने देउवाको सचिवालयले जानकारी दिएको छ । ओलीले स्वास्थ्यमा समस्या रहेको भन्दै मंगलबारको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए । उनको सन्देशपछि संसद सचिवालयले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटाएको छ । तर, उनले संसद बंक गरेर देउवासँग भेटवार्ता गरेका हुन् ।  उनले सोमबार पनि स्वास्थ्यको कारण देखाउँदै मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए ।  

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवास्थित कारागारमा थुनामा रहेका लामिछानेको रिट यसअघि पनि पटक–पटक पेशीमा परेपनि ‘हेर्न नमिल्ने’ इजलासमा परेपछि सुनुवाइ हुन सकेको थिएन । तर, मंगलबार उक्त मुद्दा दोस्रो नम्बरमा पेशीमा परेकाले आजै सुनुवाइ हुने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ । लामिछानेसँगै सहकारी प्रकरणमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि सोही इजलासमा तोकिएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित गरेका ओली संसद बैठकमा पनि सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि सहभागी नहुने भएका छन् । सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम आवरमा स्थगित गरेका उनले मंगलबारको संसदको बैठकमा पनि सअभागिता नजनाउने भएका हुन् । यसअघि मंगलबारको प्रतिनिधिसभाको बैठकमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची थियो । तर, मंगलबार स्वास्थ्यको कारण देखाउँदै ओलीले बैठकमा नै सहभागी नहुने जानकारी गराएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठक पनि उनले स्वास्थ्यमा समस्या आएको भन्दै स्थगित गरेका थिए ।