वर्षमा एक पटक केवाइसी भर्नुपर्ने
काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए । साथै उक्त केवाइसी विवरणलाई राष्ट्रिय परिचय पत्रमा अद्यावधिक गरिने व्यवस्था मिलाइने उनको भनाइ छ । केवाईसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।
खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा, न्यूओ बैंक पनि खोल्ने
काठमाडौं । सरकारले बैंक् तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै उनले न्यूओ बैंक पनि खोल्ने घोषणा गरेका छन् ।
तराईका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने
काठमाडाै‌ । सरकारले आगमी आव २०८२/८३ मा तराई, मधेसका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने भएकोे छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गर्न ६ अर्ब ३७ करोड बजेट विनियोजन गरेको बताएका छन् । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने भएको छ । विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनःस्थापना गर्न ४१ करोड विनियोजन गरिएको छ ।
सडक, पुल र यातायात पूर्वाधार विस्तारका लागि १ खर्ब ५२ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक र पुल यातायात पूर्वाधार विस्तारमा जोड दिएको घोषणा गरे ।
नेपालको संविधानलाई संशोधन गर्ने घोषणा
काठमाडौं । सरकार नेपालको संविधानलाई संशोधन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
विद्यार्थीलाई सातामा २० घण्टा काम, २० लाखसम्म विनाधितो कर्जा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिइने भएको हो । साथै सरकारले सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने पनि जनाएको छ । उनले विद्यार्थीहरुलाई उद्यममा प्रोत्साहित गर्न २ लाखदेखि २० लाखसम्म विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि १३ अर्ब ८२ करोड विनियोजन
काठमाडौं । सरकारले गर्भवती सुत्केरी तथा नवजात शिशूको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि ‘स्वास्थ्य सुरक्षा’ कार्यक्रम सञ्चलन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रमका लागि १३ अर्ब ८२ करोड रकम विनियोजन गरिएको बताए ।
बजेटमा परे सुरुङमार्ग, रेलमार्ग र मानो रेलको योजना
काठमाडौं । सरकारले सुरुङमार्ग, रेल तथा मोनो रेल निर्माणलाई प्राथमिकता दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यातायात क्षेत्रको सुधारका लागि रेलमार्ग, सुरुङमार्ग निर्माणमा प्राथमिकता दिने घोषणा गरेका हुन् ।