जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन
काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । गत चैत १५ गते राजावादीले गरेको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो।
वृद्धभत्ता पाउने उमेर २ वर्ष थप, कर्मचारीलाई महङ्गी भत्ता मासिक पाँच हजार
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नु पर्नेछ । वृद्धभत्ता भने वृद्धि भएको छैन । हाल सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक ४ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । त्यस्तै सरकारले कर्मचारीको भत्ता बढाएको छ । सबै सरकारी कर्मचारीको भत्ता मासिक पाँच हजार पुर्याएको घोषणा गरेका हुन् । सरकारले कमर्चारीको तलब भने बढाएको छैन । 'राष्ट्रसेवकहरूको सेवा सुविधा समय सापेक्ष बनाउनुपर्ने आवश्यकताबोध भएतापनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापी, सबै राष्ट्रसेवकहरूका लागि सम्वत् २०८२ साउन १ गतेदेखि लागु हुनेगरी महङ्गी भत्ता वृद्धि गरी मासिक रु. ५ हजार पुर्याएको छु' बजेटमा अर्थमन्त्रीले भने । हाल कर्मचारीले मासिक ३ हजारसम्म महङ्गी भत्ता खाँदै आएका छन् ।
साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने
काठमाडाै । आगामी आव २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ । सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने जानकारी दिएको हो । सरकारले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरिने भएको छ ।
भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत
काठमाडौं । सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अघि बढाइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवमा विकास गर्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमीकहरुको लागि किफायती हुनेगरी सञ्चलनमा ल्याउन विमानस्थलमा आवश्यक सुविधा उपलब्ध गराइने जानकारी दिए ।
साझा यातायातका लागि थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातका लागि थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यसअघि पनि सरकारले साझा यातायातलाई सहयोग स्वरूप ४० वटा विद्युतीय बस खरीदका लागि अनुदान दिएको थियो ।
कर्मचारीको भत्ता ५ हजार बढ्यो, तलब बढेन
काठमाडौं । सरकारले कर्मचारीको भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै भत्ता बढाएर मासिक पाँच हजार पुर्याएको घोषणा गरेका हुन् । सरकारले कमर्चारीको तलब भने बढाएको छैन ।
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गर्ने
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर बिक्री गर्ने घोषणा गरेको छ । सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने
काठमाडौं । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणको माध्यमबाट नेपाललाई आकर्षक गन्तव्यका रूपमा ब्राण्डिङ गरिने घोषणा गरे । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्यस्थलमा पर्यटक लक्षित सेवा विस्तार गरिने बजेटमा भनिएको छ । प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको बजेटमा स्थलमार्गबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिने समावेश गरिएको छ । पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । राष्ट्रिय निकुञ्ज, आरक्षण तथा संरक्षण क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या पर्यटन विकासमा जोड दिइनेछ । निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजिकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गको विकास गरिनेछ । शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, लुम्बिनी, मुक्तिनाथ, सौराहा, गोसाइँकुण्ड, जनकपुरधाम, कालिञ्चोक, कोशीटप्पु, सगरमाथा, केचनाकवच, पाथिभरा पदयात्रा सञ्चालन गरिनेछ । हिमाल आरोही तथा पद्यात्रीको सुरक्षा र आकस्मिक उद्धारका लागि भरपर्दो व्यवस्था मिलाइनेछ । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिएको छ । त्यस्ता उद्योगका लागि आयकर तथा विद्युत् महसुलमा छुट दिइने बजेटमा घोषणा गरिएको छ । होटल, रेस्टुरेन्ट तथा जङ्गल सफारीमा कार्यरत श्रमिकलाई प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने जनाइएको छ । यस्तै सगरमाथा, पशुपति, लुम्बिनी, स्वर्गद्धारी, रारा, खप्तडलगायत प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्यमा पूर्वाधार निर्माण गरिनेछ । बजेटमा स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालिन पदमार्गको विकास गरिने भनिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गका आकर्षकस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिनुका साथै कर्णाली, भेरी, गण्डकी, त्रिशुलीलगायत नदिमा र्याफटिङको व्यवस्था मिलाइनेछ ।